एजिङ (जर प्रक्रिया) के हो ?

डा. प्रमेश कोइराला

आश्विन २, २०७५

 

एजिङ एक किसिमको जैविक प्रक्रिया हो । यो कुनै रोग होइन । यसलाई संस्कृतमा जर भनिन्छ । घामको सीधा असर, धूलो, धूवाँ आदिका कारण छाला छिट्टै प्रभावित हुन्छ । त्यसबाहेक छालामा लगाइने कृत्रिम क्रिमले पनि छालाको सौन्दर्य नष्ट गर्छ । एजिङमा छाला पातलो हुँदै जान्छ । छालामा चाउरी देखिन थाल्छ । छालाको तल्लो भागको फ्याट कम हुँदै जान्छ । केश सेतो हुन्छ । छालामा कालो धब्बा तथा तिलकोठी देखिन्छ । सामान्यतया जर प्रक्रिया ३५ देखि ४० वर्षको उमेरपछि बढ्दै जान्छ । त्यसैले ४० वर्षपछि छालाको विशेष रेखदेख गर्नुपर्छ । साधारणतया एजिङ दुई किसिमले बढ्छ ।

आन्तरिक कारण

छालामा जातीय, शारीरिक बनावट तथा हर्मोनको असर पर्छ । जातीय–जातिअनुसार छालाको प्रकृति पनि फरक–फरक हुनसक्छ । मधेसमा बस्नेहरूमा एजिङको प्रभाव कम हुन्छ । छालामा हुने पिग्मेन्टलाई घामको प्रभावले कम गर्छ ।

शारीरिक बनावट

निधारको छाला टाइट हुने भएकाले यसमा एजिङ कम देखिन्छ । गाला तथा च्यापुमुनिको छाला लुज हुने भएकाले एजिङको प्रभाव बढी देखिन्छ ।

 

हर्मोनल : विशेषगरी महिलाको महिनावारी सुकेपछि (मेनापज) एस्ट्रोजन हर्मोनको मात्रा कम हुने भएकाले छाला लुज हुन्छ भने एजिङ बढ्छ । त्यसपछि हड्डी पनि खिइँदै जाने भएकाले छाला तथा हड्डीबीच

समायोजन हुँदैन ।

बाह्य कारण

घाम तथा मौसमका कारण–घामको सीधा असरले गर्दा पनि एजिङ देखिन्छ । जति गोरो अनुहार हुन्छ त्यति बढी असर पर्छ । घाममा हुने युभी रेज ए तथा बीले छालाको जर प्रक्रिया बढाउँछ ।

जंकफुड : जंकफुडका कारण शरीरमा एन्टिअक्सिडेन्टको कमी हुन्छ । फलस्वरूप एजिङ अझ बढ्छ ।

गुरुत्वाकर्षण : यसले गर्दा पनि छाला झोल्लिन सक्छ ।

मोटोपन : मोटोपनमा छालाको तल बोसो जम्छ जसले गर्दा मानिस आफ्नो उमेरभन्दा पाको देखिन सक्छ । मोटोपनले शरीरको मेटाबोलिज्मलाई नै सुस्त बनाउँछ र छालामा भएको बोसोले छालालाई आवश्यक न्युट्रियन्ट्स तथा एन्टिअक्सिडेन्ट्सको कमी गराउँछ ।

 

धूम्रपान : यसले शरीरको रक्तनली खुम्चाउँछ । यसले गर्दा छालामा अक्सिजन तथा न्युट्रिसनको मात्रा कम हुन्छ र छालामा एजिङले प्रश्रय पाउँछ ।

धूलो : अहिले सबैतिर धूलो तथा धूँवाको प्रभाव छ । त्यसैले पनि छालामा एजिङ देखिन्छ ।

सौन्दर्य सामग्री–आफ्नो छालाको प्रकृतिअनुसार सौन्दर्य सामग्री नलगाउँदा छाला सुख्खा हुने तथा एजिङ बढ्ने हुन सक्छ ।

एजिङ कम गर्न

एजिङ प्राकृतिक हो । यसलाई रोक्न नसके पनि समयअगावै एजिङ देखिन भने केही हदसम्म कम गर्न सकिन्छ । एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खानुपर्छ । भिटामिन ए, सी तथा ई प्रशस्त भएका खानेकुरा खाँदा एजिङ अर्थात् जर प्रक्रिया कम हुन्छ । पहेंला पाकेका फलफूल, आँप, भिटामिन सीका लागि कागती, भोगटे, सुन्तला तथा भिटामिन ईका लागि कुरिलो, आलमोन्ड, साग, एभोकाडो, गोलभेंडा आदि खान सकिन्छ ।

अहिले धेरैले एन्टिअक्सिडेन्टका रूपमा ग्रिन टी पिउँछन् । ग्रिन टीले रगत पातलो बनाउने हुँदा दिनमा २–३ कप भन्दा बढी पिउनु हुँदैन ।

