रोग होइन रजोनिवृत्ति

डा. अरुणा उप्रेती

असार १, २०७६

अमेरिकामा ‘मेनोपज’ अर्थात् रजोनिवृत्ति शीर्षकको पुस्तक प्रकाशित भएपछि धेरै महिलाले यो एउटा शारीरिक प्रक्रिया हो रोग होइन भनेर बुझे । मैले अमेरिकन साथीबाट उक्त पुस्तक उपहार पाएपछि लागेको थियो, रजोनिवृत्तिका बारेमा पनि यति ठूलो पुस्तक लेख्न सकिँदो रहेछ । 

रजोनिवृत्ति रोग होइन, उमेर बढ्दै जाँदा हुने साधारण प्रक्रिया हो । कसैकसैलाई मात्र समस्या पर्दा परामर्श र कहिलेकाहीँ मात्र औषधि चाहिन्छ । यद्यपि अहिले महिलाको शारीरिक ‘औषधीकरण’ गरिएकाले रजोनिवृत्तिलाई रोग मानेर औषधि दिइन्छ ।

 ‘रजोनिवृत्ति’ (द बोस्टन बुमेन्स हेल्थ बुक कलेक्टिभ) मा लेखिएको छ–‘कतिपय औषधि कम्पनीले रजोनिवृत्तिलाई हार्मोनको कमीको समस्या मानेर मधुमेह वा थाइराइडको जस्तै ‘उपचार’ गर्नुपर्छ भन्ने जानकारी प्रकाशित गरिरहन्छन् । ‘यदि रजोनिवृत्तिको उपचार गरिएन भने यो दीर्घ रोगमा परिणत भएर जीवन समाप्त हुन्छ’ भन्ने भ्रामक प्रचार पनि गरिन्छ । पछि उक्त कुरा हार्मोनको ट्याबलेट बनाउने कम्पनीले नै प्रचार गरेको पुष्टि भयो ।

‘हार्मोनको कमी’ भएर रजोनिवृत्ति हुने भएकाले ‘हार्मोन’ दिनुपर्छ भनेर अमेरिकामा रजोनिवृत्ति भएका महिलाहरूलाई हार्मोन दिइन्छ । पश्चिमा देशमा कतिपय अवस्थामा कतिपय डाक्टरले महिला स्वास्थ्यका धेरै समस्याको कारण ‘पाठेघर’ लाई नै मान्थे । पछि गएर विज्ञानले उक्त तथ्यलाई गलत सिद्ध गर्‍यो । सम्भवतः रजोनिवृत्तिको औषधीकरण गर्नमा अमेरिकाका औषधि कम्पनीहरूको पनि हात हुन सक्छ ।

नेपालमा पनि धेरै महिला रजोनिवृत्तिपछि स्वस्थ रूपमा बाँचिरहेका छन् । मेरो महिनावारी सुकेको तीन वर्ष भयो । मेरो शरीर तथा मनमा कुनै समस्या देखिएको छैन । मैले त यो अवस्थालाई सामान्य रूपमा लिएकी छु । म महिला समूहहरूसँग पनि काम गर्छु । अहिलेसम्म महिलाहरू रजोनिवृत्तिका कारणले समस्यामा भएको पाएकी छैन । पूर्वकी पत्रकार अञ्जुले भनेकी थिइन् । 

‘मेरो महिनावारी सुकेको चार वर्ष भयो । मलाई त ढुक्क पो भएको थियो, झन्झट कम भयो भनेर । मलाई स्वास्थ्यमा कुनै समस्या भएन ।’ मेरी साथी उषाले १० वर्षअघि भनेको सम्झना छ । उषा पातली छिन्, पर्याप्त हिँड्छिन् अनि स्कुलमा पढाउँछिन् ।

