हाइकिङको कुनै सिजन वा मौसम हुँदैन

युवराज गौतम

वैशाख ८, २०७६

खुलेको आकाश, हरियाली र सुनसान वन–जंगल । चराको चिरबिर आवाज, सिरसिर चलिरहने चिसो बतास । उकाली–ओराली, डाँडा–पाखा अनि गाउँले परिवेश । पसिनाले निथ्रुक्कै भिजेको शरीरमा घरिघरि चिसो हावाको शीतलताका कारण जता हिँडे पनि उस्तै मज्जा । यस्तो मज्जा हाइकिङमा मात्र लिन सकिन्छ । करिब एक दशकयतादेखि नेपालमा हाइकिङ संस्कृति मौलाउँदै गएको छ ।

एकदिने पदयात्रा अर्थात् हाइकिङ काठमाडौं उपत्यका आसपास मात्र होइन देशका विभिन्न स्थानमा संस्कृतिकै रूपमा विकसित हुन थालेको छ । हप्ता, पन्ध्र वा महिना दिनमा एकपटक हाइकिङमा जाने चलन अब नेपालमा पनि नौलो रहेन । व्यस्त रहने कर्मचारी, विद्यार्थीदेखि व्यवसायीहरू समूह मिलाएर हाइकिङ जाने गरेका छन् । त्यतिमात्र होइन छोटो समयका लागि आएका पर्यटक लामो समयको पदयात्रा गर्न नभ्याउँदा हाइकिङ जान्छन् । पहाडी भेगमा हाइकिङ बढी लोकप्रिय छ । 

स्वस्थ रहन दैनिक एक घन्टा हिँड्नु वा पसिना निकाल्नुपर्छ भन्ने अवधारणाअनुरूप हाइकिङको क्रेज बढ्दै गएको पाइन्छ । पर्यटकका लागि काठमाडौं र पोखरा वरपरका डाँडाकाँडा हाइकिङ गर्नेहरूको रोजाइमा पर्ने गरेका छन् । ठमेल ज्याठास्थित यूएनओ ट्राभल एन्ड एडभेन्चरका संचालक पिके शेर्पा भन्छन्–ॅविगत एक दशकयता हाइकिङ प्याकेजको माग बढिरहेको छ’, ॅविदेशबाट छोटो समयका लागि आएका पर्यटकको पहिलो रोजाइ नै हाइकिङ हुने गरेको छ ।’

हाइकिङको कुनै सिजन वा मौसम हुँदैन । जुनसुकै मौसममा फुर्सद मिलाएर हाइकिङ गर्न सकिन्छ । यद्यपि विशेषगरी फागुन, चैत, वैशाख तथा भदौ, असोज र कात्तिक महिना हाइकिङको उपयुक्त मौसम मानिने संचालक शेर्पा बताउँछन् । प्रत्येक ऋतु हाइकिङका लागि उपयुक्त मानिन्छन् किनभने एउटा ऋतुमा हाइकिङ गर्दा जहाँ काफल पाकेको हुन्छ, अर्कोमा त्यहीँ ऐंसेलु अनि लालीगुराँस पाइन्छ । कुनै महिना पतझड र झाडी भैदिन्छ त कुनै महिना हरियाली । त्यसैले एकदिने यात्रा गर्न कुनै मौसम र ऋतु बाधक बन्दैन । महिनाभरि तनावमा बिताउनेहरू हाइकिङमा रमाउन निस्कनु अनौठो हुन छाडेको छ । 

सरकारले पनि हाइकिङमार्फत पर्यटक भुलाउने नयाँ कार्ययोजनाहरू तयार पार्न थालिसकेको छ । ट्रेकिङ गन्तव्यहरूमा यातायातको सेवा–सुविधा बिस्तार भैसकेकाले विदेशबाट आएका पर्यटकहरू पनि हाइकिङतिर रमाउन थालेको लाजिम्पाटस्थित रेन्दोने ट्रेकिङ एजेन्सीका छेटुप तामाङ बताउँछन् । पुराना ट्रेकिङ रुट भएका क्षेत्रमा यातायातको कोलाहल भएकाले पर्यटकले हाइकिङ रोज्न थालेको उनले बताए । धेरै नेपालीले हाइकिङका लागि नयाँ वर्ष, चाडपर्व, साप्ताहिक बिदा, सार्वजनिक बिदा आदि अवसर रोज्छन् । काठमाडौं आसपासमा लाँकुरीभन्ज्याङ, सेतोगुम्बा, ओशो तपोवन, कुलेखानी, दामन, शिवपुरी आरक्ष, पनौती, दक्षिणकाली, नागार्जुन, नमोबुद्ध आदि क्षेत्र हाइकिङका लागि बढी प्रयोग हुन थालेका छन् ।

