झर्ने आसुँ अरुलाई देखाएर के फाईदा ?

रामजी ज्ञवाली

चैत्र १९, २०७५

 

भुमी व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल निकै संघर्षपछि यो स्थानसम्म आएकी हुन् । सानै उमेरदेखी राजनितीमा सक्रिय उनले आफु कहिल्यै पदका लागी राजनिती नगरेको बताउँछिन् । हाल यो मन्त्रालय सम्हालेको छोटो समयमै विभिन्न आकर्षक योजना ल्याएकी मन्त्री अर्यालले बिगतमा स्वास्थ्यमन्त्री हुँदा पनि केहि राम्रा कामको थालनी गरेकी थिइन् । यद्यपी, ति कामको कार्यान्वयन नहुँदै उनलाई अर्कै मन्त्रालय सरुवा गरियो । हालै मन्त्री अर्यालसँग कान्तिपुरका रामजी ज्ञवालीले अलिकति फरक किसिमको कुराकानी गरेका छन् ।

राजनितीमा होमिएको कति बर्ष भयो ?

२०३९ सालदेखी राजनितीमा प्रवेश गरेकी हुँ । सुरुमा तत्कालिन मालेको सम्पर्कमा रहेर काम गर्न सुरु गरेकी हुँ ।  त्यसपछि बिस्तारै अनेरास्ववियुको सामान्य पद हुँदै अञ्चलसम्म कामको जिम्मेवारी लिएकी थिएँ ।

यो स्थानसम्म आउँदा कति धेरै संघर्ष गर्नुप¥र्यो नी ?

राजनितीमा अहिलेजस्तो बिगतमा सहज थिएन । त्यतिबेला घरवाट निस्कन निकै गाह्रो थियो ।  केहि समय जेल जिबन समेत बिताएँ । द्धन्द्धकालको समय अघि तथा पछिका दिनमा संघर्ष नगरेको भए यो स्थानसम्म आउने सम्भावना थिएन । हिजो झोला बोकेर घरबाट निस्किएपछि सक्रिय राजनितीमा लागेको बुझिन्थ्यो ।

अहिले परिभाषा बदलिएको हो त ?

अहिले राजनितीको परिभाषा फरक भएको छ । हिजो त्याग, बलिदानसँगै परिवर्तनका लागी राजनिती हुन्थ्यो । अहिले पद, प्रतिष्ठान र सत्ताका लागी राजनिती हुने गर्छ । संघर्ष भन्ने कुरा धेरैनै भयो ।

कहिल्यै मन्त्री हुन्छु भन्ने सोच्नुभएको थियो ?

मैले अघिपनि भनिसकेँ । मैले राजनितीमा लाग्दा समाज परिवर्तन भन्ने मात्रै बुझेकी थिएँ । मन्त्री हुन्छु भनेर बिगतमा काम गरेकी थिइनँ।

घरमा कतिजना हुनुहुन्छ ?

श्रीमान, म, एउटा छोरा र छोरी गरि ४ जनाको परिवार हो ।

कत्तिको खुसी छ तपाइको परिवार ?

धेरैनै । हामी श्रीमान–श्रीमती आ–आफ्नो काममा ब्यस्त छौं । २२ बर्षकी छोरी अहिले अध्ययनका लागी अस्ट्रेलिया छिन् । बाबुले पनि १८ बर्षमा पाइला टेकेको छ । उ अहिले म सँगै बसेर अध्ययन गरिरहेको छ ।

हरेक बाबुआमाको रहर छोरा–छोरीले यस्तो काम गरिदिए हुन्थ्यो, यो बाटोमा गैदिए हुन्थ्यो भन्ने हुन्छ । तपाइले के सोच्नुभएको छ ?

हामीले उनिहरुलाई कहिल्यै यो गर, यसो गर, उसो गर भनेका छैनौं । एउटा अभिभावकको हिसाबले सधै सुझाव सल्लाह र सहयोग गर्ने हो । मेरो बिचारमा उनिहरुले के सोचेका छन् के गर्छन् आफ्नै किसिमले गर्नुपर्छ भन्ने मान्यता राख्छु ।

छोराछोरीलाई पनि आफ्नै यात्रामा ल्याउन खोज्नुभएको छैन ?

उनिहरु धेरैनै बुझ्ने भैसकेका छन् । मुख्य कुरा उनिहरुको रुची के हो भन्नेमा भर पर्छ । तर, अहिलेसम्म उनिहरुको लक्षण हेर्दा के गर्छन भन्ने पत्तो छैन ।

तपाइको बिहे कहिले भएको हो ?

२०५० सालमा जनवादी बिहे भएको हो ।

प्रेम बिबाह हो या मागी ?

