जात–जातिहरूको विवाह संस्कार

त्रिचन्द्र प्रतीक्षा

माघ २२, २०७५

विवाह प्रथा पूरै संसारभर प्रचलित छ । प्राचीन समयमा त विवाह कयौं तरिकाले हुन्थ्यो । यद्यपि वर्तमान समयमा परम्परागत विवाह र प्रेम विवाह दुई मात्र बढी प्रचलित छन् । विवाहपछि केटा र केटीलाई पति–पत्नीका रूपमा चिनिन्छ । पतिलाई अंग्रेजीमा Husband भनिन्छ जसको परम्परागत अर्थ हुन्छ–घरको स्वामी । विवाहपछि प्रत्येक व्यक्ति श्रीमान् वा गृहस्वामीका नामले जानिन्छ । के तपाईंलाई थाहा छ पति–पत्नीको नाता अर्थात् विवाहको सुरुवात कसरी भयो ?

विवाह प्रथाको इतिहास धेरै पुरानो मानिन्छ । विवाह आजसम्म आइपुग्दा तीन स्थितिबाट गुज्रिसकेको छ । एक समय थियो जब विवाह शक्तिको बलमा हुन्थ्यो । केटाले जुन केटी मन पराउँथ्यो, उसले केटीलाई चोरेर वा शक्ति प्रदर्शन गरी जितेर ल्याउँथ्यो र आफ्नी पत्नी बनाउँथ्यो । राजा–महाराजाहरूमा स्वयम्वरमार्फत विवाह गर्ने प्रथा थियो । स्वयम्वरमा केटीका बुवाले कुनै कठिन काम गर्ने सर्त राख्थे, जुन व्यक्तिले उक्त कठिन काम पूरा गथ्र्यो, केटीले तिनै केटालाई वरमाला लगाइदिन्थिन् । सीता स्वयम्वर पनि त्यही विवाहको उदाहरण हो । 

त्यसपछि एक समय यस्तो आयो, जब दोस्रो प्रकारको विवाहको सुरुवात भयो । यो विधिअन्तर्गत मानिसहरू धन–सम्पत्ति दिएर केटी किन्थे र किनेकी केटी उसकी श्रीमती हुन्थिन् । त्यसपछि विवाहको तेस्रो विधि लोकप्रिय भयो–यो विवाहअन्तर्गत केटी पक्ष र केटा पक्षबिच कुरा गरेर विवाह हुन थाल्यो । विवाहको यो विधि आज पनि प्रचलित छ । यसका अतिरिक्त केही केटाकेटीले परस्पर प्रेमपछि पनि विवाह गर्न थाले । 

विवाह अहिले पनि एउटा त्यस्तो सामाजिक बन्धन हो जसले नारी (स्त्री) लाई सामाजिक सुरक्षा प्रदान गर्छ । संसारका विभिन्न देशमा विभिन्न विधिबाट विवाह गरिन्छ । उदाहरणका लागि इसाई विवाह गिर्जाघरमा सम्पन्न गरिन्छ भने हिन्दूहरूमा अग्निलाई साक्षी राखेर यज्ञ मण्डपमा विवाह गरिन्छ । विवाहपछि पति–पत्नी एक–अर्काका जीवनसाथी बन्छन् । साँचो अर्थमा व्यक्तिले आफ्नो कर्तव्य र जिम्मेवारी विवाहपछि मात्र निर्वाह गर्छ । 

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु मूलथलो क्षेत्र रहेको ह्याल्मो (योल्मो) जातिमा मागी विवाह, चोरी विवाह, प्रेम विवाहजस्ता विवाह प्रचलनमा छन् । यद्यपि मागी विवाह नै बढी हुने गरेको छ । यो जातिमा विवाहमा सिन्दूर हाल्ने चलन छैन । दुलहा–दुलही दुवैलाई टोटला फूलको टीका (एकप्रकारको रुख) लामाले लगाई दिएपछि विवाह सम्पन्न भएको मानिन्छ ।

