जाडोको स्वास्थ्य र खानपान

उपासना घिमिरे

पुस १०, २०७५

                                                                       डा. श्वेता नकर्मी

                                           बाथ रोग विशेषज्ञ, नेसनल बाथ रोग सेन्टर, रातोपुल 

जाडो मौसममा चिसोका कारण धेरैलाई रुघाखोकी, घाँटी दुख्ने, टन्सिल आदि समस्याले सताउँछ । यतिबेला तापमान घट्ने भएकाले धेरैजसोमा रुघाखोकी, घाँटी खसखस हुने, घाँटी खप्प हुने समस्या उत्पन्न हुनसक्छ । भाइरल तथा चिसोका कारण यस्तो हुन्छ । न्यानो गरी बसेर ताता खानेकुरा खाए रुघाखोकी आफैं निको हुन्छ । कतिपय अवस्थामा भने औषधि नै खानुपर्ने हुन्छ । यसका अतिरिक्त जाडो मौसममा मुटु रोग, बाथ, निमोनियालगायतका अन्य रोगले पनि बढी नै सताउँछन् । 

बाथ रोग बाथ रोग भन्नाले के बुझिन्छ ? 

बाथ कुनै एक प्रकारको रोग मात्र नभएर विभिन्न रोगको संकलन हो । अहिलेसम्म सयभन्दा बढी प्रकारका बाथ रोग पत्ता लागिसकेका छन् । यो रोग अटोइम्युन प्रक्रियाका कारणले हुन्छ । हाम्रो शरीरमा बाहिरी जीवाणु, ब्याक्टेरिया एवं भाइरससँग लड्ने रोग प्रतिरोधक क्षमता हुन्छ । जब यो रोगको प्रतिरोधक क्षमतामा कुनै गडबडी आउँछ अनि शरीरका कोषिकाहरूले आफ्नै शरीरका विभिन्न अंगहरूलाई नष्ट गर्न थाल्छन् । 

के कारणले बाथ रोग लाग्छ ? 

बाथ रोग हुनुको सटिक कारण भने अहिलेसम्म पत्ता लागेको छैन । अनुसन्धानहरूअनुसार जेनेटिक सस्सेप्टिबिलिटी, वातावरण तथा इन्फेक्सनका कारण बाथ रोग लाग्न सक्छ । हाम्रो शरीरमा कुनै विशेष जिन छ भने कुनै न कुनै प्रकारको बाथ रोग हुनसक्ने सम्भावना वृद्धि हुन्छ । यसैगरी कतिपय इन्फेक्सनपछि पनि कुनै–कुनै प्रकारको बाथ लाग्न सक्छ । जस्तै रियाक्टिभ आर्थराइटिस । धूम्रपानले शरीरमा बाथ रोग गराउने तत्व निकाल्ने भएकाले बाथको समस्या बढाउन सक्छ । 

बाथ रोग कति प्रकारका छन् ? 

अहिलेसम्म सयभन्दा बढी किसिमका बाथ रोग पत्ता लागिसकेका छन् । नेपालमा भने सामान्यतया केही किसिमका बाथ रोग बढी देखिएका छन् । जस्तो गठिया बाथ (र्‍युमाटोइड आर्थराइटिस), कुर्कुरे हड्डी खिइने बाथ (अस्टियो आर्थराइटिस), मेरुदण्डको बाथ, लुपुस, छालाको बाथ (स्क्लेरोडर्मा), युरिक एसिडको बाथ (गाउट), मांसपेशीको बाथ, जोर्नी खिइने बाथ तथा मांसपेशीको बाथ । अहिले गठिया बाथ पनि उत्तिकै देखिन थालेको छ । यसका साथै अरू जटिल किसिमका बाथ पनि हुने गरेका छन् । 

लक्षण  

बाथका प्रकारअनुसार यसका विभिन्न लक्षण हुन्छन् । यसको सामान्य लक्षण जोर्नी दुख्नु हो । हातखुट्टाका साना–ठूला जोर्नी दुख्छन्, सुन्निन्छन् । बिहान उठ्दा हातखुट्टा अररो हुनुका साथै कक्रक्क पर्छन् । त्यसैगरी लुपुस बाथमा घाममा हिँड्दा वा बस्दा बढी पोल्ने, छाला चिलाउने, रातो हुने, घाउ आउने आदि हुन्छ । मुखमा बारम्बार घाउ आउन सक्छ । 

शरीरमा नीलो, रातो डाबर वा फोका देखापर्न सक्छ । यी सुरुवाती लक्षण हुन् । मेरुदण्डको बाथमा बिहान उठ्दा मेरुदण्ड बढी मात्रामा दुख्ने तथा अररो हुने हुन्छ । मांसपेशीको बाथमा शरीरको कुनै पनि भागको मासु दुख्ने, कटकटी खाने, बिहान उठ्न गाह्रो हुने बढी अल्छी लाग्ने समस्या देखापर्छ । 

बाथले जोर्नी मात्र नभएर शरीरका कुनै पनि अंग समात्न सक्छ । त्यसैले लक्षण पनि सोहीअनुसार हुन सक्छ । आँखामा असर गरे आँखा बारम्बार रातो हुने, दुख्ने, फोक्सो एवं मुटुमा पानी जम्ने, फोक्सोमा जाली पर्ने, मिर्गौला बिग्रने तथा मस्तिष्कमा असर पर्ने हुनसक्छ । 

जाडो मौसममा कस्ता समस्या देखा पर्छन् ? 

