प्रदूषणले स्वास्थ्य र सौन्दर्यमा पार्ने असर

लक्ष्मी भण्डारी थापा

मंसिर १९, २०७५

हिजोआज सहर प्रदूषित हुँदैछ । सरकारी तथा गैरसरकारी स्तरमा विविध किसिमका प्रदूषण विराधी अभियान चल्दै आए पनि हालसम्म प्रदूषणबाट मुक्ति सपनाकै कुरा हुँदै आएको छ । पुल–पुलेसा, बाटोघाटो तथा ढल निर्माणको क्रम तीव्र बन्दै गएका सहरी क्षेत्रहरू अहिले धूलाम्य देखिन्छन् । सहरका बोटबिरुवा तथा तिनका पातमा समेत धूलोको खात देखिन्छ । यसमा फोहोर व्यवस्थापनको फितलो कार्यले प्रदूषण वृद्धिलाई नै मलजल गरेको छ । मानिसको शरीरमा लाग्ने ५० प्रतिशतभन्दा बढी रोगको कारण बाहिरी वातावरण एवं प्रदूषण हो भन्ने तथ्य सार्वजनिक भएको धेरै भएको छैन । प्रदूषणका कारण छालाको संक्रमण मात्र बढ्छ भन्ने लागे पनि यसले शरीरको भित्री भागमा समेत असर पुर्‍याउँछ । सन् २०१० को तेस्रो जनगणनाको जर्नल अफ जियोग्राफी रिपोर्टको भोल्युम–८–१० का अनुसार काठमाडौं उपत्यकामा बढ्दो भवन निर्माण, सवारीसाधनको चाप तथा अव्यवस्थित फोहोरका कारण वातावरण प्रदूषण वृद्धिमा थप सहयोग पुगेको छ । त्यसका अतिरिक्त कलकारखाना मात्र होइन कमर्सियल रूपमा खुलेका होटल, रेस्टुराँलगायत निजी घरहरूमा पकाइने खानाबाट निस्कने धूवाँसमेत प्रदूषणको कारक मानिन्छ । यसै विषयमा नारी बहसमा सम्बन्धित क्षेत्रका विज्ञहरूले आ–आफ्नो धारणा व्यक्त गरेका छन् :  

प्रा.डा.सविना भट्टराई

ड्रमाटोलोजिस्ट, केएमसी अस्पताल

प्रदूषणमा इन्धन, धूवाँ, काठ बाल्दा आउने कार्बन, धूलो, कारखानाबाट निस्कने केमिकलयुक्त मुस्लो, खेतीजन्य जमिनमा प्रयोग गरिने कीटनाशकबाट निस्कने बाफ आदि पर्छन् । यिनै कारणले वातावरणीय प्रदूषण फैलन्छ । यी विविध कारणले एक किसिमको हानिकारक ‘रियाक्टिभ अक्सिजन स्पिसिज’ उत्पादन हुन्छ जसले गर्दा छालाका कोशिकाहरू बिग्रने मात्र नभई नष्टसमेत हुनसक्छन् । यति मात्र नभएर छालाको सबैभन्दा बाहिरी सतहलाई पनि असर पारिरहेको हुन्छ । छाला शरीरको सबैभन्दा ठूलो र संवेदनशील अंग हो । यस्तो प्रदूषणले कोशिकामा मात्र नभएर समग्र छालामै सुख्खा हुने, चिलाउने, बिबिरा आउने, चर्कने आदि समस्या निम्त्याउँछ । यसले पार्ने दीर्घकालीन असरका रूपमा उमेर अगावै चाउरीपन, दाग–धब्बा डन्डिफोर आदि निस्कनुका साथै केशलाई पनि सुख्खा र रुखो बनाउँछ । समस्या समाधानका लागि दिनहुँ दुई पटक फेसवास गर्ने, बाहिर हिँड्दा मास्क, स्कार्फ, चस्मा आदि लगाएर हिँड्ने । घामबाट जोगिन सन प्रोटेक्सन क्रिम तथा मोइस्चराइजर प्रयोग गर्ने । प्रशस्त पानी पिउने बानीका साथ फलफूल एवं तरकारीको उचित प्रयोगले छालाका कोशिकाहरूलाई पुनर्जीवित गर्छ ।

