महिलाहरूको दयनीय अवस्थाका  कारण गाइनो

नारी संवाददाता

फाल्गुन २८, २०७५

खासगरी सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, तल्लो पेटमा डल्लो आउने, महिनावारी गडबड हुने, आङ झर्ने, स्त्री जननेन्द्रियमा क्यान्सर, पाठेघरमा मासु वा डिम्बाशयमा सिस्ट पलाउने समस्या बढी छ ।

महिलाको डाक्टर बन्ने सोच कसरी आयो ? 

मैले स्वास्थ्य क्षेत्रमा काम गर्न थालेको २५ वर्ष भयो । सुरुवाती दिनमा हेल्थ असिस्टेन्टका रूपमा नेपालका विकट एवं दुर्गम ठाउँमा काम गर्दा नेपाली महिला एवं बालबालिकाहरूको दयनीय अवस्था देखेपछि यही क्षेत्रमै क्यारियर बनाउने अठोट लिएको थिएँ । पछि मेडिकल डाक्टरका रूपमा काठमाडौं विश्वविद्यालयमा कार्यरत हुँदा पोस्ट ग्राजुएट गर्ने अवसर आउँदा बाल रोग वा स्त्री तथा प्रसूतिमध्ये कुनै एक छान्नुपर्ने भयो । नेपालमा डाक्टरका रूपमा काम गर्न आफूसँग शल्यचिकित्सा (चिरफार गर्नसक्ने) को दखल पनि हुनुपर्छ भन्ने मान्यताका कारण बालरोग भन्दा स्त्री तथा प्रसूति रोगमा विशेषज्ञता हासिल गर्ने निर्णय गरें ।

 

यो क्षेत्रमा काम गरेको कति वर्ष भयो ? 

स्त्री तथा प्रसूति रोग विशेषज्ञकै रूपमा काम गर्न थालेको १३ वर्ष भयो । यस क्रममा हजारौं महिलालाई सेवा दिइसकें । 

महिलाको क्षेत्रमा काम गर्दा भएका सजिला–अप्ठ्यारा के–के छन् ? 

पुरुष गाइनोकोलोजिस्टका रूपमा दुर्गम भेगका क्याम्प वा शिविरमा जाँदा त्यहाँका महिलाहरूले अलि अप्ठ्यारो मान्छन् तर महिला विषयप्रतिको आफ्नो खुबी बुझाएपछि धेरैले चेक अप गराउन मान्छन् । म सीधै विषय अर्थात् महिलाहरूको खास समस्याप्रति सीधै प्रश्न नगरी बिस्तारै भूमिका बाँधेर, उनीहरूलाई सहज बनाउँदै चेकअप थाल्छु । त्यसैले पनि अधिकांश महिला खुल्छन् । बिरामीले भन्न छुटाएका वा अप्ठ्यारो मानेको कुरा आफैं सोध्छु । निःसन्तानको समस्या लिएर आउनेहरूले सोध्न अप्ठ्यारो लागेर अरु नै गुनासो गर्छन् । म तिनीहरूको विवाह भएको मिति र बालबच्चाको संख्या सोधेपछि अनुमान लगाइहाल्छु । अन्त्यमा उनीहरूले त्यसैका लागि आएको भनेर स्वीकार गर्छन् । 

नेपाली महिलामा के–कस्ता समस्या देखापर्दै आएका छन् ? 

खासगरी सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, तल्लो पेटमा डल्लो आउने, महिनावारी गडबड हुने, आङ झर्ने, स्त्री जननेन्द्रियमा क्यान्सर, पाठेघरमा मासु वा डिम्बाशयमा सिस्ट पलाउने समस्या बढी छ । त्यसैगरी कतिपय महिलामा बाँझोपनको समस्या पनि देखिएको छ । 

