Teej banner

पेरेन्टिङमा सकारात्मक सोच

नारी संवाददाता

भाद्र २९, २०७५

तय हुनुपर्छ सीमा

समयसँगै पेरेन्टिङको शैली मात्र होइन यसका शब्दावलीहरूमा समेत परिवर्तन आएको छ । अब ‘डिसिप्लिन’ को साटो ‘सेटिङ लिमिट्स’ शब्द प्रयोग गरिन थालिएको छ । कुरा शब्दको परिवर्तनसम्म मात्र सीमित छैन । यसबाट लालनपालनको शैलीमा समेत सकारात्मक प्रभाव पर्छ । बालबालिका ठूला भएपछि कडाइका साथ प्रस्तुत हुनुभन्दा सानो छँदा नै उनीहरूको व्यक्तित्वलाई सही आकारमा ढाल्ने प्रयास गर्नुपर्छ । सानो शिशुले आफ्नो भावना एवं व्यवहारलाई पूर्णरूपमा नियन्त्रित गर्न सक्दैन । यस्तोमा आमाबुवाको दायित्व भनेको सुरुदेखि नै उनीहरूका लागि सही रुटिन र उसको व्यवहारका लागि केही नियम बनाउनु हो । दैनिक जीवनका स–साना कुराजस्तै समान उमेरका वा आफूभन्दा सानो उमेरका बालबालिका, भाइबहिनीका सामान, खैलौंना आदि खोस्नु हुँदैन भनेर सम्झाउने । खोस्नुभन्दा अनुरोध गरेर माग्नु राम्रो भएको कुरा बुझाउने । यसबाट उसले आफ्नो व्यवहारको सीमा बुझ्छ । मागेको सामान प्रयोगपछि आदरपूर्वक फर्काउन पनि सिकाउनुपर्छ । बालबालिकाहरूलाई सुरुदेखि नै आफ्ना सामान तथा खेलौनाको हेरचाह गर्ने उपाय सिकाउनुपर्छ ।

प्रेमबाट बन्छ कुरा

बालबालिकालाई आफूले माया गरेको अनुभूति हुनुपर्छ तर गलत बानी एवं व्यवहारलाई रुचाउनु हुँदैन । धेरै माया गर्दा बालबालिका बिग्रन्छन् भन्ने सोच्नु पनि गलत हो । प्रेमबिना शिशुले अनुशासन सिक्दैन । उसको आत्मविश्वास कमजोर हुन सक्छ । पढाइ राम्रो भए धन्यवाद दिएसँगै नराम्रो भए उसको कमजोरी पहिल्याएर त्यसलाई सुधार्न सहयोग दिनुका साथै प्रोत्साहित समेत गर्नुपर्छ । गल्ती सुधार्न अधिकतम प्रोत्साहन दिनुपर्छ ।

सन्तुलित व्यवहार

राम्रो बानी–व्यवहारको महत्व बुझेर शिशुले त्यसलाई आफ्नो व्यवहारमा उतार्ने प्रयास गर्छ भने उसको व्यक्तित्वमा सहजतापूर्वक सकारात्मक परिवर्तन आउँछ । कतिपय अभिभावक कडा अनुशासनको डर देखाउँदै बालबालिकालाई हरेक कुरा स्वीकार गर्न वा लागू गर्न बाध्य तुल्याउँछन् । यस्तोमा शिशुले अभिभावकको कुरा मान्छन् तर पुन: त्यही गल्ती वा काम दोहोर्‍याउँछन् । बालबालिकालाई बढी छुट दिए पनि उनीहरूले अभिभावकलाई गम्भीरतापूर्वक लिँदैनन् । बालबालिकाको सही लालनपालनका लागि अभिभावकले सधैं सन्तुलित व्यवहार गर्नुपर्छ ।

एकमत हुनुपर्छ अभिभावक

स्वास्थ्य र सुरक्षाको दृष्टिले पनि बालबालिकाप्रति अनुशासित व्यवहार आवश्यक हुन्छ । हुन सक्छ शिशुले तपाईंका केही कुरा मान्दैन, विरोध व्यक्त गर्न तपार्इंको इच्छा विपरीत काम गर्छ । यस्तोमा अभिभावकले धैर्यपूर्वक व्यवहार गर्नुपर्छ । अधिकतम प्रयासबाट उसलाई अनुशासित बनाउन सकिन्छ । यदि उसको गल्तीका लागि आमाले गाली गर्छिन् र बुवाले आमालाई रोकटोक गर्छन् भने शिशुले आमाको कुरा मान्दैन । शिशुलाई सही व्यवहार सिकाउन आमाबुवाको कार्य शैलीमा एकरूपता जरुरी छ । जस्तै टिभी हेर्ने, भिडियो गेम खेल्ने, निश्चित समयपछि कुनै पनि बहानामा त्यसलाई निरन्तरता दिनुहुँदैन । उसको जिद्दीमा घरका कसैले पनि नियम उल्लंघन नगरे जिद्दी गर्दैमा कुनै पनि कुरा प्राप्त नहुने ज्ञान उसले प्राप्त गर्छ । सम्भवत: उसले यो अनुशासन राम्रोसँग बुझ्छ ।

परिवेश सुखद् हुनुपर्छ

अनुशासनको नियम बनाउँदा शिशुको व्यक्तित्व, उमेर तथा स्थितिमा पनि ध्यान पुर्‍याउनुपर्छ । कतिपय बालबालिका शान्त प्रकृतिका हुन्छन् । यस्तोमा जबर्जस्ती अनुशासन लाद्नु ठीक होइन । यसबाहेक मात्र ती कुरामा स्पष्ट नियम बनाऔं जुन सुरक्षासँग सम्बन्धित छ । यो बदलिँदैन भन्ने विषयमा उनीहरूलाई स्पष्ट पार्नुपर्छ । बालबालिकालाई अनुशासित बनाउनुको अर्थ उसको स्वतन्त्रतामा कडाइ गर्नु होइन । उनीहरूलाई खुलेर हाँस्ने, खेल्ने वा उफ्रने मौका दिनुपर्छ । प्रेम र अनुशासनबीच तालमेल भए बालबालिकाको व्यक्तित्व विकास सहज र सन्तुलित रूपमा हुनसक्छ ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्