जंकफुड कम खानुपर्छ र धूम्रपान गर्नुहुँदैन ।

आफ्नो छालामा मिल्ने किसिमको सौन्दर्य प्रसाधन प्रयोग गर्नुपर्छ ।

तौल कम गर्नुपर्छ ।

सनस्क्रिन प्रयोग गर्नुपर्छ । आफ्नो छालालाई सुहाउने कम्तीमा ३० एसपिएफको सनस्क्रिन लगाउनुपर्छ । नेपालीको दिनचर्या सामान्यतया बिहान ८ बजेपछि सुरु हुने भएकाले बिहान ८ बजे, ११, १२ को बीचमा र २–३ बजेको बीचमा सनस्क्रिन प्रयोग गर्नु वेश हुन्छ । एकपटक लगाएको सनस्क्रिनले ३ घन्टाभन्दा बढी काम गर्दैन । सनस्क्रिनको मात्रामा समेत ध्यान पुर्‍याउनुपर्छ । एकपटकमा कम्तीमा ३ मिलिलिटर सनस्क्रिन लगाउनुपर्छ । चिल्लो तथा डन्डिफोर आउने छालामा जेल अथवा एक्वा जेलयुक्त सनस्क्रिन लगाउनुपर्छ ।

उपचार विधि

यसका लागि चिकित्सकको सल्लाहमा औषधिजन्य तथा प्राविधिक उपचार

अपनाउन सकिन्छ । एन्टिअक्सिडेन्ट थेरापी–चिकित्सकको सल्लाहअनुसार भिटामिन ए, सी तथा ईयुक्त औषधि खान सकिन्छ । त्यसको सट्टा बजारमा अहिले अन्य एन्टिअक्सिडेन्ट औषधिसमेत पाइन्छ ।

हर्मोनल थेरापी–यो महिनावारी सुकेका महिलामा गरिने उपचार हो ।

लगाउने औषधि–छालामा लगाउने भिटामिन एयुक्त (रेटिनोइड) औषधि अथवा पेप्टाइड, ग्लुटाथाइनयुक्त औषधि पनि प्रयोग गर्न सकिन्छ ।

प्राविधिक प्रक्रिया

केमिकल पिलिङ–यो चिकित्सक अथवा रजिस्टर्ड कस्मेटोलोजिस्टले गर्ने विधि हो । यसमा केमिकललाई केही समयका लागि अनुहारमा राखिन्छ । यसले छालाको बाहिरी कोशिका हटाई नयाँ कोशिका वृद्धि गर्न मद्दत गर्छ र छालालाई नयाँ रूप दिन्छ ।

माइक्रोडर्माब्रेसन–यो नन सर्जिकल प्रक्रिया हो । यसमा मेसिनको माध्यमले छालामा माइक्रो लेवलको उपचार गरिन्छ ।

रेडियो फ्रिक्वेन्सी र अल्ट्रासाउन्ड–रेडियो फ्रिक्वेन्सी तथा अल्ट्रासाउन्ड मसाजबाट पनि एजिङ प्रक्रियालाई सुस्त बनाउन सकिन्छ । एलइडी लाइट–एलइडी लाइटले पनि एजिङलाई कम गर्न मद्दत पुर्‍याउँछ ।

लेजर थेरापी–लेजरद्वारा छालालाई नयाँ रूप दिइन्छ ।

फिलर्स–गाडिएको ठाउँ जस्तो आँखा गडेको तथा मुख वरिपरिको भागमा इन्जेक्ट गर्न सकिन्छ ।

बोटुलिनम टक्सिन–यसमा इन्जेक्सनद्वारा छाला तलका मांसपेशीलाई प्यारालाइज गरिन्छ । यसले निधारको चाउरीपन तथा आँखाको साइडको चाउरीपन हटाउन मद्दत गर्छ । यसले ३ देखि ६ महिनासम्म काम गर्छ । पेप्टाइट मिसोथेरापी–यो हालसालै मात्र पत्ता लागेको विधि हो । यो महिनाको एकपटक छालामा दिइन्छ ।

अन्त्यमा,

एजिङको उपचारका लागि कुनै जाति, उमेर तथा आर्थिक ब्यारियर छैन । खासगरी जर प्रक्रिया ३५ देखि ४० वर्षको उमेरपछि बढ्दै जाने भएकाले ४० वर्षपछि सबैले आफ्नो छालाको विशेष हेरचाह गर्नुपर्छ । सौन्दर्य तथा एजिङका मामिलामा पहिले महिलाहरू सचेत भए पनि अहिले पुरुषहरूसमेत सचेत हुन थालेका छन् ।

                                 -डर्मेटो कस्मेटोलोजिस्ट, लेट मि इन

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्