केही महिनाअघि काठमाडौंमा स्त्रीरोग विशेषज्ञहरूको सम्मेलन भएको थियो । स्त्री रोग विशेषज्ञ नभए पनि वैज्ञानिक कार्यपत्रहरू सुन्ने उत्सुकताले म उक्त सम्मेलनमा सहभागी भएँ । एक स्त्रीरोग विशेषज्ञले रजोनिवृत्तिका बारेमा कार्यपत्र प्रस्तुत गरिन् । उक्त कार्यपत्रमा रजोनिवृृत्ति एउटा समस्या वा रोग हो र यतिबेला यस्तो–यस्तो औषधि प्रयोग गर्नुपर्छ’ भन्ने कुरा उल्लेख थियो । कार्यपत्रको प्रस्तुतिपछि मैले भनें–‘महिनावारी सुरु हुनु रोग होइन, समस्या होइन भने महिनावारी सुक्नु (रजोनिवृत्ति हुनु) कसरी समस्या हो ? मेरी आमा तथा काकीहरू ८० वर्षका छन् । मैले उनीहरूलाई महिनावारी सुक्दा केही समस्या भयो कि भनेर सोद्धा ‘केही भएन’ भन्नुहुन्छ । म आफै केही महिनापछि ६० वर्षकी हुँदैछु । १५ वर्षअघि मेरो महिनावारी सुक्दा केही भएन । मैले अहिलेसम्म क्याल्सियम तथा भिटामिन डी खानु परेको छैन । मैले हार्मोनको चक्की लिनुपरेको छैन । म हरेक पटक गाउँघर पुग्दा ५० वर्ष काटिसकेका महिलाहरूसँग महिनावारी सुक्दा केही समस्या भयो कि भनेर सोध्छु । महिनावारी सुकेकै कारणले समस्या भएका महिला प्रायः कमै भेटिन्छन् । पाठेघर झिकिएका महिलालाई भने केही समस्या हुन सक्छ । यद्यपि त्यस्तो समस्या पनि प्रायः जीवन शैली परिवर्तन गरेर समाधान गर्न सकिन्छ । त्यसैले रजोनिवृत्तिलाई रोग वा समस्या भन्नु हुँदैन । ‘मेरो कुरा सुनेपछि ती विशेषज्ञले भनिन्–‘हाम्रो पुस्तकमा त्यही लेखिएको छ । मैले तपाईंले भन्दा बढी पढेकी छु ।’ 

हो, स्त्री रोग विशेषज्ञ भएकाले उनी मभन्दा जानिफकार अवश्य हुन् तर महिलाको प्राकृतिक अवस्थालाई पनि रोग मानेर औषधि गर्नुपर्छ भन्ने कुरामा म कुनै पनि हालतमा सहमत भइन । प्रायः विवेकशील तरिकाले महिलाको स्वास्थ्यको उपचार गर्ने स्त्रीरोग विशेषज्ञहरू भन्छन्–‘महिनावारी सुक्नु रोग होइन ।’

तर कतिपय औषधि कम्पनीले आफ्नो औषधि बिकाउन यसलाई ‘रोग’ भनेर प्रचार गर्दै आएका छन् ।

अहिले नेपाली महिलाहरूको सरदर आयु बढेको छ । महिलाहरू महिनावारी सुकेपछि पनि धेरै वर्षसम्म बाँच्छन् । त्यसैले यतिबेला जसरी किशोरी स्वास्थ्यका बारेमा ध्यान दिनुपर्छ, किशोरीलाई महिनावारी हुँदा केही समस्या पर्‍यो भने कसरी व्यवस्थापन गर्ने भनेर सिकाइन्छ, रजोनिवृत्ति भैसकेका महिलाको स्वास्थ्यका लागि पनि जनचेतना जगाउने कार्यक्रम गर्नुपर्छ, तर महिनावारी सुक्नु रोग र समस्या हो भनेर होइन ।

महिनावारी सुकेपछि महिलाहरूले प्राकृतिक रूपले सन्तान जन्माउन सक्दैनन् । महिलाहरूको महिनावारी सामान्यतया ४५–५० वर्षको उमेरको हाराहारीमा पुगेपछि बन्द हुन्छ तर कसैकसैको ५५ वर्षसम्म पुग्नसक्छ । अमेरिकन तथा जापानी महिलाहरूका बीच रजोनिवृत्तिपछिको अवस्थालाई लिएर केही अनुसन्धान भएको पाइन्छ ।

नेपालमा डा. कान्ति गिरीले धेरै वर्षअघि एक सानो अनुसन्धान (नेपाली महिलाको रजोनिवृत्तिका बारेमा) गर्नुभएको थियो । त्यसपछि नेपालमा रजोनिवृत्तिका बारेमा त्यति छलफल हुने गरेको छैन । अहिले केही स्त्रीरोग विशेषज्ञले ‘रजोनिवृत्ति समुदाय’ भन्ने संस्था गठन गरेका छन् ।

नेपाली महिलाहरूको स्वास्थ्यको कुरा गर्दा प्रजनन् स्वास्थ्य, आमा बन्दाखेरिको समस्या, परिवार नियोजनको समस्या आदिका बारेमा छलफल गरिन्छ तर जब आमा बन्ने उमेर अर्थात् प्रजनन् उमेर सकिन्छ (प्रायः ५० वर्ष पछि), त्यसपछि उनको स्वास्थ्यका बारेमा कुनै छलफल हुँदैन । रजोनिवृत्तिलाई कसरी व्यवस्थापन गर्ने छलफल गरिँदैन । 

