तीस वर्ष कटेपछिको जाँच 

नारी संवाददाता

असार ४, २०७६

पाठेघरको मुख तथा गर्भाशय सुन्निएको छ भने पनि पत्ता लाग्छ । यसैगरी प्याम स्मेयर जाँचबाट पनि पाठेघरको मुखको क्यान्सर भए–नभएको थाहा पाइन्छ ।

थाइराइड

    अहिले बदलिँदो जीवनशैलीका कारण धेरैमा थाइराइडको समस्या देखापर्न सक्छ । एक्कासि तौल बढ्नु वा घट्नु, मनस्थितिमा परिवर्तन आउनु, तनाव हुनु पनि थाइराइडको लक्षण हुन सक्छ । ३५ वर्षमाथिका महिलालाई थाइराइड हुने सम्भावना बढी भएकाले थाइराइड पत्ता लगाउन रगत परीक्षण गराउनुपर्छ । 

रक्तचाप 

    कतिपयको रक्तचापमा उतारचढाव आउँछ । रक्तचापमा गडबडी भए उच्च रक्तचाप हुने सम्भावना हुन्छ । त्यसैले समय–समयमा रक्तचाप जाँच गराइरहनुपर्छ । उच्च रक्तचाप भए पक्षघात, मुटुरोग, स्ट्रोक तथा हर्ट एट्याक हुने सम्भावना हुन्छ । 

कोलस्ट्रोल 

    विलासी जीवनशैली तथा गलत खानपानका कारण रगतमा उच्च कोलस्ट्रोलको समस्या देखापर्न सक्छ । यसले मुटुसम्बन्धी विभिन्न समस्या उत्पन्न गर्न सक्छ । त्यसैले वर्षमा एकपटक कोलस्ट्रोल जाँच गराउनुपर्छ ।

मधुमेह 

    मधुमेह भए रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ । शरीरले खानालाई शक्तिमा परिणत गर्न नसक्दा इन्सुलिनको कमी हुन थाल्छ, जसका कारण अन्य समस्या पनि निम्तिन्छन् । स्वस्थ मानिसले पनि वर्षमा एकपटक रगत परीक्षण गराउनुपर्छ । 

पाठेघरको मुखको जाँच 

    महिलामा हुने पाठेघरको मुखको क्यान्सर पनि प्रमुख स्वास्थ्य समस्या हो । पाठेघरको मुखमा क्यान्सर भए–नभएको पत्ता लगाउन पाठेघरको मुखको स्क्रिनिङ गराउनुपर्छ । स्क्रिनिङबाट पाठेघरको मुख तथा गर्भाशय सुन्निएको छ भने पनि पत्ता लाग्छ । यसैगरी प्याम स्मेयर जाँचबाट पनि पाठेघरको मुखको क्यान्सर भए–नभएको थाहा पाइन्छ । तीस वर्षको उमेरपछि हरेक तीन वर्षमा एकपटक पाठेघरको मुखको जाँच गराउनुपर्छ । 

स्तन क्यान्सर स्क्रिनिङ 

 अहिले कतिपय महिलामा स्तन क्यान्सर देखिँदै आएको छ । मेमोग्रामबाट स्तन क्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ । खासगरी ४० वर्ष पार गरेका महिलाले प्रत्येक दुई वर्षमा एकपटक स्तनको म्यामोग्राम गराउनुपर्छ । 

यसका साथै 

    महिलाले ४० वर्ष उमेर पुगेपछि नियमित रूपमा स्वास्थ्य जाँच गराउनु आवश्यक छ । यो उमेरमा धेरैमा क्याल्सियम तथा भिटामिन डीको कमी देखापर्न सक्छ । घाममा धेरै हिँडडुल नगर्ने तथा नबस्ने कारण भिटामिन डीको कमी हुन सक्छ । 

    मेनापज (महिनावारी सुकेपछि) महिलाले क्याल्सियम तथा मिनरलको मात्रा जाँच गराउनुपर्छ । यो समयमा धेरै महिलाको हड्डीमा समस्या (अस्टियोपोरोसिस) उत्पन्न हुन सक्छ । 

मुटु रोगसम्बन्धी केही तथ्य 

    महिलामा महिनावारी सुक्ने बेला (मेनापज) गर्मी हुने, मुटु ढुकढुक हुने, मुटुको धड्कन बढ्ने तथा घट्ने हुन्छ भने स्वाँ–स्वाँसमेत हुनसक्छ । यस्तो बेला महिलाहरू आत्तिने, झर्किने, चिटचिट पसिना छुट्नुका साथै छाती दुख्ने पनि हुन्छ । यस्तो अवस्थामा कतिपय महिला आफूलाई मुटु रोग लागेको हो कि भनेर आत्तिन्छन् । सबै छातीको पीडामा मुटु रोग कारण हुँदैन ।

    सामान्यतया महिलाको मेनापज ४५ देखि ५० वर्षको उमेरमा हुन्छ । ४५ वर्षभन्दा कम उमेरका महिलामा मुटु रोग न्यून छ भने ५० वर्षसम्मका महिलालाई मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । 

    मेनापजअघि हार्मोनका कारण मुटुमा ब्लकेज हुन पाउँदैन तर ५० वर्षभन्दा कम उमेरका महिलालाई मुटुको रोग नै लाग्दैन भन्ने होइन । ५० वर्षभन्दा कम उमेरका महिला जसको धूम्रपान गर्ने बानी छ, कोलस्ट्रोलको मात्रा उच्च छ तथा मधुमेह छ भने मुटुको रोग लाग्ने सम्भावना वृद्धि हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्