महिलामा बढ्दो धूम्रपान

डा. प्रकाश बूढाथोकी

असार ११, २०७६

समाजमा उपभोक्तावादी संस्कृति हाबी हुँदै जाँदा नयाँ पुस्ताले आफूलाई उदार र खुला विचारको पक्षमा उभ्याएको छ । अहिले समाजको बनावट र महिलाको भूमिकामा ठूलो परिवर्तन आएका कारण समाजमा महिलाको भूमिका र क्षमता बढ्दै गएको छ र बढी उत्तरदायित्व निर्वाह गर्नुपरेको छ । यसरी एकातिर घरपरिवारको बोझ तथा अर्कातिर कार्यालयको कामको चपेटामा पर्दा दोहोरो मानसिक दबाब एवं तनावबाट राहत र मुक्तिका लागि धेरैले कुनै न कुनै अम्मल बसाल्छन् । नयाँ पुस्ताको जीवनशैलीमा आएका कतिपय खुला र परिवर्तित व्यवहारको एउटा नकारात्मक कडी सहरी समाजमा युवतीहरूमाझ भित्रिएको चुरोट संस्कृति पनि हो । 

अहिले महिला अम्मलीको संख्या बढ्दै गएको छ । दोहोरो मानसिक दबाब तथा धूम्रपानको असर परेपछि त्यो महिलाहरूका लागि शारीरिक एवं मानसिक रूपमा अझ घातक साबित हुन्छ । सुरुमा फेसन, मनोरञ्जन, पहिलो अनुभवका लागि साथीहरूको लहलहैमा लागेर धूम्रपान गर्दै गएपछि त्यही कुरा लतका रूपमा विकसित हुन्छ । त्यसपछि विभिन्न किसिमका रोगले आक्रमण गर्छन् ।

 

धूम्रपान भन्नाले के बुझिन्छ ?

सुर्तीजन्य वनस्पति प्रमुखतया निकोटियना रस्टिका र निकोटियना टोवाकमको पात सुकाएर सीधै वा विभिन्न प्रक्रियाद्वारा प्रशोधन गरी वा प्रशोधनपछि अन्य तत्वहरू मिसाएर प्याकेटमा राखी बनाइएका चुरोट, बिडी, सुर्ती, सुल्फा, जर्दा, पराग, गुट्खा आदिमा हुने निकोटिन नामक रासायनिक पदार्थलाई मुख, म्युकोसा, नाक वा छालाबाट शरीरले ग्रहण गर्नु वा अवशोषित गर्नुलाई धूम्रपानको संज्ञा दिइन्छ । यो धूवाँ सेवन मात्र नभएर सुर्ती सेवन हो र एक प्रकारले दुर्व्यसन हो ।

प्रकोप

विश्व स्वास्थ्य संघले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकका ७२ प्रतिशत घरमा न्यूनतम एक जनाले धूम्रपान गर्ने गरेको पाइएको छ भने त्यसमा १२ प्रतिशत मानिसले १० वर्ष नपुग्दै सुर्तीजन्य वस्तु सेवन गर्ने गरेका छन् । नेपालका महिला सुर्ती सेवनमा विश्वका महिलाहरूमा प्रथम स्थानमा छन् भने पुरुषहरूमा दक्षिण कोरिया प्रथम स्थानमा छ भने नेपाल पनि अग्रपंक्तिमै छ । भौगोलिक विविधताअनुरूप जिल्लाअनुसार, क्षेत्रअनुसार धूम्रपान गर्ने महिलाको संख्या फरक–फरक पाइन्छ । तराईको तुलनामा पहाडमा र पहाडमा भन्दा हिमाली क्षेत्रमा धूम्रपान गर्ने महिलाको संख्या बढी छ । सहरमा रात्रि मनोरञ्जनस्थलमा काम गर्ने, मनोरञ्जन गर्न आउने, डान्स, डिस्कोजस्ता पार्टीहरूमा बढी उपस्थिति जनाउने महिलाहरूमा धूम्रपानको लत बढेको पाइन्छ भने गरिब वर्गका महिला पनि अम्मली देखिन्छन् । चुरोट पिउनुलाई सामान्य मान्ने घरानियाँ एवं सम्पन्न परिवारका सहरी महिलाहरू र दुःख–पीडा बिर्साउन बिडीको मद्दत लिने गाउँघरका गरिब महिला दुवै यसको अम्मली भएका छन् । गाउँघरमा अशिक्षा, गरिबी, बेरोजगारी, आनन्द उठाउने अर्को बाटो नभएर धूम्रपान सेवन गर्नेहरू बढी देखिन्छन् । त्यसैगरी तराईको तुलनामा पहाडमा पहाडको तुलनामा हिमालमा बढी (जुम्लामा ७५ प्रतिशत महिला पनि, ८५ प्रतिशत पुरुष) पूर्वमा भन्दा पश्चिममा बढी, किशोरावस्थाका अम्मली बढी पाइन्छन् । 

