साडीमा नारी

लक्ष्मी भण्डारी थापा

भाद्र १८, २०७५

 

विद्यादेवी भण्डारी, राष्ट्रपति

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको साडी निकै अगाडिदेखि चर्चामा रहँदै आएको छ । सौम्य र भद्र देखिने रंग तथा डिजाइनका कटन, सिल्कलगायत बनारसी साडीमा राष्ट्रपतिको व्यक्तित्व भव्य देखिन्छ । गणतन्त्र नेपालको दोस्रो र महिलामा प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्राय: लाइट तथा डार्क ब्लु कलरका साडीमा देखिन्छ । श्रीमान् मदन भण्डारीको २०५० साल जेठ ३ गते जिप दुर्घटनामा मृत्यु भएपछि राजनीतिमा पुन: सक्रिय भण्डारीलाई उतिबेलादेखि हामी साडीमै मात्र देखिरहेका छौं । त्यसैले भन्न सकिन्छ–साडी उनको प्रिय पहिरन हो । राष्ट्रपति भण्डारीलाई विश्व प्रसिद्ध पत्रिका फोब्र्सले वर्ष २०१६ का शक्तिशाली महिलाहरूमध्ये ५२ औं स्थानमा सूचीकृत गरेको थियो जहाँ उनलाई साडीमै सजिएको तस्बिरमा देख्न पाइन्छ ।

भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलोपटक अध्यक्ष पदमा निर्वाचित महिला भवानी राणा पनि साडीप्रेमी हुन् । अध्यक्ष राणा वि.सं. २०६४ देखि २०६७ मा पहिलोपटक महिला कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएर महासंघमा प्रवेश गरेकी थिइन् । त्यही बेलादेखि सार्वजनिक रूपमा देखा पर्न थालेकी राणाको नियमित पोसाक साडी नै हुन्थ्यो ।

भवानी आफू नारीत्व र यसको शक्तिमाथि विश्वास गर्ने हुनाले आफूलाई पूर्णरूपमा फेमिनाइन लुक्स दिन साडीको विकल्प अर्को कुनै पहिरन नभएको धारणा व्यक्त गर्छिन् ।  

पहिरन व्यक्तित्वसँग जोडिएर आउँछ । यसले लगाउनेको प्रतिष्ठा प्रदर्शन गर्छ, कहिलेकाहीँ यसले मानिसको स्तर नाप्ने काम पनि गर्दैन भन्न सकिँदैन । लगाएको पहिरन शैली, रंग, डिजाइन तथा त्यसको बनावटले मानिसको रुचि, स्वभाव, आत्मविश्वास एवं नैतिकताको समेत मापन गर्छ भनिन्छ । प्रसिद्ध फेसन स्टाइलिस्ट राल्फ लउरेन भन्छन्–‘म पहिरन डिजाइन गर्दिन, म सपना डिजाइन गर्छु जसले मेरा पहिरन लगाउनेहरूको सपना साकार गरोस् ।’

अहिलेको यो दुनियाँ सपना सजाउनेहरूको भन्दा सपना साकार तुल्याउनेहरूको हो ।  सन् १८८० को दशककी प्रख्यात फ्रेन्च फेसन डिजाइनर ग्याब्रिले बोनहर अर्थात् ‘कोको च्यानल’ ले उतिबेलै पूर्वीय सभ्यता र यहाँको पहिरनका सम्बन्धमा भनेकी थिइन्–‘पहिरनमा महिला परम्परागत र सभ्य देखिनुपर्छ ।’ पूर्वीय सभ्यतामा सौम्य मानिने पहिरन साडीलाई इंगित गर्दै कोकोले भनेका यी पंक्ति मर्मस्पर्शी त छन् नै त्यसका अतिरिक्त यसले नारीको साडीसँगको साइनो र महत्वलाई समेत उत्तिकै मूल्यवान् बनाएको छ । भारतीय अभिनेतृ रेखा, जसलाई चलचित्र वृत्तमा साडी क्विनका उपनामले समेत चिनिन्छ का अनुसार साडीलाई सभ्यताको सुरुवात कालदेखिकै विशिष्ट र भव्य पहिरन मानिँदै आएको छ ।

सपना मल्ल, न्यायाधीश, सर्वोच्च अदालत

सार्वजनिक जीवनमा साडीप्रेमीका रूपमा परिचित न्यायाधीश सपना प्रधान मल्ल ती महिला हुन् जसले विभिन्न चुनौतीका बाबजुद आफ्नो कर्मलाई निरन्तरता दिइरहिन् । सुरुवाती दिनदेखि नै उनको पहिरन ट्याग साडी नै हो । प्रधान गु्रबर इन्टरनेसनल अवार्डद्वारा सम्मानित हुँदा विदेशी भूमिमा चित्ताकर्षक साडीमा प्रस्तुत भइन् । त्यहाँ उनको पहिरनको समेत प्रशंसा भयो । साडीप्रेमी सपनासँग यसको राम्रै कलेक्सन छ । विशेषत: भारत, बंगलादेश तथा श्रीलंका भ्रमणमा उनी साडी खरिद गर्छिन् ।

