प्रेमलाई हेर्ने दृष्टिकोण

लक्ष्मी भण्डारी थापा

फाल्गुन १९, २०७५

उहिले प्लेटोनिक प्रेममा विश्वास गरिन्थ्यो, जहाँ आत्मीय प्रेम र सम्मान हुन्थ्यो, देखादेखमै सारा भावहरू साटिन्थे, भावनाहरू बुझिन्थे । जुग बित्दै जाँदा स्वतन्त्र र खुल्ला प्रेमले स्थान लिँदै गयो । अहिलेको प्रेम सम्बन्ध अस्थायी र ज्यादातर मनोरञ्जनका साथै लाभ प्रयोजनका लागि प्रयोग हुने हुँदा उहिले जस्तो पवित्र तथा दीर्घजीवी प्रेमको अभाव खट्किँदै गएको विभिन्न शोधले देखाउँछन् । यही सन्दर्भमा प्रेमको आधुनिक परिभाषाका सम्बन्धमा नारी बहस : 

गरिमा श्रेष्ठ,  चिकित्सक

मलाई लाग्छ प्रेम भनेको दुई व्यक्तिका बीचको संवाद, समझदारी एवं कमिटमेन्ट हो । पहिलेको प्रेममा पुरुष सर्वेसर्वा हुन्थे तर अहिलेको प्रेममा महिला–पुरुष बराबर देखिएका छन् । अहिले पुरुषहरू पनि आफ्नो गल्ती छ भने झुक्न पछि पर्दैनन् जबकि पहिले पुरुषको गल्ती भए पनि महिलाले मात्र झुक्नुपथ्र्यो । प्रेममा एउटा आगो र अर्को पानी हुनुपर्छ । प्रेम कार्यान्वयनमा परिवर्तन आएको हो तर सोचमा अहिले आकर्षण मात्र बढी छ । सामाजिक सञ्जालमा देख्यो, आकर्षित भयो तर भेटिसकेपछि त्यस्तो आकर्षणले निरन्तरता पाउँदैन । अहिले समझदारी र कमिटमेन्टमा भन्दा शारीरिक आकर्षणमा बढी ध्यान दिइएको पाइन्छ । विश्वास, समझदारी तथा एक–अर्काप्रतिको बुझाइ सही भयो भने प्रेम दीर्घ हुन सक्छ । दुईजना प्रेममा छन् भने एक–अर्कालाई माफी दिन सक्नुपर्छ, समझदारी र सेयरिङ भैरहनुपर्छ । शारीरिक रूपमा टाढा भए पनि सञ्चार–संवाद एवं खुसी सेयर गरिरहनुपर्छ । 

निशा राई, फेसन डिजाइनर

आधुनिक प्रेम आत्मिक प्रेम रहेन । आकर्षण, शारीरिक आवश्यकता तथा नाफा–घाटाको प्रेमको लोकप्रियता बढी देखिन्छ अहिले । प्रेमले शान्ति दिनुपर्नेमा तनाव र बेचैनी थप्ने काम गरेको छ । विवाहेत्तर सम्बन्धका कारण प्रेम बिटुलिएको छ । त्यस्ता सम्बन्धमा प्रेमभन्दा आवश्यकता बढी देखिन्छ । अहिले प्रेम बलियो होइन कमजोर बन्दै गएको छ । यद्यपि अहिले कतै पनि वास्तविक प्रेम छैन भन्न मिल्दैन, यदि साँचो प्रेम भैहाल्यो भने त्यो पहिलेको तुलनामा समतामूलक देखिएको छ । उहिले महिलाले धेरै सहन्थे प्रेममा तर अहिले पुरुषहरू पनि लचिलो हुँदै गएका छन् । 

बिना थिङ, साहित्यकार

प्रेम अहिले विनिमयमा गयो । वास्तवमा भावनाको विनिमय हुनुपथ्र्यो तर प्रेम अहिले कमोडिटीका रूपमा प्रयोग हुन थालेको छ । यसले गर्दा मानिसहरूमा विचलन आइरहेको छ । मानिस र प्रेम दुवै उही हुन् तर परिवेश, परिस्थिति र प्रविधिले मानिसलाई यान्त्रिक बनाएको छ । यान्त्रिक भएपछि उसले यान्त्रिक प्रेम नै गर्न सिक्यो । प्रेमको मामिलामा महिलाहरू बढी संवेदनशील हुन्छन् । महिला एउटै प्रेमलाई जीवन मान्न तयार भएको अवस्था हुन्छ तर कतिपय प्रेमीले प्रेमलाई अवसरका रूपमा प्रयोग गरिरहेका हुन्छन् । वास्तवमा प्रेम यति शक्तिशाली तत्व हो जसको माध्यमबाट मानिसले असम्भव भनिएका कामहरूलाई समेत सम्भव बनाउन सक्छन् । अहिले आधुनिक प्रेमको नाममा भ्रम सिर्जना भएका छन् । ती भ्रममै बाँच्छन् । बुझ्नुपर्ने कुरा के–हो भने प्रेम र आशक्ति फर–फरक कुरा हुन् । प्रेम आफैंमा महसुस हुन्छ, आशक्तिमा अरुप्रतिको भौतिक तथा शारीरिक आकर्षण हुन्छ । अहिलेको आधुनिक प्रेम यस्तै देखिन्छ ।

दीपिका प्रसाईं, नायिका

मैले अहिलेको आधुनिक प्रेमलाई केयरिङ–सेयरिङका रूपमा बुझेकी छु । अहिलेको प्रेममा आपसी समझदारी पनि प्रशस्त छ । अहिलेको प्रेम अलिकति भौतिकवादी भयो भन्ने पनि लाग्छ । अहिलेको प्रेममा विश्वासको कमी देखिन्छ । शारीरिक आकर्षण र स्वार्थी प्रेम बढी पाइन्छ आजकल । पहिले प्रेममा बलियोबाट कमजोरले सधै त्रासको भावना राख्थ्यो भने अहिले त्यो हटेको छ । अहिले वास्तविक प्रेम भएको अवस्थामा दुवैको समान अधिकार र निर्णायक क्षमता देखिन्छ । अहिले सामाजिक सञ्जाललगायतका प्रविधि प्रयोग गरी ब्लाइन्ड डेटमा रमाइरहेकाहरू त्यसैलाई प्रेम मान्छन् जुन साँचो अर्थको प्रेम हुँदै होइन । 

संगीता थापा, थिएटर आर्टिस्ट, गजलकार

समयअनुसार प्रेमको परिभाषा बदलिँदैछ । मैले देख्दा वास्तविक प्रेम रहेन यो समयमा । कमै मात्रामा विश्वासयोग्य प्रेम फेला पार्न सकिन्छ । अहिले प्रेम गरेजस्तो गरिन्छ तर यो पाइला–पाइलामा परिवर्तन भैरहने मौसमजस्तो भएको छ । प्रेमको धागो बलियो नभएर टुक्रिरहने खालको देखिन्छ । मेरो परिभाषामा प्रेम भनेकै विश्वास हो । अहिलेको प्रेममा यसकै कमी देखिन्छ । प्रेम अहिले फेसन भएको छ, यद्यपि यो फेसन होइन यो एक–अर्काप्रतिको समर्पण हो । प्रेम मैले यति जना ब्वाइफ्रेन्ड वा गर्लफ्रेन्ड बनाएको छु भन्ने प्रतिस्पर्धामा दौडिएको छ जुन साँचो प्रेमको विपरीत परिस्थिति हो । आधुनिक प्रेमलाई म फेसनेबल प्रेम मात्र भन्न रुचाउँछु । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्