कतिपय महिलाले डिपो वा नरप्लान्ट (परिवार नियोजनका साधन) प्रयोग गर्दा महिनावारी नै नहुने हुन्छ । कतिपयले ४५–५० वर्षको उमेरसम्म पनि यी साधन प्रयोग गरिरहन्छन् । यस्तो स्थितिमा महिनावारी सुकेको हो वा यो साधनको प्रभावले भएको हो छुट्याउन सकिँदैन । त्यसैले ४० वर्षपछि परिवार नियोजनका साधन प्रयोग गर्दा बढी होसियार हुनुपर्छ । म त यस्तो उमेरमा कसैलाई पनि परिवार नियोजनका साधन प्रयोग गर्ने सल्लाह दिन्न । बरू त्यसको साटो श्रीमान्ले कन्डम प्रयोग गर्नु उत्तम हुन्छ ।

रजोनिवृत्तिका बेला कमैलाई कुनै पनि समस्या हुँदैन । कसलाई समस्या हुन्छ, कसलाई हुँदैन भनेर जाँच्ने यन्त्र पनि छैन । यद्यपि भोजन, आराम तथा सकारात्मक विचारले स्वास्थ्य राम्रो हुन्छ । समस्या हुनेलाई पनि, समस्या नहुनेलाई पनि ।

युवावस्थामा शरीरलाई मोटो बनाएर, व्यायाम नगरेर सबै कुरा उमेर ढलेपछि गरौंला भनियो भने रजोनिवृत्तिमा समस्या हुनसक्छ । त्यसैले पहिले नै बुद्धि पुर्‍याउनु उचित हुन्छ ।

महिनावारी सुरु हुँदा किशोरीहरूलाई केही साधारण समस्या आइपरेझैं महिनावारी बन्द हुने बेला पनि कसैकसैमा कुनै साधारण समस्या सिर्जना हुन सक्छ । राति निद्रा नलाग्ने, रिस उठ्ने, खान मन नलाग्ने र कसैकसैको जिउ चिलाउने भै स्तनको आकार सानो हुँदै जानसक्छ । शरीरमा एस्ट्रोजेनको कमी हुँदै जाँदा छालाको चिल्लोपन हराउँदै जान्छ ।’ पुस्तकमा लेखिएको छ–त्यसका लागि अमेरिकामा अनेक प्रकारका क्रिम प्रयोग गरिन्छ । यो समस्या तेल (तोरी–नरिवल) लगाएर समाधान गर्न सकिन्छ ।

चुरोट तथा सुर्ती प्रयोग गर्ने महिलाहरूमा यस्तो समस्या बढी देखिएको छ । त्यसैले महिलाले ‘चुरोट त्याग्नुपर्छ । यसले गर्दा अन्य थुप्रै शारीरिक समस्या पनि ठीक हुन्छन् ।’

महिनावारी बन्द हुने प्रक्रिया एकैपटकमा हुँदैन । सुरुमा महिनावारी कहिले हुने, कहिले नहुने वा दुई–तीन महिना बिराएर हुन्छ । ‘मेनोपज’ शीर्षकको पुस्तकमा लेखिएको छ । ‘यस विषयमा भएका अनुसन्धानहरूले के देखाएका छन् भने यस्ता समस्यालाई महिलाहरूको भोजन, शारीरिक व्यायाम, जीवनप्रतिको दृष्टिकोण, मानसिक तनाव आदि कुराले धेरै फरक पार्छ । उदाहरणका लागि अमेरिकाका महिलाहरूमा रजोनिवृत्तिको समस्या बढी देखिन्छ जापानी महिलाहरूमा त्यस्तो समस्या कम पाइन्छ । यस्तो हुनुको कारण यसको सम्बन्ध परम्परा तथा संस्कृतिसँग रहनु पनि हो । अमेरिकामा प्रत्येक महिलाले जवान र राम्री देखिनैपर्छ । उनीहरू वृद्ध हुने प्रक्रियाका बारेमा कुरा गर्न त्यति रुचाउँदैनन् तर जापानीहरू रजोनिवृत्तिलाई समस्याका रूपमा लिँदैनन् । अमेरिकामा रजोनिवृत्ति भएका महिलाहरूमध्ये ४६ प्रतिशतले हार्मोन प्रयोग गर्छन् भने जापानमा रजोनिवृत्ति भएका महिलाहरूमध्ये ६ प्रतिशतले मात्र हार्मोनको प्रयोग गर्छन् ।’