 भर्खरका किशोरीमा चुरोटको लत मौलाउनुको पछाडि तिनको पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत, साथीहरूको संगत, बढ्दो पाश्चात्य संस्कृतिको आकर्षण तथा कतिपयमा डिप्रेसन पनि कारण पाइन्छ । अभिभावकको बेवास्ता, पाश्चात्य संस्कृतिको आकर्षण वा मोह, पैसाको दम्भ एवं नैतिक शिक्षाको अभावका कारण निजी क्याम्पसमा अध्ययनरत युवायुवतीमा चुरोट पिउने प्रवृत्ति बढेको देखिन्छ । मोडलिङ तथा सिनेमामा काम गर्ने सेलिब्रेटीहरूमा चुरोट संस्कृतिले जरा गाडेको छ । लतका बारेमा खुल्न नचाहे पनि यसको बढ्दो संख्या सबैले स्वीकार गर्छन् । उनीहरू आदर्श व्यक्तित्वका रूपमा युवापुस्तामा रहेका कारण चलचित्र, म्युजिक भिडियो, मोडलिङ तथा विद्युतीय सञ्चार माध्यमबाट प्रभावित भएर टिनएजका युवतीहरू चुरोटको लतमा परेको पाइन्छ । 

निजी क्याम्पसमा वर्गीय हिसाबले धनी परिवारका छोराछोरी पढ्छन् । पैसाको खाँचो नहुने र अभिभावक पनि त्यति फुर्सदमा नहुने पृष्ठभूमि भएका किशोरकिशोरी यो लतमा बढी लागेका छन् । नयाँ कुराको अनुभव गर्ने कौतूहलताका कारण पनि यो समूह चुरोट तथा सुर्तीको लतमा लागेको पाइन्छ । यद्यपि चुरोट सेवनले स्वास्थ्यमा हानि गर्छ भन्ने उनीहरूलाई थाहा नभएको होइन । आधुनिक र पश्चिमी जीवनशैलीको नक्कल गर्ने नशाले चुरोटले गर्ने नोक्सानी बिर्साइदिएको छ । प्लस टुमा अध्ययनरत किशोरी मात्र चुरोटको लतमा लागेका छैनन्, क्याबिन र डान्स–रेस्टुराँमा काम गर्ने युवतीहरूको अर्को समुदायमा पनि चुरोट संस्कृति झाँगिएको छ । उनीहरू आधुनिक बन्ने होडमा भन्दा पनि ग्राहकको संगत र मालिकको कमाइका लागि चुरोट र रक्सीको लतमा फसेका छन् । मानसिक तनाव, आर्थिक अभाव एवं पारिवारिक वातावरण नपाउँदा यो पेसामा लागेका युवती आफ्नो पीडा बिर्सन चुरोट पिउँछन् । उनीहरू मालिक र ग्राहकको चाहनाअनुसार चुरोट तथा रक्सी पिउन बाध्य हुन्छन् । 

सहरी क्षेत्रमा महिलाहरूले धूवाँरहित सुर्ती–खैनी बढी चपाएको पाइन्छ । दाँत दुख्ने वा सास गन्हाउने समस्याबाट मुक्ति पाउन गाउँघरमा चुरोट, बिडी खाने चलन छ । अरू त अरू १५ प्रतिशत सहरी क्षेत्रका गर्भवती महिलाले पनि धूम्रपान गरेको पाइन्छ । ७१ दशमलव ४ प्रतिशत भन्दा बढी महिला तथा ८५ प्रतिशतभन्दा बढी पुरुषले कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको अनुमान छ ।

धूम्रपानमा के छ ?

