मन्टेश्वरी शिक्षा 

- कल्पना अधिकारी, शिक्षक एवं मन्टेश्वरी ट्रेनर

माघ ९, २०७५

मन्टेश्वरी शिक्षा हिजोआज हाम्रो चासोको विषय बन्नुका साथै विद्यालय शिक्षाको अभिन्न अङ्गसमेत भएको छ । अबोध बालबालिकाहरूको संवेगात्मक, आध्यात्मिक, मनोवैज्ञानिक, भावनात्मक एवं बौद्धिक क्षमतालाई मध्यनजर गर्दै उनीहरूको उमेर, चाहना अनि आवश्यकतालाई केन्द्रमा राखी खेलका माध्यमबाट सिकाइका क्रियाकलाप अघि बढाउँदै जानु नै वास्तविक अर्थमा मन्टेश्वरी शिक्षा हो जहाँ बालबालिकाहरूले म र मेरो भन्ने भावना त्यागेर हाम्रो भन्ने भावना आत्मसात् गर्नुका साथै आफ्नो शारीरिक एवं मानसिक विकास गर्दै चौतर्फी विकास गर्ने पूर्ण अवसर प्राप्त गर्छन् ।

मन्टेश्वरीको विकास

मन्टेश्वरी शिक्षाको अवधारणा सन् ३१ अगष्ट १९७० मा इटलीमा डा. मारिया मन्टेश्वरीले सुरुवात गरेकी हुन् । मारिया सन् १८९६ मा रोमको विश्वविद्यालयबाट २७ वर्षको उमेरमा चिकित्सा क्षेत्रमा स्नातक गर्ने प्रथम महिला हुन् । १९०७ जनवरी ६ मा उनले चिल्ड्ेरन हाउस नामक पहिलो मन्टेश्वरी स्कुल स्थापना गरिन् र मन्टेश्वरी शिक्षालाई शिक्षण सिकाइको एउटा सानो एकाइका रूपमा लिँदै त्यसलाई आजीवन निरन्तरता दिने काम गरिन् । डा. मारिया नोबेल पुरस्कारबाट समेत सम्मानित भइन् भने सन् १९५२ को मे ६ मा उनको देहान्त भयो । डा. मारिया मन्टेश्वरीले शिक्षण सिकाइ क्रियाकलापलाई एउटा विधिका रूपमा स्थापना गर्दै यसलाई उजागर गर्ने काम गरेकी हुँदा उनलाई फर्ट फाउन्डर अफ मन्टेश्वरी पनि भनिन्छ । उनकै नामबाट विस्तारै मन्टेश्वरी स्कुलहरू स्थापना गर्न थालिएको हो ।

नेपालमा यसको सम्भावना 

पश्चिमा देशबाट सुरु भएको यो सिकाइ क्रियाकलाप नेपालमा भर्खरै बामे सर्दैछ । नेपालका प्रमुख सहरहरूमा मन्टेश्वरी शिक्षण विधि तदारुकताका साथ अघि बढेको पाइन्छ । यस क्रममा लगभग ७५ प्रतिशत विद्यालयले यो शिक्षण विधिलाई आत्मसात् गरेका छन् । विकट क्षेत्रका विद्यालयहरूमा स्रोत, साधनका साथै तालिम प्राप्त शिक्षकको अभावका कारण यसको पहुँच पुग्न सकेको छैन ।

नेपाल सरकारले मन्टेश्वरी शिक्षाका फाइदाहरू बुझेर स–साना नानीहरूको शिक्षामा सुधार ल्याउन सकियोस् भन्ने हेतुले गाउँगाउँमा ईसीईडी कार्यक्रम सञ्चालन गराउँदै आएको छ भने निजी विद्यालयहरूले पनि सरकारले सञ्चालन गरेका नि:शुल्क तालिममा आफ्ना शिक्षकहरूलाई सहभागी गराउने एवं निजी स्तरमा खुलेका तालिम केन्द्रमा तालिम लिन लगाउने काम गर्दै आएको हुनाले यसको अवस्था सन्तोषजनक छ । यसबाट नेपालमा गुणस्तरीय शिक्षाको विकासमा ठूलो टेवा पुग्ने कुरामा दुईमत छैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्