स्वदेशमै उत्साहित युवा

लक्ष्मी भण्डारी थापा

पुस १३, २०७५

 

शान्ति माया तामाङ

इन्टेरियर आर्किटेक्ट

म २१ वर्षीया युवती हुँ । मोनास्टिक, बुद्धिजम रिच्युअल फर्निचर्स तथा अन्य सामग्री डिजाइनमा मेरो रुचि सानैदेखिको हो । म सानैदेखि यस्ता फर्निचरमा पेन्टिङ पनि गर्थें । मेरा अशिक्षित आमाबुवा त अर्काको पसलमा काम गरेर अहिले आफ्नै व्यवसायमा सफल हुनुहुन्छ भने म त पढेलेखेकी केटी नेपालमै केही गर्न सक्छु भन्ने आत्मविश्वासले आफै काम थालें । मुलुकलाई अहिले क्रिएटरहरू चाहिएका छन् जसले अरूलाई रोजगार बनाउन सकून्, म त्यसैका लागि नेपाल बसेकी हुँ । मेरा साथीभाइमध्ये ८० प्रतिशत विदेशमै छन् । तिनीहरू क्रिएटिभभन्दा पनि सेकेन्ड–सेकेन्ड गनी एकोहोरिएर काम गर्नुपरेको बताउँछन् । विदेश गएका मेरा साथीहरू ‘तँ माथि गर्व छ, तैंले नेपाल बनाउन एउटा इँटा थप्छेस्’ भन्ने कुरा गर्छन् । नेपालमा जुन गतिमा विकास गर्न सक्थें उता गएर अन्डर–प्रेसरमा काम गर्दा क्रियटिभिटी लस्ट हुँदै गएको छ । नेपाल अझै विकासोन्मुख अवस्थामै छ, यहाँ अवसर धेरै छ, प्रतिस्पर्धा कम छ । जब प्लेसमेन्ट, सही तलब र युवाका लागि सहयोगी नीति भयो भने कोही पनि बिदेसिँदैनन् । युवा स्वयंले पनि आफूमा भएको सीप एवं दक्षता चिनेर यहीँ अवसर सिर्जना गर्न सके आफू मात्र होइन हाम्रो सिंगो मुलुक बन्न बेर लाग्दैन । 

जीविका कार्की

सिइओ–फ्यान्टम इन्टरटेनमेन्ट तथा प्रबन्ध निर्देशक–जेब्रा प्रोडक्सन 

प्लस टु सकेपछि सबै साथी विदेश जाँदा आफू पनि जाऊँ कि भन्ने नलागेको होइन तर त्यसपछि इभेन्ट होस्ट र अर्गनाइज गर्न थालें अनि विदेश जाने कुरै हरायो । विदेश गए पनि मेहनत गर्नैपर्छ, यहीँ परिवारसँगै बसेर त्यत्तिको परिश्रम गरियो भने त आफ्नो करियर पनि बन्ने मुलुकलाई योगदान पनि हुने, डबल फाइदा हुने देखेर मैले यहीँ करियर सुरु गरें । विदेशमा टन्न पैसा छ रे भन्ने हावाको भरमा जानेहरू पनि छन् । छोराछोरी कता भन्दा अमेरिका–अस्ट्ेरलिया भन्दा समाजमा प्रतिष्ठित भइन्छ भन्ने सोचिन्छ, यहाँको पेमेन्ट सिस्टम र क्वान्टिटी दर्‍हो छैन यिनै कारणले युवाहरू बिदेसिन्छन् । यहीँ रोजगारीको सिर्जना, कामअनुसारको तलव–सुविधा, हरेक कामलाई सम्मान गर्ने ट्ेरन्ड बसाल्न सके युवाहरू यहीँ खुसी हुन्छन् । यसका लागि युवाहरू आफै मोटिभेट हुनुपर्छ । नेपालमा पनि युवालाई २० वर्ष कटेपछि दैनिक यति घन्टा आफैं काम गर र आफ्नो जीवन आफैं चलाऊ भन्ने अभियान चलाउनुपर्छ । सरकारले पनि हरेक क्षेत्रमा युवा सहभागिता बढाएर कानुनको बलियो कार्यान्वयनमा उत्रिनुपर्छ । 

दिजा खनाल, चिकित्सक 

मलाई विदेश मोहले कहिल्यै तानेन । स्कुल–कलेज पढ्दा हरेक गु्रप अफ फ्रेन्ड्सको विदेश जाने कुरा हुन्थ्यो । म भने यहीँ एमबीबीएस पढ्ने उद्देश्यले एकोहोरिइरहेकी थिएँ । एमबीबीएस सकेपछि नेपाल मोह अझ गहिरो हुँदै गयो, कारण नेपाललाई हामीजस्ता युवाको खाँचो छ । मेरा साथीसंगी–दिदीबहिनी सबै विदेशमा छन् । उनीहरूबाट मैले त्यहाँका बारेमा धेरै कुरा जान्ने मौका पाएकी छु । विदेशमा लक्जरियस जीवन र बाहिरी इन्फ्रास्ट्रक्चर त पाइएला तर पहिचान खोइ ? म को हुँ र मेरो गन्ती कहाँनिर हुन्छ ? दोस्रो दर्जाको नागरिक भएर बाँच्नुको पीडा जीवनभर रहिरहन्छ । आफू सक्षम भइयो र हातमा पैसा छ भने त्यो लाइफ यहाँ पनि नभएको होइन तर परिश्रम र जाँगर आवश्यक हुन्छ । नेपालमा लाइफ सेक्युरिटीको कुनै आधार नभएकाले तथा रोजगारीको अभावका कारण युवाहरू बिदेसिने चाहना राख्छन् । रोजगारी पाइहाले पनि बढी काम कम तलबका कारण युवाहरू फस्ट्रेट छन् । म जस्तो डाक्टर जो हुम्ला–जुम्ला जस्ता विकट क्षेत्रमा गएर काम गर्छु भन्दा सुरक्षाको कुनै प्रत्याभूति हुँदैन भने अर्कातर्फ सेवा–सुविधा पनि त्यति राम्रो छैन । अहिले सामाजिक सञ्जाललगायत सञ्चारमाध्यमका कारण मानिसहरू निकै सचेत र सुसूचित भैसकेका छन् । उनीहरू संसारभरका ट्रेन्ड फलो गर्न चाहन्छन् । यस्ता विषयमा युवाहरू निकै सिर्जनशील र मेहनती हुन्छन् । मानिसले खोजिरहेको कुरा यहीँ दिऊँ भन्ने चाहनाका कारण अहिले थुप्रै युवा विदेश जान छोडेर आफ्नै उद्यममा लागेका छन् । नयाँ अवधारणा भित्र्याउँदै मुलुक बनाऊँ भन्ने अभियानमा दृढ छन् जुन पछिल्लो समयको अत्यन्त सकारात्मक उपलब्धि हो । अर्को कुरा विदेशको दु:ख, पहिचानविहीन जीवन र नेपालको शानको सहज जीवनका कारण पनि अहिले युवाहरू स्वदेशमै सीप, परिश्रम एवं पसिना खर्चिन चाहन्छन् ।  

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्