 अप्रशोधित सुर्ती वा कक्कडमा २ हजार ५ सयभन्दा बढी रासायनिक तत्व हुन्छ भने ४३ तत्व कार्सिनोजन हुन्छ । यही सुर्तीलाई धूवाँका रूपमा सेवन गर्दा ४ हजार रसायन हुन्छ । जसमा ४ सय विषालु पदार्थ ९५ प्रतिशतभन्दा बढी ग्यास तथा ६० भन्दा बढी क्यान्सर बनाउन सक्ने तत्व हुन्छन् । त्यस्तै अन्य तत्वसँग मिसाउँदा जस्तै चूना, प्राणघातक रोग तथा क्यान्सर लाग्ने खतरा अझ वृद्धि हुन्छ ।

 

उक्त कार्सिनोजन तत्वमा टोबाको स्पेसिफिक नाइट्रसअमाइन, पोलिन्युक्लियर एरोमेटिक हाइड्रोकार्बन, टार, खोटो (७० प्रतिशत फोक्सोमा टाँसिन्छ) फेनोल, क्रेसोल, क्याटेकोल, न्याप्थुलअमाइन, बेन्जोपाइरिन, हाइड्राजिन, भिनाइल क्लोराइड, निकोटिन, कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड, नाइट्रोजनका अक्साइड, साइनाइड, फर्मलडिहाइड, ट्रेस, धातुहरू, निकल, आर्सेनिक, पोलोनियम–२१० आदि पर्छन् । प्रमुख प्राणघातक रसायन निकोटिन, खोटो र कार्बनमोनोअक्साइड आदि हुन् । एसिटोन, एमोनिया, आर्सेनिक, वेन्जिन, फर्मालिनजस्ता तत्वले चुरोटको धूवाँमा रहेको विषाक्ततालाई थप ऊर्जा दिन्छन् ।

नकारात्मक असर

अम्मली बनाउने तत्व निकोटिनको ६० मि.लि. ग्राम सुईले मानिसको मृत्यु गराउँछ जुन चुरोट, बिडी, कक्कड, तम्बाखु आदि सुर्तीमा २० मिलि ग्राम पाइन्छ । सुर्तीजन्य पदार्थमा पाइने रसायनहरूले शरीरलाई क्षीण र दुर्बल बनाउनुका साथै आर्थिक एवं सामाजिक रूपमै कंगालसमेत बनाउँछ ।

 हालै गरिएका अनुसन्धानहरूले पुरुषको तुलनामा महिलाहरूमा धूम्रपान गर्दा दुई गुणा बढी फोक्सोको क्यान्सर हुने खतरा देखाएका छन् । धूम्रपानमा भएका तत्वहरूले शरीरभित्र प्रवेश गरेपछि मुटु, रक्त नली, श्वासप्रश्वास, प्रजनन्, दन्त स्वास्थ्यका साथै मस्तिष्कमा घातक असर गर्छन् । धूम्रपान गरेको एक मिनेटमै मुटुको धड्कन ३० प्रतिशतका दरले बढ्छ, कोरनरी हार्ट रोगको खतरा बढ्छ, दम, स्तन क्यान्सर, मुखको क्यान्सर, मुटु रोग आदि २५ किसिमका रोग र दुई–तिहाई क्यान्सरको जोखिम बढाउँछ । 

 धूम्रपान नगर्ने महिलाको तुलनामा धूम्रपान गर्ने महिलाको मासिक चक्र बढी गडबड हुने, धेरै गुणा रिस डाह गर्ने प्रवृत्ति, क्षणमै हतास हुने, तनावमा डुब्ने र कुनै–कुनै बेला अरुभन्दा बढी असुरक्षित महसुस गर्ने हुन्छ । चुरोट, बिडी, तम्बाखु आदिमा पाइने नशालु तथा हानिकारक तत्वले महिलाको जीवरस (हर्मोन्स) निर्माण गर्ने ग्रन्थिहरूमा नकारात्मक प्रभाव पारी यौन समस्या र बाँझोपनसम्म सिर्जना गर्न सक्छ । 

 

(डा. बुढाथोकी न्याम्स, वीर अस्पतालका सह–प्राध्यापक तथा नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।)

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्