पैसा, पर्व र दक्षिणा

- सलोनी सिंह, सामाजिक अर्थशास्त्री

कार्तिक २०, २०७५ पैसा स्रोत हो । जीवन यापन, लगानी एवं सामाजिक स्तर निर्धारण गरी संस्कार–संस्कृति मेन्टेन गर्ने अत्यावश्यक स्रोत हो–पैसा । यो तरल छ जुन आकारमा ढाल्यो त्यस्तै हुन्छ । जसरी जे कुरामा उपयोग गर्‍यो त्यस्तै प्रतिफल दिन्छ । यसको सदुपयोग गर्न सकियो भने सबै कुराको अभिवृद्धि हुन्छ, सकिएन भने बगेर वा सुकेर जान्छ । यसले सुन किने सुन बन्छ, विष किने विष बन्छ । मानिसका आवश्यकता अनन्त छन् । उतिबेला एउटै व्यक्ति वा परिवारले सबै आवश्यकताका वस्तु उत्पादन गर्न सक्दैनथे । एकले उत्पादन गरेको वस्तु अर्काले उत्पादन गरेको वस्तुसँग साटफेर गरिन्थ्यो जसलाई वस्तु विनिमयका रूपमा हेरिन्थ्यो ।

धान फलाउनेले फलफूल उत्पादकसँग सामान साटेर आफ्ना आवश्यकता पूरा गर्थे । क्रमश: धातु (हीरा, सुन, चाँदी, तामा, पित्तल, फलाम) लाई पैसा मान्न थालियो । अहिलेसम्म धातु डिपोजिटका आधारमा कुनै पनि देशको मूल्य निर्धारण गरिन्छ । दोस्रो कुरा व्यापार सन्तुलनका आधारमा पनि यसलाई मापन गरिन्छ । हाम्रो देशमा सुन वा अन्य अमूल्य धातुको भण्डारण कम छ । त्यसैले हाम्रो पैसाको मूल्य पनि कम देखिएको हो । विनिमय प्रणालीलाई उपयोग गर्ने चीज भनेकै अर्थतन्त्र हो । सुन–चाँदीका सिक्का बोक्न र ओसारपसार गर्न असहज अनि जोखिम हुन थालेपछि यसलाई कागजमा रूपान्तरण गरियो । पेपर मनी अर्थात् कागजी पैसा कुनै पनि देशको अमूल्य धातु भण्डारण र ब्यालेन्स अफ ट्ेरड अर्थात् ऋणमा आधारित हुन्छ ।

 

अहिले विश्व एउटा गाउँजस्तो भैसकेको छ । मोबिलिटी बढ्दै गएको छ । मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जान थाले । सहजताका लागि तरल माध्यमको खोजी हुन थाल्यो । फलस्वरूप अहिले कागजी पैसाबाट डेबिड, क्रेडिट कार्ड प्रयोगमा आउन थालिसकेको छ । अझ त्यसभन्दा अघि बढेर संसार मोबाइल बैंकिङसम्म पुगिसकेको छ जहाँ हातमा भएको मोबाइलबाट एक क्लिक गरेको भरमा आफ्नो आर्थिक कारोवार सम्पन्न गर्न सकिन्छ ।

हामीकहाँ अहिले पैसाको मूल्य खस्कँदो छ । मूल्य वृद्धि र पैसाको मूल्यांकन घटेका कारण जीवन धान्न गाह्रो पर्दै गएको छ । दसैं, तिहार, छैठ आदि पर्व मनाउने कुरामा पनि यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । चलिआएको चलन मान्नैपर्ने, स्तर मिलाउनैपर्ने हुँदा पैसाको आवश्यकता बढ्दै गएको छ । हाम्रा पर्व खर्चिला हुँदै गएका छन् जसको प्रमुख कारण भने हाम्रो डिभ्यालुएसन र बढ्दो एक्सपोजरको प्रभाव हामीमा पर्दै अनि बढ्दै जानु हो । पहिले हामी निर्वाहमुखी अर्थतन्त्रमा थियौं । जीवन निर्वाहका लागि आवश्यकताका हरेक चीज घरमै उत्पादन गरिन्थ्यो । अहिले हामी बजारमुखी अर्थतन्त्रमा छौं ।

यसको अर्थ हामीलाई आवश्यक हरेक सामग्री पैसाद्वारा बजारबाट खरिद गर्नु हो । अब हामी ह्युमेन रिसोर्स एक्सपोर्टमा प्रवेश गरिसकेका छौं । हाम्रो जनशक्ति कामका लागि विदेशी भूमिसम्म पुगिरहेको छ । त्यो जनशक्ति फर्कदा रेमिट्यान्स र विदेशी मुद्रा मात्र लिएर फर्कदैन सँगै विदेशी संस्कार, खानपान, संस्कृति, वेशभूषा र त्यहाँको जीवनशैली सँगै लिएर फर्कन्छ ।

पैसा भित्र्याएपछि सबैकुरा पैसाले किन्न पाइन्छ भन्ने हुँदै गएको छ । उतिबेला दसैंमा टीका लगाइदिएर दही–चिउरा वा मासु–चिउरा, फलफूल वा आफ्नो घरमा जे छ त्यही प्रसादका रूपमा टपरीमा राखेर पाहुनाका अगाडि टक्र्याइन्थ्यो तर अहिले हातमा पैसा थमाइन्छ । माइती आएका छोरीचेलीलाई समेत कोसेलीको सट्टा पैसा बोकाएर पठाइन्छ । रेमिट्यान्सले क्यास कल्चर बढायो । अहिले त स–साना बालबालिकाले समेत सय रुपैंयाँलाई पैसा गन्न छाडिसकेका छन् । दक्षिणामा कति पैसा दिए लेखाजोखा र हिसाबकिताब हुन थालेको छ । त्यसैले चाडपर्वको महत्व क्रमश: कम हुँदै गयो र त्यसको ठाउँ नगदले लियो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्