पाठेघरको  मुखको क्यान्सर

डा. सरिता घिमिरे

माघ २२, २०७५

परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता महिलाले नियमित जाँच गराउनुपर्छ । धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । दिनहुँ आधा घन्टा भए पनि व्यायाम गर्नुपर्छ । पोलेका, ढुसी परेका खानेकुरा एवं सेकुवा खानुहुँदैन । हरिया सागपात बढी मात्रामा खानुपर्छ । एकभन्दा बढी यौन पार्टनर राख्नुहुँदैन । यसैगरी यौन सम्पर्क नराखेका युवतीलाई ह्युमन प्यापिलोमा भाइरसविरुद्धको भ्याक्सिन दिँदा पनि क्यान्सरबाट जोगिन सकिन्छ । यो खोपको आइडल उमेर ९ देखि १३ वर्ष भनिए पनि यौनसम्पर्क नराखेका २५ वर्षसम्मका महिलालाई दिन सकिन्छ । 

केही महिनाअघि ५० वर्षीया सीता शर्मा (नाम परिवर्तन) को होल बडी चेकअप गर्दा पाठेघरमा सानो दाग देखियो । त्यसपछि उनको पाठेघर निकालियो । शर्माको पाठेघरमा क्यान्सर फैलिसकेको थियो । त्यसैले पाठेघर निकाल्नु मात्र क्यान्सरको उपचार नभएको डा. सरिता घिमिरे बताउँछिन् । 

नेपालका महिलामा पाइने क्यान्सरमा पाठेघर मुखको क्यान्सरपछि स्तन क्यान्सर सबैभन्दा बढी हुने क्यान्सर हो । विश्वको आँकडा हेर्ने हो भने पाठेघरको मुखको क्यान्सरबाट झन्डै ५ लाख २८ हजार महिला प्रतिवर्ष आक्रान्त हुन्छन् । 

पाठेघरको मुखको क्यान्सर उक्त अङ्गमा अनियन्त्रित रूपमा कोषिकाको वृद्धि हो । यो ह्युमन प्यापिलोमा नामक कीटाणुको संक्रमणले गर्दा हुन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलालाई उक्त कीटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरूमा संक्रमण गर्न सक्छ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्दत पुर्‍याउँछ र बिस्तारै क्यान्सरमा परिणत गर्छ । 

कसलाई हुन्छ ? 

    प्रजनन् सक्षम कुनै पनि महिलालाई यो रोग लाग्न सक्छ । 

    साधारणतया ३० देखि ६० वर्ष उमेरका विवाहित तथा शारीरिक सम्पर्क भैसकेका महिलालाई यो क्यान्सर हुनसक्छ । 

    धेरै सन्तान जन्माएका महिला तथा सानो उमेरमा विवाह भएका महिलालाई यो क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

    एकभन्दा बढी यौनसाथी राख्ने महिला तथा यौन व्यवसायमा लागेका महिलालाई पनि यो क्यान्सर हुनसक्छ । 

    श्रीमान्को अर्को यौन पार्टनरलाई यो रोग लागेको छ भने आफूलाई समेत हुने सम्भावना रहन्छ । 

    खानपिन, जीवनशैली, चुरोट, बिडी, तमाखु आदि खाने महिला तथा कुपोषण भएकाहरूलाई पनि पाठेघरको क्यान्सर हुनसक्छ । 

    धेरै वर्ष (५ वर्षभन्दा बढी) सम्म परिवार नियोजनको चक्की (ओसिपी) खाएका महिलामा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहने बताइएको छ । 

लक्षण 

सुरुमा कुनै लक्षण नदेखिन सक्छ तर पछि रोग बढेको अवस्थामा भने निम्न लक्षण देखापर्न सक्छन् : 

    सुरु–सुरुमा योनिबाट पहिलेको तुलनामा अलि बढी पानी बग्ने, गन्हाउने पानी बग्ने, पटकपटक इन्फेक्सन भैरहनुका साथै पानीमा रगत मिसिएको हुनसक्छ ।

    महिनावारी नभएका बेला पनि रगत देखापर्न सक्छ । 

    यसैगरी मेनापज (महिनावारी सुक्नु) पछि महिलामा पुन: रगत देखा परे यो रोग लाग्ने सम्भावना हुन्छ । 

    क्यान्सर धेरै फैलिएको अवस्थामा भने पेट फुल्ने, खुट्टा सुन्निने, ढाड तथा कम्मर दुख्नुका साथै दिसा–पिसाबमा समस्या देखापर्न सक्छ । 

जोगिन

    यौनसम्पर्कमा सक्रिय तथा यौनसम्पर्क राखिसकेका ३० वर्ष पुगेका महिलाले नियमित जाँच गराउनुपर्छ । 

    महिनावारी सुकिसकेका महिला तथा क्यान्सर हुने सम्भावना भएर अप्रेसन गराएका महिलाहरूले पनि नियमित जाँच गराउनुपर्छ ।