पूर्वीय संस्कार र सभ्यतामा साडीको स्थान र महत्व उच्च अथवा विशिष्ट छ । यसले महिलालाई सुन्दर देखाउने मात्र होइन महिलाको व्यक्तित्व र पहिचानसमेत झल्काउँछ । त्यसैगरी अर्की भारतीय अभिनेतृ विद्या वालन साडीलाई अत्यन्त शक्तिशाली पहिरनका रूपमा प्रस्ट्याउँदै भन्छिन्–‘यो सबैभन्दा प्राकृतिक र व्यावहारिक पहिरन हो मेरा लागि । म दाबी गर्छु, म साडीमा दौडिन सक्छु, म साडीमा थुप्रै किसिमका नृत्य गर्न सक्छु, म साडीमै रोमान्स मात्र होइन रिस व्यक्त गर्नुका साथै सारा चीज गर्न सक्छु । मेरा लागि साडी बहुमुखी पहिरन हो । यसले तपाईंलाई कल्पनाशील त बनाउँछ नै साथसाथै यो अत्यन्त शक्तिशालीसमेत छ ।’

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले लगाउने पहिरनमा धेरैको आँखा जान्छ । सधैं साडीमा प्रस्तुत हुने सुष्माको व्यक्तित्वलाई उनको पहिरनले अझ बलियो र मूर्त बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरूको तर्क छ । हामी जति पनि प्रख्यात पूर्वीय नारी हस्तीहरूलाई पढ्छौं ती सबैका आकृति साडीमै पाउँछौं, चाहे इन्दिरा गान्धी हुन् वा मदर टेरेसा, बंगलादेशकी शेख हसिना, बेगम खालिदा जिया, पाकिस्तानकी बेनजिर भुट्टो, नेपाली नारी योद्धा योगमायादेखि लिएर, द्वारिकादेवी ठकुरानी, मंगलादेवी सिंह, साधना अधिकारी, शैलजा आचार्यहरू सबै साडीमै प्रस्तुत हुन्थे ।

त्यति मात्र होइन पौराणिक कालका अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरीको साडी गाथा आजसम्म प्रख्यात छ । धपौराणिक कालकै आदर्श नारी सीता, गान्धारी, सुन्दरताका पर्याय उर्वशी, मेनका आदि तथा नल राजाकी रानी दमयन्तीसम्मले साडीमै आफ्नो सुन्दरता प्रस्तुत गरी सबैलाई मन्त्रमुग्ध तुल्याएका थिए । यसैगरी सावित्री, लक्ष्मी, पार्वती, सरस्वती, तथा शैलपुत्री, ब्रह्मचारिणी आदि नवदुर्गाको एउटै पहिरन थियो–साडी । साडीमा उनीहरू आफूलाई सुन्दर मात्र होइन सशक्तसमेत महसुस गर्थे । दुसासनले ठूलो सभामा द्रौपदीको साडी तान्दा कहिल्यै नसकिएको रोचक पौराणिक कथा पनि हाम्रो मानसपटलमा ताजै छ । गर्न कहिल्यै बिर्सन्नन् ।

इतिहासमा साडी

भारतको कर्नाटक राज्यको बगलकोट जिल्लास्थित इलकल नाम गरेको सानो गाउँबाट साडीको सुरुवात भएको पाइन्छ । आठौं शताब्दीमा भारतको कर्नाटक राज्यबाट सुरु भएको साडीको इतिहास हेर्दा साडी उत्पादनमा त्यहाँको ठूलो जनशक्ति संलग्न रहेको पाइन्छ । हालको स्टेट क्यापिटल बैंग्लोरबाट ३ सय ११ तथा हैदराबादबाट ३ सय ५४ किलोमिटरको दूरीमा रहेको उतिबेलाको बेलरी सहरमा उक्त साडी खपत हुन्थ्यो । टप टेनी नाम दिइने उतिबेलाका साडी विशेषत: ६, ८ र ९ हातका हुन्थे । रातो र सेतो रंग मात्र खेलाइने ती साडी विशेष अवसर र मूल पर्वमा लगाइन्थ्यो । ती साडीका बोर्डर भने रातो र मरुन कलरको हुन्थ्यो । खासगरी भारत, बंगलादेश, नेपाल तथा श्रीलंकामा लगाइने साडीप्रतिको मोह पश्चिमाहरूमा समेत बढ्दै गएको पाइन्छ ।

क्रमश...

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्