मृत्युसँग लडेर बाँचिरहेकी छु : मनीषा कोइराला

सिर्जना दुवाल श्रेष्ठ

माघ २२, २०७५

म आफ्नो पछिल्लो विगतलाई बिर्सन चाहन्नथें । मैले जसले भोगेको छ, उसैले व्यक्त गर्दाको अनुभव बाँड्न चाहेकी हुँ । यो पुस्तकमा क्यान्सरको बिरामी हुँदा शारीरिक, मानसिक एवं भावनात्मक रूपमा के–के भयो भन्ने कुरा विस्तृत रूपमा चर्चा गरेकी छु । मैले यसमा क्यान्सरबाट मुक्त भएपछि के भयो र अहिले के गरिरहेकी छु भन्ने कुरा पनि उल्लेख गरेकी छु । मेरो उपचार कहाँ भयो, मैले के–के सिकें भन्ने कुराको चर्चा गरेकी छु ।

 

पाँच वर्षअघि डिम्बाशयको क्यान्सरको अन्तिम चरण (चौथो चरण) मा पुगेर पनि क्यान्सरलाई जित्न सकेकी अभिनेतृ हुन्–मनीषा कोइराला । क्यान्सर रोगको नामै सुन्दा डर लाग्ने, जटिल रोग, यसको पीडा, त्यसपछिका भोगाइले बिरामीलाई स्वाभाविक रूपमा चिन्तित बनाउने बताउँदै कोइराला भन्छिन्– ‘यसमा परिवार र समाजले पनि हौसला प्रदान गर्दै सहयोग गर्नु जरुरी छ ।’ कोइराला अहिले क्यान्सरसम्बन्धी जनचेतना फैलाउने क्रममा सक्रिय छिन् । उनी संयुक्त राष्ट्र संघीय खाद्य, जनसंख्या तथा कृषि कार्यक्रम युएनएफपिएको सद्भावना दूत पनि हुन् । मनीषा भन्छिन्–‘क्यान्सर लाग्यो भनेर हरेस खानु हुँदैन, बरु आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउँदै पौष्टिक आहार, सरल र सुखी जीवनशैली, नियमित योग अभ्यास एवं सकारात्मक सोचका बलमा बिरामीको आयु बढाउन सकिन्छ । 

मनीषाको अनुभव

क्यान्सर भएपछि मेरो पुस्तक लेखन सुरु भयो । बिरामी हुँदा भोगेको अनौठो, नयाँ र पीडादायी अनुभव सार्वजनिक गर्नुपर्छ भन्ने लागेर मैले ‘हिल्ड’ HEALED पुस्तक लेखेकी हुँ । यो पुस्तकका सह–लेखक नीलमकुमार पनि क्यान्सर सर्भाइभर हुन् । मेरो बाल्यकाल, बलिउडको करिअर र जीवनका अन्य पक्ष यो पुस्तकमा समेटिएको छैन । म आफ्नो पछिल्लो विगतलाई बिर्सन चाहन्नथें । मैले जसले भोगेको छ, उसैले व्यक्त गर्दाको अनुभव बाँड्न चाहेकी हुँ । यो पुस्तकमा क्यान्सरको बिरामी हुँदा शारीरिक, मानसिक एवं भावनात्मक रूपमा के–के भयो भन्ने कुरा विस्तृत रूपमा चर्चा गरेकी छु । मैले यसमा क्यान्सरबाट मुक्त भएपछि के भयो र अहिले के गरिरहेकी छु भन्ने कुरा पनि उल्लेख गरेकी छु । मेरो उपचार कहाँ भयो, मैले के–के सिकें भन्ने कुराको चर्चा गरेकी छु ।

मैले २०१७ को डिसेम्बरदेखि पुस्तक लेख्न थालेकी हुँ । त्यतिबेला मलाई सम्झन पनि धेरै कठिन भएको थियो । चार–पाँच महिनापछि झन्डै–झन्डै मैले पुस्तक लेख्न छाडिसकेकी थिएँ । त्यो पीडादायी क्षणको पलपल सम्झन सार्‍है गार्‍हो भएको थियो । पुस्तकको अंग्रेजी संस्करणका प्रकाशक पेन्गुइनका गोविन्दले लेख्न नछाड्न उत्साहित गरिरहनुभयो ।

