मखमली फूलझैं हुन् भाइहरू

डा. नम्रता पाण्डे

कार्तिक १८, २०७५

‘ओखरमा फोडिदिएँ बाधाहरू मैले,

जहाँ पनि पुग दाजै घामभन्दा पहिले’ .....

हाम्रो प्रेम, हाम्रो परिवार, हाम्रा भाइहरू, हाम्रो आत्मीयता र हाम्रो संस्कृति कुनै परिभाषामा समेटिन सक्दैनन् । बर्सेनि आउने भाइटीका र आशीर्वादले मात्र भाइ–बहिनीहरूको सम्बन्ध र प्रेमको वर्णन अपूरो हुन्छ । तिहारमा लगाइने सप्तरंगी टीकाको माध्यमबाट सुविचार, सकारात्मक धारणा अनि प्रेम अभिव्यक्त गर्न खोजिएको हुनुपर्छ । अर्कातर्फ रंगले हाम्रो शरीरमा तरंग एवं संवेदना उत्पन्न गर्छ । हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रंगसँग छ त्यसरी नै भाइटीकामा प्रयोग गरिने रंगले उस्तै वैज्ञानिक तथा आध्यात्मिक महत्व राख्छन् । रंगहरूको प्रयोग र प्रभाव मानव जीवन, जगत् र पदार्थ सँगसँगै रहन्छ, मखमली फूलको माला पहिराएर मखमली फूलझैं दीर्घायु देख्न चाहन्छन् आफ्ना दाजुभाइहरूलाई दिदीबहिनीहरू ।

मखमली फूल सधै उस्तै देखिन्छ कहिल्यै ओइलाउँदैन । दूबो कहिल्यै सुक्दैन । अलिकति चिसो भेट्नेबित्तिकै हरियो हुन्छ । तेल माटोमा पर्दा सुक्न धेरै समय लाग्छ । त्यसैले पनि दाजुभाइको दीर्घायुको कामना गर्दा प्रेमको अभिव्यक्तिस्वरूप यस्ता प्रसंग जोडिएर आएका हुन् । ‘तेलको धारा नसुकेसम्म, मखमलीको माला नओइलाएसम्म र दूबो नसुकेसम्म यमदूतले मेरा दाजुभाइलाई लान नसकून् । ओखर फोडेर भाइहरूको दु:ख मेटाउने, दूबो र तेलको घेराभित्र भाइहरूलाई राखेर यमराजबाट जोगाउने प्रचलन र विधिमार्फत गहिराइसम्मको आत्मीयता, करुणा, प्रेम एवं सुमधुर सम्बन्धको सन्देश दिन्छन्–दिदीबहिनीहरू ।

दीपावली तथा यमपञ्चकका रूपमा ५ दिन मनाइने तिहार बिल्कुल पारिवारिक र प्रकृतिसँग निकट सम्बन्ध राख्ने महत्वपूर्ण पर्व हो । आफ्नै मौलिकता रहेका हाम्रा पर्वहरूमा नजानिँदो तरिकाले विकृति भित्रदा पुराना दिनहरूको रमाइलो सम्झनामा डुब्नुको विकल्प छैन । साँझपख घरको छतमा उक्लँदा गमलामा सयपत्री र मखमली फक्रिएको देख्दा बाल्यकालमा गाउँघरमा बारीको छेउ र कान्ला अनि पाखापाखामा गाइतिहारे पहेंलपुर फुलेको सम्झना कसलाई नआउला ? सयपत्री, मखमली र गाइतिहारेले ढपक्क ढाकेका कान्ला र पाखाहरूले तिहार आएको संकेत गर्थे । विद्यालय छुट्टी भएपछि साथीभाइ घर नजिकको चौरमा जम्मा भएर पिङ खेल्ने, गाइतिहारे संकलन गरी घरको गेटमा टाँग्न तोरण बुन्ने कुराकानी, चहलपहल र उमंगले वातावरण नै स्वच्छ भएको अनि सबैमा हर्ष छाएको अनुभूति हुन्थ्यो ।

 अब त गाउँ र सहरका चाडपर्व पनि छुट्टिने गरेका छन् । सहरिया बसाइ र सुखभोगले आफ्ना पुराना मौलिकता छोड्दै जानुपर्ने बाध्यता छ । कंक्रिटको सहर काठमाडौंमा गाइतिहारे कहाँ पाउनु ? गाइतिहारे फुलेसँगै सकारात्मक र पर्वमय भएर फक्रिने मनहरू कहाँ पाउनु ? विद्यालय छुट्टी हुनासाथ तिहारको योजना बनाउन चौरमा भेला भै गफगाफमा फेला पर्ने आत्मीयता कसरी भेटाउनु ? छुट्टीलाई घरबाट बाहिर ननिस्की धूवाँ–धूलो र प्रदूषणबाट आफूलाई जोगाउने अवसरका रूपमा लिनुपर्ने बाध्यता छ हामी सहरियाहरूलाई । नयाँ–नयाँ विकासका साथमा हाम्रा भावनालाई नयाँ आयाममा प्रस्फुटन हुन दिई मौलिकतामा स्थिर हुने प्रयास गर्न सके कति राम्रो हुन्थ्यो ?