विद्या वनमाली प्रधान

बरिष्ठ वायुमण्डलीय वातावरण विशेषज्ञ, इसिमोड

काठमाडौंको वातावरण हेरेर, सुँघेर तथा अनुभूति गरेर सहजै थाहा पाउन सकिने भैसकेको छ । मनसुन सकिँदै गयो, जाडो दिन आउने क्रममा वर्षा पनि कम हुने भएकाले प्रदूषणको प्रभाव अझ बढी महसुस हुँदै जान्छ । यसो हुनुको मुख्य कारण काठमाडौंको भौगोलिक बनावट पनि हो किनभने काठमाडौं कचौराजस्तो आकारको भएको हुनाले प्रदूषण बाहिरिन कठिन छ । बढ्दो जनसंख्या तथा सडक र त्यसमा देखिने धूलो अनि सवारीसाधनको चापका कारण काठमाडौं विगतको तुलनामा बढी प्रदूषित हुँदै गएको छ । प्रदूषणको अर्को कारण भनेको यहाँ सञ्चालित इँटाभट्टा हुन् जुन जाडोमा बढी चल्छन्, यस्ता भट्टाको प्रदूषण जिकज्याक टेक्नोलोजीका कारण करिब आधा घट्दो छ । सहरमा ओजोनको समस्या कमै हुन्छ किनभने यो खुलास्थानमा बढी हुन्छ । सवारी साधनबाट निस्कने प्रदूषणले वायुमण्डलमा हुने अक्सिजनसँग रियाक्सन भएर ओजोन बन्छ । जुन एकैपटकमा बन्दैन, पटक–पटक गरेर बन्छ । प्रदूषण दुई प्रकारका हुन्छन् : पहिलो ग्यासेस पोल्युटेन्ट जसमा ओजोन, एनओएक्स, एनओटु, एसओएक्स आदि पर्छन् भने अर्को ग्यास नभएका कणहरू जस्तो ब्ल्याक कार्बन, पार्टिकुलेट म्याटर आदि । स–साना कणहरूले नाकका माध्यमबाट भित्र गएर फोक्सोसम्म असर पुर्‍याउँछन् । अहिले हाम्रो सहरी क्षेत्रको वातावरणीय प्रदूषण भनेको पार्टिकुलेट म्याटर नै हो । यो समस्या कम गर्न सुरुदेखि अन्त्यसम्म सडक पिच हुनुपर्‍यो, सवारीसाधन र फोहोरलाई व्यवस्थित गर्नुपर्‍यो भने सरकारी तहबाटै विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्नुपर्छ । जाडो बढ्दै जाँदा बाटोबाटोमा प्लास्टिक बालेर तापेको देखिन्छ । यसले स्वास्थ्यमा ठूलै नकारात्मक असर पार्छ । धूलो–धूवाँ हाम्रो छाला, केश, आँखा आदिमा पर्दा त्यसले हाम्रो सौन्दर्यलाई समेत असर पारिरहेको हुन्छ ।

डा.रूपक घिमिरे

छाला रोग विशेषज्ञ

प्रदूषणमा धूलो, धूवाँ आदि विविध कुरा हुन्छन् । धूवाँमा पनि कलकारखानाबाट निस्कने धूवाँ, सवारीसाधनबाट निस्कने धूवाँ, इँटाभट्टाबाट निस्कने धूवाँमा फरक–फरक केमिकल हुन्छन् । स्थान, समय एवं मौसमअनुसार निस्कने प्रदूषण फरक–फरक हुनसक्छन् । प्रदूषणका कारण छाला रातो हुने, चिलाउने, बिबिरा आउने, डाबरहरू निस्कने, पानी फोका आउने विविध समस्या निम्तिन सक्छन् । प्रदूषणका कारण हाम्रो ओजोन लेयर घट्दै गएको छ, यसले गर्दा घामबाट आउने विकिरण, विशेषगरी अल्ट्रा भ्वाइलेट रेज (युभीसी) ले गर्दा छालामा नकारात्मक असर पर्नुका साथै क्यान्सरसम्म हुनसक्छ जुन प्रदूषणका कारण हुने दीर्घकालीन असर हो । हाम्रो जस्तो सहरमा यसबाट जोगिन मास्क प्रयोग गर्ने, बिहान घरबाट निस्कनुअघि सनस्क्रिन लगाउने, बेलुका घर फर्किसकेपछि अनुहार धुने र मोइस्चराइजर लोसन लगाउने, खानामा पानी एवं फलफूलको मात्रा बढाउने तथा छाता बोकेर हिँड्ने काम आदि गर्नुपर्छ ।

