एकल महिला

अञ्जु कार्की

पुस ६, २०७५

पति वा पत्नीको मृत्युपछि अर्काे विवाह नगरी बस्ने महिला अथवा पुरूषलाई समाजमा विधवा र विधुर भन्ने चलन थियो । यो परिभाषालाई बदलेर हिजोआज एकल भन्ने गरिएको छ । विधवा र विधुरप्रति समाजमा हुने असामान्य व्यवहारका कारण उक्त परिभाषा परिवर्तन गरिएको हो । पहिले महिलाहरू पतिको मृत्युपछि एक्लै जीवन बिताउनुपर्ने बाध्यतामा थिए भने पत्नीको मृत्युपछि अर्को विवाह गर्नैपर्ने बाध्यता पुरुषलाई थियो । पत्नीको निधनपछि अर्को विवाह नगर्ने पुरुषलाई पूजा–आजा तथा चुल्होचौकामा सामेल गरिँदैनथ्यो । पत्नीको साथबिना गरिने कुनै पनि धार्मिक कार्यको प्रतिफल प्राप्त हुँदैन, पत्नीबिनाको तीर्थ–व्रत बेकार हो भन्ने कुरा धर्मग्रन्थमै उल्लेख गरिएका कारण पनि वृद्धावस्थामा अर्को विवाह गर्न बाध्य थिए एकल पुरुषहरू । 

६० वर्ष उमेर नाघेका वृद्धले ८ वर्षकी किशोरी विवाह गर्ने अवस्थाका कारण नेपाली समाजमा विधवाहरूको संख्या ठूलो हुनु स्वाभाविक थियो । अहिले यो विकृति धेरै हदसम्म हटेको छ । समाजले हेर्ने दृष्टिकोणका कारण वृद्धावस्थामा विवाह गर्नुपर्ने बाध्यता पुरुषलाई छैन । महिलाले पनि पतिको निधनपछि आफूले चाहे अर्को विवाह गर्न सक्ने अवस्था छ । यद्यपि एकल महिलाले सामान्यत: दोस्रो विवाह गर्ने परिस्थिति रहँदैन । छोराछोरी हुर्काउनुपर्ने दायित्व एकातिर हुन्छ भने अर्कातिर सामाजिक तथा धार्मिक रुढिवाद अझै तगारोका रूपमा छ । एकल महिलासँग विवाह गर्ने पुरुषलाई दोस्रो दर्जाका रूपमा हेरिन्छ । पुरुषहरू यस्तो जोखिम लिन हत्तपत्त चाहँदैनन् । विवाह गर्न चाहेको अवस्थामा एकल महिलाले आफ्नो स्तर सुहाउँदो पुरुष फेला पार्न सजिलो छैन । 

 

शब्द र परिभाषा बदलिँदैमा पात्र र प्रवृत्ति बदलिने होइन । विधवा वा विधुरको सट्टा एकल महिला वा एकल पुरुष भनिए पनि समाजले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको छैन । समाजको चेतनाको स्तर वृद्धिसँगै भएका सकारात्मक परिवर्तनलाई तुलना गर्ने हो भने एकल महिलाको सामाजिक हैसियत हिजोको तुलनामा उल्लेख्य परिवर्तन आएको पाइन्छ । शब्द परिवर्तनभन्दा सामाजिक चेतनाको स्तर परिवर्तनलाई प्राथमिकता दिनुपर्दोरहेछ भन्ने कुरा पटक–पटक पुष्टि भएको छ । चेतनाको स्तर परिवर्तन नभएसम्म जतिसुकै अनुकूल शब्द छनोट गरिए पनि, विधवा महिलालाई राज्यका जतिसुकै उच्च तहमा पुर्‍याइए पनि तात्विक उपलब्धि हुन सक्दो रहेनछ । हिजो पतिको निधन हुनासाथ पत्नीलाई त्यही चितामा सुताएर जिउँदै डढाइन्थ्यो । सतीप्रथाको उन्मूलनपछि अहिले महिलालाई जिउँदै डढाइँदैन तर जिउँदै डढाइएको जस्तै मानसिक यातना उनीहरूले पलपल बेहोर्नु परिरहेको हुन्छ । यसको एउटा उदाहरण हाम्रै अगाडि छ । हिजोआज एकल महिलाको विषय आउनासाथ यो उदाहरण प्रस्तुत गर्न थालिएको छ । 

