पेरेन्टिङ केटाकेटी खेल होइन

नारी संवाददाता

पुस २१, २०७५

चाहे वर्किङ पेरेन्ट्स हुन् वा हाउसवाइफ तथा वर्किङ हसबेन्ड, बालबालिकाको चिन्ताले सबैलाई सताउँछ । उनीहरूमाथि अनेकौं बन्देजदेखि लिएर कोचिङ क्लास, एक्स्ट्रा करिकुलर एक्टिभिटीसम्मको दबाब रहन्छ । यसो गर्नुको कारण आफ्ना सन्तानको समुचित विकास नै हो तर दबाबमूलक भएकाले परिणाम अपेक्षा गरिएजस्तो सकारात्मक हुँदैन वा नकारात्मक परिणाम आउँछ । त्यसैले पेरेन्टिङमा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

हीनभावनाबाट जोगाउनुपर्छ

बालबालिकाको योग्यता एवं प्रतिभा आफ्नो प्रयासका साथै जिनमा पनि निर्भर गर्छ । त्यसैले यसलाई लिएर दु:खी हुनु वा हीनभावनाबाट ग्रसित हुनु ठीक होइन । बालबालिकामा कुनै प्रकारको हीनभावना सिर्जना हुन नदिनु अभिभावकको प्रमुख कर्तव्य हो । आफ्ना गुण तथा प्रतिभाको विकासका लागि आफैले प्रयत्न गर्नुपर्छ । जुन कुरा आफ्नो वशमा छैन त्यसका लागि चिन्ता गर्नु आवश्यक नभएको र कुनै प्रकारको हीनभावना राख्न नहुने कुरा बालबालिकालाई बुझाउनुपर्छ । 

घरको पाठशाला

घर बालबालिकाका लागि प्रारम्भिक पाठशाला हो । त्यसैले अभिभावकले आफ्ना बालबालिकालाई समझदारीपूर्वक एवं मनोवैज्ञानिक ढंगले नियन्त्रण गर्नुपर्छ । अभिभावकले उनीहरूका अगाडि वादविवाद एवं झगडा गर्नुहुँदैन । झगडा गर्दा जुन भाषा प्रयोग गरिन्छ, बालबालिकाले त्यही सिक्ने भएकाले प्रत्येक पल सचेत रहनुपर्छ । बालबालिकाले सही वा गलत चाँडै अनुकरण गर्ने भएकाले उनीहरूको व्यवहारका बारेमा राम्रोसँग ध्यान पुर्‍याउनुपर्छ । अनुशासनको अर्थ बालबालिकालाई सजाय दिनु होइन । उनीहरूलाई सही वा गलतको पहिचान गराउनु हो । उनीहरू स्वयंलाई निर्णय लिन सक्षम बनाउन सहयोग गर्नुपर्छ । नियमित दिनचर्याबाट बालबालिकाहरूमा अनुशासन, आत्मविश्वास एवं सुरक्षाको भावना सिर्जना हुन्छ । 

भावनाको ख्याल

धेरैजसो अभिभावक रिस वा तनावका कारण आलोचना र टिप्पणी गर्न पुग्छन् । त्यसबाट बालबालिकाको मनमा गहिरो प्रभाव पर्छ । जुन कुरालाई लिएर बालबालिकाको आलोचना गरिन्छ त्यो उमेर र अनुभवको कमीका कारण हुन्छ । बालबालिकाको भविष्य निर्माणमा आमाबुवाकै प्रमुख भूमिका हुन्छ । बालबालिकामा कमजोरी देखिन्छ भने समझदारीपूर्वक त्यसलाई सुधार्ने प्रयास गर्नुपर्छ । अभिभावकले बालबालिकाको इगो तथा आत्मसम्मानविरुद्ध कुनै पनि कुरा गर्नु हुँदैन । 

आवश्यकतामा ध्यान

प्रसिद्ध मनोवैज्ञानिक मेस्लोका अनुसार मानिसका केही मूलभूत आवश्यकता हुन्छन्, जसको पूर्ति भए आत्मसन्तुष्टि प्राप्त हुन्छ । बालबालिकाको शारीरिक एवं खानपानको आवश्यकताबाहेक उनीहरूलाई माया, सुरक्षा र सम्मानको भावनाबाट ओतप्रोत राख्नाले शारीरिक एवं मानसिक विकास सही ढंगले हुन पाउँछ । जसरी बिरुवाको विकासका लागि सिंचाइ, मलजल तथा उचित हावापानी चाहिन्छ त्यसरी नै बालबालिकाको विकासका लागि उचित परिवेश, प्रेम, सुरक्षा एवं सम्मान आवश्यक हुन्छ । 

एकान्त पनि चाहिन्छ

वयस्क व्यक्ति जस्तै बालबालिकाहरू पनि एकान्त प्रिय हुन्छन् । उनीहरूको हाउभाउ र बोलीचालीबाट कतिबेला एकान्तमा बस्न चाहन्छन् अनुमान लगाई सोहीअनुरूप व्यवहार गर्नुपर्छ । हरेक समय वरिपरि बस्दा उनीहरूलाई दिक्क लाग्न सक्छ । त्यसबाट उनीहरूको आत्मविश्वास एवं आत्मनिर्भरतामा पनि समस्या हुनसक्छ । अत: सिर्जनात्मक विकासका लागि उनीहरूको चाहनाअनुरूप एकान्त परिवेश पनि दिनुपर्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्