सुविधाजनक फ्लोरिङ सुकुलदेखि तातामीसम्म

- लक्ष्मी खड्का, आर्किटेक्ट

मंसिर २८, २०७५

 

फ्लोरिङ भन्नेबित्तिकै कुनै पनि भवनको भुइँलाई जनाउँछ । एउटा भनाइ पनि छ–‘जुत्ताले मानिसको पहिचान दिन्छ ।’ तसर्थ पनि हामी सधैं राम्रो, सफा र पालिस गरी टिलिक्क टल्किएको जुत्ता लगाउन रुचाउँछौं । हो त्यसैअनुरूप भवनको फ्लोरिङले पनि त्यो घर र घरमा बस्ने मानिसको पहिचान दिन्छ । त्यसैले घरको फ्लोरिङ सफा, राम्रो र भरपर्दो हुनु त्यत्तिकै आवश्यक छ । भवनको प्रकृति र त्यो भवनमा हुने मानिसको चापलाई मध्यनजर गरी सोहीअनुरूपको बलियो एवं भरपर्दो फ्लोरिङ नै छनोट गर्नुपर्छ । 

आवासीय भवनको फ्लोरिङका बारेमा कुरा गर्दा, हाम्रा आवासीय भवनहरूका फ्लोरिङमा पनि समयसँगै क्रमश: परिवर्तन आएको देख्न सकिन्छ । माटोको गारो भएका हाम्रा पुराना घरहरूमा माटोको फ्लोरिङ गरिन्थ्यो । माटोले लिपेर बनाइएका यस्ता फ्लोरिङको प्रयोगले घरभित्र thermal insulation को पनि काम गथ्र्यो । जाडो मौसममा भुइँमा खुट्टा टेक्न नसकिने गरी चिसो र गर्मीमा पैताला पोल्ने गरी तातो हुने पक्षबाट बिल्कुलै टाढा रही जाडोमा न्यानो र गर्मीमा शीतल प्रदान गर्ने यस्ता माटोका फ्लोरिङ लगभग लोप भैसकेका छन् । ऋतुअनुसार जाडोमा त्यति चिसो नहुने र गर्मीमा पनि त्यति नपोल्ने खालका फ्लोरिङ छनोट गरी घर निर्माण गर्न सकेको खण्डमा हामी विभिन्न रोगबाट मुक्त भएर स्वस्थ रहन सक्छौं । घरभित्रको फ्लोरिङ भन्नाले हामी सिमेन्ट, मार्बल तथा पार्केटिङलाई नै सम्झन्छौं । यी अहिले मुख्य चलनचल्तीका 

फ्लोरिङ हुन् । पहिले–पहिले माटोका अतिरिक्त काठको फ्लोरिङ पनि एकदम चलनचल्तीमा थियो । सिमेन्ट, मार्बल आदिका फ्लोरिङ माटो तथा काठका फ्लोरिङभन्दा सफा अवश्य हुन्छन्, तर यस्ता फ्लोरिङ जाडोमा अति चिसो र गर्मीमा अति तातो हुने हुँदा त्यति स्वस्थकर भने मानिँदैनन् । घरभित्रको तापक्रम नमिली खप्न नसकिने जाडो र गर्मीका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । आउनुहोस् आज चलनचल्तीका फ्लोरिङभन्दा अलि पृथक् तातामी फ्लोरिङका बारेमा केही चर्चा गरौं । 

तातामी फ्लोरिङ जापानिज प्रविधिको 

फ्लोरिङ हो । तातामी परालबाट बनाइएको एक किसिमको म्याट हो । धान कुटिसकेपछि बाँकी हुने परालबाट तातामी बनाइन्छ । सुकेको पराललाई compressed गरेर हात अथवा मेसिनबाट बुनेर तातामीका म्याट निर्माण गरिन्छ । उक्त म्याटलाई अलि नरम किसिमको सुकेको गुन्द्रीले बेरिन्छ । यसरी तयार पारिएका म्याटको दुवैतिरको लम्बाइतर्फ सतह मिलाएर सिल्कका कपडा सिलाइन्छ । यसलाई edgingभनिन्छ । यसमा सिल्कका सादा कपडाका साथै बुट्टे कपडासम्म प्रयोग गरिन्छ । 

