अर्गानिक कति अर्गानिक ?

लक्ष्मी भण्डारी थापा

जेष्ठ ३०, २०७६

खाद्यपदार्थमा मिसावट एवं विषादीको प्रयोगको चर्चा चलिरहेका बेला अहिले धेरैको ध्यान अर्गानिक खाद्य सामग्रीतर्फ खिचिएको छ । विशेषतः सहरी क्षेत्रमा बसोबास गर्ने मानिसहरू हरेक खाद्यपदार्थमा विषादीको डरले अर्गानिक खाद्यन्न किन्न वा कतैबाट मगाउन बढी पैसा खर्चिरहेका हुन्छन् । अन्य खाद्यान्नको तुलनामा स्वास्थ्यवर्धक तथा कम जोखिम मानिने त्यस्ता खानेकुरा अलि बढी मूल्य पर्नुका साथै सहज उपलब्ध पनि हुँदैनन् तैपनि मानिसहरू खोजीखोजी अर्गानिक खाद्यवस्तुको प्रयोगमै जोड दिइरहेका छन् ।

 

भारती अधिकारी

खाद्य प्राविधिक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग 

नेपालमा कृषि उत्पादन गर्दा विभिन्न रासायनिक मल, जैविक मल, जीवनाशक तथा कीटनाशक विषादी, नुन, एन्टिबायोटिक, पानी, हार्मोन र Genetically Modified Seed आदि प्रयोग गरिन्छ । तरकारी उत्पादन गर्दा कुनै पनि प्रकारको विषादी नराखी उत्पादन गरिएको कृषि उपजलाई अर्गानिक भनिने आम बुझाइ छ । 

अर्गानिक खाद्यपदार्थका लागि अर्गानिक तौरतरिका तथा त्यसको निश्चित मापदण्डमा रही उत्पादन, प्रशोधन, भण्डारीकरण, प्याकिङ एवं प्याकेजिङ गरिएको हुनुपर्छ । कृषि बाली लगाउँदा खेतमा कम्तीमा तीन वर्ष रासायनिक मल, विषादी, एन्टिबायोटिक, फोहरबाट निष्कासित रसायन आदिको प्रयोग वा सम्मिश्रण नभएको हुनुपर्छ । न्भलभतष्अबििथ ःयमषष्भम क्भभम को प्रयोग नगरिएको तथा अर्गानिक बीउबाट उत्पादन गरिनुपर्छ । बाली लगाउने खेतमा हावा, पानी, माटो वा अन्य मार्गबाट कुनै प्रकारको संक्रमण हुन दिनुहुँदैन । हामीकहाँ फोहोरलाई नष्ट गर्न खेतमै जलाई खरानी बनाउने प्रथा यथावत् छ जसले गर्दा माटो प्रदूषित हुन्छ । कृषि उत्पादन बढाउन विभिन्न प्रकारका बाली पालो फेरेर लगाउनु महत्वपूर्ण हुन्छ । अर्गानिक खाद्यपदार्थ हुन अर्गानिक प्रणालीअन्तर्गतका सबै नियम पालन भए मात्र अर्गानिक खाद्य पदार्थ हो भन्ने हुन्छ । यसका लागि खाद्य प्राविधिक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सक्रिय रूपमा विभिन्न कार्यक्रम गरिरहेको छ । 

सुशीला पराजुली

शिक्षिका, प्रेरणा स्कुल 

अर्गानिक खाद्यान्न अझ विशेषगरी तरकारीका लागि म कहाँ–कहाँसम्म पुग्दिन ? गाउँबाट ल्याइएको लोकल भन्दिन्छन् किलोमा दस–बीस रुपैयाँ बढी गएकै हुन्छ जहिले । खानेकुराको सवालमा स्वास्थ्य जोडिएर आउँछ । बालबालिकाको स्वास्थ्यप्रति विशेष चिन्ता हुन्छ । तसर्थ चामलदेखि फलफूल र तरकारीसम्म अर्गानिक नै रोज्छु तर मलाई थाहा छैन यी वास्तवमै अर्गानिक हुन् कि होइनन् ? हेर्दा त सबै उस्तै देखिन्छन् । गाउँमा फलाइएका बाहेक अन्यमा त कहिलेकाहीँ शंका नलाग्ने पनि होइन । कहिलेकाहीँ त अर्गानिक भन्ने कुरा व्यापारिक रणनीति मात्र पो हो कि झैं लाग्छ । वास्तविक अर्गानिक मापन र प्रमाणीकरण गर्ने सरकारी निकाय आवश्यक छ अन्यथा यो यसरी नै चलिरहन्छ । हामी उपभोक्ताहरुले अर्गानिकका नाममा विषादी नखाइरहेका हौंला भन्न सकिँदैन । 

