बाँच्नैपर्छ भन्दै  क्यान्सरलाई जितें

सिर्जना दुवाल श्रेष्ठ

माघ ८, २०७५

इन्टेरियर डिजाइनिङमा व्यस्त रहँदै आएकी सपना सापकोटा भुसाल (उनी नारी मासिककी इन्टेरियर डिजाइनसम्बन्धी स्तम्भकार समेत हुन्) आफ्नो जीवनबाट निकै खुसी थिइन् । परिवार र काममा व्यस्त सपनालाई खासै ठूलो शारीरिक समस्या पनि थिएन । एकदिन घाँटीमा असजिलो महसुस भयो अनि छिट्टै थाक्ने, गल्ने महसुस हुन थाल्यो । चिकित्सकलाई देखाएर साधारण औषधि खाइरहेकी थिइन् तर उनलाई सन्चो भएन । नसासम्बन्धी केही समस्या हो कि भनेर डा. ईशा ढुंगानाकहाँ देखाउन पुगिन् । डाक्टर ढंगानाकै सल्लाहमा एम आर आई गराउँदा रिपोर्ट नर्मल नै आयो र कहिलेकाहीँ धेरै मोबाइल, ल्यापटब चलाउँदा पनि यस्तो समस्या हुने भएकाले औषधि थपियो । 

यता सपनालाई पीडा सँगै ज्वरो पनि आउन थाल्यो । डा. ईशाले रगत जाँच गराउँदा ध्द्यऋ ७ हजारदेखि १४ हजारसम्म हुनुपर्नेमा ४८ हजार देखियो । रिपोर्ट गडबड भयो कि भनेर पुन: रगत जाँच गराउँदा बढेर ७५ हजारको हाराहारीमा पुगेको देखियो । त्यसपछि सपना डा. ईशाकै सल्लाहमा निजामती कर्मचारी अस्पतालमा डा. विशेष पौडेलकहाँ पुगिन्, तर त्यो दिन डा. विशेष भेटिएनन् । त्यहाँ डा. अमितले सपनालाई ब्लड क्यान्सर नै हो, आइतबार आउनू भने । शुक्रबारको त्यो रात सपनालाई जिन्दगीको अन्तिम रातजस्तो लाग्यो तर उनका श्रीमान्ले उनलाई सान्त्वना मात्र दिएनन्, हिम्मत नहार, तिमीले बाँच्नुपर्छ भनी हौसलासमेत बढाए । 

भोलिपल्ट घरपरिवारमा सबैलाई क्यान्सर भएको कुरा बताएर आइतबार पुन: अस्पताल पुग्दा सपनाको आँखामा आई हेम्ब्रेज भैसकेको थियो । आँखामा रातो–रातो रगत देखा परिसकेको थियो, तर त्यसले उनको दृष्टिमा कुनै असर पारेको थिएन । डा. विशेषले क्यान्सर ठहर गर्दा उनीहरू उपचारका लागि भारत जाने तयारीमा जुटिसकेका थिए तर डा. पौडेलले भारत लाने अनुमति दिनु भएन । बिरामीको अवस्था गम्भीर छ । एक महिना यहीँ राखेर उपचार गराउनुपर्छ । लाने हो भने तपाईंहरूको विचार भनेपछि भारत लाने कुरा सामसुम भयो । उपचारका क्रममा धेरैजना भारत गएर फेरि नेपाल आएका पनि भेटिए । त्यसपछि सपनाले नेपालमै उपचार गराउँछु भन्ने निर्णय गरिन् । 

फोर साइकल केमो गर्नुपर्ने सुझाव थियो । त्यसबीच धेरै समस्या आए । छातीमा इन्फेक्सन पनि देखियो । शरीर कमजोर भएपछि जेले पनि जहाँ पनि सताउने सपनाले अनुमान लगाइन् । दोस्रो केमोपछि राम्रो भएर घर फर्कने क्रममा स्टुलको ब्याक्टेरिया क्लिप सेल ब्लडमा कसरी पसेछ, त्यसैकारण हाइ फिबर भएर क्रिटिकल अवस्था देखियो । त्यसको औषधि जम्मा एक पटक मात्र बनेको रहेछ । अन्तिम आशा त्यही एन्टिबायोटिक थियो । खाना खान कठिन, ट्वाइलेट गर्न कठिन, भोमिटिङ भैरहने, ज्वरो १ सय ६ डिग्रीसम्म आइरहने । सपनाका ७ वर्षका जुम्ल्याहा छोराछोरी थिए । अरूका साना छोराछोरी भेट्न आउँदा आमालाई नचिनेको देख्दा सपनालाई एउटै डर थियो, कतै मलाई पनि मेरा छोराछोरीले चिन्दैनन् कि ? त्यही डरले सपनाले सुरुमै आफ्नो केश, आँखीभौंदेखि शरीरका सबै रौं झर्छन्  भनेर छोराछोरीलाई तयारी गरिसकेकी थिइन् । ऐना हेर्दा सपना आफै तर्सिन्थिन्, तर छोराछोरीले थयग बचभ यियपष्लन mयचभ दभबगतषग ितजभल दभचयचभ भन्दा उनी भावविह्वल भइन् । 

सपनाको अस्पताल बसाइकै क्रममा २०७२ सालको भूकम्प गयो । क्यान्सरसँग लडिरहेकी सपनासँग अस्पतालको चौरमा समेत सुतेको अनुभव छ । उनका लागि देशमै भुईंचालो, मनमै भुईंचालो थियो । शरीरमा भएको पीडा खप्न नसकेर मर्फिन इन्डेक्स पनि धेरै पटक लगाइयो । त्यस्तो पीडा खप्न नसक्दा र यो नै जीवनको अन्तिम क्षण हो जस्तो महसुस हुँदा पनि छोराछोरी र परिवारका लागि बाँच्नुपर्छ, हिम्मत हार्नु हुँदैन भनेर आफैलाई सम्झाउँथिन् । त्यतिबेला उनलाई आँखा बन्द गर्न पनि डर लाग्थ्यो, कतै आँखा बन्दको बन्दै हुने त होइनन् ? एन्टिबायोटिक खाएको ३ दिनमा ज्वरो घटेर १ सय डिग्रीमा पुग्यो । त्यसपछि उनमा यति आत्मविश्वास बढ्यो कि अब मलाई कुनै रोगले समाउन सक्दैन, मैले क्यान्सरलाई जितें भन्ने भयो । 

शारीरिक रूपमा सपना निकै कमजोर भए पनि मानसिक रूपमा बलियो भैसकेकी थिइन् । यो आत्मविश्वास बढ्नुमा उनका श्रीमान्को प्रमुख भूमिका थियो । चैत १५ गते सँगै अस्पताल छिरेका उनका श्रीमान् सपनालाई निको बनाई एकैपटक साउन १५ गते त्यहाँबाट बाहिरिएका थिए । उनले कुनै पनि दिन सपनालाई छाडेनन् । क्यान्सरलाई जितेपछि उनी हरेक कुरामा सफल हुँदै गइन् । आफैं इन्टेरियर डिजाइन कम्पनी खोलिन् । क्यान्सरसँग लडेर जित्नु नै सपनाको जीवनको टर्निङ प्वाइन्ट भएको छ । भुसाल भन्छिन्–क्यान्सर जीवनको अन्त्य होइन क्यान्सरसँग लड्न सके त्यो जीवनको सुखद् सुरुवात पनि बन्न सक्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्