स्वास्थ्यका सन्दर्भमा वार्षिक संकल्प

डा.सुमनराज ताम्राकार

वैशाख २२, २०७६

 

 यो वर्ष २५ वटा नेपाली साहित्यका पुस्तक पढ्छु, नेपालका १० वटा नयाँ ठाउँ घुम्छु, ८५ प्रतिशत क्लास एटेन्ड गर्छु, जस्ता विभिन्न संकल्प लिन सकिन्छ । यसैगरी स्वास्थ्यलाई लिएर पनि योजना बनाउन सकिन्छ । 

तपाईंलाई आफ्नो रक्त समूह थाहा छ कि छैन ? कहिल्यै रत्तदान गरिएको छ कि छैन ? हरेक तीन महिनामा रक्तदान गर्न मिल्ने भए पनि यो वर्ष कम्तीमा दुई पटक रक्तदान गर्ने संकल्प लिन सकिन्छ । लाइसेन्सका लागि पनि रक्त समूह थाहा पाउनुपर्छ । यदि अपर्झट अप्रेसन गर्नुपर्‍यो भने रक्त समूह थाहा पाउनु आवश्यक हुन्छ । किशोरी वा महिलाको रक्त समूह नेगेटिभ छ भने गर्भावस्थामा अलि बढी ध्यान दिनु पर्छ । 

घरपरिवारमा होस् वा होस्टल, स्कुल–कलेजमा कसैलाई क्षय रोग लागेको छ भने वा धूवाँ–धूलोयुक्त वातावरणमा लामो समयदेखि बसिरहेको अवस्थामा वर्षमा एकपटक छातीको एक्सरे गराउनु बुद्धिमानी हुन्छ । छातीको एक्सरेबाट मुटुको सुजन, दम वा सीओपीडीजस्ता श्वासप्रश्वासमा समस्या भए–नभएको पनि पत्ता लाग्छ । भर्‍याङ उक्लिदा, उकालो चढ्दा, उचाइमा जाँदा सास फुल्छ, स्याँ–स्याँ हुन्छ, सानो छँदा पटक–पटक निमोनियाँ हुन्थ्यो भने मुटुको ईसीजी गराउनु उपयुक्त हुन्छ । 

परिवारमा कसैलाई विशेषतः आमाबुबालाई सुगरको समस्या छ भने नियमित केही समयको अन्तरालमा सुगर जाँच गराउनु वेश हुन्छ । सुगरसँगै कहिलेकाहीँ लिपिड प्रोफाइल अर्थात् कोलेस्टेरोल, ट्राइग्लाइसेराइड आदि जँचाउनुपर्छ किनभने उच्च कोलेस्टेरोलका कारण पछि गएर हर्टएट्याक (हृदयाघात) हुनसक्छ । 

यसैगरी आफ्नो बीएमआई (बडी मास इन्डेक्स) कति छ, हिसाब गरिएको छ ? आफ्नो तौल (किलोग्राम) लाई दुईपटक उचाइ (उचाइ मिटरमा, जस्तै उचाइ १ सय ७० सेमी छ भने १ दशमलव ७) ले दुईपटक भाग गर्दा बीएमआई आउँछ । यो वर्ष आफ्नो बीएमआई २५–२६ मै राख्ने संकल्प लिनु उपयुक्त हुन्छ । बीएमआई बढी हुनु भनेको मोटोपन हुनु हो । मोटोपनसँगै मधुमेह, हृदय रोग, उच्च कोलेस्टेरोल, महिनावारीमा गडबडी, निःसन्तानको समस्या, पिसाबको समस्या, कलेजोमा बोसो जम्ने जस्तो जोखिम बढ्न पुग्छ । 

