छाउगोठमा आगो लाग्दा अम्बाको मृत्यु

नारी संवाददाता

पुस २६, २०७५ बाजुराको बुढीनन्दा नगरपालिकामा छाउगोठमा आगोलागी हुँदा एक महिलासहित उनका दुई छोराको मृत्यु भएको छ । बुढीनन्दा–९ अंगपानीको भुगेचौउरमा छाउगोठमा आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहोरा र उनका दुई छोरा ९ वर्षका सुरेश तथा ७ वर्षका रमितको मृत्यु भएको हो ।

बोहोरा मंगलबार बेलुका खाना खाएर घरसँगै जोडिएको टिनले छाएको साँघुरो छाउगोठमा सुतेकी थिइन् । उनीसँगै सुत्न दुई छोराहरु पनि गएका थिए । राति न्यानोका लागि छाउगोठमा बालिएको आगोका कारण उनीहरुको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घटना रातिनै भएको भए पनि बिहान मात्रै थाहा भएको थियो । अम्बाकी सासुले बिहान बुहारीलाई चियाखान बोलाउन जाँदा घटना थाहा भएको हो । गाउँमा हिउँ परेको र जाडो निकै रहेकाले छाउगोठमा बसेकी अम्बाले आगो बालेकी थिइन् । साँघुरो छाउगोठ त्यसमाथि धुवाा निस्कने प्वाल नभएकाले उनीहरु निस्सासिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

अम्बाको घरमा उनीसहित दुई छोरा तथा सासु–ससुरा थिए । उनका श्रीमान भने गएको मंसिरमा रोजगारीका लागि भारत गएको र घटना थाहा पाएपछि फर्किएका छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्