भवन निर्माणको आफ्नै कडा मापदण्ड रहेकाले जापानमा कोठाको साइजदेखि लिएर झ्यालढोका आदि सम्पूर्ण भवन निर्माण सामग्रीहरूको साइज पनि प्राविधिकले निर्धारण गरिदिएका हुन्छन् । साथै prefabricated houses  को चलन बढी भएकाले पनि यहाँका भवन निर्माण सामग्रीहरू निर्धारित साइजमा मात्र बन्छन् तसर्थ तातामीको साइज पनि लगभग 2.1 अर्थात् चौडाइभन्दा लम्बाइ दोब्बर साइजको हुन्छ । तातामी म्याटको साइज लगभग -85 x 179_ cm अथवा (33=5 x 70=5) इन्च हुन्छ । भवन निर्माण सामग्रीहरू मात्र नभई आवासीय भवनका कोठाहरूको साइज पनि मापदण्डमा उल्लेख गरिएअनुसार समान नै हुन्छन् । यद्यपि अहिले भने आफ्नो जग्गाको क्षेत्रफलअनुरूप भवनको प्रकृति हेरी अपार्टमेन्ट तथा सिंगल घरहरूका कोठाको साइजमा भने फेरबदल भएको पाइन्छ । पुराना भवनहरूका कोठाको साइज भने यही तातामी म्याटकै आधारमा निर्धारण गरिन्थ्यो । 

अहिलेका भवनहरूमा फ्लोरिङका रूपमा हामी मार्बल, सिमेन्ट, क्रेजी मार्बल आदि नै पाउँछौं । त्यसका अतिरिक्त हामीमध्ये कतिले त हातले बुनेर तयार पारिएका सुकुल–गुन्द्रीलाई त बिर्सिसकेका छौं । पहिले–पहिले गाउँघर मात्र नभई सहर–बजारमा पनि सुकुल ओछ्याएर घाम तापिन्थ्यो । यति मात्र नभई सुकुल–गुन्द्री घरमा आउने पाहुनाको सत्कारदेखि कोठाहरूको सजावटमा समेत प्रयोग हुन्थे । गाउँघरमा प्रयोग भए पनि सहरमा सुकुल–गुन्द्री लगभग लोप भैसके भन्दा फरक पर्दैन ।

अहिले सुकुल–गुन्द्रीको स्थान कार्पेट, सोफा तथा मेचहरूले लिइसकेका छन् । सधैं सोफा, मेचमा मात्र बस्नुभन्दा दिनमा केही समय भए पनि भुइँमा पलेटी कसेर अथवा घुँडाले टेकेर बस्नु पनि स्वास्थ्यका दृष्टिले लाभप्रद मानिन्छ । त्यसैले जति आधुनिकतातिर ढल्किए पनि सोफा, मेचभन्दा चकटीमाथि अथवा तातामीको भुइँमाथि त्यसै बस्न रुचाउँछन् जापानीहरू । जस्तासुकै आधुनिक भवनमा पनि तातामी कोठाको निर्माण गर्न पछि पर्दैनन्–उनीहरू ।

हामी भने बिल्कुलै आधुनिकतामा ढल्किएर भुइँमा बस्ने बानी पन्छाई सोफा वा मेचमै बस्न रुचाउँछौं । हातले बुनेर तयार पारिएका यी सुकुल–गुन्द्रीहरूको आफ्नो छुट्टै मौलिकता एवं विशेषता छ । हामीले पनि पहिले चलनचल्तीमा रहेका सुकुल–गुन्द्रीलाई अलिकति भए पनि परिमार्जित गरी नयाँ ढंगबाट प्रस्तुत गर्न सकेको खण्डमा जापानी तातामी फ्लोरिङजस्तै हाम्रा सुकुल–गुन्द्रीका फ्लोरिङ पनि विश्वसामु उदाहरण बन्न सक्छन् । तसर्थ अहिले पनि घर निर्माण गर्दा घरको सानो भागमा भए पनि सुकुल–गुन्द्री अथवा कार्पेट र चकटी मात्र राखेर भए पनि सजिलोसँग बस्न मिल्ने स्पेस निकाल्ने हो कि ?

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्