तात्यो जाडोको बजार

लक्ष्मी भण्डारी थापा

मंसिर १६, २०७५  

जाडोको सुरुवातसँगै किनमेलको बजार तातेको छ । आम समयको तुलनामा बढी सामग्री र लुगाफाटा प्रयोग हुने मौसम यही हो । शरीरलाई मात्र नभएर घर तथा आफू वरिपरिको वातावरणलाई न्यानो राख्नुपर्ने चुनौती थपिने जाडोमा सारा सामग्रीको जोरजामका लागि पैसाको जोहो पनि मजैले गर्नुपर्छ ।

लाजिम्पाटकी इन्द्रकला कायस्थले वसन्तपुर इन्द्रचोकस्थित सुरज आर्केटबाट एकैपटक ७ वटा सिरक किनिन् । ‘अन्य समयमा कम आवश्यकता महसुस हुने हुँदा किन्ने ध्यान त्यति हुँदैन जब मौसम परिवर्तनसँगै क्रमश: चिसोले छोप्दै जान्छ तब मात्र यसको महत्व बढ्दै जान्छ र अब त किन्नुपर्छ भन्ने लाग्छ ।’ इन्द्रकला भन्छिन्–‘पाहुनाहरू आउँदा प्रत्येक कोठामा छुट्टाछुट्टै सिरक–ब्ल्यांकेट चाहिने हुँदा एकैपटकमा धेरै खरिद गरेकी हुँ ।’ उनका अनुसार जाडोमा लगाइने लुगा अनि ओढ्ने सिरक–ब्ल्यांकेटका साथै खाद्य सामग्री पनि बढी प्रयोग हुन्छ । जाडोमा हिटर, एसी, रुमवार्मर, गिजर आदि विद्युतीय उपकरण पनि बढी नै प्रयोग हुने हुँदा विद्युत् शुल्क पनि धेरै उठ्छ । इन्द्रकला यो मौसमलाई खर्चिलो समयका रूपमा लिन्छिन् । उनकै जस्तो धारणा छ–कीर्तिपुरकी सिलु महर्जनको पनि । सिलु जाडो यामलाई  पैसा चलाउने मौसम मान्छिन् । उनी भन्छिन्–गर्मीको तुलनामा जाडोमा ६० प्रतिशतभन्दा बढी खर्च हुन्छ । जाडोमा खाना बढी रुच्ने हुँदा घरायसी खाद्यान्न उपभोग पनि दोब्बर हुन्छ । लगाउने लुगा, ओढ्ने–ओछ्याउने सिरक–डसना, हिटर, गिजर, लुगा धुने वासिङमेसिन, खाना पकाउने राइसकुकर, इन्डक्सन आदिको प्रयोग पनि बढी हुने हुँदा जाडो मौसम निकै खर्चिलो साबित हुन्छ ।’

 

विद्युतीय सामग्री

जाडोमा यसै पनि बिजुली बढी खपत हुन्छ । विद्युतीय सामग्री बढी प्रयोग हुने हुँदा यो समयमा बिजुलीसम्बन्धी सामग्रीको कारोबार ह्वात्तै बढ्ने सिजी एप्पीका ज्योति खतिवडा बताउँछन् । जाडोमा हिटर, एयरकन्डिसन, रुमवार्मर, गिजर, इलेक्ट्रिक ब्ल्यांकेट बढी बिक्री हुने बताउँदै ज्योतिले भने–‘यी सामग्रीका क्रेता निकै बढेका छन् । विदेशी ब्रान्ड नेपालमै उपलब्ध हुन थालेपछि विदेश जाँदा उतैबाट ल्याउनुको साटो अहिले यहीँ खरिद गर्नेहरू धेरै छन् । उताबाट दुई–चारवटा ल्याउँदा भन्सारलगायत विविध झन्झटका कारण पनि यतै किन्नु उत्तम मान्ने क्रेताहरू उल्लेख्य छन् ।’ चाइनिज तथा भारतीय ब्रान्डका विद्युतीय उपकरण बढी बिक्ने नेपालमा मूल्यका हिसाबले अलि महँगा भए पनि युरोपियनलगायत बंगलादेशी विद्युतीय सामान खरिद गर्नेहरू पनि कम छैनन् ।

हल्यान्डको टेक्नोलोजीमा आधारित फिलिप्स शोरुम कुमारीपाटीकी सेल्स एक्ज्युकेटिभ अनिता थापा जाडोमा पानी तताउने केटल, टोस्टर, स्याडबिच मेकर बढी बिक्ने कुरा बताउँछिन् । धाराबाट पिउन उपयुक्त पानी नआउने भएकाले हरेकले तताएर पानी पिउने हुँदा काठमाडौंमा पानी तताउने केटलको ठूलो माग छ । सिजी, एलजी, हायर, गोदरेज, सोनी, पानासोनिक आदि ब्रान्डका विद्युतीय सामग्री हाल नेपालमा बढी प्रचलनमा छन् । फिलिप्सको शोरुम कान्तिपथकी अनिरा ज्योति काठमाडौंको धूलो–धूवाँबाट स्वच्छ श्वास लिन अहिले एयर प्युरिफायरको माग बढेको बताउँछिन् । ज्योतिका अनुसार एयर प्युरिफायरले कोठाभित्रको प्रदूषित हावालाई तानेर स्वच्छ र स्वस्थ हावा फाल्छ । हाम्रो जस्तो विकासोन्मुख मुलुकका सहरहरूमा बस्नेहरूको स्वस्थ जीवनका लागि यो निकै आवश्यक र उपयोगी छ ।

