छोरी बिकाउने कि टिकाउने ?

- यमुना अर्याल, काफ्ले

मंसिर १२, २०७५

केही समयअघिको एउटा घटना, छिमेकी बहिनी भर्खर नौ कक्षामा पढ्दै थिइन्, दाइ बी.ए. सकेर लोकसेवाको तयारी गर्दै थिए काठमाडौंमा । एकाएक दाइ काठमाडौंबाट गाउँ हान्निए, अरू कामले होइन सिर्फ बहिनीको विवाह गरिदिन । आफू २६ वर्ष पुगेका दाइ बाआमाले भनेकै भरमा १७ वर्ष पुगेकी बहिनी अन्माउन हतारिए । दाइले बहिनीलाई उमेर सानै छ, पढाउनुपर्छ, म दाइको त विवाह भएको छैन भने बहिनीको के बितेको छ ? कम्तीमा २० वर्ष नपुगी बहिनीको विवाह गर्नु हँुदैन भन्ने आँट गरेनन् । साथीसंगीको संगत गतिलो छैन, पछि बिग्रिई भने कसले लान्छ बरु चाँडै विवाह गरिदियो पठायो आनन्द, एकपटक अर्काको घर जाने हो आखिर आमाबुवाको तर्क थियो । बहिनीले सुरुमा मानिनन्, दाइको विवाह भएको छैन मेरो विवाह गर्न किन हतार ... यति मात्र बोलेकी बहिनीले त्यसभन्दा बढी बोल्ने आँट गर्न सकिनन् । आमाले सम्झाइन्–पोहोर साल (छिमेकीकी छोरीलाई इंगित गर्दै) त्यो गीता त्यसै गरेर बाउँठिएर बसी, पछि अर्कै जातको केटासँग भागेर गई, बाउआमाले ठिक्क पारेको केटो भड्काई, हेर त उनीहरूको इज्जत के भयो ? आखिर विवाह गरेर बिग्रने के छ ? हामीलाई पनि छोरीको के होला, कसो होला भन्ने पिरलो नहुने तँलाई पनि आनन्द । केटाको घरपरिवारले विवाह गरेपछि पनि पढाउने भनेकै छन् ।

बहिनीको एक्लो जिद्दीको केही चलेन, परिवारै लागेपछि अझ त्यसमाथि पढेलेखेका दाइले पक्कै साथ देलान् भनेकोमा दाइले समेत विवाह गर्नैपर्छ भनेर अडान लिएपछि बहिनी इन्तु न चिन्तु भइन् । आज कुराकानी भयो, तीन दिनपछि धुमधामसँग विवाह भयो बहिनीको । बहिनीले ट्युसन पढ्न पैसा माग्दा बुवाले छैन पैसा, घरमै पढे हुँदैन् भनेर हप्काउँथे, त्यही छोरीको विवाह यति धूमधामसँग गरिदिए कि मानौँ छोरीको विवाह गर्ने भनेपछि पैसा आकाशबाट ओइरिन्छ ।

कलिली बहिनी बेहुली बनेर पराइ घर गई । विवाहको केही समय उसले केही गुनासो गरिन, ज्वाइँ सहरमा बस्थे पढाइको सिलसिलामा । बहिनी विवाह गरेको एक वर्ष नपुग्दै आमा बनी, पढाइको बहानामा ज्वाईंले बिस्तारै घर बिर्सन थाले । उनको संगत गतिलो नभएको, कुलतमा फसेको र छोरो बिग्रिएको थाहा पाएपछि बाउआमाले विवाह गरेपछि सुध्रिन्छ भनेर मात्र विवाह गरिदिएको हल्ला बाहिरियो । सानै उमेरमा विवाह गरेर आमा बनिसकेकी बहिनीको स्थिति खराब हुँदै गयो । ऊ मलाई बरु गर्भमै मारेको भए हुन्थ्यो, किन यत्रो उमेरमा मार्न खोज्यौ भन्दै बाआमासँग रुन थाली ।

आमाबुवासँग यो सानी छोरीको मुख हेरेर बस्, भाग्यमा जे लेखेको छ त्यही हुन्छ । सबैले राम्रो घरपरिवार, पढेलेखेको केटो भने आफन्तको विश्वासमा परेर विवाह गर्दा अहिले यस्तो भयो भन्नुको विकल्प रहेन । उनले पाएको सास्ती र हन्डर बखान गरिसाध्य छैन, कम्तीमा छोरी बिकाउने मात्र होइन, उनको घर टिकाउनुपर्छ भन्ने कुरा सोचेको भए आज उनले यस्तो नियति भोग्ने थिइनन् ।