केही वर्षअघि विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुर पुगेर रामजानकी मन्दिरको पूजा–आराधना गरिन् । विवाह पञ्चमीका दिन राष्ट्रप्रमुख रामजानकी मन्दिरको दर्शन गर्न जाने परम्परा नै छ तर राष्ट्रपति भण्डारी फर्किएपछि रामजानकी मन्दिरमा २१ औं शताब्दीको मानव सभ्यतालाई गिज्याउने खालको अत्यन्त अशोभनीय कार्य भयो । मन्दिरमा विधवा प्रवेश गरेको भन्दै चोख्याउने काम गरियो । विधवा महिला प्रवेश गर्दा मन्दिर अपवित्र हुन्छ भन्दै राजनीतिक दलको ब्यानरमा मन्दिर चोख्याउने कार्य भएको उक्त समाचार संसारभर भाइरल भयो । एकल महिला राष्ट्रपतिको पदसम्म पुगेकोमा हामी जति गौरव गर्छौं, एकल महिलाप्रति समाजको दृष्टिकोण अझै बदलिन सकेको छ्रैन । खासगरी दक्षिण एसियामा एकल महिलालाई हेर्ने दृष्टिकोण अझै पनि संकीर्ण छ ।

दक्षिण एसियाली मुलुकहरूमा एकल महिलाहरू उल्लेख्य रूपमा राष्ट्रप्रमुख तथा सरकार प्रमुख भएका छन् तर एकल महिलाप्रति गरिने सामाजिक, धार्मिक तथा सांस्कृतिक व्यवहार दक्षिण एसियाकै मुलुकहरूमा सबैभन्दा धेरै क्रुर र अमानवीय छ । राष्ट्रप्रमुखमाथि एकल महिला भएकै कारण अमानवीय व्यवहार प्रदर्शन भएको परिप्रेक्ष्यमा आम एकल महिलाको जीवन कति कहालीलाग्दो होला ? सहजै कल्पना गर्न सकिन्छ ।

मुलुकको उच्च पदमा आसीन महिलाले त यसरी अपमानित हुनुपरेको छ भने नेपालका ग्रामीण बस्तीका महिला, एकल महिलाहरूप्रति गरिने व्यवहार कस्तो होला ? २१ औं शताब्दीको संघारमा आइपुग्दा पनि हाम्रो पितृसत्तात्मक संस्कार एवं पुरुषवादी सोच जस्ताको तस्तै छ । यही सोचका कारण नेपाली समाजमा समग्र महिलाहरूको अवस्था दयनीय देखिन्छ । त्यसमा पनि एकल महिलाको अवस्था त थप नाजुक छ । के शिक्षित, के अशिक्षित, के गरिब, के धनी, सबै परिवार तथा समाजमा रुढिवाद तथा अन्धविश्वास कायमै छ ।

अझ एकल महिलाको हकमा त उनीहरू घरपरिवार, समाजका लागि कलंक नै हुन् । एकल हुनु आफैंमा अभिशाप हो भन्ने दृष्टिकोण कतिपयमा छ । एकल हुँदा धनी होस् वा गरिब, गाउँ होस् वा सहर उनीहरूप्रति सामाजिक, धार्मिक, सांस्कृतिकका नाममा दिइने यातना, तनाब कति हुन्छ अन्दाज गर्न पनि असम्भव छ । धर्म र सामाजिक परम्पराका नाममा एकल महिलाप्रति गरिने व्यवहार कहालीलाग्दो छ । मृत्यु एउटा सामान्य प्रक्रिया हो, कालगतिले मृत्यु हुन पुगेका श्रीमान्को दोष श्रीमतीमाथि थोपर्दै लोग्ने टोकुइसम्मको आरोप खेप्न बाध्य बनाउँछ समाजले ।

कतिपय घरपरिवारले एकल बुहारीलाई घरबाट निकालेका उदाहरण पनि प्रशस्तै छन् । एकल महिलाहरूलाई कुनै शुभ कार्य, विवाह, व्रतबन्ध, पूजा आदिमा समावेश गराइँदैन । 

हाम्रो समाज पितृसत्तात्मक छ । एकल महिलालाई रातो रंगसम्म वञ्चित गरिएको छ । सिन्दूरपोते एउटा लोग्ने मानिसले (श्रीमान्) महिलालाई दिएको अमूल्य उपहार हो । उसको मृत्युपछि सिन्दूरपोते पनि खोसेर लगिन्छ । के उपहार पनि फिर्ता हुन्छ ? जतिबेला मानव सभ्यता सुरु भएको थियो त्यतिबेला विभिन्न रंगका कपडा, चुरापोते तथा सिन्दूरको चलन थियो तर पुरुषको हकमा भने कि संन्यास लिनुपर्ने कि अर्को विवाह गर्नुपर्ने बाहेक यस्ता प्रकारका सामाजिक परम्परामा कुनै कुरा लागू हुँदैन । 