आफूले गरेकामध्ये सबैभन्दा सन्तुष्टि मिलेको काम 

एकपटक म कार्यरत अस्पताल भन्दा दुई घन्टा टाढाबाट पाठेघर फुटेको केस रेफर गर्न लागिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले बाटैमा मृत्यु हुन्छ होला भनेका थिए । मैले अस्पतालको इमर्जेन्सीदेखि अप्रेसन कोठासम्म सबै व्यवस्थापन गर्न लगाएँ अनि बिरामी ल्याउनासाथ तुरुन्तै अप्रेसन गरें । ती महिलालाई धेरै रगत चढाउनुपर्‍यो भने उनको पाठेघर नै निकाल्नुपर्‍यो तर उनी बाँचिन् । उनी निको भएर हाँसेर बिदा भइन् । त्यसैगरी एउटी महिलाको सुरुमा पाठेघरमा मासु पलाएको समस्याका लागि घाउ पारेर मासु निकालिएको त्यसपछि बच्चा जन्माउन फेरि सिजेरियन अप्रेसन गरिएको रहेछ । उनको पाठेघरमा फेरि मासु पलाएछ तर उनमा बच्चा पाउने चाहना अझै रहेछ । पाठेघरमा मासु पलाएका कारण बच्चा पाउन समस्या भैरहेको थियो । उनको चाहना जसरी हुन्छ ल्याप्रोस्कोपीबाटै पाठेघरको डल्लो (मासु, हाम्रो भाषामा फाइब्रोइड) निकाल्ने रहेछ । काठमाडौंमा कसैले ल्याप्रोस्कोपीबाट त्यो फाइब्रोइड निकाल्ने आँट गरेनछन् । पाठेघरमा दुई पटक घाउ पारिसकेको अवस्थामा ल्याप्रोस्कोपीबाट, त्यो पनि फाइब्रोइड निकाल्ने कुरा चानचुने होइन, हामी ल्याप्रोस्कोपिक गाइनो सर्जनका लागि । त्यो केस मकहाँ आयो, मैले भनें म सक्छु तर उनलाई मेरो क्षमताप्रति विश्वास दिलाउन निकै सकस भयो । जेहोस् त्यो केस मैले ल्याप्रोस्कोपीबाटै सफलतापूर्वक सम्पन्न गरें । 

पहिलेको तुलनामा नेपाली महिलाहरू आफ्नो स्वास्थ्यप्रति कत्तिको सचेत छन् ?

निकै सचेत भएका छन् तर सुगम अनि दुर्गम तथा गरिब अनि हुने खानेबीचको भिन्नता भने कायमै छ । कोही हल्का बिरामी हुनासाथ भारत तथा थाइल्यान्ड पुग्छन् । विकटमा भने साधारण सिटामोलको एउटा चक्की प्राप्त गर्न पनि शिविर कुर्नुपर्ने अवस्था छ । सहरियाहरू पनि स्मार्ट फोन त बोक्छन् तर सुरक्षित सेक्सको उपाय अपनाउँदैनन् अनि अनिच्छित गर्भ रहनेबित्तिकै एबोर्सन गराउँछन् । 

परिवारको सदस्यको उपचार गर्नुभएको छ ? 

गरेको छु । 

पहिलेको तुलनामा स्वास्थ्य प्रविधिमा सुधार आएको छ ? 

प्रविधिमा धेरै सुधार आएको छ । अहिले रोबोटिक सर्जरी मात्र गरिँदैन । विगत ५ वर्षमा अप्रेसन गर्ने ढाँचा ठ्याक्कै उल्टो भएको छ । त्यतिबेला घाउ पारेर गर्ने करिब ८०–८५ प्रतिशत केस अहिले ल्याप्रोस्कोपीबाट गर्न सकिन्छ । यसैगरी पाठेघर बाहिर नलीमा गर्भ बस्ने समस्या, पाठेघरमा मासु पलाउने समस्या, डिम्बाशयमा सिस्ट पलाउने समस्या, पाठेघर निकाल्ने शल्यक्रिया, निःसन्तानका लागि डाइग्नोस्टिक परीक्षण, तल्लो पेटमा मासु गाँजिएको अनि रगत जम्ने समस्या (इन्डोमेट्रिओसिस) मा ल्याप्रोस्कोपीबाट गर्न सकिन्छ । यता पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ तथा पिसाब चुहिने समस्यामा पनि आधुनिक मेसिनबाटै उपचार गरिरहेका छौं । गर्भपतनका क्रममा रगत बग्ने समस्याका लागि पहिले क्युरेट नै गर्नुपर्ने बाध्यता थियो भने अहिले मेडिकल एबोर्सन अनि हिस्टेरोस्कोपी (पाठेघर भित्र दुरबिन राखेर परीक्षण गर्ने सुविधा) गरिन्छ ।

डा. सुमनराज ताम्राकार 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ, धुलिखेल अस्पताल

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्