उही जोसमा  गायक दीप श्रेष्ठ

नारी संवाददाता

फाल्गुन १७, २०७५

दीप श्रेष्ठ आधुनिक नेपाली गायनका अग्रणी गायक हुन् । उनका प्रायः गीतमा स्वरका साथमा शब्द र संगीत सिर्जनाको तालमेल पनि उत्तिकै मन छुने हुन्छ । ५ दशक लामो संगीत साधनामा उनले नेपाली संगीतका लागि एउटा नौलो शैली दिएका छन् । २०२० सालमा सांगीतिक आकाशमा उदाएका दीप श्रेष्ठ संगीतकार तथा रचनाकार पनि हुन् । श्रेष्ठले म पत्थरको देवता होइन रेकर्ड गराएर २०२५ सालमा औपचारिक सांगीतिक यात्रा प्रारम्भ गरेका हुन् । त्यतिबेलाका अग्रज गायकहरू नारायण गोपाल, पे्रमध्वज प्रधान, बच्चु कैलाश, फत्तेमान, नातिकाजी, भक्तराज आचार्य आदिले भरिएको चुनौतीपूर्ण सांगीतिक यात्रामा पनि आफूलाई स्थापित गराउन सफल भए उनी । 

उनको घरमा पहिलेदेखि सांगीतिक वातावरण थियो । बुवा भारतबाट उस्तादहरू बोलाएर संगीतको आनन्द लिनुहुन्थ्यो । सितारवादक गणेश भण्डारी तथा संगीतकार नरराज ढकाल उनका बुवाका मिल्ने साथी थिए । १२ वर्षको हुँदा बुवाको आकस्मिक निधन भएपछि उनको पढाइमा असर प¥यो । उनको मनमा बुवा बितेको पीडा थियो । सम्भवतः पीडाले होला उनलाई विरहले भरिएका हिन्दी गीत खुबै मन पर्न थाले । विशेषगरी विरहका गीतका लागि श्रोताहरूद्वारा रुचाइएका गायक दीप श्रेष्ठ त्यस्ता गीतमा आफू जम्नुको रहस्य खुलाउँछन् ।

श्रेष्ठ ०२५ सालमा राष्ट्रिय नाचघरमा आयोजित एउटा सांस्कृतिक कार्यक्रममा भाग लिन काठमाडौं आएका थिए । त्यहाँ“ उनले स्मृतिका पाना पल्टाउँदै र म पत्थरको देवता होइन गीत गाएका थिए । दीपको गीत सुनेर तत्कालीन राजा महेन्द्र अत्यन्त प्रभावित भए । राजाको आदेशपछि उनले रेडियो नेपालमा तत्कालै गीत गाउने अवसर पाए । त्यतिबेला रेडियो नेपालमा वाद्यवादकहरू त्यति हुँदैनथे । ‘गीत रेकर्डिङका बेला नातिकाजीले पियानोे एवं शिवशंकरले एउटा बाजा बजाइदिनुभएको थियो । नातिकाजी र शिवशंकरजस्ता अज्रज व्यक्तित्वहरूको मेरो पहिलो गीतमा वाद्यवादनमा साथ भएको कुरा सम्झदा खुसी लाग्छ’–दीपले भावुक हुँदै सुनाए । दुईवटा गीत रेकर्ड गरेपछि दीप धरान फर्किए । त्यतिबेला म पत्थरको देवता होइन निकै लोकप्रिय भयो । 

दीप नेपालभित्र मात्र नभएर सिक्किम, कालिम्पोङ, खर्साङ, दार्जीलिङतिर पनि लोकप्रिय थिए । त्यहाँका थुप्रै युवती उनका प्रशंसक थिए । ती प्रशंसकहरूमा सोफिया गुरुङ पनि थिइन् । तिनै सोफिया पछि उनकी जीवनसाथी भइन् । 

