दसैंमा भारत घुमघाम

नारी संवाददाता

आश्विन २३, २०७५

असोज लाग्ने क्रममा वर्षा सकिँदै घमाइला दिन सुरु भएका छन् । तल्ला तटीय क्षेत्रमा गर्मीको राप कम हुँदैछ भने अग्ला स्थानहरूमा जाडो पलाइसकेको छैन । दसैं, तिहार एवं छैठजस्ता लामा बिदा मिल्ने मौका पनि जुर्दैछ । धार्मिक कर्ममा लाग्नेहरूका लागि धमाधम पर्वहरू आइरहेका छन् । यो यी पर्वलाई अझ बढी धार्मिक बनाउने यात्राको समय पनि हो । सबै कुरा मिलेपछि अव यात्रामा निस्कने होइन त ? धर्मकर्ममा मन जानेहरू, बिदाको पर्खाइका रहने विद्यार्थी तथा जागिरेहरू अनि बाली भित्र्याउने समय पनि भैनसकेका किसान सबैलाई उपयुक्त समय हो आगामी दुई महिना ।

चाडपर्वको मौका पारेर आन्तरिक पर्यटनका रूपमा स्वदेशकै विभिन्न स्थान घुमफिर गर्ने चलन नयाँ होइन । यद्यपि पछिल्ला केही वर्षदेखि स्वदेशसँगै विदेश घुमफिरमा रमाउने नेपालीहरूको संख्या बढ्दै गएको छ । नेपालीहरूका लागि विदेश घुमफिरको सबैभन्दा सहज देश भनेको दक्षिणी छिमेकी भारत नै हो भन्दा अत्युक्ति हुँदैन । सांस्कृतिक, धार्मिक एवं भाषिक सामीप्यता यसको सबैभन्दा ठूलो कारण हो । बिनापासपोर्ट आवतजावत गर्न सक्ने अवस्थाले भारत यात्रालाई अझ सहज बनाउँछ । अन्य देशको भ्रमणको तुलनामा खर्च बेहोर्न सक्ने भएका कारण भारतका विभिन्न स्थान नेपालीहरूको प्राथमिकतामा पर्छन् । नेपालबाट भारतका जुनसुकै पर्यटकीय स्थान पुग्न हवाई, रेल तथा सडक कुनै पनि मार्ग रोज्न सकिन्छ । कतिपय स्थानमा पुग्न नेपाल–भारत सीमाका बजारबाटै सस्तो यातायातका रूपमा ट्रेनको यात्रा गर्न सकिन्छ ।

जसरी नेपालमा फरक–फरक प्रयोजनको घुमफिरका लागि फरक–फरक गन्तव्य रोजिन्छ भारतमा पनि घुमफिर गर्ने थुप्रै ठाउँ छन् । सांस्कृतिक एवं धार्मिक विविधता, प्राकृतिक दृश्यावलोकन तथा सामाजिक रहनसहनको अवलोकन जस्ता फरक–फरक प्रयोजनका लागि भारत भ्रमण उपयुक्त मानिन्छ । विश्वलाई बुझ्न संसार घुमिरहनै पर्दैन एउटा भारत घुमे पुग्छ भन्ने भनाइ यी सबै कुरा हेर्दा हो नै जस्तो लाग्छ ।

दार्जीलिङ–सिक्किम

पहाडकी रानी उपमा पाएको दार्जीलिङ पशुपतिनगरबाट आधा घन्टाको यात्रामा पुग्न सकिन्छ । दार्जीलिङ नेपाल र भारतमा मात्र नभएर विश्वकै चर्चित हिल स्टेसनका रूपमा परिचित छ । काँकरभित्ताबाट सिलिगुडी भएर पनि दार्जीलिङ पुग्न सकिन्छ । दार्जीलिङको भ्रमण पूरा गरी सिक्किम गान्तोकको यात्रा तय गर्नु सुनमा सुगन्ध हुन्छ । त्यहाँ पुगिसकेपछि छुटाउनै नहुने स्थान हो–कालिङपोङ । पहाडी भू–भाग, प्राकृतिक सौन्दर्यको खानी यो क्षेत्रमा नागवेली पहाड हेर्न पनि धेरै विदेशी पर्यटक पुग्छन् । नेपाली भाषीहरूको बाहुल्यता रहेको दार्जीलिङ, सिक्किम, कालिङपोङपछि समय मिले आसामको मेघालयसम्म पुगे भारतमा बस्ने नेपालीहरूको रहनसहनका साथै संस्कृतिको अवलोकन पनि राम्रैसँग हुन्छ ।