सिरक, डसना तथा ब्ल्यांकेट

नेपालीहरू केही समयअघिसम्म पुरानो शैलीको कपास फिटेर बनाइने सिरक–डसनामा अभ्यस्त थिए, त्यसपछि टिम्बा सिरकतर्फ धेरै मानिस आकर्षित भए । अहिले त्यो पनि पुरानो भैसकेको छ । पछिल्लो समय निकै न्याना र ताता फाइबरका सिरक एवं कोरियन ब्ल्यांकेटले बजार ढाकेका छन् । डेढ दशकअघिदेखि सिरकको कारोबार गर्दै आएका चावहिलका मदन थापा क्षेत्री हाल नेपालीहरू कोरियन–चाइनिज ब्ल्यांकेट तथा फाइबरका सिरकतर्फ तानिएको बताउँछन् । यी सिरक अत्यन्तै न्याना र तौलमा निकै हल्का हुने भएकाले एक ठाउँबाट अर्को ठाउँमा सार्दा भार नपर्ने, पुरातन सिरकजस्तो छिट्टै नच्यातिने र भित्री भागमा डल्ला नपर्ने कारण लोकप्रिय भएका थापाको भनाइ छ । थापाका अनुसार‘उहिले हङकङ–कोरिया पुग्ने एक–दुईले मात्र यस्ता ब्ल्यांकेट–सिरकको न्यानो पाउँथे तर करिब आधा दशकअघिदेखि तातोपानी नाका र बंगाल बन्दरगाहबाट यी सामग्री नेपालसम्म आइपुग्न सफल भए । अहिले रसुवागढी नाकाबाट दैनिक ठूलो मात्रामा यस्ता सिरक–ब्ल्यांकेट भित्रिरहेका छन् ।’ भेडासिंहका सिरक–डसना व्यापारी मदन प्रधानका अनुसार जस्तै आधुनिक सामान आए पनि नेपालीहरू पुरानै शैली र डिजाइनका सिरक मन पराउँछन् । प्रधानका अनुसार आफ्नै आँखाअगाडि कपास फिटेर यस्ता सामान बनाउनुमा अर्कै विश्वास हुने हुँदा यसको आकर्षण कम नभएको हो । मदन जाडोमा झन्डै सय किलोभन्दा बढी कपास फिटेर सिरक–डसना आदि निर्माण गर्छन्, अझ कहिलेकाहीँ त त्यसभन्दा बढी हुन्छ ।

पहिरन

जाडोमा जति सामग्री उपभोग हुन्छन् तिनलाई लक्षित गरी व्यापारीहरू पनि जुर्मुराउँछन् तसर्थ गर्मीको तुलनामा जाडोको बजार निकै तात्छ । पैसाको ठूलो कारोबार हुने समय पनि यही भएको बताउँदै काठमाडौं मलको तेस्रो तल्लामा अवस्थित रुडसेकका प्रकाश थापा भन्छन्–हाम्रो व्यापार चम्किने भनेकै जाडो अनि चाडपर्वमा हो । जाडोमा आवश्यक लामा–छोटा ज्याकेट, थर्मकोटदेखि लिएर कटराइज, ऊलनका न्याना पहिरनमा फाइदा पनि राम्रै हुन्छ । त्यसबाहेक यो समयमा बालबालिकाका पहिरनको माग दोब्बर वृद्धि हुन्छ ।’ जाडोमा बालबालिकालाई चिसोले छिट्टै समात्ने हुँदा उनीहरूलाई ताता पहिरनको आवश्यकता पर्छ । त्यसैले बालबालिकाको पहिरनमा पनि मानिसहरूले प्रशस्तै खर्च गर्ने नानापसलकी सञ्चालक आँचल प्रधान बताउँछिन् । आँचल भन्छिन्–‘जाडोमा बालबालिकाका पहिरन बढी बिक्री हुन्छन् । अभिभावकहरू आफू नलगाएर भए पनि आफ्ना बालबालिकाको आवश्यकता पूरा गर्ने ध्येयमा हुन्छन् । त्यसैले अहिलेका बालबालिकाहरू यो मामिलामा बढी नै भाग्यमानी छन् ।