किशोरावस्थामा पुगेपछि जोकसैमा यौन चाहना हुन्छ । अहिले काठमाडौंलगायत सहरी क्षेत्रमा लिभिङ टुगेदर बस्ने वा विवाहपूर्व नै यौनसम्बन्ध राख्ने परिपाटी वृद्धि हुँदै गएको छ । त्यसैले कुनै पनि बेला असुरक्षित यौनसम्पर्क भएको छ भने यौनजन्य संक्रमणको जोखिम हुन्छ । रगत वा योनिस्रावको जाँचबाट क्लामाइडिया, गोनोरिया, एचआईभी, हेपाटाइटिस बी र सीको जाँच गराउनु बुद्धिमानी हुन्छ । आकस्मिक यौनसम्बन्धका कारण गर्भ बसिहाल्ने वा एचआईभीलगायतका संक्रमण भैहाल्ने हुँदैन तर एकैपटकको यौनसम्बन्धपछि समस्या सिर्जना भयो भन्ने चिन्ता लिएर आउनेहरू पनि धेरै छन् । त्यसैले सम्बन्धित चिकित्सक वा मनोपरामर्शदाताको राय लिनु बुद्धिमानी हुन्छ । 

मनोसामाजिक परामर्शको कुरा आउँदा कहिलेकाहीँ साथीहरू वा स्वयं आफैंले चिन्ता, टेन्सन, डिप्रेसन वा सुसाइडका हिन्ट दिइरहेको हुनसक्छ । यस्तो अवस्थामा साथीभाइ वा स्वयं आफैंलाई मनोपरामर्शदाताको सहयोग चाहिन सक्छ । साइकियाट्रीको नाम लिनासाथ बहुला वा पागलपनको कुरा मात्र दिमागमा ल्याउनु हुँदैन । अहिले जताततै प्रतिस्पर्धा छ, सबै जना करियर बनाउने ध्याउन्नमा छन् । साथीहरूका तर्फबाट प्रेसर हुनसक्छ, आफ्ना अभिभावकहरूले आफ्नो धारणा नबुझिरहेको जस्तो लाग्न सक्छ । यस्तो अवस्थामा मनोचिकित्सकको सल्लाह वा मनोपरामर्श मार्फत समाधान खोज्न सकिन्छ । 

नेपाली महिला अनि किशोरीहरू रक्तअल्पताबाट ग्रसित छन् । त्यसमाथि प्रत्येक महिनाको महिनावारीका कारण तथा तीन महिने सुई, पाखुरामा राख्ने नरफ्लान्ट आदिका कारण बढी रक्तस्राव हुने समस्याले रत्तअल्पता थप वृद्धि हुन्छ । त्यसैले प्रत्येक तीन वा छ महिनामा रगतमा हेमोग्लोबिनको मात्रा जँचाउनु पर्छ ।

पाठेघरको मुखको क्यान्सरको कारक तत्व ह्युम्यान पापिलोमा भाइरस (एचपीभी) पनि हो । विकसित देशमा यसको रोकथामका लागि खोप उपलब्ध छ जुन नेपालमा अभैसम्म भित्रिएको छैन । यद्यपि पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको सिलसिलामा परिवारमा आमा वा नजिकका दिदीबहिनीमा यस्तो समस्या छ–छैन बुझेर विवाहको वा यौनसम्पर्क कायम गर्न थालेको दुई–तीन वर्षपछि नियमित अन्तरालमा प्याप स्मेयर, भीआईए वा लिक्विड बेज्ड साइटोलोजीबाट स्क्रिनिङ गराउनु उपयुक्त हुन्छ । त्यसका अतिरिक्त दूरबिनबाट पाठेघरको मुखको जाँच वा आवश्यक पर्‍यो भने पाठेघरको मुखको बायोप्सी गराउन सकिन्छ । 

तल्लो पेटमा डल्लो आउने समस्याको कारण डर्मोइड सिस्ट (दाँत, कपाल, बोसोजस्ता तत्वसहितको सिस्ट) वा फाइब्रोइड (पाठेघरमा मासु पलाउने समस्या) हुनसक्छ । डिम्बाशयको क्यान्सर अहिले कलिलै उमेरमा समेत देखापर्न थालेको छ । डिम्बाशयको ट्युमरका सुरुवाती लक्षण ग्यास्ट्राइटिससँग झुक्किने खालको हुन्छ । अतः समयमै गाइनोकोलोजिस्टसँग सल्लाह लिनु उपयुक्त हुन्छ । रगतमा ट्युमर मार्करको जाँच र अल्ट्रासाउन्डको माध्यमबाट क्यान्सरको ट्युमर हो कि होइन छुट्याउन सकिन्छ ।