१८ वर्ष पुगेकी उर्मिला पोखरेल (नाम परिवर्तन) दस कक्षाको सेन्टअप परीक्षामा असफल भइन् । तीन छोरीमध्येकी जेठी उर्मिलाले सेन्टअप उत्तीर्ण गर्न नसकेकै कारण करकापमा आमाबाबुको निर्णय मान्नैपर्ने अवस्था आयो । अर्को पटक पढेर पास गर्छु भन्दा पनि उनको कुरा सुनिदिने कोही भएनन् । चार वर्ष पहिले छिमेकीले कुरा चलाएका केटासँग उनको मागी विवाह भयो । करकापमा बाध्य भएर विवाह गरेकी उर्मिलाका श्रीमान् भने उनीभन्दा आठ वर्ष जेठा हुन् । आफन्तले कुरा चलाएको चिनजानको केटा भन्दै आमाबाबुले त्यही भरोसामा आफ्नी छोरीसँग एक बचनसम्म नसोधी उनको विवाह गरिदिए । सेन्टअप फेल हुनु नै आफ्ना लागि दुर्भाग्य भएको बताउने उर्मिला अमिलो मन बनाउँदै बाध्यतापूर्वक डोली चढिन् ।

विवाहको एक वर्षसम्म घरका आफन्तले उनलाई छोरीको जस्तो व्यवहार गरे, नराम्रो कुरा सुन्नु–भोग्नुपरेन । बाआमाले घाँडो बनाए पनि घरका सासू–ससुरा देवताजस्ता लाग्थे उनलाई । विवाह गरेको एक वर्ष पुगेपछि उनका श्रीमान् विदेश जाने निर्णयमा पुगे । आर्थिक अवस्था राम्रो हुन्छ भने उर्मिलाले नाइँनास्ती गर्ने कुरा आएन, आफू दुई जिउकी भए पनि बिदाइका हात हल्लाउँदै श्रीमान्लाई बिदा गरिन् उनले । श्रीमान् विदेश गएको चार महिनापछि उर्मिलाले गाउँकै स्वास्थ्यचौकीमा छोरो जन्माइन्, सम्पर्कमा आइरहने, सन्चो–बिसन्चो सोधीखोजी गरिरहने श्रीमानलाई भर्खर जन्मिएको छोराको फोटो पठादिइन् । संगीसाथीले ठ्याक्कै बाउजस्तै रहेछ भन्दै बधाई दिए, तर यो खुसी धेरै दिनसम्म टिक्न सकेन । छोरो जन्मिएको केही समयपछि उर्मिलाका श्रीमान्को फोन सम्पर्क, कुराकानी बिस्तारै पातलिँदै जान थाल्यो । घरका आफन्तको पनि फोन उठाउन छाडे, उर्मिलासँग पनि कुराकानी ठ्याप्पै बन्दजस्तै भयो ।

आफन्तले कुरा ल्याएको चिनजानको केटा भनेर विवाह गरिदिएका उर्मिलाका आमाबाबु पनि ठूलो बेचैनीमा परे । ज्वाईंको अत्तोपत्तो छैन, कहीँ कसैसँग सम्पर्कमा छैनन् । अहिले छोरो तीन वर्षको भैसक्यो, उसले बाबाको मुहार देख्न पाएको छैन । आफ्ना दौंतरीलेझैं आफ्नो बाबा खोज्छ छोराले, तर उसलाई के जवाफ दिने ? छोराको अत्तोपत्तो नभएपछि घरपरिवारमा पनि सन्नाटा छायो । गएको दसैंमा एकजना आफन्तले नराम्रो कुरा सुनाए । उर्मिलाका श्रीमान्ले उर्मिलासँग विवाह गर्नुुभन्दा पहिले नै अर्कै जातकी केटी विवाह गरेर काठमाडौंमा राखेको छ, पहिलेकी श्रीमतीतिरको छोरो आठ–नौ वर्षको छ । यस्तो अप्रिय खबर सुनेपछि उर्मिलाको ज्यान सुकेर आधा भैसकेको छ, उजुरी कहीँ गरेकी छैनन्, माइतीमा आमाबाबु पनि मुरमुरिएर बसेका छन्, सासू–ससुरा पनि रिसले आगो भएका छन् तर सम्बन्धित व्यक्तिको अत्तोपत्तो छैन । विदेशमा जुन कम्पनीमा काम गर्न भनेर गएका थिए, त्यहाँ सोध्दा बिदा लिएर नेपाल गएको भन्छ, नेपालमा अत्तोपत्तो छैन ।

भर्खर विवाह गर्ने उमेर भएकी उर्मिला तीन वर्षको छोराकी आमा भैसकिन्, तर उनको वैवाहिक जीवन सुमधुर हुन सकेन । आमाबाबुले कुरा नबुझी विवाह गरिदिँदा आफूले यो नियति भोग्नुपरेको गुनासो छ उनको । एक त उनी उमेर नहुँदै विवाह गर्न बाध्य भइन्, अर्कातर्फ पहिले लुकीछिपी विवाह गरिसकेका श्रीमान्सँग । खाइलाग्दो उमेरकी उर्मिला सुकेर लौरीजस्ती भएकी छिन् । छोराको अत्तोपत्तो नभएपछि सासू–ससुरा पनि तनावमा छन् । सुटुक्क विदेश जाने, काठमाडौंमा जेठी श्रीमतीको डेरामा बस्ने, यतैबाट फर्कने खबर बेलाबखत चिनजानका आफन्तले सुनाउँछन्, तर उनीसँग घरपरिवारको सम्पर्क भने छैन ।