  

समिर नेवा, प्रबन्ध निर्देशक–द अर्गानिक भ्याली

हामीले सन् २००५ मा अर्गानिक भिलेज सुरु गर्दा यसको माहौल त्यति आइसकेको थिएन । मानिसहरूले यस विषयमा त्यति बुझेका थिएनन् । त्यसपछि बजारमा अर्गानिकका नाममा धेरै कुरा आउन थाले । हामीले सिक्दै गयौं, अहिले हामी निर्यातको चरणमा छौं । प्रमाणीकरण भएर स्ट्यार्न्ड पुगेको छैन भने अर्गानिक भन्न पाइँदैन । प्रमाणीकरण गर्न स्वतन्त्र रूपको तेस्रो पक्ष हुन्छ । हामी शतप्रतिशत सर्टिफाइ उत्पादन मात्र बेच्छौं । विषादी हालेको छैन, एकीकृत प्रणालीअनुसार खेती गरिएको छ, वातावरणीय प्रदूषणमुक्त खेती छ भने त्यसलाई अर्गानिक हो भनेर सर्टिफाइ गरिन्छ त्यो चीन, युरोप, भारत जहाँको पनि हुनसक्छ । तसर्थ हामीले प्रमाणीकरण गर्ने पक्ष उपभोक्ताको विश्वनीय हुनसक्ने छान्नुपर्छ । अहिले बजारमा अर्गानिक भनेर बिक्री–वितरण गरिनेमध्ये ३० प्रतिशत मात्र पूर्णरूपमा अर्गानिक होलान् बाँकी ७० प्रतिशतमा कुनै न कुनै रूपमा मिसावट भएकै हुन्छ । यदि मिसावट छैन भने कम्तीमा पनि राष्ट्रिय मापदण्डअनुसारको प्रमाणपत्र हासिल गरेको हुनुपर्छ अनि मात्र अर्गानिक भनेर लेख्न पाइन्छ । हामी अहिले अदुवा, बेसार, टिम्मुरलगायत मसलाजन्य खाद्यपदार्थ रोल्पा, रुकुम, डोटी, सल्यान, सुर्खेत, लमजुङ, नवलपरासी आदि ठाउँमा उत्पादन गरिरहेका छौं । हामी वर्षको चार पटक आन्तरिक तथा एकपटक बाह्य अडिटरहरूलाई उत्पादनस्थलमै पुर्‍याएर निरीक्षण गराउँछौं । हाम्रो वार्षिक २४ लाख रुपैयाँ त अर्गानिक प्रमाणीकरण प्रक्रियामा मात्र खर्च हुन्छ । जुनसुकै अर्गानिक चीज बेच्न अर्गानिक छाप लगाएकै हुनुपर्छ । उक्त छापबिना अर्गानिक भनेर बेचियो भने अन्तर्राष्ट्रिय कानुन लाग्छ ।

रचना शाह, सिनियर क्युरेटर तथा जीवविज्ञ

हरेक प्राणीका लागि खानेकुरा प्रमुख महत्वको विषय हो । जीवन धान्न मात्र नभएर स्वस्थ रहन र सिर्जनात्मक हुन पनि खानाले मुख्य भूमिका निर्वाह गरिरहेको हुन्छ । विशेष गरी सहरी क्षेत्रमा हामीले खानासँगै मिलेर आउने विषादीसमेत उपभोग गरिरहेका छौं । पछिल्लो समय अर्गानिक खाद्यान्नतर्फ धेरैको झुकाव देखिन्छ । क्रेताका हैसियतले कुरा गर्नुपर्दा हामी अर्गानिक भनेर त किन्छौं तर त्यसको मापन कसरी गर्ने ? यो कुरा आउटलुक्सले थाहा हुँदैन सबै उस्तै देखिन्छन् । क्रेताले फिल्डमा चेकजाँच गर्दैनन् । विषादी मिसाइएका फलफूल, तरकारी तथा खाद्यपदार्थ झनै खाऊँ–खाऊँ लाग्ने र आकर्षक देखिन्छन् । अर्गानिक हो कि होइन भनेर सामान्य रूपमा हेरेर थाहा पाउन सकिँदैन । करोडौं मानिसको स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले यसलाई सर्टिफाइ गर्ने सरकारी निकाय आवश्यक देख्छु म त । 