कोलकाता

रक्सौल सीमाबाट ६ सय ४ किलोमिटर टाढा पर्ने कोलकाता बन्दरगाह अन्तर्राष्ट्रिय क्षेत्रबाट नेपाल सामान आयात हुने प्रमुख बन्दरगाह हो । यो घुमघामका लागि समेत प्रख्यात सहर हो । पश्चिम बंगालको राजधानी कोलकाता मुम्बई र दिल्लीपछिको तेस्रो ठूलो सहर हो । यो सहरको पुग्नैपर्ने स्थान मार्बल प्यालेस पनि हो जुन दुई सय वर्षअघि निर्माण गरिएको थियो । यहाँ मदर टेरेसा होम्स, बोटानिकल गार्डेन, इडन गार्डेन आदि प्रसिद्ध स्थानहरू छन् । हुगली नदीको छेउमा बनेको पार्क, काली मन्दिर तथा रानी भिक्टोरियाको स्मारक पनि छुटाउन नमिल्ने ठाउँ हुन् ।

आगरा

भारत भ्रमणमा निस्किएका पर्यटकहरूलाई तपाईंको घुमघामको पहिलो प्राथमिकता कहाँ हो भनेर सोध्ने हो भने अधिकांशले दिने उत्तर हो–ताजमहल । विश्वका ८ आश्चर्यजनक भौतिक संरचनामा पर्ने यो महल भारतको आगरा सहर हुँदै बग्ने यमुना नदीको तटमा अवस्थित छ । सम्राट् शाहजहाँले रानी मुमताजको सम्झनामा निर्माण गराएको ताजमहल हेर्न विश्वका सबैजसो देशका पर्यटक आगरा पुग्छन् ।

बनारस

बनारस हिन्दूहरूको विशेष आस्थाको केन्द्र हो । भागीरथी गंगाको किनारामा अवस्थित यो सहरलाई हिन्दूहरूले अति पवित्र सहरका रूपमा लिन्छन् । त्यहाँ विश्वनाथ मन्दिर, संकटमोचन मन्दिर, दुर्गा मन्दिर, व्यास मन्दिरजस्ता सयांै मठ–मन्दिर छन् । पर्यटकहरू यहाँ धार्मिक हिसाबले मात्र पुग्दैनन् संस्कृत अध्ययनका लागि समेत पुगिरहेका हुन्छन् । कत्थक नाचको उद्मस्थल पनि यही स्थानलाई मानिन्छ । यो एउटा प्राचीन सहरका साथै हिन्दूहरूका लागि खुल्ला विश्वविद्यालयसमेत हो । बनारसको यात्राका क्रममा सारनाथ, रामनगर तथा बनारस हिन्दू विश्वविद्यालय पुग्न बिर्सनु हुँदैन ।

जम्मु–कश्मीर

हिमाली शृंखलाहरूसँग मोहित हुने पर्यटकहरूका लागि जम्मु–कश्मीरको यात्रा स्मरणीय हुनसक्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो पर्यटकीय स्थल भारतमा बढी पर्यटक तान्ने गन्तव्यमा पर्छ । हिमाली तथा पहाडी क्षेत्रमा अवस्थित जम्मु–कश्मीरका अग्ला पहाडबाट देख्न सकिने सुन्दर ताल, स्वच्छ हावापानीले कसको मन लोभ्याउँदैन र ?

जम्मु–कश्मीरकै श्रीनगर अर्को प्रसिद्ध पर्यटकीय स्थल हो । यहाँको प्रमुख आकर्षण भनेको डल झील हो । १७ किलोमिटर क्षेत्रफमा फैलिएको अनि पानीमा तैरिएको यो बगैंचा अत्यन्त सुन्दर छ । यहाँको शंकराचार्य मन्दिर हिन्दूहरूको आस्थाको केन्द्र हो । उक्त मन्दिर तद्यत ए सुलेमानको नामले समेत परिचित छ । यो मन्दिर कश्मीरको सबैभन्दा पुरानो मन्दिर पनि हो । शंकराचार्य मन्दिरसँगैको खीर भवानी मन्दिर पनि प्रमुख धार्मिक स्थल हो ।

मुस्लिम समुदायका लागि डलझीलको किनारमा अवस्थित हजरतबल मस्जिद प्रसिद्ध धार्मिक स्थल हो भने वास्तुकलाको नमुनाका रूपमा १३९८ मा निर्मित जामा मस्जिद पनि पर्यटकीय आकर्षणको केन्द्र हो । समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको विशाल घाँसे मैदान सोनमार्ग अवलोकनका लागि पनि कश्मीर पुग्नु जरुरी छ ।

