ट्रोलिङ टेन्सन

नारी संवाददाता

चैत्र २२, २०७५

गतवर्ष लन्डनका एक प्रोफेसरले ट्रोलिङ टेन्सनको विषयलाई ‘इटरनल सेप्टेम्बर’ अर्थात् कहिल्यै अन्त्य नहुने सेप्टेम्बरको संज्ञा दिए । सन् १९९३ को त्यो सेप्टेम्बरमा जब अमेरिका अनलाइनले (एओएल) युजनेट एक्सेसमार्फत सर्वत्र अनलिमिटेड सर्भिस प्रदान गरेको थियो । जबकि त्यसअघि स्कुल, कलेज तथा युनिभर्सिटीका विद्यार्थी, शोध संस्थाका कर्मचारी आदिका लागि कडा प्रतिबन्ध लगाइएको थियो । अहिलेको युगलाई ‘अ गोल्डेन एज फर ट्रोलिङ’ भनेर व्याख्या गर्ने ती प्रोफेसरले यसले निम्त्याएका भयंकर र डरलाग्दा घटना–दुर्घटनाका सम्बन्धमा मात्र नभएर त्यसबाट जोगिने उपायका रूपमा सबैभन्दा ठूलो अस्त्र बेवास्ता गर्नु नै हो भन्नेसम्म सुझाएका छन् । सन् २०१८ मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको ट्रोल ठूलो चर्चाको विषय बन्यो ।

नेपालमा पनि केही नाम चलेका र सम्मानित ओहोदामा रहेका व्यक्तिहरूका ट्रोल उसैगरी भाइरल हुने गरेका छन् । सन् २०१८ मै भारतीय पत्रकार तथा लेखक राना अयुबलाई ट्रोलमार्फत बलात्कार गर्ने र मार्ने धम्की आएपछि उनको सुरक्षा तथा अनलाइन हेट क्याम्पेनिङका लागि संयुक्त राष्ट्रसंघ हेडक्वार्टरबाट ५ जनाको विशेषज्ञ टोली भारत झिकाइएको थियो । एम्नेस्टी इन्टरनेसनलले सन् २०१७ मा गरेको शोधका अनुसार ७० प्रतिशत महिला सामाजिक सञ्जालद्वारा हुने हिंसा भोगिरहेका छन् । विकराल बन्दै गएको यो मुद्दाको बाछिटाले नेपाललाई छोएको पनि आधा दशक पुग्न लागिसकेको छ तर यसका विरुद्ध कुनै बलियो र प्रभावकारी कानुन बन्न सकेको छैन । यस्ता हिंसाले मानिसको सिर्जनशीलतालाई क्षीण बनाई मनोविषादमा लाने र अन्त्यमा मानिसको मृत्युसम्म हुने विज्ञहरू बताउँछन् । 

दुर्गा थापा, प्राध्यापक 

जथाभावी रूपमा प्रतिष्ठित व्यक्तिहरू अझ भनौं महिलाहरूको तस्बिरलाई नकारात्मक तरिकाले सामाजिक सञ्जालमा प्रयोग गर्नुलाई ट्रोल भनिन्छ । सामाजिक सञ्जालको बिस्तारसँगै यसको प्रयोग विशेष रूपमा ख्यातिप्राप्त व्यक्तिहरू, राजनीतिज्ञ, सिनेकर्मी तथा महिलाहरूमा गरिएको पाइन्छ । झट्ट हेर्दा एकछिन रमाइलो लाग्ने ट्रोल अब क्रमशः एउटा सामाजिक अपराध बन्दै गएको छ । यसका कारण धेरै मानिसको जीवन बर्बाद भएको छ ।

फेसबुक तथा ट्वीटरमा हुने यस्तो चरम नकारात्मक प्रयोगका कारण विभिन्न व्यक्तिको प्रतिष्ठामा आँच आउनुका साथै सामाजिक हिंसासमेत निम्तिएको पाइन्छ । यस प्रकारको हिंसाबाट महिला अझ बढी प्रभावित छन् । सन् २०१६ मा संयुक्त राष्ट्रले गरेको सर्वेक्षणमा ट्रोलकै कारण धेरै मानिस डिप्रेसनको सिकार भएका तथा कयौंले आत्महत्या गर्नुका साथै श्रीमतीको नराम्रो ट्रोल सार्वजनिक भएपछि कति हत्या तथा पारपाचुकेसम्म गरेको तथ्य फेला परेका थिए । यूरोप–अमेरिकाजस्ता विकसित मुलुकमा पनि महिला तथा किशोर–किशोरीहरू यसको बढी सिकार भएका छन् । बेलायतले ट्रोलिङ अपराध रोक्न सन् २०१४ अक्टोबरमा ट्रोल प्रयोग गर्नेहरूलाई जेल सजायको व्यवस्था गर्‍यो । नेपालमा पनि कानुनको अभावमा कयौं मानिस तथा परिवार यसको सिकार भएका छन् तर उजुरी गर्ने निकाय तथा प्रभावकारी कानुनको अभावमा ट्रोलिङ सिकारीले न्याय पाउनुको साटो उनीहरूको सख्यां हरेक दिन बढ्दो छ भने राज्यद्वारा यसको रोकथामको प्रयास भएको पाइँदैन । यो पनि एक किसिमको साइबर हिंसा भएकाले यसको समाधानका लागि राज्यले नै कानुनी व्यवस्था मिलाउनुपर्छ ।