 

हरि कुँवर

विभागीय प्रमुख वातावरण व्यवस्थापन विभाग

काठमाडौं महानगरपालिका

हामीले दैनिक रूपमा सहर सफा राख्न बाटोघाटो सरसफाइ गर्ने त छँदैछ, विविध कारणले निस्कने धूलो बढारेर, साबेल वा बु्रमरद्वारा उठाउने कामसमेत गर्दै आएका छौं । हामीसँग एउटा बु्रमर छ, खरिद प्रक्रियामा ५ वटा छन् जुन २ महिनाभित्र आइपुग्छन् । वायुमा आएको धूलो, चिस्यानका कारण उत्पादन हुने धूलो, बिरुवाको पातमा टाँसिएको धूलो आदिलाई दैनिक रूपमै टाइम टेबल मिलाएर जेट मेसिनद्वारा झार्ने र सफा गर्ने काम गरिरहेका छौं । यसपटकको वर्षा सिजनमा सिसडोल सडक अवरुद्ध भएकाले फोहोर संकलनमा केही ढिलाइ भएको थियो तर अहिले नियमित रूपमा फोहोर उठिरहेको छ । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ कसुरअनुसार दफा ३९ को सजायको व्यवस्था छ । सोहीअनुसार तोकिएको स्थानभन्दा अन्य स्थानमा फोहोर फाले सोहीअनुसार सजाय हुनसक्छ र धेरैलाई गरिसकिएको पनि छ । त्यसमा पनि यस्तो सजाय हुन्छ भन्ने जनचेतनाका लागि बेलाबेला माइकिङ, टेलिभिजन सूचना प्रसारण एवं पत्रपत्रिकामा सूचना प्रकाशनलगायत पर्चा–पम्प्लेट बाँड्ने काम गर्दै आएका छौं । काठमाडौं नगरपालिकासँग ८ वटा जेट मेसिन छन् जसले पाइपबाट पानीको फोहोरा हान्दै सडकलगायत बोटबिरुवा समेत सफा गर्छन् । अहिले बिहानपख मुख्य सडकहरू पखाल्ने कामसमेत हुँदै आएको छ ।

सरिता बस्नेत

गृहिणी

सहरमा मात्र होइन अहिले घरभित्रै पनि धूवाँ–धूलोलगायत अन्य प्रदूषण बढ्दो छ । भान्सामै पनि खाना पकाउँदा निस्कने धूवाँमा हुने केमिकलका कारण आँखा पोल्ने, घाँटी खसखसाउने, खोकी लाग्ने मात्र नभई कहिलेकाहीँ स्किन एलर्जीसमेत हुन्छ । घरबाट निस्कने फोहोरको डंगुर कति दिनसम्म उठेको हुँदैन । अझ बाटो छेवैमा भएका घरका कोठा आज सफा गर्‍यो भोलि उत्तिकै फोहोर जमिरहेको पाइन्छ । महानगरपालिकाले धूलो–धूवाँ व्यवस्थित गर्ने कुनै उपकरण प्रयोग गरेर दीर्घकालीन योजना बनाउने हो भने यस्ता समस्या धेरै हदसम्म समाधान हुने थिए । घरभित्र पनि उपयुक्त डस्टबिन प्रयोग गर्ने, दिनहुँ घर–कोठा सफा गर्ने, कोलिन, फिनेल आदि प्रयोग गर्ने हो भने प्रदूषणबाट संक्रमण हुने विविध रोग रोकथाम गर्न सकिन्छ । गृहिणीहरू पनि सरसफाइ अभियानमा जुट्ने हो भने घर मात्र होइन टोलसमेत सफा हुन्छ । घरबाट निस्कने धेरै खालका फोहोरबाट कम्पोस्ट मल बनाउन सकिन्छ जुन अर्गानिक खाद्य वा तरकारी उत्पादनका लागि उपयोगी साबित हुनसक्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्