हतारमा निर्णय गर्ने अनि फुर्सदमा पछुताउने हाम्रो बानी नै भैसकेको छ । उर्मिलाले जति मानसिक पीडा भोगेकी छिन् त्यसको परिपूर्ति त जति गर्दा पनि हुन सक्दैन, यसबाट उनले कहिले न्याय पाउँछिन् ? श्रीमती, बाआमाको माया नभए पनि अबोध छोराको समेत माया नहुने कति निष्ठुरी श्रीमान् रहेछ भन्दै आफन्तले समेत कुरा काट्न थालेका छन् । छोराले जति नराम्रो गरे पनि त्यसको अपजसचाहिँ उर्मिलाले सुन्नुपर्छ । आफ्नो केही गल्ती छैन, तैपनि लान्छनाका शब्दहरू सुन्दासुन्दा कान पाकिसकेको बताउँछिन् उनी । उजुरी गरौँ आफूसँग प्रमाण छैन, उजुरी नगरौँ पेटमा छोरो हुँदा विदेश गएका श्रीमान् छोरो तीन वर्षको भैसक्दासम्म सम्पर्कमा आउँदैनन्, कसको मुख हेरेर कुन आशाले यो घरमा बस्नु ? उर्मिलाको दैनिकी निराश बन्दै गएको छ । पढाउन नसकेर बाआमाले जस्तो केटा भए पनि हुन्छ भन्दै टीका लगाइएर पठाउँदा आफूले यस्तो अवस्था भोग्नुपरेको उनको गुनासो छ ।

उर्मिलाजस्ता पात्र समाजमा धेरै छन् जो पहिले आफन्तको करकापमा विवाह बन्धनमा बाँधिन्छन्, पछि त्यसकै परिणाम भोग्न बाध्य हुन्छन् । बाआमाहरू छोरीको विवाह गरिदिएपछि बोझ हल्का भएको महसुस गर्छन् तर छोरी बोझमाथि बोझमा गाँजिन्छिन् । ११ कक्षामा अध्ययनरत एकजना छिमेकी बहिनीलाई सरकारी जागिरे केटो भनेपछि बाआमाले एक बचन नसोधी पोहोर साल विवाह गरिदिए । बहिनी पढाइमा निकै तगडा थिई, सरहरूले समेत अहिले विवाह गर्ने बेला भएको छैन भन्दै बिन्ती गरे, तर बाआमाले पटक्कै सुनेनन् । पढ्ने मन भएकाले विवाहपछि पनि पढ्छन् भन्दै जबर्जस्ती उनको विवाह सम्पन्न गरियो । ज्वाईंको जागिरबाहेक आमाबाले केही हेरेनन्, विवाहपछि थाहा भयो, केटो त डिप्रेसनको सिकार भैसकेको रहेछ । औषधि खाइरहेको देखेपछि बहिनीले सासूसँग सोधिछन्, छोराले त चार वर्षदेखि औषधि खाँदै आएको छ भन्ने कुरा थाहा पाएपछि हँसिलो मुहारकी बहिनीको अनुहारमा एकाएक औँसीको कालरात्रिजस्तै सन्नाटा छायो ।

दिमागका पनि रोगी रहेछन्, त्यसपछि एकपछि अर्को कुरा छरप्रस्ट हुन थाले । अहिले १२ कक्षामा पढ्नुपर्ने बहिनी, श्रीमान्को स्याहार गरेर बसेकी छिन् । एकैछिन छोड्न नहुने छारे रोगी पनि रहेछन्, यस्ता केटालाई भिराए जागिरको लोभमा, आफ्नो जीवन बर्बाद भयो भन्दै भाग्यलाई सराप्छिन् ती बहिनी । आमाबाले पनि अहिले पश्चाताप गरिरहेका छन्, ज्वाईं तलमाथि भए भने कलिली छोरीको बेहाल हुने भयो भनेर । उता बहिनीका सासू–ससुरा भने बुहारी त राम्री छ अर्को केटो पाइहाल्छे नि यो छोरो तलमाथि भयो भने यस्तो छोरा हामीले कहाँ पाउनु भन्दै उनैलाई सुनाउँछन् । विवाह गरिदिने बेलामा केही नसोच्ने तर विवाह भैसकेपछि ऐया र आत्थो गरेर केही फाइदा छैन । मेरो भविष्य बाआमाले डामाडोल पारिदिए अरूको जीवन यस्तो नहोस् भन्छिन् बहिनी । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम अभिभावक एवं छोराछोरी दुवैका तर्फबाट नगरौं–नगराऔं ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्