मुस्ताङ जिल्लास्थित मार्फा गाविसको स्याङ् गाउँका केही वडामा बसोबास गर्ने स्याङ्तन जातिमा विवाह संस्कारमा मागी, चोरी, प्रेम, बहुविवाह र पुन: विवाहको प्रचलन छ । त्यहाँ १६–२५ वर्ष बिचका युवा–युवतीलाई विवाहयोग्य मानिन्छ भने विवाह गर्दा स्याङ, ठिनी र चिमाङ तीन गाउँबाटै गर्नुपर्ने नियम छ । उक्त जातिमा अन्तरजातीय विवाहमाथि प्रतिबन्ध छ । यो जातिमा फुपू तथा मामाकी छोरीसँग विवाह गर्ने चलन छ । 

स्याङ्तन जातिमा चिच्याएर केटी लाने, त्यसपछि झैझगडा र खैलाबैला मच्चाउने अनि बल्ल विवाहको चाँजोपाँजो मिलाउने रोचक चलन पाइन्छ । नेपालको पूर्वोत्तर सीमाक्षेत्रमा बसोबास गर्ने शेर्पा जातिमा मामाचेली र फुपूचेलीबीच विवाह गर्ने चलन छ । त्यहाँ खास गरेर मागी विवाह नै गरिन्छ । दाजुको मृत्युपछि भाउजूलाई अविवाहित देवरले स्याहार्ने चलनसमेत छ । 

शेर्पा समुदायमा केटाले केटीलाई गर्भ बोकाएर विवाह गरेन भने सुत्केरी खर्च दिलाएर स्वतन्त्र गराउने परम्परा छ । त्यस्तो परम्पराअन्तर्गत केटीको सामाजिक बहिष्कार गरिँदैन र जन्मिएको शिशुलाई पनि सामाजिक मान्यता प्रदान गरिन्छ । यौन स्वच्छन्दता यो जातिको अनुपम उदाहरण हो भने कतिपय शेर्पामा बहुपति प्रथासमेत छ ।

यस्तै शेर्पा जातिमा जस्तै सुनुवार जातिमा दाजु मरे भाउजू स्याहार्ने चलन छ तर मामाचेला, फुपूचेली विवाह गर्ने चलन भने छैन । बरु साली र सालाकी छोरीसँग बिहेबारी चल्छ । 

आफ्नै जातिभित्रै विवाह गर्नुपर्ने नियम भए पनि अहिले सुनुवारका छोराछोरीले अन्य जातिसँग प्रेम विवाह गरेका उदाहरण पनि छन् । अर्कै जातिसँग विवाह गर्नेहरूलाई क्षमा मगाएर भोज ख्वाउन लगाइन्छ, त्यसो गर्न नमान्नेलाई जाति च्यूत गर्ने परम्परा अझै पनि कायमै छ । 

लिम्बूहरूमा पनि विधवा भाउजू स्याहार्ने चलन छ । यो जातिमा छोरीचेलीको विवाह गर्दा केटी पक्षबाट केटा पक्षसँग एकमुष्ट गर–गहना तथा रुपैंयाँ माग गरिन्छ । यस्तो चलनलाई ‘सुनौली–रूपौली’ भनिन्छ । 

नेपालको पल्लो किराँतदेखि पूर्वमा सिक्किमसम्म फैलिएका किराँती जातिको विवाह संस्कारमा मागी विवाह, चोरी विवाह, जारी विवाह र प्रेम विवाह गरी चार प्रकारका विवाह प्रचलित छन् । मन परेकी केटी लिन जानुपर्दा फेदाङमालाई लिएर केटीको घरमा जानुपर्छ । दुलही भित्र्याएको रातभरि दुलही निदाए अलच्छिन हुन्छ भन्ने विश्वासमा रातभर नाचगान र हाँसठट्टा गरेर सुत्न दिइँदैन । 

नेपालको अर्को प्रसिद्ध जाति मगरमा पनि सकेसम्म जातभित्र नै विवाह गरिन्छ । मामाचेली र फुपूचेलीबिच विवाह गर्नु प्राथमिकतामा पर्छ । मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ, जसमा १६ वर्ष उमेर पुगिसकेकी केटीलाई झुक्याएर जबरजस्ती समातेर घिच्याउँदै विवाह गरिन्छ । विवाह गरेको केही महिनापछि दुलहा–दुलही ससुराली जान्छन्, त्यसलाई चार तिर्ने भनिन्छ । चार तिर्ने भनेको केटीलाई आमाबुवाको काखबाट छुटाएर लगेको दण्ड जरिवानास्वरूप तिरिने रुपैंयाँ हो । चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानुपर्छ र त्यही समयमा वैवाहिक कर्म सम्पन्न गरी दाइजोपातका साथ छोरी–ज्वाईं बिदा गरिन्छ । 

