फरक क्षमताबीच सफलता

  • इच्छाशक्ति गुमाउनु हुँदैन

प्रकृति दाहाल

चैत्र १३, २०७५

मानिसको जन्म आ–आफ्नै प्रकारको हुन्छ । कोही सपाङ्ग जन्मन्छन् त कोही फरक क्षमता लिएर जन्मन्छन् । फरक क्षमताका व्यक्तिहरू सोहीअनुसारको संरचनामा हुर्कदै जान्छन् । पहिले फरक क्षमतालाई पूर्वजन्मको पाप भनिन्थ्यो, भेदभावको दृष्टिले हेरिन्थ्यो तर अहिले भने उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदै गएको छ । फरक क्षमताका व्यक्तिहरू पनि सबलहरूको तुलनामा कम हुँदैनन् भन्ने थुप्रै उदाहरण छन् हाम्रो समाजमा । उनीहरू हरेक क्षेत्रमा आफूलाई स्थापित गर्दै अघि बढिरहेका छन् । फरक क्षमताका बीच सफलता हासिल गरेकी एक नारी :

इच्छाशक्ति गुमाउनु हुँदैन

डेढ वर्षको उमेरमा बामे सर्दै तोते बोली बोल्ने बेलामा टीका दाहाललाई ज्वरोले सतायो । उनी लामो समय ओछ्यानमा परिन् अनि घरेलु औषधि र धामी–झाँक्रीको उपचारमा रहिन् । यद्यपि उनको बेथा निको भएन । आजभन्दा भोलि, भोलिभन्दा पर्सी बेथाले च्याप्दै गयो । बिस्तारै–बिस्तारै कम्मरमुनिको भाग चल्न छोड्यो । खुट्टा सुक्दै गए । दाहाल उभिन नसक्ने अवस्थामा पुगिन् । त्यसपछि उनले घिस्रिएरै पाँच वर्ष बिताइन् ।

पाँच वर्षको उमेरमा उनका बुवाले छोरीको उपचारका लागि मोरङको सुन्दर हरैंचाबाट धरानस्थित बीपी मेमोरियल हस्पिटल ल्याए । चेकजाँचपछि चिकित्सकले पोलियो लागेको बताए । पूरै निको नभए पनि सुधार हुने चिकित्सकको सल्लाहमा एक महिना लगातार अकुपञ्चर उपचार गरेपछि टीकाले केही राहत प्राप्त गरिन् । उनको देब्रे खुट्टा कमजोर भए पनि दाहिने खुट्टा दरो भयो । उनी जसोतसो हिँडडुल गर्न सक्ने भइन् । 

पढाउनुपर्छ भन्ने सोचले उनका बुवाले टीकालाई विद्यालय भर्ना गरिदिए । सुरुका दिनमा करिब दुई घन्टाको दूरीमा रहेको विद्यालयसम्म बुवाले बोकेर लाने–ल्याउने गरे । तर पछि उनी कहिले चार हातखुट्टा त कहिले खोच्याउँदै एक्लै विद्यालय जान थालिन् । बाटोमा सयौं पटक लडेको र पुस्तक–कापी च्यातिएका थुप्रै घटना उनको मस्तिष्कमा अझै ताजै छन् । 

खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं अनेक तरिकाले उनी अध्ययनका लागि काठमाडौं आइन् र फरक क्षमताको छात्रावासमा बस्न थालिन् । त्यहाँ उनले आफूजस्तै साथीहरू देखिन् । उनमा आत्मविश्वास बढ्न थाल्यो । खुट्टा नचले पनि दिमाग चलाएर केही गरी देखाउने अठोट गरिन् अनि छात्रावासमा पढाइसँगै कम्प्युटर सिक्न थालिन् । दाहालले कम्प्युुटरमा धेरै रात बिताइन् । कम्प्युटरबाटै कमाइसमेत गर्न थालिन् । आफ्नो शारीरिक अवस्थाअनुसार आयआर्जनका लागि कम्प्युटर असल सहयोगी भएको दाहाल बताउँछिन्् । उनी कम्प्युटरको सीपलाई आफ्नो टर्निङ प्वाइन्ट मान्छिन् । टीकाले कुनै कम्पनीमा करिब ८ वर्ष काम गरिन् । ‘महिला त्यसमाथि अपाङ्ग भएपछि विभेद नहुने त कुरै छैन ।’ उनी भन्छिन्–‘तर हार खानु हुँदैन । लड्दै–भिड्दै जानुपर्छ ।’ 

अपाङ्ग महिलाहरूमाथि विभिन्न बहानामा हुने शारीरिक, मानसिक एवं लैंगिक हिंसाविरुद्ध काम गर्ने उद्देश्यले उनले ०५४ सालमा साथीहरूको सहयोगमा नेपाल अपाङ्ग महिला संघको स्थापना गरिन् भने ०६८ सालमा महिलाको नेतृत्व गर्दै अपाङ्गहरूको छाता संगठन राष्ट्रिय अपाङ्ग महासघंको महासचिव पदमा निर्वाचित भइन् । दाहालले अपाङ्ग महिलाहरूलाई बचत गराउन सिकाउनेदेखि सरकारी सेवा–सुविधा दिलाउन पहल गरिन् । हाल उनी राष्ट्रिय अपाङ्ग महासंघको उपाध्यक्ष पदमा कार्यरत छिन् ।

टीका दाहाल, उपाध्यक्ष

राष्ट्रिय अपाङ्ग महासंघ

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्