सबैको पहुँच पुग्ने भवन

सुजाता शाक्य वज्राचार्य

फाल्गुन २९, २०७५

हिजोआज हामी धेरै किसिमका भवनका बारेमा कुरा सुन्छौं । तीमध्ये कुनै ग्रिन विल्डिङ त कुनै सस्टेनबेल, कुनै मोर्डन त कुनै ट्रेडिसनल हुन्छन् । यति मात्र होइन पहुँचयुक्त भवनका बारेमा पनि धेरै कुरा सुनिन्छ । पहुँचयुक्त भवन कस्तो किसिमको भवन हो भन्ने कुराको कौतूहलता हामी सबैमा हुन्छ र यो किन चाहिन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ । यस्तो भवन आर्किटेक्टको रोजाइको डिजाइनमा नभएर प्रयोगकर्ताको आवश्यकतानुसार बनाइन्छ ।

पहुँचयुक्त भवनका लागि कुनै विशेष नौलो ढाँचा वा डिजाइन आवश्यक हुँदैन । यद्यपि डिजाइन इलिमेन्ट्स भने हुनु जरुरी छ । पहुँचयुक्त भवन त्यस्तो भवन हो जसमा कुनै पनि व्यक्ति, अझ स्पष्ट रूपमा भन्ने हो भने विभिन्न किसिमका अपाङ्ग व्यक्ति पनि कुनै दोस्रो व्यक्तिको सहायताबिना सजिलै आवतजावत गर्न सक्छन् । यस्तो भवनलाई ‘युनिभर्सल एस्सीसीबल भवन’ वा ‘अपाङ्गमैत्री’ भवनसमेत भनिन्छ । 

पहुँचयुक्त भवन वा संरचनामा विशेषतः तीन प्रकारका अपाङ्गको पहुँचका सम्बन्धमा ध्यान पुर्‍याइएको हुन्छ । पहिलो प्रकारमा ह्विल चियर होल्डर पर्छन् जो सजिलै वा दुई खुट्टामा हिँड्न सक्दैनन् र एक ठाउँबाट अर्को ठाउँमा जान ह्विल चियर प्रयोग गर्छन् । त्यसैले यो वर्गमा खुट्टा नझएका व्यक्ति मात्र होइन अशक्त, बिरामी, बूढाबूढी तथा बेबी चेयर बोकेका व्यत्ति पनि पर्छन् । त्यसैगरी दोस्रो प्रकारमा ह्वाइट स्टिक होल्डर छन् जसमा आँखा कमजोर तथा नदेख्ने व्यक्तिहरू पर्छन् ।

यिनीहरू ह्वाइट स्टिकको सहायतामा हिँडडुल गर्छन् र अन्तिममा कम उचाइ भएका व्यक्ति पर्छन् । जो पूर्ण अङ्ग भएर पनि धेरै होचा हुन्छन् जसलाई हामी होचा–पुड्का पनि भन्छौं । यो वर्गमा होचा व्यक्तिहरूलाई मात्र नभएर बालबालिकाहरूलाई समेत राख्न सकिन्छ । त्यसैले पहुँचयुक्त भवन भन्नाले अपाङ्ग झनेर समाजले चिन्ने व्यक्तिहरूका लागि मात्र होइन सबै किसिमका व्यत्तिले बिना कुनै अवरोध सहजताका साथ आवतजावत मिल्ने गरी बनाइने भवन हुन् । आजको आवश्यकता के हो भने चाहे मोर्डन विल्डिङ होस् वा ट्रेडिसनल, त्यसमा सबै किसिमका मानिसको पहुँच नितान्त जरुरी छ । 

कुन र कस्तो भवनमा पहुँचयुक्तता जरुरी हुन्छ भन्ने कौतूहलता जोकसैको मनमा हुन सक्छ । सबै किसिमका पब्लिक तथा सरकारी भवनहरू तथा संचरना जसले जन–साधारणलाई दैनिक सेवा–सुविधा दिने काम गर्छन्, ती पहुँचयुक्त हुनु जरुरी छ । उदाहरणका लागि सबै सरकारी कार्यालयहरू, अड्डा–अदालत, स्वास्थ्यसम्बन्धी सेवा दिने भवनहरू, सपिङ कम्प्लेक्स, थिएटर, सिनेमा हल, स्कुल, कलेज, पार्क, मन्दिर, मस्जिद, बैंक, अपार्टमेन्ट, सार्वजनिक शौचालय आदि अथवा यसो भन्न सकिन्छ हाइभेट वा निजी रेजिडेन्सिल भवनबाहेक अन्य सबै भवन–संरचना पहुँचयुक्त हुनु आवश्यक छ ।

कुनै पनि भवन–संरचना पहुँचयुक्त बनाउन नयाँ निर्माणमा मात्र सम्भव छ भन्ने होइन । पुराना वा पहिले निर्माण सम्पन्न भैसकेका संरचना–भवनहरूमा समेत केही परिवर्तन ल्याई तिनलाई पहुँचयुक्त बनाउन सकिन्छ । भवन संरचनालाई पहुँचयुक्त बनाउन निर्माण कालमै योजना बनाएर थप रकमबिनै पहुँचयुक्त बनाउन सकिन्छ ।

