न्यूरोलोजिकल डिसअर्डर बढ्दो

नारी संवाददाता

असार १४, २०७६

विश्वभर बढ्दै गएको मस्तिष्कसम्बन्धी समस्याले अहिले धेरैलाई गाँजेको छ । अटिज्म, सेलेब्रल पल्सी, इन्टेलेक्च्युअल डिसएबिलिटी, स्पाइनल कर्ड इन्ज्युरी, मस्कुलर डिस्ट्रफी, स्ट्रोक आदि ब्रेनसँग सम्बन्धित रोग तथा समस्याले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई आक्रमण गरेको पाइन्छ । १० वर्षअघि विश्वमै पहिलो पटक भारतको मुम्बईस्थित न्यूरोजेन ब्रेन एन्ड स्पाइन इन्स्टिच्युटले न्यूरोलोजिकल डिसअर्डरसम्बन्धी रोगको उपचार सुरु गरेको थियो । यो इन्स्टिच्युटको एक टोलीले हालै नेपाल आई न्यूरोलोजिकल डिसअर्डरसम्बन्धी समस्यामाथि छलफल गर्नुका साथै विभिन्न अस्पताल तथा अटिज्म केयर होम आदि स्वास्थ्य संस्थाको भ्रमण गरेको थियो । भारतीय चिकित्सक टिमकी नेतृ डाक्टर नन्दिनी गोकुलचन्द्रनसँग न्यूरोलोजिकल डिसअर्डरसम्बन्धी नारीको कुराकानी : 

न्यूरोलोजिकल डिसअर्डर के हो ?

न्यूरोलोजिकल डिसअर्डर सामान्य रूपमा बुझ्दा दिमागी विकास रोकिनु वा सुस्त (ब्रेन डेभलपमेन्ट डिस्कन्टिन्यु) हुनु हो । जसका कारण एउटा मात्र नभएर चौतर्फी समस्या सिर्जना हुन्छ । 

यस डिसअर्डरभित्र के–कस्ता समस्या पर्छन् ?

यसभित्र अटिज्म, स्ट्रोक, सेरेब्रल पल्सी, इन्टेलेक्च्युअल डिसएबिलिटी, स्पाइनल कर्ड इन्ज्युरी, मस्कुलर डिस्ट्रफी, डाउन सिन्ड्रम, हेड इन्ज्युरी, मोटर न्युरोन डिजिज, एडी एचडी (अटेन्सन डिफिक्ट हायपर एक्टिभिटी डिसअर्डर) आदि पर्छन् ।

यस्ता समस्या देखापर्नुको मूल कारण के हो ?

यस्ता समस्या देखापर्नुका पछाडि एउटै मात्र कारण हुँदैन । आमाको कोखमा हुँदा पर्याप्त पोषण उपलब्ध नहुनु, आमा डिप्रेसनमा रहनु, आमालाई चरम ज्वरो आदि विविध रोगले च्याप्नु, आमाको श्वासप्रश्वासमा समस्या आउनु, आमा निरन्तर बढी स्ट्रेसमा रहनु आदि कारण त छँदैछन् त्यसका अतिरिक्त बढ्दो सहरीकरण, विषादीयुक्त खानपान, पारिवारिक मिसबिहेभ, गलत साथी–संगत आदि पनि यसका कारण हुनसक्छन् । 

न्यूरोलोजिकल डिसअर्डरका लक्षण के हुन् ?

फरक समस्याका फरक लक्षण हुन्छन् । जस्तो कि सेरेब्रल पल्सीमा दिमागसँग जोडिएका शरीरका हरेक अंगले काम गर्न छोड्छन् जसका कारणले स्टेफिन हकिङको मृत्यु भयो । मेन्टल रिटायरडेसनले बौद्धिकतामा कमी ल्याउँछ । न्यूरोलोजिकल डिसअर्डरमा अन्य समस्या सिर्जना भै आत्मविश्वास नहुने, एक्लै बस्न रुचाउने, रिसाहा हुने, अरूसँग घुलमिलमा अरुचि, बढी बोल्ने वा बोल्दै नबोल्ने जस्ता लक्षण देखा पर्छन् । 

समाधानको उपाय के हुनसक्ला ?

सबैभन्दा प्रमुख कुरा त हरेक आमा स्वस्थ हुनु जरुरी छ । प्रेग्नेन्सीको पूर्वतयारी सही र स्वस्थ ढंगले गर्नु आवश्यक हुन्छ । एउटी महिला आमा बन्न मानसिक एवं शारीरिक रूपमा शतप्रतिशत स्वस्थ र खुसी हुन जरुरी छ । यस्ता समस्या रोकथामको पहिलो उपाय प्रिभेन्सन हो । अर्को कुरा सन्तान जन्माउने नारीले समय–समयमा आफ्नो स्वास्थ्य जाँच गराइरहनुपर्छ । शिशु उपयुक्त हेरचाहमा अस्पतालमै जन्मनु जरुरी हुन्छ । त्यसबाहेक स्वस्थ खानपान, व्यायाम तथा मायालु पारिवारिक वातावरण आवश्यक हुन्छ ।

समस्या सिर्जना भैसकेपछि के गर्ने ?

सर्वप्रथम त न्यूरोलोजिकल डिसअर्डरसम्बन्धी कुन रोग लागेको हो पत्ता लगाउने काम गर्नुपर्छ जसलाई डाइग्नोसिस भनिन्छ । त्यसपछि तत्काल सम्बन्धित विशेषज्ञकहाँ पुर्‍याई थेरापी गराइहाल्नुपर्छ । 

यस्तो अवस्थामा प्रभावितसँगको पारिवारिक व्यवहार कस्तो हुनुपर्छ ?

यस्ता समस्याबाट प्रभावितहरूको हेरविचारमा आमाहरू नै बढी सक्रिय देखिएका छन् । आमाको मायालु व्यवहारले धेरै शिशुको स्वास्थ्यमा सुधार आएको अनुभव छ मसँग । उनीहरूलाई आमबालबालिका सरहकै व्यवहारको खाँचो हुन्छ जुन हेरविचार गर्नेले होसियारीपूर्वक पूरा गर्नुपर्छ । उनीहरूसँग बढी अन्तर्क्रियात्मक व्यवहार गर्नुपर्छ । प्रेम एवं मायालु व्यवहारले यस्ता समस्यामा परेकाहरूको उपचार छिटो भएका उदाहरण छन् । प्रभावकारी उपचारका लागि औषधि, थेरापी अनि परामर्श मात्र नभएर होलिस्टिक ट्रिटमेन्ट (चौतर्फी उपचार) जरुरी हुन्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्