महिला फुटबल : अझै धेरै गर्न बाँकी

नारी संवाददाता

चैत्र १८, २०७५

खेलकुदमा दोहोर्‍याएर भनिन्छ, ‘यति नजिक तर अझै कति टाढा ?’ सफलताको नजिक पुगेर लाग्छ, अब यो धेरै टाढा छैन, तर जति बेला त्यसलाई आत्मसात् गर्न सकिँदैन, फेरि लाग्छ, ओहो ! यो अझै धेरै टाढा छ । हालै विराटनगरमा सम्पन्न वुमेन्स साफ च्याम्पियनसिप–२०१९ का अवसरमा पनि नेपाली महिला राष्ट्रिय टिमले ठ्याक्कै यस्तै अनुभव गर्‍यो । आफ्नै घरेलु मैदानमा नेपालसामु प्रतियोगिता जित्ने योभन्दा राम्रो अवसर थिएन । 

नेपालले प्रतियोगिता जित्न सक्छ भन्ने केही आधार पनि थिए, तर फाइनलमा नेपाल फेरि एकपटक भारतकै हातबाट पराजित भयो र भन्नैपर्ने भयो, नेपाली महिला फुटबलले अझै धेरै गर्न बाँकी छ । फाइनलमा नेपाल ३–१ ले पराजित भयो । उक्त हारपछि टिमका प्रशिक्षक हरि खड्काले नेपाली समर्थकहरूसँग माफी पनि मागे । उनले भने, ‘नेपाली प्रदर्शनको सम्पूर्ण जिम्मेवारी मेरै हो ।’ उनी खेलाडीहरूलाई दोष दिने पक्षमा थिएनन् । 

प्रशिक्षक खड्का पूरा प्रतियोगितामा नेपालको प्रदर्शनलाई लिएर निराश देखिएनन्, तर उनको पनि आशय थियो, अझ बढी मेहनत गर्नुपर्छ । कुल ६ टिम सम्मिलित प्रतियोगितामा नेपालले अपेक्षाअनुसार फाइनलसम्मको यात्राका लागि धेरै संघर्ष गर्नु परेन । लिग चरणमा भुटान र बंगलादेशमाथि सहज जित प्राप्त भयो । श्रीलंकाविरुद्धको सेमिफाइनल पनि खासै टाउको दुखाइ भएन । फाइनलसम्मको यात्रामा नेपालले गोल पनि खाएन । 

नेपालले प्रतियोगिताका लागि पर्याप्त समय खर्च गरेर राम्रो तयारी गरेको थियो । खेलाडीले सँगसँगै खेल्ने अवसर पाएको पनि धेरै भैसकेको थियो । फाइनलमा नेपालको सामना भारतविरुद्ध नै हुनेछ भन्ने लगभग तयजस्तै थियो, प्रश्न के मात्र थियो भने के नेपालले भारतलाई यसपटक रोक्न सक्छ ? नेपाली टिमको आत्मविश्वास बढ्नुका पछाडि यसअघि भारतविरुद्धका दुई खेल नै प्रमुख कारण थिए । ओलम्पिक छनौटमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो । 

त्यस्तै नेपालले हिरो गोल्डकपमा भारतलाई हराएको थियो । यो भारतमाथि नेपालको पहिलो जित थियो । त्यसले नेपाललाई प्रशस्त उत्साहित बनाएको थियो । प्रशिक्षक खड्का पनि यिनै कारणले फाइनलअघि आत्मविश्वासी देखिन्थे । यस्तै स्थिति भारतीय पक्षको पनि थियो । भारतीय प्रशिक्षक मायमोल रक्की भन्थिन्, ‘हामीले उपाधि जित्नेमा कुनै शंका छैन ।’ आखिर त्यस्तै भयो । सहिद रंगशालामा भएको फाइनलपछि भन्न करै लाग्छ, भारतीय टिम प्रविधिक रूपमा बलियो छ अनि उत्तिकै व्यवसायिक पनि । 

फाइनलसम्मको यात्रामा भारतीय टिम एक प्रकारले चुपचापजस्तै रह्यो । आफू बलियो छु भनेर धेरै दाबी गरेन । पूरा प्रतियोगिताको इतिहासमा भारत मात्र एक्लो च्याम्पियन भएको स्थितिमा त्यस्तो दाबी आवश्यक पनि थिएन । फाइनलमा पनि भारतको प्रदर्शन एकदमै व्यवसायिक थियो । प्रशिक्षकले जस्तो रणनीति बनाएका थिए, खेलाडीले मैदानमा त्यसै अनुरूप खेले । फाइनललाई धेरै जटिल बनाएनन् । फाइनलपछि भारत उपाधिका लागि पूर्ण हकदार देखियो । 

यसपटकको भारतीय टिम पर्याप्त समय खर्च गरेर तयार पारिएको एकदम नयाँ थियो । भारतका केही राम्रा खेलाडी संन्यासको सँघारमा पुगिसकेका छन् । अहिलेको टिम पूर्णतः युवा खेलाडीमा टिकेको छ । भारतीय टिमलाई एउटै मात्र चिन्ता थियो, कतै यी कम अनुभवी खेलाडी घरेलु दर्शकका अगाडि आत्तिने त होइनन् ? प्रशिक्षक रक्कीले पनि भनिन्, घरेलु दर्शकको बाक्लो उपस्थितिले खेललाई प्रभावित तुल्याउन सक्थ्यो तर त्यस्तो भएन, बरु उनीहरूका लागि यसपटकको नेपाल यात्रा अविश्वमरणनीय रह्यो । 

नेपालबाट फर्किएपछि भारतीय खेलाडी थप आत्मविश्वासी भएका छन् । फाइनल खेलको मात्र विश्लेषण गर्ने हो भने पहिलो हाफमा नेपालले भारतमाथि दबाब सिर्जना गरेकै हो । खेल १–१ को बराबरीको स्थितिमा सावित्रा भण्डारीले गोल गर्ने राम्रो अवसर पाइन्, तर त्यसमा सफल हुन सकिनन् । सावित्रा दुई अवसरमा भारतीय गोलरक्षकलाई बिट गर्न असफल भइन् । लगत्तै भारतले दोस्रो गोल थप्यो र पूरा खेलको निर्णायक मोड त्यही रह्यो । 

अब के त ? नेपालसामु अब ओलम्पिक छनौटको दोस्रो चरण अगाडि छ । प्रशिक्षक खड्का त्यसमा पनि नेपाली टिमले उत्तिकै मेहनतका साथ खेलेको हेर्न चाहन्छन् । खड्काका अनुसार नेपाली टिमले धेरै भन्दा धेरै खेल्ने अवसर पाएको छैन । जति बलिया टिमविरुद्ध खेल्ने अवसर प्राप्त भयो, उति राम्रो । यहाँ के भुल्नु हुन्न भने नेपालले यस पटकको प्रतियोगिताको तयारीका लागि भारतमा मात्र खेल्ने अवसर पायो । भारत आफैं भने तयारीका लागि युरोप पुगेको थियो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्