 

काठमाडौं आसपास धेरैको रोजाइ

शिवपुरी–बूढानीलकण्ठ

काठमाडौंमा बस्ने धेरैको रोजाइमा पर्छ–शिवपुरी भन्ज्याङ । काठमाडौं नजिकै पर्ने शिवपुरी २५ सय ६३ मिटर उचाइमा छ । शिवपुरी संरक्षण क्षेत्र (निकुञ्ज) वन–जंगलले ढाकिएको छ । पाँच घन्टामा पूरा गर्न सकिने यो रुट जंगलभित्र शीतलता लिँदै पूरा गर्न सकिन्छ । शिवपुरी ठूलो जंगल भएकाले वन्यजन्तुबाट भने सचेत रहनुपर्छ ।

 

काठमाडौं–नमोबुद्ध

नमोबुद्ध विशेषतः पिकनिक स्पटका रूपमा चर्चित छ । यहाँ काठमाडौंबाट हाइकिङ जान निकै रमाइलो हुन्छ । बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी र स्वयम्भूपछिको महत्वपूर्ण धार्मिक स्थल भएकाले यो निकै हराभरा र शान्त छ । १८ सय मिटर उचाइमा अवस्थित यो क्षेत्र धुलिखेल, बनेपा र पनौतीबाट पुग्न सकिन्छ । यहाँबाट काठमाडौं उपत्यकाका साथै भक्तपुरका काठ क्षेत्र अवलोकन गर्न सकिन्छ ।

चम्पादेवी–फर्पिङ

चम्पादेवी हाइकिङका लागि धेरैको रोजाइमा पर्छ । २३ सय मिटर उचाइमा अवस्थित चम्पादेवी मन्दिर धार्मिक र प्राकृतिक दुवै हिसाबले आकर्षक गन्तव्य हो । यो यात्रा काठमाडौंबाट चम्पादेवी मन्दिर हुँदै फर्पिङमा आएर टुंगिन्छ । यो यात्राका विशेषता बौद्ध स्तूप, हिमालय शृंखलाको अवलोकन एवं हरियाली जंगल हुन् ।

 

गोदावरी–फूलचोकी

गोदावरी पिकनिक स्पटका रूपमा चर्चित छ । यहीँबाट फूलचोकीका लागि हाइकिङ गर्न सकिन्छ । २७ सय ८२ मिटरको उचाइमा अवस्थित फूलचोकीबाट हिमशृंखलाका सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । जंगलै–जंगलको यो बाटो रमाइलो पनि छ । ठाडो उकालो र केही तेर्सो बाटो भएकाले यहाँ हिँड्न निकै मज्जा आउँछ ।

 

ककनी–गुर्जेभञ्ज्याङ

डेटिङ र पिकनिक स्पटका रूपमा चर्चित स्थल हो–ककनी । अहिले यो हाइकिङका लागि समेत चर्चित हुँदै गएको छ । २ हजार ७३ मिटर उचाइमा अवस्थित ककनी काठमाडौंको माछापोखरीबाट गाडीमा जान सकिन्छ । ककनीबाट ३ घन्टाको पदयात्रापछि गुर्जेभञ्ज्याङ पुग्न सकिन्छ । यहाँबाट हिमशृंखला, प्राकृतिक सौन्दर्य एवं काठमाडौं उपत्यका तथा नुवाकोटका अधिकांश भागको दृश्यावलोकन गर्न पाइन्छ ।