पुरुषले पत्नीको मृत्युपछि सजिलै दोस्रो विवाहको अनुमति पाउँछन्, तर विधवा महिलालाई भने एक्लै बाँच्न बाध्य गराइन्छ । समाजको नकारात्मक दृष्टिकोण अनि चरित्रलाई लिएर अनेक प्रकारका लाञ्छना लगाउनेहरू पनि कम हुँदैनन् । 

०६८ को जनगणनाअनुसार एकल महिलाको संख्या यति नै छ भनेर ठोकुवा गर्न सकिँदैन । एक संस्थाले सन् २०१३ मा सार्वजनिक गरेअनुसार नेपालमा एकल महिलाको संख्या ४ लाख ९८ हजार ६ सय ६ थियो । मानव अधिकारका लागि महिला समूहले सार्वजनिक गरेको अर्को एउटा प्रतिवेदनमा एकल महिलाको संख्या कुल जनसंख्याको ६ दशमलव ७ प्रतिशत रहेको उल्लेख छ ।

विवाह गरेको उमेरका आधारमा १० देखि १९ वर्ष उमेर समूहका एकल महिला सबैभन्दा बढी छन् । यो उमेर समूहमा ७५ दशमलव शून्य ४ प्रतिशत अर्थात् ३ लाख ७० हजार ६ सय ८७ एकल महिला छन् । प्रतिवेदनअनुसार १० वर्षभन्दा कम उमेरका एकल महिलाको संख्या २६ हजार १ सय ६२ अर्थात् ५ दशमलव ३० प्रतिशत छ । यस्तै एकल महिलामध्ये १६ दशमलव ५० प्रतिशत सहरी क्षेत्रका तथा ८३ दशमलव ६९ प्रतिशत हिन्दू धर्म सम्प्रदायका छन् । जातीय आधारमा क्षेत्री समुदायमा सबैभन्दा बढी ८९ हजार ५ सय ६८ र सबैभन्दा कम कुसुन्डामा ५ एकल महिला छन् । एकल महिलामध्ये ५६ दशमलव ८ प्रतिशतसँग जग्गाको स्वामित्व छैन भने ४२ दशमलव ६ प्रतिशतसँग भने जग्गा छ ।

जनयुद्धपछि हजारौं महिला एकल बाँचिरहेका छन् । शताब्दीयौंदेखि यसरी एकल महिलाहरू रुढिवादी परम्पराका नाममा प्रताडित र शोषणको सिकार बन्दै आएका छन् । हुन त अहिले विभिन्न संघसंस्थाले सबैको उद्धार गर्दै आएका छन् । उनीहरूको हकहितको पक्षमा विभिन्न आवाज उठाउँदै संघर्ष गरिरहेको पनि पाइन्छ । 

प्रयासहरू

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले एकल महिलाका लागि सामाजिक सुरक्षा कोष संचालनमा ल्याएको छ । मन्त्रालयले ०७० नियमावली संचालनमा ल्याएको हो । मन्त्रिपरिषद्को ०७० जेठ ९ गते बसेको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । विपन्न, एकल महिलाको हक–हितको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नियमावली आएको हो । आर्थिक दृष्टिले विपन्न, विधवा, सम्बन्धविच्छेद गरेकी महिला, ३५ वर्ष पुगेकी अविवाहित, लोग्ने पाँच वर्षभन्दा बढी समयदेखि बेपत्ता भएकी महिला, अंशबन्डा गरी पतिसँग अलग बसेकी महिलालाई नियमावलीले एकल महिलाको परिभाषा दिएको छ ।

गाउँ तथा दूरदराजका महिलाहरूमा राज्यले अवलम्बन गरेका यस्ता नियमहरू पुर्‍याउनु आवश्यक छ । सामाजिक, आर्थिक दृष्टिले कमजोर तथा विपन्न एकल महिलाहरूलाई आवश्यक सीपमूलक तालिम, स्वरोजगार कार्य सञ्चालन, उद्धार, राहत तथा पुन:स्थापना, औषधोपचार, कानुनी सहायता लिने विषयमा नियमावलीको नियम ४ अनुसार आवश्यकता भए लिन सकिन्छ । यस्ता प्रकारका शोषण, उपेक्षा वा कुसंस्कारबाट जकडिएका महिलालाई समयअनुसार विकसित तुल्याउनु आवश्यक छ ।