जाडो मौसममा बाथका समस्या बढ्न सक्छन् । यो मौसममा चिसोका कारण वायुमण्डलको प्रेसर कम हुने भएकाले जोर्नीभित्र प्रेसर बढ्छ । फलस्वरूप जोर्नीहरू सुन्निने, दुख्ने तथा अररो हुने समस्या देखापर्छन् । त्यसैगरी छालाको बाथको समस्यासमेत वृद्धि हुन्छ । हातखुट्टाका औंलाहरू चिसोमा पर्दा रंग परिवर्तन हुनु बाथको विशेषता हो । यसलाई रेनड्स फेनोमिना भनिन्छ । यो जाडो महिनामा बढ्ने सम्भावना हुन्छ । जाडोमा धूम्रपानको सेवन बढ्यो भने पनि बाथको मात्रा बढ्छ किनभने धूम्रपानले जोर्नीबाट बाथ गराउने तत्व निकाल्छ । 

बाथ रोग कुन उमेरकालाई बढी हुन्छ ? 

बालकदेखि वृद्धसम्म सबैलाई बाथ रोग लाग्न सक्छ । उमेरअनुसार लाग्ने बाथ फरक–फरक हुन्छ । बालबालिकामा ज्वरो आएपछि बाथ रोग देखापर्न सक्छ जसलाई र्‍युम्याटिक फिबर भनिन्छ । यसैगरी जुभिनाइल आर्थराइटिस बालबालिकाहरूलाई लाग्ने बाथ हो । 

गठिया बाथ ४० वर्षभन्दा माथिका महिलामा बढी देखिन्छ । यो पुरुषको तुलनामा महिलामा तीन गुणा बढी देखिएको छ । महिलामा हुने एस्ट्रोजन हार्मोनका कारण यस्तो भएको हो । 

मेरुदण्डको बाथ भने ४० वर्षभन्दा कम उमेरका पुरुषमा बढी देखिएको छ । यसैगरी लुपुस र मांसपेशीको बाथ ४० वर्षभन्दा कम उमेरका महिलामा बढी देखिन्छ । बाथ पुरुषको तुलनामा महिलामा ९ गुणा बढी देखिएको छ । मध्यम उमेरका पुरुषमा गाउट बढी देखिएको छ । कुर्कुरे हड्डी खिइने बाथ (अस्टियोआर्थराइिटिस) वृद्धावस्थाका साथै मोटा मानिसमा बढी देखिन्छ ।

कस्तो खाना खानु उचित हुन्छ ? 

युरिक एसिडका बाथ रोगीले बाहेक अरूले धेरै खानेकुरा बार्नुपर्दैन । स्वस्थ रहन चिनी, नुन तथा चिल्लो कम भएको खानेकुरा खान सकिन्छ । क्याल्सियम र भिटामिन डी हाम्रो हड्डी तथा मांसपेशीका लागि अत्यन्त जरुरी कुरा हुन् । क्याल्सियमयुक्त खाना बढी खानुपर्छ । दूध, दूधबाट बनेका परिकार, दाल, गेडागुडी, बदाम, तोफु आदि खान सकिन्छ । भिटामिन डी भने घामबाट पाइन्छ । त्यसैले दिउँसो ११ बजेदेखि २ बजेसम्म घाममा छालामा घाम पर्ने गरी हरेक दिन १५ मिनेट बस्नुपर्छ । साल्मोन, टुना, कलेजो एवं अण्डामा पनि भिटामिन डी पाइन्छ । 

युरिक एसिडका रोगीले रक्सी, बियर, वाइन, कलेजो, मिर्गौला, गिदीजस्ता खानेकुरा खानुहुँदैन । यसैगरी रातो मासु (खसी, राँगा, सुँगुर), नुन, चिनी, चिनी भएको पेय पदार्थ, सेल फिस, गंगटो, बट्टामा भएको जुस कम खानुपर्छ । जुनसुकै बाथ रोगीले धूम्रपान तथा मद्यपान गर्नुहुँदैन । 

बाथ रोगका जटिलता तथा त्यसको नियन्त्रण 

समयमै उचित चिकित्सा सुरु नभए बाथ रोग जटिल बन्न सक्छ । जोर्नी बांगिनुका साथै मेरुदण्ड कुप्रिन सक्छ । आँखा नदेख्ने तथा घाउ हुनसक्छ । फोक्सो तथा मुटुमा पानी जम्न सक्छ । मस्तिष्कसम्म पुगेर स्ट्रोक, प्यारालाइसिस हुनसक्छ । यसले मिर्गौलामा समेत असर गर्छ । नसामा असर गरेमा हातखुट्टा झमझम हुने, पोल्नुका साथै कमजोर हुनसक्छन् । बाथले भित्री अंगमा असर गर्दा समयमै उपचार गराइहाल्नुपर्छ । 

बाथ रोग पूर्णरूपमा निर्मूल हुँदैन । यसलाई नियन्त्रण मात्र गर्न सकिन्छ । यसको सही पहिचान गरेर समयमै उपचार सुरु गर्नुपर्छ । त्यसैले बिरामीले आफ्नो लक्षण सुरुवाती अवस्थामै पहिचान गरेर चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरे यसको जटिलताबाट जोगिन सकिन्छ । बाथको औषधि रोगको कारण र कुन अंगमा असर गरेको छ त्यसमा निर्भर रहन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्