डा. स्वस्ती शर्मा

स्त्रीरोग विशेषज्ञ, ग्रिनसिटी हस्पिटल

ट्रोलमा मेरा थुप्रै बिरामी परेको सुनेकी छु । मोटीलाई धेरै मोटी अनि दुब्लीलाई च्यांखुरी भन्ने शब्दद्वारा कमेन्ट गरिने उनीहरू बताउँछन्, जसले भित्रैदेखि तनाव सिर्जना गर्छ । उनीहरूले आफूले चाहेर त्यस्तो जिउ वा शरीर बनाएका हुँदैनन् उनीहरूको रोगका कारण त्यस्तो भएको हुन्छ तर ट्रोलमा गर्दा विभिन्न नकारात्मक कमेन्ट आउँछन् जसले उनीहरूमा मानसिक विचलन ल्याउँछ । मेरा बिरामीलाई तिमी यति धेरै मोटी वा दुब्ली भएका कारण बाँझोपन छ तिमीमा, भन्नेहरू पनि भेटेकी छु जबकि उनीहरूको स्वास्थ्य समस्या अरू नै कुनै कारणले भैरहेको हुन्छ । यस्ता कुराले ल्याउने सामाजिक एवं मानसिक असर भयंकर छन् । यस्ता ट्रोल कसले गरिरहेको छ ? यसमा कस्ता मानिस संलग्न छन् ? त्यसको खोजी गरिनुपर्छ । यस्ता काम गर्ने मानिसहरू पूर्णरूपमा मानसिक रोगी हुन् जसले यसै गरेर मानसिक सन्तुष्टि र आनन्द लिइरहेका हुन्छन् । यी गम्भीर मुद्दा हुन्, यसमा कडा कानुनी कारबाही हुनुपर्छ । समाजको सोच परिवर्तन हुन समय लाग्छ तसर्थ सबैभन्दा पहिले आफै बलियो भएर आफूलाई त्यसको नकारात्मक असरबाट जोगाउनुपर्छ । अर्को कुरा यो विषयमा कानुन बन्नु जरुरी छ । क्षतिपूर्तिबापत ठूलो रकम लिनुपर्छ जसका कारण यो बिस्तारै कम हुँदै जानेछ । 

रेखा थापा, अभिनेतृ तथा अभियन्ता 

ट्रोलिङका टाइप्सहरू हुन्छन् भन्ने बुझेकी छु मैले । कुनै ‘वन्ली फर फन’ का लागि बनाइन्छ जसले आफैंलाई हँसाउँछ । अर्को शारीरिक तथा मानसिक रूपमा पीडादायक हुन्छ जसले सामाजिक रूपमा अत्यन्तै असहज र अप्ठ्यारो बनाउनुका सथै मानसिक विचलनसम्म ल्याउँछ । हाम्रो समाजमा सामाजिक सञ्जालको फेसन भर्खरै भित्रिएको छ । यसका राम्रा हुन् वा नराम्रा हरेक कुरामा इन्जोय गर्ने ठूलो समूह छ यहाँ । ट्रोलिङ मनोरञ्जनको विषय होइन भन्ने सोच बोकेका मानिसहरूको संख्या कम छ । राष्ट्रका सम्मानित व्यक्तिहरूको ट्रोल बनाउने ? यो कुनै सह्य र न्यायोचित कुरा हो ? जति भन, जति उडाउनु छ, गाईजात्राको एकदिन त छुट छँदैछ नि । मेरै अगाडि मेरै बारेमा गाईजात्राको दिन कसरी उडाइन्छ ? त्यसमा म स्वयं पनि इन्जोय गर्छु तर हरेक दिन कसैले त्यस्तो गरोस् सहन सकिन्छ ? कदापि सकिँदैन । ट्रोल मनोरञ्जनको माध्यम हुँदै होइन जुन अहिले बनेको छ । हरेक सामाजिक सञ्जाल युजरले यसको विरोध गर्नुपर्छ । कानुन आफ्नो ठाउँमा होला, त्यसले दिने सजाय अर्को ठाउँमा होला तर त्यसअघि समाज जाग्नुपर्‍यो । हाम्रो समाजमा अप्रिसियसनभन्दा डिस्करेज गर्ने प्रवृत्ति छ । मेरो ट्रोल आयो भने फ्रतिकार गर्नुको साटो अर्कोले हाँसेर त्यसलाई सेयर गरिदिन्छ, समाजलाई व्यक्ति–व्यत्तिको सोचले बनाउँछ । तसर्थ हरेक व्यक्तिको सोच बदलिनुपर्‍यो । ट्रोल साइटको नियमन–नियन्त्रण कसरी गर्ने ? कसले गर्ने ? एक्सन लिने को ? यसको निकाय निर्क्यौल हुनुपर्‍यो । व्यक्तिगत रूपमा अरूको समस्यामा मनोरञ्जन लिने होइन कि त्यसको विरोधमा आवाज उठाउनुपर्‍यो । 

