बलात्कार  जीवनको अन्त्य होइन

लक्ष्मी भण्डारी थापा

चैत्र १९, २०७५

 

‘मैले आफू र आफ्नो जीवनलाई माया गर्न छोडिसकेकी थिएँ, यद्यपि अहिले मेरो सोच फेरिएको छ, म फेरिएकी छु मेरो पूरै जीवन फेरिएको छ । संसारका हरेक जीवित प्राणीफ्रति अविश्वास गर्ने म अहिले आएर क्रमशः सबैमा विश्वास गर्न थालेकी छु ।’ कुराकानीका त्रममा मुना दमाई नेपाली निकै आत्मविश्वासी देखिइन् । द्वन्द्वकालको बमबारुदले परिवार उडाइदिएपछि नुवाकोटकी मुनाको पढेर ठूलो मान्छे बन्ने सपना पनि भताभुङ्ग भयो । परिवारमा बचेका उनका दाजुभाइ तथा उनी स्वयंलाई जनमुक्ति सेनामा भर्नाका लागि हरेक रात लिन आउँथे । परिवारको सुरक्षाका लागि उनका दाजु भाइबहिनी लिएर काठमाडौं झरे जतिबेला मुना ८ वर्षकी थिइन् । काठमाडौंमा उनले जातकै कारण कतै काम पाइनन् । 

पछि जात ढाँटेर २५ जनाको परिवारको भाँडा माझ्ने र भुइँ पुछ्ने काम पाइन् । मध्यरातसम्म काम गर्नुपर्ने र बिहान आधारातमै उठ्नुपर्ने भएकाले उनको कलिलो शरीर थिलथिलो हुन्थ्यो । त्यसमाथि मानसिक एवं शारीरिक हिंसा । ‘सधैं त्यो घरमा आइरहने एकजना अंकलले सजिलो काम लगाइदिन्छु यहाँ नबस भन्नुभयो ।’ विगत कोट्याउँदै मुनाले भनिन्–‘चिया पकाउने, अफिस सफा गर्ने काम भनेर मलाई ठमेलमा बेचिदिएछन्, जुन कुरा मलाई बेचिएको तेस्रो दिन मात्र थाहा भयो जब म पहिलोपटक बलात्कारमा परें ।’ भर्खरै ११ वर्ष टेकेकी बालिकालाई साहूले पत्रिकामा र्‍याप गरेको कुनै वस्तु र जुसको गिलास हातमा थमाइदिएर गेस्टको सत्कार गर्न भने । जब मुना पाहुनालाई जुस दिन कोठाभित्र छिरिन् बाहिरबाट चुकुल लगाइयो । मुना उम्किन–भाग्न खोजिन् तर सकिनन् । भित्ता र पलङमा टाउको ठोक्किएपछि उनी बेहोस भइन् । केही घन्टापछि ब्युँझिएर हेर्दा सेतो तन्ना त रातो हुने नै भयो, उनी स्वयंले आफूलाई रक्तकुण्डमा पाइन् । त्यस दिनपछि उनी दैनिक २५ देखि ३० जनाबाट बलात्कृत भैरहिन्, उनलाई त्यहाँ हरक्षण थुनेरै राखिन्थ्यो । 

साहूले पत्रिकामा र्‍याप गरेको कुनै वस्तु र जुसको गिलास हातमा थमाइदिएर गेस्टको सत्कार गर्न भने । जब मुना पाहुनालाई जुस दिन कोठाभित्र छिरिन् बाहिरबाट चुकुल लगाइयो । मुना उम्किन–भाग्न खोजिन् तर सकिनन् । भित्ता र पलङमा टाउको ठोक्किएपछि उनी बेहोस भइन् । केही घन्टापछि ब्युँझिएर हेर्दा सेतो तन्ना त रातो हुने नै भयो

झ्यालबाट बाहिर हेर्दा आफ्नै उमेरका नानीहरू स्कुले ड्रेसमा किताब बोकेर हिँड्थे भने कोही आमाबाबुको हात समाएर प्रफुल्ल मुद्रामा हिँडेको देख्दा उनको मन भक्कानिएर आउँथ्यो अनि रुँदै भुइँमा पछारिन्थिन् । म किन बाँचिरहेकी छु भन्ने लाग्थ्यो उनलाई । सिरिन्जहरू लगाइदिने र लिक्विडमा विभिन्न औषधि मिसाएर ख्वाइदिने क्रममा उनको शरीर फुलेर बाईस–चौबीस वर्षको जस्तो देखिन थाल्यो । ‘मलाई हरसमय लठ्याएरै राखिन्थ्यो । को आयो–गयो मलाई थाहै हुँदैनथ्यो । यसरी त्यहाँ दुई वर्षभन्दा बढी बित्यो । साहू बाहिर गएको एकदिन म एक्लै रेडियो सुनेर बसिरहेकी थिएँ । रक्षा नेपालको आवाज कार्यक्रममा फोन नम्बरसहित मजस्तै हिंसा, बलात्कारलगायत बेचबिखन र बाध्यात्मक देहव्यापारमा परेकाहरूको उद्धार गरिने सूचना पाएँ । फोन नम्बर दोहोर्‍याइएकाले टिप्न भ्याएँ अनि एक्लो भएको समय पारेर फोन गरें ।’ रक्षा नेपालको टिमले उनलाई त्यहाँबाट उद्धार गरेर आवास गृहमा ल्यायो । 

