संकोच  हटिसकेको छैन

उपासना घिमिरे

चैत्र ४, २०७५

डा.बालकृष्ण साह, प्रसूति तथा स्त्री रोग विशेषज्ञ 

मोरङ सहकारी अस्पताल, विराटनगर

महिलाको डाक्टर बन्ने सोच कसरी आयो ? 

२०६५ सालमा मेची अञ्चल अस्पताल, भद्रपुरमा मेडिसिन विभागमा कार्यरत हुँदा सुरक्षित गर्भपतन सेवा दिन नेपाल सरकारका तर्फबाट तालिम लिने अवसर पाएँ । त्यही तालिमपछि मेची अञ्चल अस्पतालमा मैले सुरक्षित गर्भपतन सेवा दिनुपर्ने भयो । मेडिसिन विभागमा काम गरेर फेरि गर्भपतन सेवा दिँदा झन्झटिलो भएकाले प्रसूति तथा स्त्रीरोग विभागमै मेडिकल अधिकृतका रूपमा काम गर्न थालें । मेची अञ्चल अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागमा काम गर्दै जाँदा बिरामीको विश्वास जित्दै गएँ र आफूले पनि सन्तुष्टि पाएकाले यही विषयमा आकर्षित हुन पुगें । पछि यही विषयमा थप अध्ययन गर्ने अवसर मिल्यो र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भएँ । अहिले त आफू महिलाहरूको विज्ञ भएर सेवा गर्न नै जन्मिएजस्तो लाग्छ । 

यो क्षेत्रमा काम गरेको कति वर्ष भयो ? 

चिकित्सकका रूपमा काम गरेको एमबीबीएसपछि नै हो । प्रसूति तथा स्त्रीरोग विभागमा काम गरेको १० वर्ष पुगेछ । 

अहिलेसम्म कति महिला रोगीको चेक–जाँच गरिसक्नुभयो ? 

यति नै जाँचें भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन । एउटै महिलाको पटक–पटक परीक्षण, गर्भपतन तथा शल्यक्रिया पनि गरेको छु । संख्यामा भन्नुपर्दा १० हजारभन्दा बढी महिलाको गर्भपतन, १ हजारभन्दा बढी महिलाको सिजेरियन तथा ३ सयजति महिलाको पाठेघरको शल्यक्रिया गरें होला । 

महिलाको क्षेत्रमा काम गर्दा भएका सजिला–अप्ठ्यारा के–के छन् ? 

सजिलो–गारो भन्दा पनि सेवा गरेजस्तो लाग्छ । चिकित्सकीय पेसा बाहिरबाट हेर्दा जति आकर्षक अनि रमाइलो देखिन्छ, भित्र त्यति नै अप्ठ्यारो अनि जोखिमपूर्ण हुन्छ । अस्पताल आउने हरेक बिरामीका पीडा फरक हुन्छन् अनि कति बिरामी गम्भीर अवस्थामा समेत हुन्छन् । अस्पताल आएपछि बिरामीमा बाँच्छु भन्ने विश्वास हुन्छ तर सधै विश्वास पूरा गर्नु हाम्रा लागि चुनौतीपूर्ण हुन्छ । 

महिलाहरू चेकअप गर्न आउँदा कत्तिको खुल्छन् ? 

खासगरी तराई–मधेस क्षेत्रमा महिलाहरू पुरुष स्त्रीरोग विशेषज्ञसँग परीक्षण गर्न आउनुलाई बाध्यताका रूपमा लिन्छन् । विशेषगरी बच्चा नपाइसकेका महिला तथा वृद्धाहरू खुल्न गार्‍हो मान्छन् । कतिपय महिलाले सिस्टरसँग मात्र परीक्षण गराउने प्रस्तावसमेत राख्ने गरेका छन् । त्यसैले म अति आवश्यक नभएसम्म यौनाङ्ग हेर्दिन तर आवश्यक परीक्षण गर्नु मेरो दायित्व हो । यद्यपि कतिपय महिलाले आफ्नो समस्या खुलेर व्यक्त गर्छन् । खुलेर समस्या भन्दा रोग पत्ता लगाउन सहज हुन्छ । 

महिलाहरूमा कुन–कुन समस्या बढी देखा पर्छन् ? 

उपचारका लागि आएका महिलामा महिनावारी तथा रक्तस्रावको समस्या, सेतो पानी बग्ने, कम्मर दुख्ने तथा संक्रमणले हुने समस्या, गर्भका जटिलता, निःसन्तान तथा अनिच्छित गर्भ एवं परिवार नियोजनका समस्या, पाठेघरका समस्या तथा वृद्धावस्थामा आङ खस्ने, पिसाब चुहिने समस्या मुख्य रूपमा देखापरेका छन् ।

 

आफूले गरेकामध्ये सबैभन्दा सन्तुष्टि मिलेको काम ? 

म आफ्नो कामबाट अत्यन्त खुसी र सन्तुष्ट छु । तेह्रथुममा शल्यक्रिया गर्दा न बल्डबैंक थियो, न आधुनिक शल्यकक्ष, न त आई.सी.यु. वा राम्रो मोनिटरिङ (निगरानी) कक्ष तर पनि एक, दुई होइन एक दर्जनझन्दा बढी शल्यक्रिया गरेको थिएँ त्यहाँ मैले । शल्यत्रिया गर्दागर्दै विद्युत् अवरोध हुँदा टर्च बालेर पनि शल्यक्रिया सम्पन्न गर्नुपरेको थियो । यसैगरी आङ खस्ने समस्यासम्बन्धी एउटा शिविरमा आमासँगै दुई छोरीको पनि एउटै टेबलमा पाठेघर निकाल्नुपरेको थियो । त्यस्तै बच्चा जन्माउने क्रममा पाठेघर फुटेका कारणले पाठेघर निकाल्नुपरेको, पाठेघरमा ठूलो ऐजेरु पलाएर (३ किलोसम्मको फाइबराइड) पाठेघर निकाल्नुपरेको अवस्था पनि चुनौतीपूर्ण थियो । 

नेपाली महिलाहरू आफ्नो स्वास्थ्यप्रति कत्तिको सचेत छन् ? 

साक्षरता, रोजगारी अनि सामाजिक सहभागिताले गर्दा महिलाहरू आफ्नो स्वास्थ्य, परिवार नियोजन एवं गर्भप्रति संवेदनशील अनि सचेत हुँदै गएका छन् । नेपाली महिलाहरू साना–साना कुरामा पनि प्रस्ट हुन चाहन्छन्, जुन राम्रो पक्ष हो । यद्यपि अझै पनि धेरैजसो महिला औषधि खान भने गार्‍हो मान्छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्