प्रेम र सद्भाव त अहिले फूलको बजारमा, मिठाईं र कपडा अनि दीप जलाउने बत्तीहरूको बजारको भीडमा खोज्नुपर्ने भएको छ । शुद्धता र अशुद्धता, मिसावट र अर्गानिक छान्न सक्नुपरेको छ सामान हुन् वा मनहरू । गाउँमा खेलिने देउसी भैलो र सहरको देउसी भैलोमा आकाश–पातालको फरक छ । समूह मिलेर रातभर देउसी भट्याउँदै, घरबेटीले दिएका, डालोमा संकलन गरिएका सेल, केरा र अम्बा टोकी लड्दैपड्दै खेलिने देउसीको आनन्द, आत्मीयता र वास्तविक पर्वको मर्म अब सम्झनामा सीमित हुन थालेका छन् । हाम्रा सन्ततिलाई यी प्रचलन दन्तेकथा बन्नेवाला छन् ।

सहरको देउसी अब औपचारिक, हामी आउंँछौं है भन्दै, निम्तो पठाएर (कृत्रिम) खेलिन्छ । छिमेकी र आफन्तसँगको भेटघाट औपचारिक हुन थालेको छ । मानिसहरू व्यस्त मात्र होइन अस्तव्यस्त छन् । आत्मामा भरपूर प्रकाश छैन, जसले आन्तरिक सुन्दरताको अभाव हुँदै गएको छ । दीपावलीको मर्म मैनबत्तीमा सीमित भएको छ । आफूभित्रको दीप नजलेसम्म बाहिर उज्यालो कसरी देखिनु ? आन्तरिक सुन्दरता नभएसम्म घरमा कसरी सद्भाव भेट्नु ? घरमा सद्भाव छैन भने राष्ट्रमा सुव्यवस्था खोजेर कसरी पाइन्छ ? राष्ट्रमा सुव्यवस्था भए विश्व नै हामीलाई शान्तिपूर्ण लाग्ने थियो नि ।

प्रत्येक वर्ष आउने तिहारले हाम्रो मानसपटलमा स्वयंलाई प्रेरित गर्ने सकारात्मक भावहरूलाई प्रस्फुटन गराइरहेको हुन्छ । त्यसैले त पर्वहरू आउँदा नजानिँदो तरिकाले आत्मविश्वास र आन्तरिक प्रेरणा जागृत हुन्छ । विचार सकारात्मक र सहयोगी बनेर आउँछन् । बाहिरी सफाइ र उज्यालोसँगै भित्री सफाइ, विचार र सोचको सफाइमा ध्यान जान्छ । भौतिक मात्र नभएर आध्यात्मिक चेतनाले स्थान लिन थाल्छ । हाम्रा कर्म र भावहरू ह्दयस्पर्शी हुन थाल्छन् जसको असरस्वरूप हामी मनस्थितिबाट मात्र चल्दैनौं, ह्दयको तलमा पनि यसको प्रभाव पर्छ । चेतनाको स्तर माथि उठेको हुन्छ जसको परिमाणस्वरूप मन प्रसन्न भएको हुन्छ ।

हरेक पर्वले ल्याउने सन्देशलाई मानिसहरूले राम्रोसँग आत्मसात् गर्न सकेका छैनन् । दीपावली र भाइटीकाले जगाउन खोजेको आफूभित्रको प्रकाश, आपसी सहयोग, भाइचारा, स्वाभिमान एवं सम्मानजस्ता चिन्तनले भौतिक विकासको मात्र प्रतिनिधित्व गर्ने होइनन् ।

यिनले त आफ्नो उद्देश्य, कार्यकुशलता, आत्मविश्लेषण, होश र बोधलाई समेत समेटेका हुन्छन् । हामी पर्व किन मनाउंँछौं ? अवश्य खुसी, शान्ति, आनन्द र उमङ्गमा रहनका लागि । वर्षमा ५ दिन मनाइने पर्वको लक्ष्य ती ५ दिन मात्र खुसी रहनु होइन । पर्वको उमङ्गले अरु बढी जागरुकता, उत्साह र उत्प्रेरणा मिलोस् र बाँकी ३ सय ६० दिन पनि तिहारमय बनून् बन्ने सन्देश यो पर्वले दिन खोजेको हुनुपर्छ्र । ५ दिन घर सफा र उज्यालो बनाएर मात्र होइन वर्षैभरि घरमा प्रेमको, होशको, सद्भावनाको र ध्यानको दीप बल्न सक्यो भने हाम्रो उद्देश्य पूरा हुनेछ । पर्वको उमङ्गले ल्याउने ईष्र्यारहित, घृणारहित सद्भावलाई सभ्य, सुसंस्कृत, मयार्दित एवं प्रेममय बनाएर आफ्नो आन्तरिक प्रतिभा र सम्पदा उजागर गरी कल्याणकारी कार्यमा लाग्ने प्रेरणा जागृत भए जीवन सधैं उत्सवमय बन्थ्यो कि ?

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्