प्रेम भनेर प्रेम पनि हैन । मागी भनेर मागी पनि हैन । हाम्रो चिनजान ४२ सालदेखी थियो । पक्कैपनि पार्टिको काममा हिड्दा–हिड्दै नजिक त भएका थियौं ।

राजनितीमा लागेपछि ब्यक्तिगत जिवन हराएको अनुभब गर्नुभएको छैन ?

अति धेरै औपचारिक भएको त अनुभव भएको छ । अलिकति स्वतन्त्र होस्, अन्य महिलाहरु जस्तै खुलेर हिडौं भन्ने त हुन्छ तर त्यो अहिले सम्भव छैन ।

जिवनमा कहिल्यै राजनितीप्रति बितृष्णा जागेको याद गर्नुभएको छ ?

मैले अहिले आएर समिक्षा गर्दा कहिल्यै त्यस्तो अनुभव गर्नुपरेन । म हिजो राजनितीको तल्लो तहमा हुँदा पनि मज्जाले काम गरेँ ।  अहिले पनि सक्दो काम गरिरहेकी छु । राजनितीमा होमिएर यहि क्षेत्रमा केहि गर्छु भनिसकेपछि त्यस्तो अनुभव गर्नु नपरेको हो जस्तो लाग्छ ।

कहिलेकाहि सपिङ जाऔं, परिवारसँग घुम्न निस्कौं भन्ने हुन्न ?

किन नहुनु नि ! तर मन्त्री भएपछि कतिपय आफ्ना व्यक्तीगत इच्छाहरु पनि खुम्चाएर राख्नुपर्ने रहेछ । गएको दशैंमा यहि अनुभब भएकाले म सामान्य पहिरनमा सादा पोशाकका सुरक्षाकर्मीसँग न्युरोड सपिङ गएकी थिएँ । 

बिहान कतिबेला उठ्नुहुन्छ ?

मन्त्री भएपछि दैनिकी धेरै परिवर्तन हुँदोरहेछ । अर्को दिनको तयारी पनि अघिल्लो दिन रातीसम्म बसेर गर्ने भएकाले म सुत्ने समय धेरै ढिला हुन्छ । रातीको झण्डैं १ बजे मात्रै सुत्छु, बिहान सवा ५ देखी साढे  ५ बजेसम्म उठिसकेकी हुन्छु ।

टिभी हेर्ने, पत्रपत्रिका पढ्ने, किताब पढ्ने कत्तिको गर्नुहुन्छ ?

बिहानमा समय मिलेसम्म पत्रपत्रिका एकपटक हेर्छु । साँझमा समय मिलेसम्म एकछिन दिनभरिका अपडेट हेर्न टिभी खोल्छु । केहि समय भयो कुनै विशेष किताव पढ्न पाएकी छैन ।

चलचित्र हेर्ने बानी कत्तिको छ ?

खासै हेर्ने बानी छैन । हलमा गएर २–३ पटक केहि चलचित्र हेरेको याद छ ।

गीत सुन्ने बानी छ ?

मलाई लोकगीत असाध्यै मन पर्छ । सायद गाउँघरमा पहिल्यैदेखी लोकगीतको पकड भएकाले पनि होला लोकगीत सुन्ने र गुनगुनाउने बानी पहिल्यैदेखी थियो ।

तपाइको मन कत्तिको कमलो छ ?

स–साना कुराले पनि मेरो मनमा प्रभाव पार्छ ।

कहिलेकाही मन दुख्यो भने रुनुहुन्न ?

रुन्छु । तर, कहिल्यै मैले आफ्नो आँखाको आँसु अरुलाई देखाउँदिन । आफ्नै परिवारलाई समेत म रोएको पत्तो हुन्न । मलाई पनि विभिन्न कुराले पिडा हुन्छ, मन दुख्छ ।

मनको दुःख कसैसँग पोखेपछि शान्त हुन्छ भनिन्छ नी ?

त्यो त हो । तर, धेरै मानिस अरुको इमोश्नलमा खेल्छन् । यो मलाई पटक्कै मन पर्दैन । झर्ने आसुँ अरुलाई देखाएर के फाईदा ?

खनपानमा कत्तिको चुजी हुनुहुन्छ ?

एकदमै सामान्य स्वभाव छ । अहिले क्वाटरमा हुँदा मात्रै हैन घरमा हुँदा पनि सामान्य मेन्युमै रमाउने स्वभावकी महिला हुँ । अहिले यहाँ जे पाक्छ त्यहि खान्छु । खासगरि नेपाली दाल, भात, तरकारी भए अरु केहि चाहिँदैन ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्