अहिले मुना आफूजस्ता लाखौं महिला दिदीबहिनीहरूका लागि चेतनामूलक तालिम, प्रशिक्षण, कार्यशाला आदि चलाउन सक्ने भएकी छिन् । उनमा बलियो आत्मविश्वास देखिन्छ । यो सब कसरी सम्भव भयो ? उत्तरमा उनले भनिन्–‘बुझ्ने भएदेखि मैले माया–ममता के हो अनुभूति गर्न पाइन । अपनत्व के हो बुझेकै थिइन । उद्धारपछि मैले यहाँ जुन माया–ममता, हेरचाह र सहयोग पाएँ त्यो मेरा लागि बाँच्ने आधार बन्यो । मलाई साइकोसोसियल काउन्सिलिङलगायत अन्य औषधोपचार र प्रौढ शिक्षामा सहभागी गराइयो । म ट्रमा र डिप्रेसनमा थिएँ । त्यसबाट निस्कन मलाई करिब २ वर्ष लाग्यो ।’ मुना भन्छिन्– यस्तो हिंसा, बलात्कारलगायत बाध्यात्मक परिस्थितिमा पारिएका महिलाको पुनर्स्थापनाको मूलमन्त्र भनेको सर्वप्रथम आफूले आफैंलाई माया गर्न सक्ने अवस्थामा पुर्‍याउनु नै हो । त्यसका लागि माया, हेरचाह, तिम्रा लागि म छु भन्ने भरोसा नै प्रमुख कुरा हुन् । उद्धारपछि उनले त्यहाँ रहेका सयभन्दा बढी महिला दिदीबहिनीका कथा–व्यथा सुनिन् । त्यसपछि मुनालाई आफ्नो भन्दा अरूको पीडा र भोगाइ पहाड रहेछ भन्ने लाग्यो । त्यसपछि उनमा आफूजस्तै हजारौं मुनालाई जोगाउनुपर्छ भन्ने भावना पलायो । 

काठमाडौंलाई सपनाको सहर मानेर हाम फाल्न खोज्ने युवालाई गाउँमै अवसर छ, त्यो दलदलमा फस्न नजाऊ भन्ने खालका काउन्सिलिङ दिँदै हिँड्छिन् मुना अहिले । अहिले मुना आवास गृहका करिब सयजना बालबालिकाको मात्र होइन हिंसामा परेका लाखौंको रोल मोडल बनेकी छिन् । ‘नरकमा हुँदा आत्महत्या गरेकी भए मरेको मर्‍यै हुन्थें । त्यहाँबाट आँट गरेर बाहिर निस्किएँ । आज मेरो दैनिकी, सोच, कामलगायत जीवन नै बदलिएको छ । मुना भन्छिन्–‘समाजलाई देखाउन वा समाजका लागि बाँच्ने होइन आफू भएर आफ्ना लागि बाँचौं । जसलाई पर्‍यो उसैले आवाज मुखरित गर्ने हो । समस्यालाई लुकाएर बस्दा मृत्युको मुखमा पुगिन्छ । आत्मसम्मान आफूले आफैंलाई दिने हो । जबसम्म आफूले आफूलाई सम्मान दिइँदैन तबसम्म आत्मविश्वास बढ्दैन ।’ 

अन्त्यमा मुनाले एउटा भनाइ नछुटाई राखिदिन अनुरोध गरिन्–‘जब म पेट पाल्न काम खोज्दै थिएँ । त्यतिबेला अछूत भएकै कारण मैले काम पाइन तर मेरो शरीर भोग गर्न र जूठो खान मेरो जात सोधिएन, यस्तो छ हाम्रो समाज । मुनाको प्रश्न छ–बलात्कारमा पर्नेले किन पश्चाताप गर्ने ? बलात्कारी पो दोषी त ? अरूले गरेको नराम्रो कामको प्रतिफल आफूले किन भोग्ने ? यस्तो पश्चातापबाट बाहिर निस्कनुपर्छ । दोषीलाई सजाय दिएर हिनताबोधबाट जोगिनुपर्छ । मुना आफ्नै जीवनलाई परिभाषित गर्दै भन्छिन्–‘म हिजोकी भिक्टिम, आजकी फाइटर र भोलिकी सेभर हुँ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्