ग्यास्ट्राइटिसको समस्या भएकाहरूले इन्डोस्कोपी, आलोपालो गरी दिसा पातलो वा कब्जियत भैरहनेले मलद्वारबाट दूरबिन छिराएर गरिने जाँच कोलोनोस्कोपी गराउनुपर्छ । त्यसो त दिसाको साधारण जाँचबाट विझिन्न खालका जुकाको संक्रमण, रत्तअल्पता, आन्द्राको क्यान्सर आदि पत्ता लाग्न सक्छ । त्यसैगरी पिसाब वा रगतमा क्रियाटिनिनको जाँचबाट मिर्गौलाको समस्या पत्ता लगाइन्छ । मोटोपन भएकाहरूले वा पटक–पटक पिसाबको संक्रमण भैरहे सुगर छ कि छैन जचाउनु बुद्धिमानी हुन्छ ।

उमेर पुगेर पनि महिनावारी भएको छैन, काखी वा जननेन्द्रिय वरिपरि रौं पलाएको छैन भने समस्या अलि गम्भीर हुनसक्छ । यस्तो अवस्थामा एफएसएच, एलएच, प्रोल्याक्टिन, एएचबीजी आदि हार्मोनको जाँच गराउनुपर्ने हुन्छ । त्यसो त गर्भावस्थाका कारणले नभै अन्य कारणले एक्कासि महिनावारी रोकिँदा पनि हार्मोनको लेवल जचाउनुपर्छ ।

आवश्यकताअनुसार र आफूमा विकसित लक्षण चिन्हका आधारमा आँखा, कान, दाँत, छाला आदिको जाँच गराउनुपर्ने हुन्छ । मधुमेह वा उच्च रक्तचाप भएकाहरूले आँखाको जाँच, मुटुको जाँच अनिवार्य रूपमा गराउनुपर्ने हुन्छ । त्यसैगरी मद्यपान गर्ने बानी छ भने रगतमा गामाजिटी र अल्ट्रासाउन्डबाट कलेजोको जाँच गराउनु पनि उत्तिकै आवश्यक मानिन्छ । 

यसका अतिरिक्त बिनाकारण आलस्य हुने, कब्जियत हुने वा पखाला चल्ने, जाडो वा गर्मी खप्न नसकिने, छाला सुख्खा हुने, चिलाउने, घाँटीको अगाडि पट्टि डल्लो आएको आशंका भयो भने थाइराइड हार्मोनको जाँच गराउनु आवश्यक हुन्छ । सन बर्नको समस्याका कारण वा कार्य व्यस्तताले घाममा बस्न नपाउँदा वा दुग्धपदार्थको सेवनको कमीले क्याल्सियमको कमी हुनसक्छ । त्यसैले रगतमा क्याल्सियमको कमी छ भने क्याल्सियम खानुपर्ने हुन्छ ।

असुरक्षित यौनसम्पर्कका कारण हुने अनिच्छित गर्भ रोकथामका लागि आकस्मिक गर्भनिरोधका उपायहरू, गर्भ बस्यो कि भनेर चेक जाँच गर्ने तरिका, गर्भपतन गराउनुपर्ने ल्याब जाँच, असामान्य योनिस्रावको ल्याब टेस्ट, महिनावारी हुँदा तल्लो पेट दुख्ने समस्या भएका किशोरीहरूले सम्बन्धित स्त्री रोग विशेषज्ञसँग जाँच गराउनुपर्छ । 

स्वास्थ्यका दृष्टिले यी चेक जाँच 

आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गरे स्वस्थ जीवनयापन गर्न सकिन्छ । जतिसुकै व्यस्त भए पनि प्रत्येक वर्ष आफूलाई स्वस्थ अनि फिट एन्ड फाइन राख्न दृढ संकल्पित हुनु आवश्यक छ ।    

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्