रेडियो नेपालको राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक गायन सम्मेलनमा भाग लिन उनलाई साथीहरूले दबाब दिए । प्रतिस्पर्धामा भाग लिनकै लागि साथी विजय श्रेष्ठले दीपका लागि सागरको सतहबाट उठाई हिमाल गीत लेखेर दिए । त्यही गीतबाट उनले २०२७ सालमा तृतीय पुरस्कार प्राप्त गरे । अर्काे वर्ष पनि उनले तृतीय पुरस्कारमै चित्त बुझाउनुप¥यो । उनलाई प्रथम हुने रहरले सताउन थाल्यो । त्यसको एक वर्ष उनले प्रतियोगितामा भाग लिएनन् । २०३० सालको प्रतियोगितामा भाग लिन उनी काठमाडौं आए । त्यतिबेला उनको हातमा शिवशंकर थापाद्वारा रचित विधवालाई सिन्दूरको रहर आँखामा राखेर गीत थियो । नभन्दै उनले त्यो वर्ष प्रथम पुरस्कार जिते । विभिन्न सांस्कृतिक आयोजनाबाट उनलाई निम्तो आउन थालेको थियो । धरानमै बसेर सबै कार्यक्रममा भाग लिन कठिन भएकै कारण उनी काठमाडौं बस्न थाले । उनी त्यतिबेला स्टेजमा गीत गाएबापत ५ सय रुपैयाँसम्म पारिश्रमिक पाउँथे ।

स्टेज शोले मात्र जीवन चलाउन नसकिने भएकाले दीप न्यूरोडको एउटा रेस्टुराँमा गीत गाउन थाले । त्यहाँ उनलाई वाद्यवादनमा प्रकाश गुरुङ र किशोर गुरुङले साथ दिन्थे भने मीरा राणा र तीर्थ कुमारीले युगल गायनमा साथ दिन्थे । रेस्टुराँ राम्रोसँग चल्न थालेपछि दिउँसो लन्चमा पनि बाजा बजाउने काम थपियो । संगीत जगत्मा स्थापित हुन संघर्ष गरिरहेका भावुक गायक श्रेष्ठले २०४० सालतिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक (सहायक) पदको जागिर पाए जहाँ उनले २५ वर्ष सेवा गरे । यद्यपि उनको कहिल्यै बढुवा भएन । उनले ४ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने उनका धेरैजसो गीतमा आफ्नै संगीत हुन्थ्यो ।

दीप गायकका रूपमा स्थापित भैसक्दा नेपालमा चलचित्र बन्न थालिसकेका थिए । दीप भने पाश्र्वगायनको दौडमा अगाडि देखिएनन् । चलचित्र मायाप्रीतिका लागि आकाशको रंग हजार गीत गाएका श्रेष्ठको पाश्र्वगायन त्यसपछि हामी एक हौं जस्ता केही चलचित्रमा मात्र सुनियो । उनी आफ्नो गायनको विषयमा यसरी खुले, ‘म गाउने कुरामा स्ट्रिक्ट थिएँ । जस्तो पायो त्यस्ता गीत मलाई मन पर्दैनथे र गाउनुअघि नै सबै कुरा बुझ्थें । कम्पोज सुन्न खोज्थें । पारिश्रमिक कति पाउँछु सोध्थें । सम्भवतः त्यसैले मलाई कसैले चलचित्रमा गीत गाउन दिने आँट नगरेको हुनुपर्छ ।

५ दशक लामो एकोहोरो यात्रामा उनको मुहारमा थकानको भाव छैन । उनको यात्रा कहीँ विश्राम लिने सम्भावनासम्म देखिँदैन । अहिले गीत–संगीत सुन्ने भन्दा पनि हेर्ने चलन छ । सुरू–सुरूमा त उनलार्ई म्युजिक भिडियो बनाउनु भनेको अनावश्यक खर्च गर्नुजस्तो लाग्थ्यो तर अहिले युग बदलिसकेको छ । म्युजिक भिडियोबिनाको गीत त गीतै होइन जस्तो लाग्छ’–श्रेष्ठले भने । जोसँग पनि संगीतका कुरा गर्न पाउँदा रमाउने गायक श्रेष्ठ अझै पनि नयाँ–नयाँ गीत–संगीत सिर्जनामा व्यस्त पाइन्छन् । श्रेष्ठ भन्छन्–हामी पुराना पुस्ता हौँ भनेर बस्यौं भने हामी एकादेशको कथामा सीमित हुन्छौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्