    प्रत्येक महिलाले ३ देखि ५ वर्षभित्रमा एकपटक तालिम प्राप्त स्वास्थ्यकर्मीसँग जाँच गराउनुपर्छ । 

    महिनावारी सुकिसकेका महिलाले ६० वर्ष नपुग्दासम्म जाँच गराइरहनुपर्छ । 

    एचआइभी, स्टेरोइड औषधि सेवन गरिरहेका तथा यौन पेसामा संलग्न महिलाले भने चिकित्सकको सल्लाहबमोजिम ६ महिनादेखि १ वर्षको अन्तरमा जाँच गराउनुपर्छ । 

    यसमा एउटा सामान्य प्रकारको औषधि (५ प्रतिशत एसिटिक एसिड) पाठेघरको मुखमा राखी परीक्षण गरिन्छ । यसलाई भिआइए (भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड) भनिन्छ । यसमा सेतो दाग देखियो भने पोजिटिभ र कुनै परिवर्तन नभए नेगेटिभ हुन्छ । यसबाट पाठेघरको मुखमा क्यान्सर भए नभएको पत्ता लाग्छ । 

भिआइए जाँच 

यो ५ प्रतिशत एसिटिक एसिड दलेर आँखाले गरिने परीक्षण हो । यो सरल जाँच हो । यो जाँच ३ देखि ५ मिनेटसम्ममा सम्पन्न गरिन्छ । यो जाँच गर्दा दुख्दैन । अमिलो झोल भएकाले कसैकसैलाई चहर्‍याउन सक्छ तर त्यो सामान्य हो । यसको अरु कुनै साइड इफेक्ट छैन । 

    यो जाँच सबै दिन गर्न सकिन्छ । महिनावारी हुँदा कम रगत बगेको अवस्थामा पनि भिआइए गर्न सकिन्छ ।

कसरी संक्रमण पत्ता लाग्छ ? 

    पाठेघरको मुखमा भाइरस संक्रमण सुरु भएपछि त्यसले बिस्तारै कोषिकामा परिवर्तन ल्याउन थाल्छ । एसिटिक एसिड कोषिकामा परेपछि सेतो दाग देखिन थाल्छ । यसलाई रोग लाग्ने सम्भावनाका रूपमा लिइन्छ । सेतो दाग देखिए कल्पोस्कोपी गरिन्छ । 

कल्पोस्कोपी जाँच 

    यो एक किसिमको दूरबिन हो । यसको मद्दतले पाठेघरको मुख ठूलो बनाई जाँच गरिन्छ । भिआइए गर्दा देखिएका दागलाई यसले प्रस्ट र ठूलो बनाएर देखाउँछ । संक्रमण देखिए सानो मासुको टुक्रा सेतो देखिएको भागबाट निकालेर यकिन गर्न (सर्भिक्स बायोप्सी) जाँचका लागि पठाइन्छ ।

सर्भिक्स बायोप्सी 

    यसले क्यान्सर हुने सम्भावना पहिल्याउनुका साथै उपचार गर्ने नगर्ने र कस्तो प्रकारको गर्ने भन्ने निर्णय गर्न मद्दत गर्छ । 

    बायोप्सी गर्न मासु निकाल्दा हल्का दुख्न सक्छ । त्यहाँ सानो कपासको टुक्रा राख्नुपर्छ । १–२ घन्टापछि आफैं निकाल्न मिल्छ । सामान्यतया १ हप्तासम्म श्रीमान््सँग यौन सम्पर्क राख्नुहुँदैन ।

अन्त्यमा,

नेपालमा उपलब्ध क्यान्सर अस्पतालको तथ्यांकअनुसार महिलामा हुने पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ तर हाम्रो मुलुकमा सहरी क्षेत्रका महिलामा गाउँबासीको तुलनामा स्तन क्यान्सरको समस्या बढ्दो छ । यो क्यान्सर विकसित मुलुकमा धेरै कम पाइन्छ । यसबाट जोगिन नियमित जाँच गराउनुपर्छ ।

परिवारमा कसैलाई क्यान्सर छ भने त्यस्ता महिलाले नियमित जाँच गराउनुपर्छ । धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । दिनहुँ आधा घन्टा भए पनि व्यायाम गर्नुपर्छ । पोलेका तथा ढुसी परेका खानेकुरा खानुहुँदैन । हरिया सागपात बढी मात्रामा खानुपर्छ ।

एकभन्दा बढी यौन पार्टनर राख्नुहुँदैन । यसैगरी यौन सम्पर्क नराखेका युवतीलाई ह्युमन प्यापिलोमा भाइरसविरुद्धको भ्याक्सिन दिँदा पनि क्यान्सरबाट जोगिन सकिन्छ । यो खोपको आइडल उमेर ९ देखि १३ वर्ष भनिए पनि यौनसम्पर्क नराखेका २५ वर्षसम्मका महिलालाई दिन सकिन्छ । नेपालमा भने एक–दुई ठाउँमा मात्र यसको प्रयोग भएको छ । 

गाइनो अंकोलोजिस्ट, नेपाल क्यान्सर केयर फाउन्डेसन, सातदोबाटो

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्