स्वदेशमै उत्साहित युवा

लक्ष्मी भण्डारी थापा

पुस १२, २०७५  

सन् १८१४–१५ देखि नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान थालेको तथ्यांकले देखाउँछ । जुन समय एकसाथ ४ हजार ६ सय ५० नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा भर्ना भएका थिए । उतिबेलै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र डिफिडले सन् २००२ मा सार्वजनिक गरेको तथ्यांकले भारतमा रोजगारी गर्न गएका बाहेक मिडिल इस्ट तथा गल्फ कन्ट्रीमा रोजगारीमा जाने नेपाली युवाको संख्या चौबर चुलिएको देखाएको थियो । सन् २००६ मा तत्कालीन नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांकले भारतीय भूमिमा काम गरिरहेका नेपालीबाहेक खाडी तथा अन्य मुलुकमा रोजगारीका लागि गएका महिला १ लाखभन्दा बढी र पुरुष ५ लाख ६५ हजार भएको देखाएको थियो । सन् २००४ मा इराकमा १२ जना नेपालीको हत्यापछि नेपाली युवाको विदेश मोहमा थोरै कमी आए पनि अपेक्षित रूपमा विदेश जाने संख्या घट्न सकेको थिएन ।

द्वन्द्वकालको मध्यमा त दैनिक ३ हजार युवा बिदेसिइरहेको खबर सार्वजनिक भएको थियो । जब विदेशी शिक्षा हासिल गरेपछि नेपाल फर्किएर स्वदेशमै रोजगारी सिर्जना गर्ने युवाहरू देखिन थाले तब उनीहरूका सफलताका कथा र विदेशमा गरेको संघर्ष सुनेर, पढेर, थाहा पाएर सजग हुने युवाहरू स्वदेशमै पसिना बगाऔं–आफ्नै देश निर्माण गरौं भन्ने अभियानमा जुट्न थाले । फलस्वरूप अहिले स्वदेशमै युवाहरूको सक्रियता बढेको छ । साना चिया–कफी सप खोल्नेदेखि लिएर, साना–ठूला उद्यम व्यवसायमा युवाहरूको संख्या नपत्याउँदो तरिकाले बढ्दै गएको छ । हिजोको समय मुलुकमा द्वन्द्व, अस्थिर राजनीति, फितलो नीति–नियमलाई कारण देखाउँदै विदेश जाने उही उमेरको समूहलाई आज त्यस्तै अर्को एउटा समूह ‘हामीले नगरे कसले गर्ने’ भन्ने सन्देश दिन सफल भैसकेको छ । हाल युवाहरूमा मुलुकमै केही गर्नुपर्छ, आफ्नै देश बनाउनुपर्छ भन्ने भावना तथा जुझारुपन देखिँदैछ । बिदेसिन छोडेर आफ्नो समय, सीप, परिश्रम र क्षमता यहीँ लगाउन सके मुलुक बन्छ भन्ने दृढता बोकेका केही प्रतिनिधि युवा यसपटकको बहसमा : 

कुञ्जल भट्ट

विद्यार्थी, आर्किटेक्ट इन्जिनियरिङ 

अहिले मुलुक किन समृद्धि र विकासतर्फ उन्मुख छैन भन्ने चिन्ता हामी युवाको मुख्य विषय भएको छ । युवा मुलुकका भविष्य हुन् भन्ने कुरा पछिल्लो पुस्ताका युवाले बुझ्दै गएका छन् । मेरो विचारमा पात हल्लिनलाई पनि हावा चल्नैपर्छ, भन्नुको अर्थ आफ्नो मुलुकलाई विकसित गर्न हरेकले आ–

आफ्नो क्षेत्रबाट केही न केही योगदान त गर्नैपर्छ । बाल्यकाल विदेशका विभिन्न मुलुकमा बिताएकी म नेपालमै केही गर्न सकिन्छ कि भनेर जन्मथलो फर्किएँ । थोपा–थोपा मिलेर सागर बन्छ भनेझैं हरेकले आफूमा भएको सीप, क्षमता, दक्षता, खुबी र दिमाग आफ्नै देशमा लगाउन सके मुलुक अवश्य बन्नेछ । विदेशमा पनि बोटमा पैसा फल्ने होइन, कठिन संघर्ष र जीवनको कहालीलाग्दो समय पार गर्नुपर्छ पैसाका लागि । भनेपछि त्यही काम हामी यहाँ किन नगर्ने ? अहिले त सोसल नेटवर्क तथा सञ्चारमाध्यमका कारण धेरै सुविधा यहीँ प्राप्त छ । कतिपय युवाले आ–आफ्नै अवधारणामा नयाँ–नयाँ कामको थालनी गरिसकेका छन् । जुन कुरा सफल हुनसक्छ भन्ने प्रमाणित समेत भैसकेको छ । हो विदेशी पढाइ र प्रविधि हामीकहाँ भन्दा सयौं गुना एडभान्स छ । ज्ञान र सीप आर्जन गर्न विदेश गए पनि पढाइ सकिएपछि नेपालमै फर्कनुपर्छ ताकि आफूले सिकेको सीप यहीँ लगाउन सकियोस् । युवाहरू एकजुट भए मुलुक बन्छ, युवाले चाहे देश बदलिन्छ ।

