किन हायपर बन्दैछन् अभिभावक

रोजिन शाक्य

चैत्र २९, २०७५

आजको पारिवारिक दृश्य बदलिँदै गएको पाइन्छ । पहिले आमाबुवा कामकाजी भएका कारण शिशुलाई समय दिन पाउँदैनथे । अहिले शिशुका लागि अभिभावकले आफ्नो भूमिकालाई परिवर्तन गरेका छन् । अब शिशुको पालनपोषण आमाको जिम्मेवारी मात्र रहेन । हिजोआज कहिले आमाले त कहिले बुवाले शिशुको हेरचाहमा समय दिन थालेका छन् । 

हिजोआजका अभिभावकहरु हायपर बन्दै गएका छन् । यसका पछाडिका केही कारण जानौं ।

हरेक क्षेत्रमा अघि बढाउने चाहना : हिजोआज अभिभावकहरू आफ्ना सन्तान हरेक क्षेत्रमा अघि बढेको देख्न चाहन्छन् । त्यसैले बालबालिकाहरू बिदाको समयमा पनि आराम गर्न पाउँदैनन् । उनीहरूले खेलकुद एवं अन्य कुनै कार्यक्रममा समय बिताउने अवसर पनि कमै प्राप्त गर्छन् । उनीहरूलाई स्वीमिङ, स्केटिङ, डान्स, गायन, मार्सल आर्ट आदि क्लासमा पठाइन्छ । आफ्ना बालबालिका अरूभन्दा पछाडि नपरून् भन्ने हेतुले नै अभिभावकहरू यसो गर्छन् । यद्यपि बालबालिकालाई अघि बढाउने चक्करमा अभिभावकहरू उनीहरूको प्राकृतिक विकासमा बाधक बन्दै गएको कुरा भने ख्याल गर्न सक्दैनन् । कामकाजी अभिभावकहरू बालबालिकालाई पर्याप्त समय दिन सक्दैनन् । त्यसैले पनि उनीहरूलाई एक्लै छोड्नुभन्दा व्यस्त राख्नु ठीक हुने भन्दै अनेकौं क्लास ज्वाइन गराउँछन् । 

एकल परिवार : हिजोआज पेरेन्टिङ धेरैका लागि ठूलो मुद्दा बन्न पुगेको छ । पहिले सबैजसो ज्वाइन्ट फेमिलीमा हुन्थे । त्यहाँ बालबालिकाको हेरचाहका लागि हजुरबुवा, हजुरआमा, काका–काकी आदि कोही न कोही अवश्य रहन्थे । फेमिली न्युक्लियर हुँदै गएपछि बालबालिकासम्बन्धी चिन्ता बढ्दो छ । पहिले जहाँ घरपरिवारमै बालबालिकाले हरेक प्रकारको शिक्षा प्राप्त गर्थे, त्यहीँ आज आमाबुवाहरू विभिन्न संस्थाद्वारा आयोजित सेमिनारमा सहभागी भएर शिशुलाई सम्हाल्ने उपाय सिक्छन् । पेरेन्टिङलाई लिएर काउन्सिलरकहाँ पुग्नुपर्ने आवश्यकता बढ्दो छ । बालबालिकाको लालनपालन आजका आमाबुवाका लागि चुनौतीपूर्ण बन्दै गएको छ । 

बदलिँदो परिवेश : आजको पारिवारिक दृश्य बदलिँदै गएको पाइन्छ । पहिले आमाबुवा कामकाजी भएका कारण शिशुलाई समय दिन पाउँदैनथे । अहिले शिशुका लागि अभिभावकले आफ्नो भूमिकालाई परिवर्तन गरेका छन् । अब शिशुको पालनपोषण आमाको जिम्मेवारी मात्र रहेन । हिजोआज कहिले आमाले त कहिले बुवाले शिशुको हेरचाहमा समय दिन थालेका छन् । 

जबर्जस्ती गर्नु हुँदैन : प्रायः अभिभावक आफूले जीवनमा पूरा गर्न नपाएका इच्छाहरू आफ्ना सन्तानमार्फत पूरा गराउन चाहन्छन् । यदि बुवा डाक्टर बन्न सकेनन् भने उनका छोराले डाक्टर बन्नुपर्छ । आफ्ना सन्तानमाथि कुनै पनि विषय जबर्जस्ती लाद्नुहुँदैन । आफ्नो रुचिअनुसार उसलाई अध्ययन गर्न दिनुपर्छ । शिशुको पनि आफ्नै चाहना हुन्छ, सपना हुन्छ र उसले आफ्नो चाहनालाई पूरा गर्न खोज्छ र त्यसैलाई प्राथमिकता दिन्छ । 

पछाडि पर्ने डर : आजको युग प्रतिस्पर्धाको युग हो, जहाँ विशेष हुने होड चलिरहन्छ । अभिभावकहरू आफ्नो शिशुले सबैभन्दा बढी नम्बर ल्याओस् भन्ने चाहन्छन् । सबैका अगाडि ट्यालेन्टेड देखाऊन् भन्ने उनीहरूको चाहना हुन्छ । यहाँ पनि अभिभावकहरूलाई शिशुको भन्दा अरूको परवाह हुन्छ । त्यसैले शिशुले यसको मानसिक दबाब सामना गर्नुपर्छ । यस्तो व्यवहार शिक्षित वर्गमै अस्वाभाविक रूपले बढ्दै गएको पाइन्छ । 

वन किड रुल : अहिले अधिकांश अभिभावक एउटै सन्तानमा सीमित हुन थालेका छन् । एउटै सन्तानमा अभिभावकको सम्पूर्ण अपेक्षा जोडिन्छ । यस्तोमा शिशुले बोल्न प्रारम्भ गरेसँगै प्ले ग्रुपमा हाल्ने चलन बढ्दो छ । थोरै हुर्कनेबित्तिकै उसलाई नर्सरीमा भर्ना गरिन्छ । यो सबै शिशुकै भविष्यका लागि हो तर अभिभावकहरू आवश्यकताभन्दा बढी चिन्तित हुनु हायपर हुनु हो । सन्तानका बारेमा हायपर हुनु गलत होइन तर यसले अभिभावकको व्यवहार शिशुप्रति दबाबमूलक हुने भएकाले सम्हालिनु जरुरी छ । मानसिक प्रभाव पर्ने भएकाले यस्तो प्रवृत्ति शिशुको समग्र विकासमा हानिकारक साबित हुनसक्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्