महत्वपूर्ण पक्ष शिक्षा

 तुलनात्मक रूपमा हेर्दा शिक्षित एकल महिलालाई समाजले हेप्न सकेको छैन । शिक्षित एकल महिलाको अनुशरण अरूले पनि गर्ने भएका कारण एकल महिलाको सशक्तीकरणका लागि शिक्षामा जोड दिनु जरुरी छ । समग्र देशको विकास गर्न पहिलो आवश्यकता हो सबैलाई शिक्षा । हरेक व्यक्तिको निजी जीवनका लागि पनि शिक्षाको सर्वोपरि महत्व छ । आफूलाई आत्मनिर्भर बनाउन तथा आत्मविश्वास दिलाउन शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । राज्यले सबैका लागि शिक्षाको अवधारणा अघि सारेको ०७ सालपछि हो तर करिब ७० वर्ष बितिसक्दा पनि शिक्षाको उज्यालो घामले आममहिलालाई छुन सकेको छैन ।

अझै पनि कुल महिला जनसंख्याको ३५ प्रतिशत शिक्षाको उज्यालो घामबाट वञ्चित छ । पछिल्लो समयमा समग्ररूपमा साक्षरता दर उल्लेखनीय वृद्धि भए पनि त्यो पर्याप्त देखिँदैन । विश्वका कुल निरक्षरमध्ये महिलाहरू मात्र करिब ६७ प्रतिशत छन् । २००१ को जनगणनाले महिला साक्षरता दर ४२ दशमलव ८ प्रतिशत देखाएको थियो त्यसको एक दशकपछि सन् २०११ को जनगणनाले महिला साक्षरता दर ६५ दशमलव ९ प्रतिशत देखाएको छ । यसलाई पुरूष जनसंख्यासँग तुलना गर्ने हो भने झन्डै ११ प्रतिशतको अन्तर देखिन्छ ।

जनगणना २०११ ले पुरूष जनसंख्याको साक्षरता प्रतिशत ७१ दशमलव १ प्रतिशत देखाएको छ । नारी शिक्षित भएका मुलुकहरूको चेतनास्तर माथि उठ्नुका साथै ती मुलुक सम्पन्न र धनाढ्य भएका उदाहरण पनि छन् । नारीलाई उचित शिक्षा दिन सके एउटा परिवार मात्र होइन समाज र राष्ट्र नै शिक्षित हुन्छ । शिक्षा मन्त्रालयका अनुसार कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने ७५ लाख ४२ हजार ३ सय ९३ विद्यार्थीमध्ये छात्रभन्दा छात्राको संख्या बढी रहेको तथ्यांकले देखाउँछ । उक्त तहमा अध्ययनरत छात्राहरूको संख्या ३८ लाख २२ हजार ५ सय ८० छ तर सोही तहमा अध्ययनरत छात्रहरूको संख्या ३७ लाख १९ हजार ८ सय १३ छ ।

उच्च शिक्षामा भने महिलाभन्दा पुरुष बढी अध्ययनरत रहेको तथ्यांकले देखाउँछ । कुल ५ लाख ६९ हजार ६ सय ६५ विद्यार्थी उच्च शिक्षामा अध्ययनरत रहेकामध्ये उच्च शिक्षामा अध्ययनरत महिलाको संख्या २ लाख ७० हजार ८ सय ६ रहेको सरकारी तथ्यांक छ । उच्च शिक्षा अध्ययनरत पुरुषको संख्या २ लाख ९८ हजार ८ सय ५९ छ । अनौपचारिक शिक्षा अध्ययनरत महिलाको संख्या भने पुरुषहरूको तुलनामा झन्डै ६ लाखले बढी छ । सामाजिक, सांस्कृतिक एवं परिवारको वैचारिक पृष्ठभूमिले महिलाहरूलाई शिक्षाबाट वञ्चित तुल्याउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । अझ हाम्रोजस्तो विकासशील मुलुकका गरिब परिवारमा महिला शिक्षाको अवस्था थप नाजुक छ ।

गरिब राष्ट्रका धेरै घरपरिवारमा परम्परागत अन्धविश्वास एवं कुसंस्कृतिले गर्दा बालिकाहरू विद्यालयलाई निरन्तरता दिन सक्दैनन् । महिलाहरूलाई साक्षर बनाउन सके पनि उनीहरू परिवार र समाजलाई गरिबीको दलदलबाट केही हदसम्म माथि उकास्न मद्दत गर्न सक्छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्