सुन्दरीजल–चिसापानी

यो अलिक लामो हाइकिङ रुट हो । सुन्दरीजलबाट मूलखर्क–ठूलोधाप हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमामा अवस्थित चिसापानी पुग्न लगभग ६ घन्टा लाग्छ । वन–जंगल एवं ग्रामीण बस्तीको यो यात्रा निकै सम्झनायोग्य हुन्छ । चिसापानी पुगेर एकरातको बसाइपछि रमाइलो गर्दै फर्कन सकिन्छ । त्यहाँ बस्न सुविधासम्पन्न होटल उपलब्ध हुन्छन् ।

 

पोखरा आसपास उस्तै रमाइलो 

पोखरा आसपासमा रमाइला हाइकिङ गन्तव्यहरू छन् । पोखराको प्रचलित र पुरानो रुट हो–सराङकोट र धम्पुस । त्यहाँ पुग्न पर्यटकहरूले फरक–फरक रुट प्रयोग गर्छन् । यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखला देखिन्छ । सराङकोट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि पनि प्रख्यात छ । 

त्यसबाहेक कृस्ती–शिवढुंगा–देउराली, गैरा–कृस्ती कालिका मन्दिर–भ्यूटावर–मट्टीखान हुँदै माउन्टेन रिसोर्ट–छोरेपाटनसम्म हाइकिङ गर्ने नयाँ रुटको पहिचान सुरु भएको छ । लेखनाथ नगरपालिका–१८ स्थित हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । बादलचोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्मको दूरी नौ किलोमिटर छ । यता घलेगाउँ, बेसीसहर आदि ठाउँमा पनि हाइकिङ रुटहरू छन् ।

 

धरानमा रमाइलो हाइकिङ

धरान आसपास हाइकिङका लागि रमाइला डाँडाहरू छन् । महाभारत डाँडा, साघुरी, चिन्डेडाँडा, भालुढुंगा, माछामारा धरानको पहिलो रोजाइको गन्तव्य हो । देवीमार्गबाट सुरु भएर चिन्डेडाँडा, भालुढुंगा, विष्णुपादुका मन्दिर, भन्ज्याङ, माछामारास्थित निर्माणाधीन गोर्खा स्मृति पार्क हुँदै मंगलबारे पुगेर यो यात्रा टुंगिन्छ । सुलिकोट, निसाने डाँडा तथा साँघुरीगढीको हाइकिङ पनि उस्तै रमाइलो हुन्छ । धनकुटाको भेडेटार, हिले तथा धनकुटा बजार आसपास पनि हाइकिङ रुटहरू खुल्न थालेका छन् । इलाममा भालुढुंगा हाइकिङ चर्चित छ ।

हाइकिङ जाँदा 

हाइकिङ विशेषगरी समूहमा रमाइलो हुन्छ । यसका लागि ५ देखि १२ जनासम्मको समूह उपयुक्त मानिन्छ । हाइकिङ जाँदा लोकेसन नक्सा बोक्नुका साथै समयको एकदमै ख्याल गर्नुपर्छ । त्यसका लागि हलुका र लचकदार कपडा लगाउनुपर्छ भने समूहको साथ छोड्नु हुँदैन । सँगसँगै हिँड्नुपर्छ तर हिँडाइ एकदरको हुनुपर्छ । हाइकिङमा स्टिक बोक्नु उपयुक्त मानिन्छ । 

हाइकिङ जाँदा कम्पास, नक्सा, पानीको बोतल, हेडल्याम्प, खानेकुरा, सनस्क्रिम, ग्लास आदि सामग्री बोक्नुपर्छ । फुटवेयरका रूपमा बुट, सुज, हाइकिङ मोजा आदि प्रयोग गर्न सकिन्छ । मौसमअनुसार ज्याकेट, रेनकोट, लामो टिसर्ट, पञ्जा आदि लगाउन बिर्सनु हुँदैन । एसेसरिजका रूपमा पैसा, सानो ब्याग, ट्वाइलेट पेपर, घडी, डायरी, पेन, क्यामेरा आदि अनिवार्य मानिन्छ । हाइकिङमा धेरै खर्च हुँदैन । सामान्य खानेकुरा खाँदा कम्तीमा १५ सय तथा बढीमा ३ हजार रुपैंयाँ भए पुग्छ । यसमा आफ्नो रुचिअनुसार खर्च निर्धारण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्