चेन्नई

तामिलनाडु राज्यको राजधानी चेन्नई पहिले मद्रासका रूपमा चिनिन्थ्यो । यो सहर पनि प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । सन् १६४० मा निर्मित सेट जर्ज किल्ला यहाँको प्रसिद्ध किल्ला हो जहाँ अहिले विधानसभा तथा राज्य सचिवालयको कार्यालय छ । चेन्नई आइपुगेपछि जानैपर्ने स्थान हुन् मेरिना विच तथा इलियट्स विच । मेरिना विचमा एजीआरको समाधि छ । त्यसैगरी छुटाउनै नहुने स्थान हर्टिकल्चर उद्यान, कपालेश्वर मन्दिर, सरकारी संग्रहालय, प्लेनेटेरियम तथा गिडी नेसनल पार्क आदि हुन् ।

केरला

भारतको सबैभन्दा शिक्षित राज्यका रूपमा लिइन्छ केरलालाई । यो राज्यको विशेषता जनता शिक्षित बनाउनु मात्र होइन बर्सेनि लाखौं पर्यटक भित्र्याउनु पनि हो । यहाँ पर्यटकहरूलाई आकर्षित गर्ने स्थानहरूमध्ये एक हो–अलेप्पी । समुद्री किनारमा अवस्थित यो स्थानमा श्रीकृष्ण मन्दिर, मरारी समुद्र तट, अरथुंकल चर्च आदि छन् । केरला पुगेपछि छुटाउनै नहुने अर्को स्थान मुन्नार हो । मुन्नार हिल स्टेसनका रूपमा प्रसिद्ध छ । पशुपंक्षी हेर्न थेककडीको यात्रा तय गर्नुपर्ने हुन्छ । यहाँ हात्ती, बाघ, गोही आदि जीवजन्तुलाई संरक्षण गरी राखिएको छ । कोच्ची तथा कर्कला नपुगी केरलाको यात्रा पूर्ण हुँदैन । आधुनिक सहरका रूपमा विकसित हुँदै गएको कोच्ची सहर प्राचीन तथा आधुनिक सहरको अध्ययन स्थल बन्नसक्छ । बैनरघट्टा जैविक पार्क, बैंग्लोर प्यालेस, तितली पार्क यहाँका प्रमुख स्थान हुन् । बेंग्लोर प्यालेस पुगिसकेपछि नजिकको कुर्ग त पुग्नैपर्छ । पहाडी भूभाग र ठूला–ठूला झर्ना हेर्न पनि कुर्ग पुग्नु आवश्यक छ । यो स्थान हात्तीको शिविरमा उनीहरूको स्नानका लागि समेत चर्चित छ । अर्को पुरातात्विक सम्पदा हेर्न हम्पी पुग्नैपर्छ । विश्व सम्पदा सूचीमा सूचीकृत यो स्थानमा लगभग ५ सयभन्दा बढी वास्तु शिल्पी संरचना छन् । भारतकै दोस्रो ठूलो जोग फल्स एउटा आश्चर्यजनक प्राकृतिक देन हो । यसको छेउमा रहेको लिगनमक्की बाँध पनि प्रसिद्ध छ । केरलामा पर्यटकहरूलाई तान्ने थुप्रै सामुद्रिक तट छन् ।

नयाँ दिल्ली

नयाँ दिल्ली भारतको राजधानी मात्र होइन दोस्रो ठूलो प्राचीन सहर पनि हो । यमुना नदी किनारमा अवस्थित यो सहरमा घुमघामका लागि लाल किल्ला, लौह स्तम्भ, इन्डिया गेट, जामा मस्जिद, मुगल उद्यान, गार्डेन अफ फाइव सेन्सिस आदि थुप्रै ठाउँ छन् ।

गोवा

भ्रमणका लागि प्रसिद्ध स्थल हो–गोवा । विश्वप्रसिद्ध यो पर्यटकीय क्षेत्रमा लाखौं विदेशी पर्यटक पुग्छन् । गोवाको समुद्रको किनारमा बसेर समुद्रका छालसँग खेल्दा नयाँ अनुभव गर्न पाइन्छ । यहाँ भ्यागटर, क्यलागुटी, अजुना, कोलोवा बेनालिम फोर्ट आदि समुद्री किनार प्रख्यात छन् । त्यसैगरी माइ डि दास चर्च, बोधगेश्वर मन्दिर, दूधसागर वाटरफल्स, ग्रान्ड आइल्यान्ड, क्याफे मोम्बोस, टाइटस लभ प्यासन कर्मा सिंकक क्लव गोवाका चर्चित स्थान हुन् । गोवा पुग्न दोवलिम अन्तर्राष्ट्रिय एयरपोर्टमा सीधै ओर्लन सकिन्छ । त्यसैगरी दिल्लीबाट सीधै रेलको माध्यमबाट पनि गोवा पुग्न सकिन्छ ।