यस्तो पहुँचयुक्त भवन तथा संरचनामा के–कस्ता कुरामा ध्यान पुर्‍याउनुपर्छ र त्यो कस्तो हुनुपर्छ भन्ने जानकारी हुनु जरुरी छ । यसका लागि केही निश्चित इलिमेन्ट जरुरी हुन्छ । तीमध्ये सर्वप्रथम त संरचना हुन्छ । हामी प्लिन्थलाई जमिनभन्दा थोरै माथि बनाउँछौं । जसमा पुग्न २–४ खुड्किला राखिन्छ तर पहुँचयुक्त भवनमा खुड्किला मात्र होइन मुख्य प्रवेशद्वारमा पनि र्‍याम्प वा स्लोप राख्नु जरुरी हुन्छ । त्यस्तो पहुँचयुक्त स्लोप कम्तीमा पनि १ः १२ हुनुपर्छ र न्यूनतम एक मिटर फराकिलोका साथै नन् स्लिपी होनिङ हुनुपर्छ ताकि ह्विल चियरमा आएका व्यक्ति सजिलै एक्लै भित्र–बाहिर आउन–जान सकून् ।

त्यसबाहेक र्‍याम्पको दुवैतिर २’३”/१’८” जुन ह्विल चियरमा बसेर समाउन सकिने र बालबालिकाले समेत समाउन सक्ने उचाइमा हेन्डल हुनु जरुरी छ । दोस्रो इलिमेन्ट फिक्स फाइल टाइल हो । सबै बाटो वा प्यासेज वेमा टेक्सटाइलको प्रयोग गरिएको हुनुपर्छ । ह्वाइट स्टिक होल्डरहरूका लागि बाटोको दिशा देखाउन प्यासेज वेमा साधारण चिल्लो टाइल मात्र होइन बीचमा पर्ने गरी एक लाइन टेक्सटाइल प्रयोग गर्नुपर्छ जसले ह्वाइट स्टिक बोकेर हिँड्ने व्यक्तिहरूलाई पथ निर्देशन गर्छ । तेस्रो इलिमेन्ट हेर्दा सानोजस्तो देखिन्छ तर निकै प्रभावकारी हुन्छ । त्यो हो ढोकाको खम्बा । साधारण रूपमा प्रयोग गरिने गोलो डोर खोबको सट्टामा लामो खोब प्रयोग गर्न सकिन्छ ताकि ह्विल चियरमा बस्ने व्यक्ति, होचा–पुड्का व्यक्ति, बालबालिका तथा सर्वसाधारणले समेत त्यसको समान प्रयोग गर्न सकून् । त्यस्तै अर्को याद राख्नुपर्ने कुरा डोर खोबजस्तै स्वीच तथा चुकुलहरू पनि त्यस्तै सहज उचाइमा राख्नु हो । अझ अलि गहिरिएर विचार गर्ने हो भने पहुँचयुक्त घरका ढोकाको खापा पनि सजिलै खोलिने किसिमको हुनु जरुरी छ । सबै कोठाको ढोकामा सम्भव नभए पनि विशेष गरी शौचालयको ढोका यस्तो हुनु जरुरी छ । 

यदि भवनमा लिफ्ट प्रयोग गरिएको छ भने लिफ्ट खोल्न राखिने स्वीच बटन कम हाइटमा राख्नुपर्छ ।

त्यस्तो बटनमा ब्रेलमा लिपिको प्रयोग पनि आवश्यक हुन्छ जसले गर्दा अपाङ्ग, बालबालिका एवं बूढाबूढीहरूले सहजै लिफ्ट प्रयोग गर्न सक्छन् । त्यति मात्र होइन लिफ्टको भित्र पनि यस्तै किसिमको स्वीच बटन र भित्तामा ह्यान्डिल राख्नुपर्छ । लिफ्टमार्फत तल–माथि गर्दा कुन तल्लामा पुगेको हो भनी देखाइने संकेत अपर्याप्त हुनसक्छ । त्यसैले लिफ्ट तल–माथि गर्दा जुन फ्लोरमा पुगेको हो आवाजमार्फत त्यसको सूचना दिने सिस्टम पनि आवश्यक छ । त्यसले गर्दा पढ्न नसक्ने वा आँखा नदेख्ने व्यक्तिहरू पनि आफ्नो गन्तव्यमा पुगे–नपुगेको जानकारी प्राप्त गर्न सक्छन् । 

पहुँचयुक्त भवन बनाउँदा यी माथिका सबै कुरामा ध्यान पुर्‍याउनुका साथै शौचालयको निर्माणमा समेत सावधानी अपनाउनुपर्छ । पहुँचयुक्त संरचनाका शौचालय सबैको पहुँचयुक्त हुनु जरुरी हुन्छ । त्यसका लागि शौचालयभित्र पनि आवश्यक ठाउँमा ह्यान्डिल दिन जरुरी हुन्छ । शौचालयको बाहिर लेखिने बोर्डमा ब्रेल अक्षर र चित्र प्रयोग गर्नुपर्छ । यदि पहुँचयुक्त ढोका, बाटो, लिफ्ट, कोठा, पार्किङ, शौचालय, खानेपानी आदिको व्यवस्था भए त्यस्ता संरचना तथा भवन सबैको पहुँचमा हुनेछन् । तिनले अपाङ्ग तथा वृद्धवृद्धाहरूलाई मात्र होइन अरूलाई समेत पर्याप्त सुविधा दिन्छन् । घर हामी सबैको पहुँचयुक्त तथा सहज हुनुपर्छ । सबै नयाँ–पुराना सार्वजनिक भवनहरू वा सेवाग्राही संरचना पहुँचयुक्त हुनुपर्नेमा जोड दिनु आजको आवश्यकता पनि हो । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्