बालबालिकाको भविष्य र समाज

- निरज नेपाल, सिन्धुपाल्चोक

चैत्र २५, २०७५

बालबालिकालाई बाह्रखरी रटाउनुपर्ने उमेरमा डाक्टर, इन्जिनियर बन्नुपर्छ भनी रटाइन्छ । रहरभन्दा पनि समाज र घरपरिवारको प्रभाव वा दबाबले धेरैभन्दा धेरै यही बाटो हिँड्छन् । यसबाट फाइदा केवल गैरसरकारी शिक्षण संस्थाहरूले उठाउँछन् ।

अभिभावकको सम्पत्ति नाश, बालबालिकाको भविष्य खत्तम । यसरी बनेका डाक्टर, इन्जिनियर कहाँ सर्वसाधारणको सेवामा ध्यान दिन्छन् ? बरु अध्ययनमा भएको लगानी उठाउनुलाई नै प्राथमिकतामा राख्छन् । यस्तो सोच एवं व्यवहारले समाज अझ कमजोर हुँदै गएको छ । 

‘यो काम ठुलो,त्यो सानो’ नभनी सबै काम समान भन्ने सोचले पो समाज बदलिन्छ, तर हाम्रो समाजले हरेक व्यवसायलाई अर्थसँग दाँजेर अर्थहीन बनाइदिन्छ । कहिलेकाहीं त लाग्छ, समाज अविवेकी र अन्धो छ । यहाँ एउटा बिरामीसँग लाखौं रुपैयाँ असुलेर उसको जीवन जोगाउने डाक्टरलाई जति सम्मान मिल्छ, त्यति नै सम्मान आफ्नै जीवन जोखिममा राखी गन्हाउने ढल र फोहोर सफा गरेर हजारौंलाई खतरनाक रोगको महामारीबाट जोगाउने सफाइकर्मीलाई किन मिल्दैन ? किन उनिहरूको सामाजिक तथा आर्थिक स्तर माथि उस्कन सकेको छैन ? पारम्परिक सामाजिक संरचनाले गर्दा यस्तो भएको हो कि ? 

बालबालिकाबाट कल्पनाशिलता र इच्छाशक्ति खोसेर उनीहरूलाई समाजसुधारक बनाउने कुरा सोच्नु र औंलाले गनेर आकाशका ताराको संख्या पत्ता लगाउँछु भन्नु एउटै कुरा हो । एउटा बालक समृद्ध मुलुकको सर्जक हो । उसको आफ्नो छुट्टै संसार हुन्छ ।

उसको रुचि, सिर्जनशीलता एवं कलात्मकताले एउटा निश्चित गन्तव्य बोकेको हुन्छ । उसका यी गुणलाई केलाउन र त्यो गन्तव्य पहिल्याई लक्ष्य प्राप्ति सहज बनाइदिन समाजको विशेष भूमिका हुन्छ । बालकमा विवेक हुँदैन तर दृढ इच्छाशक्ति भने हुन्छ । जब ऊ किशोरावस्थामा पुग्छ तब इच्छाशक्ति कम हुँदै जान्छ भने विवेक बढ्दै जान्छ । त्यतिबेला दृढ इच्छाशक्ति जगाइदिने विशेष तत्वको आवश्यकता पर्छ, तर हाम्रो समाजले उसको विवेकलाई समेत निष्क्रिय पारिदिन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्