जीवनमा एकदमै पीडादायी र कठिन पलबाट गुज्रिएपछि अमूल्य अनुभव प्राप्त हुन्छ । त्यसबाट सिकेको पाठ, त्यसबाट जीवनलाई हेर्ने दृष्टिकोण, त्यस्तो बेला चिनेका मानिसहरू अनि त्यसपछि बनेका अवधारणा छुट्टै हुँदा रहेछन् । यस्तो कुरा शेयर गर्दा धेरैलाई लाभ हुन्छ भन्ने मेरो मान्यता छ । मेरो पुस्तक कसैको जीवनका लागि लाभदायी हुने कुराले म खुसी छु ।

कसैलाई उपदेश दिन वा ज्ञान बाँड्न मैले यो पुस्तक लेखेकी होइन । यही मान्यताका साथ म थप पुस्तक पनि लेख्न चाहन्छु । पुस्तकको नेपाली संस्करण फाइन प्रिन्टले प्रकाशित गरेको छ । पुस्तकको अनुवाद क्यान्सर केयर नेपालले गरेको हो । पाठकहरूमाझ पुस्तकमार्फत जान पाउँदा म अत्यन्तै उत्साहित छु । यो आत्मकथाजस्तै हो, तर आत्मकथाकै पुस्तक भने होइन । यो मेरो जीवनको एउटा भाग हो । जीवनको सम्पूर्ण पक्ष होइन । बिरामी हुँदा मैले जुन अनुभव संगालें, त्यसलाई जीवनको अरु पक्षसँग मिसाउनु हुँदैन भन्ने लागेर बिरामी अवस्थामै सीमित राखेें । 

क्यान्सरजस्तो रोग लाग्दा असाध्यै अनौठो अनुभव के हुँदोरहेछ भने मृत्युलाई एकदमै नजिकबाट देख्न सकिँदोरहेछ । रुघाखोजीजस्तो औषधि खाँदैमा निको हुने बिरामी होइन यो । केमो थेरापी लिएपछि निको भैहाल्ने पनि होइन । लामो समयसम्म मृत्यु हुन्छ कि निको हुन्छ भन्ने थाहा हुँदैन । शरीरमा देखिएको रोगको त राम्रो चिकित्सकबाट उपचार भैरहेकै हुन्छ तर मानसिक एवं भावनात्मक रूपमा आफूलाई कसरी बलियो राख्ने भन्ने प्रश्न महत्वपूर्ण हुँदोरहेछ । त्यस्तो बेला आफूलाई माया गर्नेहरू पनि प्रभावित भएका हुन्छन् । किनभने उनीहरू पनि त्यो पीडाको छायाँ र ‘ट्रमा’ मा परेका हुन्छन् ।

 असाध्यै पीडामा परेका बेला त्यसबाट केही सिक्ने वा के गर्ने भन्ने आफैंमा निर्भर हुन्छ । त्यस्तो बेला मैले ‘हेल्पलेस’ महसुस गरें । बिरामी हुँदा एउटा ज्योतिषीले मेरो ग्रह–दशा हेरेर मेरा दाइहरूलाई पूजा गर्ने सल्लाहसमेत दिएका रहेछन् । त्यो कुरा पनि मैले आफ्नो पुस्तकमा उल्लेख गरेकी छु । मेरी आमाको विश्वासका बारेमा पनि चर्चा गरेकी छु । उपचारमा संलग्न मुख्य सर्जनलाई मेरी आमाले मेरो अप्रेसन गर्ने बेलामा यो रुद्राक्ष माला राखेर अप्रेसन गर्न भन्नुभएको थियो ।

गहिरो रोगबाट निको हुन मानसिक पक्ष पनि उत्तिकै मजबुत हुनुपर्छ । आफू ‘डिप्रेस्ड’ छु भन्ने मलाई पनि थाहा थिएन । मेरो हेरविचार गरिरहेका साथीले तपाईंले रोगविरुद्ध लड्ने बेलामा धेरै ठूलो संघर्षबाट गुज्रनुपर्‍यो भन्दै साइकोथेरापी लिन सल्लाह दिनुभयो । त्यसले मलाई सहयोग पनि गर्‍यो । 

                                                                          (विभिन्न पत्रपत्रिकाबाट)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्