बदलौं दृष्टिकोण

नारी संवाददाता

मंसिर २१, २०७५

जीवनप्रति नकारात्मक दृष्टिकोणले विस्तारै–विस्तारै हाम्रो व्यक्तित्वलाई समेत नकारात्मक बनाउँछ र आफन्तहरू नै हामीसँग टाढिन्छन् । उदाहरणका लागि कुनै प्रोजेक्टका बारेमा सल्लाह हुँदा टिमका हरेक सदस्य उक्त प्रोजेक्टलाई लिएर उत्साहित हुन्छन् तर आफूले त्यसमा सहयोग गर्नुको साटो उक्त प्रोजेक्टमा गल्ती–दोष–सम्भावनारहित कुरा निकाल्दा नकारात्मक सोचका कारण टिमका सबै सदस्यको मुड र वातावरण बिग्रन्छ ।

यसका विपरीत सल्लाहमा उत्साहित भै सहभागी हुने हो भने सबैजना पूर्ण जोससहित सहकार्यका लागि प्रेरित हुन्छन् । नकारात्मक सोच कोही–कसैलाई मन पर्दैन र त्यसले जीवनमा सफलता पनि प्रदान गर्दैन । अत: सकारात्मक सोचौं र हरेक कामलाई पूर्ण परिश्रमका साथ गरौं, अवश्य पनि सफलताको मार्ग प्रशस्त हुनेछ । 

भनिन्छ, अरूको प्रशंसा गर्दा आफूभित्र पनि सकारात्मक ऊर्जा संचार हुन्छ । यसबाट आफूभित्र परिवर्तन पनि महसुस हुनेछ । कतिपय आफ्नो प्रशंसा सुन्न त रुचाउँछन् तर अरूको प्रशंसा पटक्कै मन पराउँदैनन् । उनीहरूलाई आफूसरह कोही नभएजस्तो लाग्छ । मानसिक रूपमा उनीहरू अरूको सुन्दरता वा राम्रो पक्ष सुन्न रुचाउँदैनन् । यस्तोमा आफ्नो मनअनुसार काम गर्दागर्दै आफै यति नकारात्मक भइन्छ कि स्वयंबाट पनि टाढा हुन थालिन्छ । यो स्थिति अत्यन्त खतरनाक हुन्छ जसले आफ्नो मात्र होइन अरूको पनि हानि गर्छ । 

केही क्षण एकान्तमा रहनु जो कसैको जीवनको हिस्सा हुन्छ तर हरेक क्षण अरुबाट टाढा रहनु र एक्लै बस्नुले मानिसलाई अरुबाट टाढा राख्छ । एक्लै बस्दा–बस्दै मानसिकता संकुचित हुन थाल्छ । अरुसित घुलमिल हुन कठिन हुनुका साथै उनीहरूको बानी–व्यवहार नराम्रो लाग्न थाल्छ । संसारलाई सत्यको बाटोमा हिँडाउने, नैतिकताको पाठ पठाउने साधु–सन्त पनि एक्लै बस्दैनन् । उनीहरू परिवारबाट टाढा त हुन्छन्, तर आश्रम वा कुटीमा उनीहरूका शिष्यजन साथमा रहन्छन् । यसबाट उनीहरूलाई अरूको विचार जान्ने अवसर प्राप्त हुन्छ । 

जसका बारेमा नकारात्मक सोच राखिन्छ उसका बारेमा पूर्ण जानकारी राखौं । हुनसक्छ, त्यसपछि उसका बारेमा, उसप्रतिको दृष्टिकोणमा परिवर्तन आओस् । एक्लोपनबाट हटेर सामाजिकीकरणतर्फ अग्रसर हौं । अरूलाई बुझौं, अरूले आफूलाई बुझ्ने अवसर प्रदान गरौं । यसबाट सिक्ने तथा बुझ्ने अवसर प्राप्त हुन्छ । अज्ञान, भ्रम अनि एकतर्फी दृष्टिकोणमा रहनुभन्दा जानकार हुनु फाइदाजनक हुन्छ । लाभको बाटो अंगालौं अनि घाटा हुने परिस्थिति त्यागौं । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्