नेपालको उत्तरी सीमाक्षेत्रमा अवस्थित हिमशृंखला र हिमचुलीहरूको छेउछाउमा युगौंदेखि बसोबास गर्दै आएका भोटे जातिको कतिपय परिवारमा बहुपति विवाह अझै पनि कायमै छ । जेठो दाजुले विवाह गरेर श्रीमती ल्याएपछि ती महिला त्यस घरमा जति दाजुभाइ छन् ती सबैकी श्रीमती हुन्छिन् । 

यस्तो चलन खास गरेर पूर्वमा खुम्बु क्षेत्र तथा मुस्ताङ जिल्लामा पाइन्छ । व्यक्तिपिच्छे श्रीमती राख्दा अलग–अलग घर बनाउनुपर्ने समस्या आइलाग्ने हुँदा त्यस्तो झमेलाबाट जोगिन र घर बनाउन प्रशस्त जमिन पनि नहुने हुँदा यस्तो चलन चलेको हुनुपर्ने कतिपयको तर्क छ । व्यक्तिपिच्छे श्रीमती राख्दा सन्तान वृद्धि पनि धेरै हुने हुँदा उक्त समस्याबाट छुटकारा पाउन पनि यो प्रथाले सघाएको छ । 

शेर्पा जातिको जस्तै बार्‍हगाउँले जातिमा पनि बहुपति प्रथा कायम छ । उनीहरूमा मागी विवाह, प्रेम विवाह, चोरी विवाह तथा बहुविवाह पनि हुन्छ । यदि भगाएर गरेको विवाह भए केटी भगाएवापत केटा पक्षले छ्याङ (जाँड) को सिसीसहित माफी माग्न जानुपर्ने चलन छ । माफी सोझै घरमा नगई अलि परैबाट कराएर माग्नुपर्छ । त्यसैगरी बहुपति विवाहअन्तर्गत जेठो छोराले विवाह गरेकी श्रीमती सबै भाइकी साझा श्रीमती हुन्छिन् । दाजु नछुट्टिएसम्म ती भाउजूमाथि सबै देवरको हक हुन्छ तर दाजु छुट्टिएपछि भने हक हुँदैन । त्यसैले उनीहरू भरसक छुट्टिँदैनन् ।

गोरखा जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्ने बराम जातिमा मागी विवाह प्रचलनमा छ । केटा पक्षले पहिलोपटक केटी माग्न जाँदा एक बोतल रक्सी लानुपर्छ । यसलाई ‘सर्केपुङ’ भनिन्छ । केटाकेटीले एक–अर्कालाई मन पराए भने अर्को पटक अलि ठूलो बोतलमा रक्सी लिएर जाने चलन छ । यसलाई ‘ठेकीपुङ’ भनिन्छ ।

तिथिमिति तय भएपछि जन्ती जाँदा दुलहा पक्षले १२ धार्नी रक्सी, १२ पेटारा रोटी, एउटा बोको, एक पाथी चामल, एक मुठा सालको पात, एक मुठा सिन्का आदि 

लिएर दुलहीको घरमा जाने चलन छ । विवाहमा स्वयम्वर, सिन्दूरदान आदि सबै गरिन्छ । यस्तो विवाह कार्यक्रम भोलिपल्टसम्म चलिरहन्छ । 

नेपालको पूर्वी तराई तथा माइखोलाको पूर्वतर्फ अधिक बसोबास गर्ने धिमाल जातिमा विवाहलाई केटाकेटीको आपसी इच्छा मानिएको छ । त्यसैले उमेर पुगेका युवायुवतीले एक–अर्कालाई मन पराएपछि र विवाह गर्ने निर्णयमा पुगेपछि दुवै जना कतै लुकेर आ–आफ्ना अभिभावकलाई जानकारी गराउँछन् अनि अभिभावकहरूले विवाहको प्रबन्ध मिलाउँछन् र उनीहरूलाई बोलाएर विवाह सम्पन्न गरिन्छ । 

