जीवनलाई कसरी खुसी  र सार्थक बनाउने ?

लक्ष्मी भण्डारी थापा

वैशाख २४, २०७६

‘लाइफ्स अल्टिमेट डेस्टिनेसन इन ह्याप्पिनेस– अल्जेरियाका फिक्सन फिलोसफर अल्बर्ट कामसले भनेझैं पैसा, प्रतिष्ठा, पावर, पोजिसन प्राप्त गर्न चाहनेहरूको पनि यी चीजमा अन्तिम गन्तव्य खुसी नै हो । दौडधूप, कडा परिश्रम, सीप र क्षमता अनि समय खर्च गर्ने पनि खुसी प्राप्तिकै लागि हो । सक्ता, शिक्षा, सशत्तीकरण, समतामूलक समाज अनि सचेतनापछि अहिले संसार खुसी प्राप्तिको बाटोतर्फ ढल्किएको छ । अहिले कुन देशका नागरिक कति खुसी ? भन्ने कुराले उक्त मुलुकको विकासलाई मापन गर्ने ट्रेन्डको विकाससमेत भैसकेको छ । जीवन खुसी भए नै सार्थक मानिने हो भन्नेहरूको संख्या बढ्दैछ । मानिसलाई खुसी हुन के कुरा आवश्यक छ त ? 

दीपा गौतम, फेसन डिजाइनर

सकारात्मक सोच, कामप्रतिको जिम्मेवारी अनि सबैभन्दा ठूलो कुरा परिवारलाई गुणस्तरीय समय छुट्याउन सकियो भने दुःखी हुनुपर्दैन । स–साना कुराबाट विचलित नहुने, गल्ती र कहिलेकाहीँको असफलतामा नआत्तिई त्यसलाई पाठका रूपमा लिएर अघि बढ्दै जाने हो भने खुसी मिल्छ । जीवन भनेको सुख–दुःखको संगम हो । जीवनमा सजिला–अप्ठ्यारा त आइहाल्छन् । यस्तो बेला पनि आफूलाई शान्त राख्दै चुनौती सामना गर्दै अघि बढ्ने हो भने खुसी पहिल्याउन सकिन्छ । लोभ, मोह, ईर्ष्या, मपाईं र म मात्र खुसी रहुँ भन्ने नकारात्मक सोच र व्यवहारले जीवन कहिल्यै खुसी र सार्थक हुँदैन । यी चीजले त जीवनमा अझ बढी दुःख निम्त्याउँछन् । 

सुजिना लामा, शिक्षिका

मेरो सन्दर्भमा खुशी भन्नु नै आफु बांचिरहेकी छु भन्ने महसुस गर्नु हो । त्यो महसुस तब हुन्छ जब म आफु सहयोगी हुनुका साथै आफु उपयोगी भएको ठान्छु । मानिससंग धन, सम्पत्ती, अत्याधुनिक महंगा भौतिक साधन भएर मात्रै खुशी भइन्छ भन्नु मिथक लाग्छ मलाई । वरिपरिका ब्यक्तिहरूका अगाडी आफु महत्वपुर्ण भएको महसुस गर्नु नै मेरो लागी जीवनको खुशी हो । यसका अलावा आफुले चाहेको वा ईच्छ्याइएको काम सफल हुंदा म जस्तै हरेकलाई खुशी लाग्न सक्छ ।

प्रतिमा राई, लेखिका तथा अध्यक्ष विमेन्स एरा एन्ड मिडिया ग्रुप नेपाल

जीवनमा कतिपय कुरा आफूले सोचे र चाहेजस्तो ठ्याक्कै नहुन पनि सक्छ । वास्तवमा दुःखी र अशान्त हुनुपर्ने कारण त्यहीँबाट उत्पन्न हुन्छ । अनुकूल समय र परिस्थितिमा यसै पनि खुसी भइन्छ । प्रतिकूल र विकट परिस्थितिमा पनि आफूले आफैलाई सम्हाल्ने, सम्झाउने र धैर्य धारण गर्न सक्ने क्षमता र सीप भए जीवनलाई खुसी र सार्थक बनाउन सकिन्छ । सुखी व्यक्ति विशेषको रुचि, स्वभाव र भावनासँग निकट र निर्भर हुने भएकाले खुसीको परिभाषा फरक–फरक हुन सक्छ । कहिलेकाहीँ मात्र खुसी हुनु र जीवनलाई सधैभरि खुसी राख्न सक्नु अलग कुरा हुन् । कहिलेकाहीँ मात्र खुसी हुनु भनेको अवसरको कुरा हो भने सधैभरि खुसी रहन सक्नु जीवन जिउने कला हो । रोग, ईर्ष्या, घमण्ड, शंका, स्वार्थीभावना र लालचीपन खुसीका शत्रु हुन् । जीवनभर खुसीपूर्वक बाँच्न चाहने हो भने यी कुराहरूबाट मुक्त हुन सक्नुपर्छ । खुसी न खोजेर पाइन्छ न किनेर । बरु जति धेरै निःस्वार्थ, सहयोगी र सकारात्मक व्यवहारले अरूलाई खुसी पार्न सकिन्छ जीवनमा त्यति नै खुसी मिल्दै जान्छ । अर्को कुरा भौतिक खुसी क्षणिक हुन्छ भने आत्मिक खुसी दीर्घकालीन । जुन खुसी, सद्व्यवहार र सत्कर्मबाट मात्र प्राप्त हुन्छ । स्वस्थ, सुन्दर र सुखी जीवनका लागि खुसी हुनु शारीरिक, मानसिक एवं भावनात्मक रूपले पनि आवश्यक छ । कतिसम्म भने खुसीबिनाको भौतिक सुविधा पनि नुनबिनाको तरकारीजस्तै खल्लो हुन्छ । त्यसको खासै अर्थ हुँदैन र खुसीबिनाको जीवन सार्थक होला भन्ने परिकल्पनासम्म गर्न सकिँदैन । त्यसैले यो अमूल्य मानव जीवनलाई सार्थक बनाउन खुसी हुनुपर्छ । खासगरी व्यक्तिगत स्वार्थ र नकारात्मक विचारलाई त्यागेर अरूको समेत भलो चिताई सत्कर्म गरे जीवनलाई खुसी र सार्थक बनाउन सकिन्छ । 