ठूला मल तथा सपिङ स्टोरहरू मात्र होइन स–साना खुद्रा तथा सडकपेटीका पसलहरूमा समेत उत्तिकै चाप देखिन्छ । स्वेटर, ज्याकेट, पाइन्ट, टिसर्ट तथा थर्मकोट जाडोमा बढी खरिद–बिक्री हुने पहिरन हुन् । भारत, चीन, बंगलादेश, थाइल्यान्ड, अमेरिकासहित युरोपका विभिन्न देशलगायत, अस्ट्ेरलिया र अफ्रिकन मुलुकबाट नेपाल भित्रिने पहिरनको मूल्य गुणस्तर र ब्रान्ड हेरी निर्धारण गरिन्छ । भारतसँग जोडिएको दक्षिणी नाकाबाट ठूलो मात्रामा भारतीय पहिरन नेपाल भित्रिन्छन् भने रसुवागढी नाकाबाट केरुङ हुँदै टनका टन चाइनिज लत्ताकपडा एवं विद्युतीय सामग्री नेपाल भि×त्र्याइन्छ । अहिले दैनिक सय टनभन्दा बढी सामग्री नेपाल भित्रिरहेको रसुवागढी नाकाले जनाएको छ ।

मोजा, पञ्जा, टोपी तथा थर्माकोट

नेपालीहरूलाई जाडोका साना र भित्री सामग्री फुटपाथमै किन्ने बानी परेको छ । यद्यपि अहिले ठूला मल, सपिङ स्टोर तथा ब्रान्डेड शोरुमहरूमा पनि यी सामग्रीको खरिद–बिक्री बढ्दै गएको छ । न्यूरोड खिचापोखरीकी व्यापारी वसुना कार्की यस्ता साना आइटम गुणात्मक रूपमा बढी बिक्री हुने भए पनि नाफाका हिसाबले त्यति नाफा भने नहुने बताउँछिन् । ‘ग्राहकको ध्यान सयमा तीन–चार जोर पाइने मोजातर्फ नै बढी हुन्छ । हाम्रो जस्तो ब्रान्डेड सामानमा मूल्य अलि बढी पर्छ तर टिकाउ हुन्छ । यो कुरा कमैले मात्र बुझ्छन् ।’ वसुनाका अनसार ‘दुई–चार पटक प्रयोग गरेपछि पुन: प्रयोग नगर्ने ढंगले खरिद गरिने यस्ता सामग्रीमा धेरै पैसा हाल्नुको तुक देख्दैनन् ग्राहकहरू ।’ काठमाडांै मलअगाडि टोपी, पञ्जा, मोजा, थर्माकोट आदिको व्यापार गर्दै आएकी काभ्रेकी ललिता तामाङ आफ्नो व्यापार फस्टाउन जाडो कुरेर बस्नुपर्ने बताउँछिन् । तामाङ भन्छिन्–‘धेरै त बच्चाको आइटम जान्छ । आफूलाई किन्न भनेर आएका ग्राहकहरू पनि बालबालिकाका लागि डबल जोर किनेर लान्छन् ।’ सय रुपैंयाँमा ३ जोर मोजादेखि सय रुपैंयाँमाथिका ऊनीका टोपी तथा पञ्जालगायत थर्माकोट उनको पसलका आकर्षण हुन् । पिपुल्स प्लाजाका व्यवसायी नरेशले यो वर्ष भारी मात्रामा थर्माकोट भित्र्याएका छन् । डलर, रूपा, लक्स आदि ब्रान्डका थर्माकोट महिला–पुरुष दुवैका लागि उपलब्ध छन् । नरेश भन्छन्–‘यो समय नै न्याना पहिरनको हो । जाडोका बाहिरी पहिरनमा हामीले यो वर्ष फरक शैली र डिजाइनमा जोड दिएका छौं ।’

 

तराईमा पनि जाडो बढ्दै

उहिले जाडोमा दाउरा बढी खपत हुने तराईमा अब त दाउराको पनि अभाव छ । तराईका विभिन्न भागमा कुहिरो, हुस्सु र शीतलहरका कारण ठूलो संख्यामा मानिसहरू प्रभावित हुन्छन् । दाउरा हुनेहरू आगो बालेर ताप्ने र नहुनेहरू भुस्सा, फ्याँकिएका पराल–कागज वा झिंगटी बालेर समेत न्यानो लिन खोज्ने तराईबासीहरूमा अहिले त्यसको समेत अभाव हुन थालेको छ । अहिले तराईका मुख्य–मुख्य सहर मात्र नभएर गाउँ–गाउँसम्म नै फाइबरका सिरक, ब्ल्यांकेट तथा भित्र फर–भुवा भएका लत्ताकपडा पुग्न थालेका छन् । छिमेकी मुलुक भारतको साँधमा रहेका नेपालका तराईका भू–भागहरूमा धेरैजसो भारतीय ब्रान्डका सामग्री प्रयोग गरिन्छ । केही समयअघिसम्म लुगाफाटादेखि कम्बल, सिरक, डसना एवं विद्युतीय उपकरणसमेत भारतीय नै बढी चल्ने उक्त भू–भागमा अहिले चीन, थाइल्यान्ड, बंगलादेश आदि मुलुकबाट भित्र्याइएका सामग्रीहरूसमेत चल्तीमा आउन थालेका छन् । अन्य ब्रान्डको तुलनामा सुलभ चाइनिज उत्पादन देहातका हाटहरूमा समेत छाउन थालेका छन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्