रोजिना पण्डित

फेसन डिजाइनर, रोसेस डिजाइन

पढाइ नै फरक खालको भयो । अहिले हरेक घरमा फेसन सेन्स आइरहेको छ । टिनएजर्स मात्र होइन सबै उमेरका मानिसहरू पहिरनमा सजग र सचेत हुँदै गएका छन् । मैले आफ्नो सीप यहीँ सदुपयोग गर्न सकें भने म यहीँ राइज हुन्छु भन्ने लाग्यो र मैले आफ्नो करियर स्थापित गर्ने उपयुक्त ठाउँ यहीँ भेटें । कुनै चीज पाउन केही त गुमाउनैपर्छ । विदेशका समुद्री किनारमा बसेर फोटो खिच्यो फेसबुकमा पोस्ट गर्‍यो त्यो देख्दा वाह लाइफ भन्ने देखिन्छ तर त्यहाँ रातदिनको परिश्रम, समयको अभावसँग बालबच्चालाई समय दिन नपाउँदा रोएर बस्नुपर्ने बाध्यता छ । युवाहरू विदेश जान आकर्षित हुनुको कारण बाहिरबाट देख्दा गुणस्तरीय जीवन र कामअनुसारको दाम पाइन्छ भन्ने नै हो तर यहाँ भारी काम, कम पारिश्रमिक । यो समस्या कम गर्न रोजगारीको सिर्जना गर्दै कामअनुसारको दाम दिइयो भने युवाहरूको चाहना आफ्नै मुलुक बनाउनुपर्छ भन्ने हुन्छ । अहिले युवाहरू आफ्नै व्यवसाय वा साना उद्यम गरेर तथा जागिर खाएर नै किन नहोस् यहीँ केही गर्नुपर्छ भन्ने मनस्थितिमा छन्  र उनीहरू व्यावहारिक रूपमा त्यसका लागि अघि पनि बढिसकेका छन् । युवामा अझ उत्साह भर्न सरकारले युवामैत्री नीति ल्याउनुका साथै युवास्वरोजगारी सिर्जना गर्न तत्काल रचनात्मक कदम चाल्नुपर्छ । 

समीक्षा न्यौपाने

सेल्स एन्ड मार्केटिङ अफिसर

म प्लस टुपछि ब्याचलर इन्टर्नसीपका लागि मलेसिया पुगेकी थिएँ । त्यहाँ ६ महिना काम गरेर फेरि काम नै गर्न मकाउ पुगें । होटल म्यानेजमेन्टमा ब्याचलर सकेकाले डेढ वर्ष मकाउको होटल फिल्डमै काम गरें । यहाँ विदेश भनेर जसरी सोचिन्छ त्यस्तो छैन विदेश, त्यहाँ दु:ख बढी छ, पहिचान छैन, कसैले भ्यालु गर्दैन हामीलाई त्यहाँ, अनि कामको बोझ थेग्न सक्ने भन्दा बढी हुन्छ । यिनै कारणले म यत्तिको दु:ख नेपालमै गर्न सके आफ्नै देश बन्छ भन्ने सोचले नेपाल फर्किएँ । हामीजस्ता युवाले स्वदेशमा रोजगारीको अवसर खोज्छन्, पुरानाहरूले गरेको ठाउँमा प्लेसमेन्ट खोज्छन् तर यहाँ त्यो सिस्टम नै छैन । सोर्स फोर्स चल्छ यहाँ, समयको महत्वलाई कम बुझिन्छ तर हाम्रो पुस्ता त्यो भन्दा निकै अघि बढिसकेको मात्र छैन एडभान्ससमेत हुँदै गएको छ । आफ्नो देशमा अपनत्व हुन्छ, माया–ममता र भावना हुन्छ, सानै किन नहोस् विदेश जाने पैसा यहीँ लगानी गरे त आफू र आफूजस्ता दुई–चार जनालाई स्वरोजगार बनाउन सकिन्छ । जहाँ चुनौती छ त्यहीँ बढी अवसर हुन्छ । यहाँ त्यस्ता अवसरहरू छन् जसलाई अब युवापुस्ताले मात्र चिन्न सक्छ । 

                                                                                                                क्रमश...

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्