मोहिनी प्रधान, बैंकर्स

धैर्य, समझदारी र अरूबाट कुनै अपेक्षा नराखी लगनशील भएर काम गर्दा जीवनमा पछुताउनु पर्दैन अर्थात् दुःखी हुनु पर्दैन । पैसा जिउनका लागि महत्वपूर्ण साधन हो तर खुसीको माध्यम भने होइन । प्रेम नै खुसीको स्रोत हो । जुनसुकै सम्बन्धमा प्रेम रहेन भने त्यो सम्बन्ध निरन्तर रहँदैन । आन्तरिक सन्तुष्टि आवश्यक हुन्छ खुसी हुनका लागि । माया, प्रेम, सम्मान तथा आपसी समझदारीले ‘इटरनल स्याटिस्फ्याक्सन’ दिन्छ । जीवनलाई खुसी राख्ने हो भने रिस, द्वेष, ईर्ष्या तथा आवेगबाट टाढा रहने प्रयास गर्नुपर्छ । मानिसले जीवनमा जे–जति काम गर्छ खुसी हुनकै लागि गर्छ । आखिर जीवनको अन्तिम लक्ष्य त खुसी मात्र रहेछ तसर्थ सकारात्मक सोच तथा सहयोगी भावना राखेर असल कर्म गर्न सके जीवन खुसी र सार्थक हुन्छ । 

रिना शाक्य, सौन्दर्यविद्

मेरो खुसी परिवार र मेरा आफन्तहरूमा छ । खुसी भन्ने कुरा व्यक्ति विशेषमा पनि निर्भर रहन्छ । सबैको खुसी हुने तरिका एउटै नहोला तर केही त्यस्ता काम–कुरा छन् जसले हरेकमा खुसी भर्न सक्छन् र जीवनलाई उपलब्धिमूलक बनाउन सहयोगी हुन्छन् । मुख्य कुरा त आफ्ना लागि मात्र नभई अरुलाई पनि आफ्नो सत्कर्मद्वारा रमाउन सक्ने वातावरण बनाउन सकियो भने त्यसले सन्तुष्टि दिन्छ र मानिसलाई खुसी बनाउँछ । मेरो पेसाले अहिलेसम्म हजारौंलाई सुन्दर बनाएर खुसी दिएको छ । चायाँ–पोतोले भरिएर आएकाहरू केही समयको उपचारपछि अनुहार चम्किलो बनाउँदै हाँसेको देख्दा मलाई भित्रैदेखि सन्तुष्टि मिल्छ, न कि त्यसवापत पैसा लिँदा पैसा त जीवन चलाउनका लागि आवश्यक एउटा तत्व मात्र हो जसले खुसी किन्न सकिँदैन । त्यसैले दिनुमै खुसी छ भन्ने मेरो ठम्म्याइ छ । 

बिनु खड्का, सञ्चारकर्मी

माया, प्रेम, परिवार, साथीभाइ, ईष्टमित्र मेरा खुसीका स्रोत हुन् । पैसाले कहिल्यै खुसी बनाएन मलाई । पैसा नहुँदा पनि म दुःखी भइन । जीवनलाई सार्थक बनाउने भनेको कर्म रहेछ । एउटा शिक्षकले महिनाको अन्तिममा तलब लिन्छ त्यो ठूलो कुरा होइन र त्यो खुसीको स्रोत पनि होइन । उसले असक्षम बालबालिकालाई कसरी सक्षम बनाउँछ त्यो ठूलो उपलब्धि हो, खुसीको स्रोत हो । सञ्चारकर्मीका हैसियतले म जतिलाई प्रेरित गर्न सक्छु त्यसले मेरो जीवनलाई त्यति नै सार्थक बनाउँछ । तराई मूलकी मेरीे एउटी श्रोता बहिनी जसले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहनुभएको थियो उहाँले मेरो कार्यक्रम सुनेर औषधि छोड्नुभयो, उहाँका अनुसार मेरो काउन्सिलिङले नै उहाँ स्वस्थ हुनुभयो । हो यही नै हो मेरो जीवनको उपलब्धि र खुसी । मेरा कार्यक्रममा आउने पाहुनाहरूले मलाई हरक्षण मोटिभेट गरिरहेका हुन्छन् त्यसले मलाई खुसी मिल्छ । जीवनलाई खुसी र सार्थक बनाउन सबैभन्दा पहिले आफूले के गर्नुभएको छ त्यसमा अडिग रहनुहोस् । आफ्नो कर्मद्वारा अरूमा खुसी खोज्नुहोस्, महिलाका नाताले घर र व्यवसायलाई कसरी सन्तुलित राख्ने त्यसतर्फ पनि सोच्न सकियो भने परिवारमा खुसी छाउँछ । आफू मात्र खुसी हुनतिर लागियो भने क्षणिकका लागि सुख प्राप्त होला तर कालान्तरमा आफूप्रति अरूको मूल्यांकन र दृष्टिकोणले आफैंलाई खान्छ अनि दुःखका दिन सुरु हुन्छन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्