कविता रेग्मी पौडेल

निजामती कर्मचारी, महालेखा नियन्त्रक कार्यालय

अर्गानिक फार्मिङ किन अत्यन्तै लोकप्रिय भयो भने सहरी क्षेत्रका मानिसहरू स्वास्थ्यप्रति बढी सजग हुँदै गए । सामान्यतया उत्पादन हुने फलफूल तथा तरकारीमा अत्यधिक मात्रामा विषादी हुने भनेर कृषि मन्त्रालयजस्तो आधिकारिक निकायबाट नै पटक–पटक सूचना सर्कुलर हुन्छ । यही कारणले पनि मानिसहरू किन जोखिम मोल्ने भनेर अर्गानिक उत्पादनप्रति आकर्षित हुन थाले । अर्गानिक फार्मिङ इटी पर्फिटेबल चार्मिङ बिजनेसका रूपमा देख्न थाले व्यवसायीहरूले । त्यसमा कतिपय व्यवसायी पूर्णरूपमा अर्गानिक उत्पादन नै निकाल्छन् । यद्यपि छिटो नाफा कमाउने व्यवसायीहरूले अर्गानिकका नाममा प्याकेजिङ मात्र थोरै परिवर्तन गरेर ननअर्गानिक सामग्रीसमेत बेचिरहेको पाइन्छ । यो समस्याको समाधान भनेको सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण नहुनु हो । अर्को कुरा क्रेता आफैं पनि सचेत हुनुपर्छ । 

दीपा सिंह

बरिष्ठ वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्

प्राविधिकका हैसियतले भन्नुपर्दा अर्गानिक भनेर बेचिने चीजहरू शतप्रतिशत अर्गानिक छैनन् । किसानहरूले दुःख गरिरहेका छन् भरसक कम विषादी प्रयोग गरेका छन् तर यति मात्र गरेर उत्पादन गरिएका खाद्यान्नलाई अर्गानिक भन्दा पनि विषादीरहित भन्न मिल्छ । विषादीरहित उत्पादन भनेका सकेसम्म विषादी प्रयोग गरिएका हुँदैनन् यदि गर्नैपरे पनि स्वास्थ्यलाई हानि नहुने गरी प्रयोग गरिन्छ । नेपाली बजारमा अर्गानिक भनेर देखिएका धेरैजसो सामग्री यिनै हुन् । कत्ति पनि रासायनिक मल, विषादी तथा भिटामिन प्रयोग नगरिएका उत्पादन शुद्ध अर्गानिक हुन् । जस्तो कि जंगलमा फल्ने निउरो, ऐंसेलु, काफल, सीमसाग आदि खाद्यपदार्थ प्राकृतिक रूपमा प्रांगारिक (अर्गानिक) हुन् । सामान्यतया अहिले नेपाली बजारमा तरकारीमा बढी रासायनिक विषादी प्रयोग भएको पाइन्छ । त्यसमध्ये बेमौसमी तरकारीमा अझ धेरै प्रयोग गरिएको हुन्छ । यद्यपि अर्गानिक पसलमा समेत बेमौसमी तरकारी फेला पर्छ । अब यसलाई के भन्ने ? परम्परागत कृषिले अहिलेको सन्दर्भमा आइरहेको रोग तथा कीरा रोकथाम र समाधान गर्न सक्दैन । अर्को कुरा नेपालमा जैविक विषादी उपलब्ध छैन र प्रांगारिक तरिकाबाट कीराहरू नियन्त्रण गर्ने प्रविधि पनि छैन तसर्थ अर्गानिक खेती गर्नेहरू पनि कुनै न कुनै बेला रासायनिक विषादी हाल्न बाध्य हुन्छन् । यसरी भएका उत्पादनलाई शत प्रतिशत प्रांगारिक (अर्गानिक) भन्ने कि नभन्ने ? नेपाली चिया र कफी जुन बाहिर निर्यात हुन्छन् तिनीहरूले अर्गानिक प्रमाणीकरण गर्नुपर्ने बाध्यता भएकाले सोही प्रक्रियामार्फत उत्पादन गरिने हुँदा त्यसमा बढी शंका रहँदैन । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्