रंगमञ्च मेरो बर्निङ डिजायर

  • आकांक्षा कार्की, रंगकर्मी

नारी संवाददाता

पुस २०, २०७५

 

आजभन्दा २७ वर्षअघि टेकुमा जन्मिएकी आकांक्षा कार्की रंगमञ्च (नाटक) लाई 

आफ्नो जीवनको सबैभन्दा प्रिय वस्तु मान्छिन् । डा. अरुणा कार्की तथा सहायक रथी सन्तोष कार्कीकी जेठी छोरी आकांक्षाका मामा किरणप्रताप केसी कुनै जमानाका कलाकार थिए । व्यक्तिगत कारणले किरणप्रतापले आफ्नो कलाकार यात्रालाई निरन्तरता दिन पाएनन् । यद्यपि आफू यो क्षेत्रमा लागेकोमा सबैभन्दा खुसी मामा किरणप्रताप नै भएको आकांक्षा बताउँछिन् ।

कक्षा ४ देखि रातो बंगाला स्कुल पढेकी आकांक्षाको रंगमञ्चको यात्रा पनि त्यतिबेलै प्रारम्भ भएको थियो । उनले त्यहाँ भर्ना लिएकै वर्ष नेवारी नाटक गुरु माप्पामा अभिनय गरेकी थिइन् । लज्जालु स्वभाव तथा रिजर्भ बस्न रुचाउने आकांक्षा नाटकमा अभिनय गर्ने बेलामा भने फरासिली हुन्थिन् र एकदमै इन्जोए गर्थिन् । त्यो समयमा रातो बंगालामा प्रत्येक वर्ष नेपाली तथा अंग्रेजी नाटक मञ्चन हुन्थे । स्कुलमा भैरहने अंग्रेजी तथा नेपाली नाटकमा लिड वा अन्य भूमिका उनैले निर्वाह गर्थिन् ।

त्यसो त कमलमणि सरले पढाउने नेपाली छन्द कविता पनि रमाइलो मानेर पढ्थिन् । कवितामा पनि उनको रुचि उत्तिकै थियो । ए लेभलसम्म रातो बंगालामा पढेकी आकांक्षाले भारतको बेंग्लोरस्थित क्राइस्ट युनिभर्सिटीबाट साहित्य, मनोविज्ञान तथा थिएटरमा डिप्लोमा गरिन् । मनोविज्ञानमा मास्टर्स गरेकी आकांक्षा नाटक र मनोविज्ञान एक आपसमा मर्ज भएको बताउँछिन् । पढ्ने क्रममा हरेक फेस्टिभलमा नाटक मञ्चन हुँदा उनी विभिन्न ठाउँ पुग्थिन् । नाटकले आफ्नो पढाइमा कुनै अवरोध नपुर्‍याएको उनी बताउँछिन् तर उनका प्रोफेसरले ६ महिना नाटकमा नलागी थेसिस पूरा गर भनेका थिए ।

आफूलाई एउटा कलाकार मान्ने आकांक्षाले बेंग्लोरमा अध्ययनरत छँदा पनि धेरैवटा नाटकमा अभिनय एवं निर्देशन गरेकी थिइन् । त्यहाँ उनी एक्टिङमा भन्दा पनि मेकिङमा बढी लागिन् । नाटक लेख्नभन्दा पनि अभिनय गर्न सजिलो हुने आकांक्षा बताउँछिन् । तीन वर्षअघि नेपाल फर्किएकी आकांक्षाले केही समय युलेन्स स्कुलमा पढाइन् । त्यहाँ राम्रो आम्दानी भए पनि नाटकमै रुचि भएका कारण उनको मन त्यहाँ रमाएन । त्यसैले उनी स्कुल छाडेर पूर्णरूपमा नाटकमा लागेकी छिन् । मानिसअनुसार स्वभाव फरक हुन्छ । नाटक मानिसका विविध सोच व्यक्त गर्ने सशक्त माध्यम हो । भुइँचालोपछि नेपाल आएर रंगकर्ममा निरन्तर सक्रिय आकांक्षाले आफ्नै घरमा कौसी थिएटर खोलेकी छिन् । साथी गुञ्जन दीक्षितसँग मिलेर खोलिएको यो थिएटरमा कथा घेराको तथा दयालु रुख नाटक मञ्चन भैसकेको छ । अरूले नाटक देखाउन चाहे कौसी थिएटर भाडामा लिन सक्छन् । कतिपयले नाटकमा आउनुभन्दा पनि एनजिओमा लागेको भए राम्रो आम्दानी हुन्थ्यो भन्छन् तर उनलाई पैसा ठूलो हो जस्तो लाग्दैन ।

पहिलेको तुलनामा अहिले नाटकमा परिवर्तन आउँँदैछ । अहिले महिला निर्देशक बढ्दै गएका छन् भने महिला मुख्य पात्र भएका नाटक समेत प्रदर्शनमा आउन थालेका छन् । थिएटरले प्रगतिशील हुन तथा स्वतन्त्रता खोज्न सिकाउँछ । एउटा राम्रो नाटकका लागि रिहर्सल, उत्कृष्ट पात्र छनोट, एक–अर्कालाई बुझ्नु तथा घुलमिल हुनु आवश्यक भएको आकांक्षा बताउँछिन् । नाटकमा अभिनय गर्नुभन्दा निर्देशन गर्नु अझ गाह्रो भएको उनको अनुभव छ । नाटकमा लागेकाहरूले पढ्ने तथा रिसर्च गर्ने बानी बसाल्नु आवश्यक भएको आकांक्षाको धारणा छ । लाइन, दयालु रुख तथा भजाइना मोनोलग आदि नाटक निर्देशन गरिसकेकी आकांक्षाले १५–१६ वटा नाटकमा अभिनय गरिसकेकी छिन् ।

अहिले विस्तारै मानिसले रंगमञ्चलाई बुझ्न थालेका छन् । पहिले यसलाई पार्टटाइमका रूपमा लिए पनि अहिले प्रोफेसनल हुँदै गएको छ । तीन वर्षअघिदेखि सुशीला आर्ट एकेडेमीमा थिएटर पढाउँदै आएकी आकांक्षा धेरै कमाएर लक्जरियस जीवन बिताउने सोचमा छैनन् । उनी पछिसम्म नाटकमै लागिरहने र अरुको भर नपरी आफ्नो जीवन धान्न पुग्ने आम्दानी भए त्यसैमा सन्तुष्ट हुने बताउँछिन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्