व्यवस्थित जीवन शैली नअपनाउने हो भने त महिलालाई कुनै पनि बेला समस्या पर्छ । प्रायः नेपाली महिलाहरूले पनि यसलाई उमेरअनुसारको स्वाभाविक प्रक्रिया मान्छन् । कतिपयले यो अवस्थालाई धर्म–कर्मतर्फ लाग्ने समयका रूपमा पनि लिन्छन् । जसरी उमेर बढेपछि अनुहारमा केही चाउरी पर्नु कुनै रोग होइन, त्यसैगरी महिनावारी बन्द हुनु पनि रोग होइन भन्ने कुरा सबैले बुझ्नुपर्छ । हो, रजोनिवृत्तिको अवस्थामा पुगेपछि स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । हुन त स्वास्थ्यको ख्याल त जहिले पनि राख्नैपर्छ । यतिबेलामा हाडको घनत्व कम हुँदै जान्छ । त्यसैले शारीरिक व्यायाम, भोजन आदिमा विशेष ध्यान दिनुपर्छ । चिनी तथा जंकफुड त प्रयोग नगरेकै राम्रो । 

रजोनिवृत्ति हुँदा आइपर्ने समस्यालाई कम गर्न भटमास प्रयोग गर्न सकिन्छ जसबाट प्रोटिन तथा लौहतत्व प्राप्त हुन्छ । भटमासको विशेष तत्वले मुटुको रोगबाट जोगाउन मद्दत गर्छ । जापानी महिलाहरूमा रजोनिवृत्ति हुँदा हुने समस्या कम हुनुको एउटा कारण उनीहरूको भोजनमा भटमास समावेश हुनु पनि हो ।

४८ वर्षीया सुमितालाई झर्को लाग्ने, स–साना कुरामा पनि रिस उठ्ने, निद्रा नलाग्ने, कहिले जाडो - कहिले गर्मी हुने भयो । आफूलाई रोग लागेको हो कि भन्ने मानेर उनी डाक्टरकहाँ पुगिन् । डाक्टरले उनको समस्या सुनेपछि महिनावारीका विषयमा सोधे । डाक्टरले अब उनको महिनावारी सुक्न लागेको बताएर केही परामर्श दिए । उनले आफ्नो महिनावारी कहिले डेढ महिना त कहिले दुई महिनामा हुने बताइन् । सुमितालाई खानपान, जीवन शैली, योग, व्यायाम, तनाव व्यवस्थापन आदि गर्ने सल्लाह डाक्टरले दिए । सुमिताले डाक्टरले भनेअनुसार गरिन् र उनको समस्या समाधान भयो ।

अहिले नेपालमा प्रत्येक महिलाले क्याल्सियमको चक्की तथा भिटामिन ‘डी’ खानैपर्छ जस्तो गरिन्छ तर भिटामिन डी घाममा बसेर र क्याल्सियम ज्वानो, आलस, तिल, गहत, भटमास, बोडी आदिबाट पर्याप्त रूपमा लिन सकिन्छ भनेर सल्लाह दिइँदैन । उक्त पुस्तकमा लेखिएको छ–‘महिलाले हाड स्वस्थ राख्न जंकफुड त्याग्नुपर्छ किनभने त्यसमा धेरै नुन हुन्छ । यसले गर्दा हाडमा समस्या देखापर्छ । त्यसैगरी धेरै मोटा महिला वा धेरै गुलियो खाने महिलाहरूमा पनि रजोनिवृत्ति हुँदा समस्या देखा पर्न सक्छ ।’

लिली घिमिरे नामकी ६० वर्षीया महिलाको आजभन्दा ५ वर्षअघि पाठेघर झिकिएको थियो । डाक्टरले उनलाई हार्मोनको चक्की खानु पर्दैन भने । ‘समय–समयमा केही गर्मी वा जाडो होला जस्तो हुनसक्छ । त्यसलाई आफै व्यवस्थापन गर्ने प्रयास गर्नुपर्छ ।

स्वस्थकर खाना खाने र योग गर्ने सल्लाह पनि ती डाक्टरको थियो । लिलीलाई पाठेघर झिकिएका कारणले एक्कासि रजोनिवृत्ति भयो । उनले जंकफुड त्यागिन् । अहिले उनी योग गर्छिन् । उनको हातमा एउटा सानो पंखा सधै हुन्छ । एक्कासि गर्मी भयो भने उनी त्यही हाते पंखा प्रयोग गर्छिन् । प्रत्येक महिलाले जुनसुकै उमेरमा आफ्नो शरीरको ख्याल गर्नुपर्छ तर महिनावारी वा रजोनिवृत्ति रोग हो भन्नु हुँदैन । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्