लेप्चाहरू १३/१४ औं शताब्दीतिर पूर्वबाट सिक्किम पसी त्यहीँबाट हालको जलपाइगुडीदेखि उत्तर लागेका हुन् भनिन्छ । लेप्चाको मूल बसोबास क्षेत्र कञ्चनजङ्घा हिमालको छेउछाउ हो, त्यहीँबाट उनीहरू पूर्वी नेपालको इलाम, भारतको सिक्किम, दार्जीलिङ र कालिम्पोङतिर झरेका हुन् । लेप्चा भाषामा दुलहालाई ‘म्येक’ र दुलहीलाई ‘न्योम’ भनिन्छ । कन्याको विवाह विभिन्न चरण गरी सातपटक गरिन्छ अनि मात्र दुलही केटाको घर जान्छिन् । लेप्चाहरूमा जन्ती पनि केटा पक्षबाट नगई केटी पक्षबाट जान्छन् । जन्ती जाँदा दुलही समेत गरी १२ जना जाने चलन छ । 

लेप्चा भाषामा विवाहलाई ‘ब्री’ भनिन्छ । यसको अर्थ दुई प्राणीलाई एक बनाउनु हो । लेप्चाहरूमा विशेषगरी मागी विवाह गर्ने चलन छ । केटी मागेको सामान्यतया डेढ वर्षदेखि तीन वर्षपछि विवाहको काम सम्पन्न हुन्छ । त्यसबीच केटाले केटीकै घरमा बस्नुपर्छ । 

बोटे जाति धेरै जिल्लामा छरिएर बसेका हुँदा यिनीहरूको मूलथलो कहाँ हो भनेर किटान गर्न सकिँदैन । बोटेहरू मूलत: मादी सेती र कालीगण्डकी नदी किनारामा बसोबास गर्छन् । यो जातिमा प्रेम र मागी दुवै प्रकारको विवाह गर्ने चलन छ तर मामाचेली र फुपूचेलीका बीचको विवाह भने निषेध छ । केटाकेटीबीच कुरा मिलाउनेलाई ‘कारबाटे’ भनिन्छ । विवाह माघ र फागुन महिनामै गरिन्छ भने बार भने मंगलबार र बुधबार रोजिन्छ । जन्ती जानुभन्दा अघि दुलहाले आमाको स्तनपान गर्नुपर्छ र दूधको भारा तिर्न आमाको गोडामा पैसा राखेर ढोग्नुपर्छ । दुलही भित्र्याएपछि घरमा रत्यौली खेल्ने चलन अझै पनि छ भने राति अगेनामा खुर्सानी हालेर त्यसको खारले दुलहा–दुलहीलाई हैरान पार्ने चलनसमेत छ । 

थामी जातिको विवाहमा जग्गेमा बसेका दुलहा–दुलहीका अगाडि ब्राह्मणले मन्त्र पढ्छन् । त्यसपछि केटाका भाइले हुनेवाला दुलहा–दुलहीको टाउको ६ पटक ठोक्काइदिन्छन् । त्यसपछि विवाहको विधि सम्पन्न हुन्छ ।

बहुजातीय मुलुक नेपालमा विवाह पनि ठाउँअनुसार विभिन्न प्रकारले हुन्छन् । यस्तो प्रथाले सामाजिक इतिहास बुझ्न सजिलो हुन्छ भने त्यसबाट के–कस्तो परम्परा चलिरहेको छ त्यसले पारिवारिक सम्बन्धमा पार्न सक्ने प्रभावका बारेमा अध्ययन गर्न सकिन्छ । मानव विकासमा यस्ता प्रथाले खेल्ने भूमिका महत्वपूर्ण हुन्छ । यद्यपि समाज आधुनिकतातर्फ बढ्दै जाँदा र भूमण्डलीकरणको विकाससँगै परम्परागत विवाह विलुप्त हुने अवस्थामा पुगिरहेका छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्