रोजिना मानन्धर

मनोचिकित्सक 

मैले ट्रोलिङमा परेका धेरै प्रभावितहरूको काउन्सिलिङ गरें यही नेपालमै पनि । उनीहरूको संख्या अरु बाहिरी मानिसले आँकलन गर्न कठिन छ । ट्रोलिङ टेन्सनले पढाइ बिग्रिएका, ब्रेकअप भएका, श्रीमान्–श्रीमतीबीच घरझगडा हुँदै सम्बन्धविच्छेदसम्म पुगेका, प्रतिष्ठित ओहोदा छोड्नुपरेका वा प्रमोसन रोकिएका धेरै घटना मैले देखे–सुनेकी छु । यसले ल्याउने खास समस्या मानसिक विचलन नै हो । यस्ता समस्याविरुद्ध उजुरी गर्ने कुनै निकाय नहुनु र आजसम्म यस्ता गल्ती गर्ने कुनै पनि व्यक्तिलाई कारबाही भएको उदाहरण नहुनुले पीडकहरू अझ उत्प्रेरित छन् । यस्ता ट्रोलिङ सिर्जना गर्नेहरू प्रायः मनोरोगी नै हुन्छन् जसले अरूलाई उडाएर, पीडा दिएर आफूले आनन्द लिइरहेका हुन्छन् । सहने पीडितलाई जीवनभरका लागि चोट पुग्छ । यस्ता समस्यामा परेकाहरूको करियर र पढाइ बिग्रिने, सम्बन्ध बिग्रिने, डिप्रेसनमा जाने र अन्त्यमा जीवन नै समाप्त समेत हुनसक्छ । यस्तो समस्या परेको खण्डमा मौन नबसी सेयरिङमा गैहाल्नुपर्छ जसले मन हल्का गराउँछ, त्यही नै यसको औषधि हो । 

निर्मला ढकाल

समाजशास्त्री, त्रि.वि.

विदेशतिर पावर–पोजिसनलाई ट्रोलिङ गरिन्छ भने पूर्वीय मुलुकमा त्यसभन्दा पनि बढी महिलालाई यस किसिमको हिंसाको सिकार बनाइएको पाइन्छ । महिलाको पद, चरित्र, उमेर, ओहोदा तथा प्रोफेसनलाई हिट गरेर ट्रोलिङ हिंसा भएको पाइन्छ । हाम्रो समाजमा नकारात्मक कुरा बढी फैलाउन खोजिन्छ, जसका लागि सामाजिक सञ्जाल उपयुक्त प्लेटफर्म साबित भएको छ । द्वन्द्वबाट बाहिर निस्किएका र बेरोजगार मुलुकका मानिसहरूमा मनोविषाद, निराशापन आदि देखिन्छ, जसले गर्दा उनीहरू बढी नकारात्मक सोच राख्ने खालका हुन्छन् । सोचेजस्तो नहुँदा मानिसहरूमा दिग्दारी बढ्दै जान्छ । महिला र पुरुषबीचको वर्गीय भिन्नता देखिन्छ यसमा । यस्ता कुराले समाजलाई गलत बाटोतर्फ दोहोर्‍याउँछ । परिवार, स्कुल, कलेज, समाज, टिभी, रेडियो तथा सामाजिक सञ्जाललाई नलेज प्रोडक्सन हाउस भनिन्छ । यसबाट जस्तो ज्ञान पाइन्छ समाजले त्यही सिक्ने हो । अब ट्रोलिङले समाजलाई के सिकाउला ? ट्रोलिङले महिलाको छवि बिगारिदिएपछि समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण पनि सोहीअनुसार तय हुन्छ अनि सुरु हुन्छ सोसल स्टिग्मा । एउटा केटा र केटीको ट्रोलिङमा महिलाको प्रस्तुतीकरण भल्गर हुन्छ अब त्यसको असर कस्तो पर्ला ? हाम्रा स–साना नानी–बाबु, किशोर–किशोरीहरूले ती पात्रका बारेमा के धारणा बनाउलान् ? यिनै व्यक्तिहरूको समूह मिलेर नै समाज बन्ने हो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्