मिकिलोड गञ्ज

हिमाञ्चल प्रदेशको कागडा जिल्लामा पर्ने स्थान हो–मिकिलोड गञ्ज । यसलाई मिनी ल्हासा पनि भनिन्छ किनभने यहाँका अधिकांश बासिन्दा तिब्वतीयन छन् । प्रकृतिको आनन्द उठाउन चाहनेहरूका लागि लागि यो एउटा राम्रो पर्यटकीय स्थल हो । यो भारतका १ सय ९ चर्चित पर्यटकीय स्थलभित्र पर्छ । यहाँ जान सेप्टेम्बरदेखि जूनसम्मको समय उपयुक्त मानिन्छ । गगाल एयरपोर्टसम्म हवाई यात्रा गरी मिकिलोड गञ्ज पुग्न सकिन्छ भने पाठनकोट रेलवे स्टेशनसम्म रेलमार्गबाट जान सकिन्छ । दिल्ली, धर्मशाला वा चण्डीगढबाट सीधै बस यात्रा गरेर पनि त्यहाँ पुग्न सकिन्छ । कंगारो किल्ला, वासुगनाथ मन्दिर, वासुग छहरा, नामग्याल संग्रहालय, दलाई लामा मन्दिर, एचपिसिए स्टेडियम, कंग्रा भ्यालीको टि प्लान्टेसन, टुरुन्ड ट्रेक यहाँका आकर्षक स्थलहरू हुन् ।

चारधामको यात्रा

चारधामदेखि लिएर नैनीतालसम्मको रोमाञ्चक यात्राका लागि उत्तराखण्डलाई केन्द्र बनाउनुपर्छ । बद्रीनाथ, केदारनाथ, गंगोत्री एवं यमुनोत्री प्रसिद्ध धार्मिकस्थल हुन् । उत्तराखण्डलाई चारधामसँगै गंगा र यमुना नदीको उद्गमस्थल पनि मानिन्छ । हिमालयको काखमा रहेका यी धामहरूसँगै अन्य प्रसिद्ध रमणीय स्थलहरू पनि घुमघामका लागि उपयुक्त हुन्छन् । हिल स्टेसन, चिया बगानका साथै दुई दर्जनभन्दा बढी मन्दिर रहेको वागेश्वर नपुगे उत्तराखण्ड यात्रा अपूरो हुन्छ । दसैंमा लाखौं भारतीयसहित सयौं नेपाली वैष्णोदेवीको दशर्नका लागि त्यहाँ पुग्छन् । बद्रीनाथ मन्दिरसहित तीन दर्जन प्रसिद्ध मन्दिर रहेको चमोली अर्को आकर्षक पर्यटकीय स्थल हो ।

अग्ला पहाड, ठूला–ठूला पाटन, केदारनाथ वन्यजन्तु आरक्षण केन्द्र, दुनागिरि पर्वत यहाँका प्रमुख आकर्षण हुन् । दर्जनौं धार्मिक स्थलसहित लालीगुराँस, हरिया पहाडका साथै हिमशृंखलाको दृश्यावलोकनका लागि अल्मोडा पुग्नैपर्ने हुन्छ । ऐतिहासिक वास्तुकला हेर्न चम्पावतको यात्रा फलदायी हुन्छ भने तपोवन तथा दर्जनौं धार्मिक एवं पर्यटकीय स्थलका लागि देहरादुन घुमघाम अनिवार्य छ । देहरादुन पुगेसँगै हरिद्वार हुँदै नैनीताल, गडवाल, पिथौरागढ, रुद्रप्रयाग, टिहरी गढवाल तथा उत्तर काशी पुग्न सकिन्छ ।

यसका अतिरिक्त महाराष्ट्र, राजस्थान, गुजराँत, हरियाणा, मध्यप्रदेश, आसाम, उडिसा, आन्ध्रप्रदेश, कर्नाटक, पंजाब तथा उत्तरप्रदेशमा कयौं प्रसिद्धस्थल छन् जहाँको भ्रमण अविस्मरणाीय साबित हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्