Teej banner

महिलाको महिनावारी त एउटा उत्सव हो

डा. नम्रता पाण्डे

भाद्र १४, २०७५

हाम्रो समाजमा चाहिने नचाहिने सबै शिक्षा र अधिकारका बारेमा बहस हुन्छन् । पुस्तक लेखिन्छन्, सेमिनार–गोष्ठी हुन्छन् तर अत्यावश्यक र चाहिने कुरामा शिक्षा दिने वा जनचेतना जगाउने काम कमै हुन्छन् । त्यसमध्ये एउटा प्रमुख विषय यौन तथा प्रजनन्का विषयमा खुलेर दिइनुपर्ने महत्वपूर्ण शिक्षा पनि हो । महिनावारी महिलाहरूमा किशोरावस्थामा सुरु हुने एउटा प्राकृतिक प्रक्रिया हो । १०–१५ वर्षको उमेरमा सुरु हुने र लगभग ४५–५५ वर्षको बीचमा रोकिने यो प्रक्रिया स्वस्थ महिलाको एउटा गुण पनि हो । महिनावारी महिला प्रजनन्का लागि सक्षम छन् भन्ने शुभ संकेत हो । यद्यपि हाम्रो समाजमा अझै पनि महिनावारी अर्थात् मासिक धर्मलाई नकारात्मक रूपमा लिइन्छ अर्थात् पापका कारणले हुने कुराका रूपमा व्याख्या गरिन्छ । त्यसैले त छाउपडी प्रथाले महिलाको मनोभावनामा असर पुर्‍याएको मात्र होइन ज्यानसमेत गएको समाचार सुन्नुपर्छ ।

कायरता, भय र अन्धविश्वास

ए तिम्री छोरी रजश्वला भइन् ? लुकाएनौ कि क्या हो ? आफ्नो संस्कार त मान्नुपर्छ नि । छुवाछूत, पूजाआजा, घरमा दाइ थियो, दाइसँग पनि लुकाएनौ ? भगवान्को ख्याल गर्नुपर्छ जति पढेलेखे पनि आफ्नो संस्कार छोड्नुहुँदैन । मेरै परिवारका, शिक्षित, जानेबुझेका, देश–विदेश घुमेका सदस्यहरूले गरेका प्रश्नहरू हुन् यी । यिनीहरूको पापको परिभाषा के हो ? मेरी छोरीले महिनावारी नबारे पनि, मैले घरमा महिनावारीलाई सामान्य रूपमा लिए पनि अहिलेसम्म कुनै पाप लागेको छैन । पाप भन्ने शब्द प्रयोग गर्दै विज्ञान र मनोविज्ञान नबुझ्नु त कायरता, भय र अन्धविश्वासलाई त्याग्न नसक्नु हो ।

संयोगवश मेरी छोरीको पहिलो रजश्वला हुँदा म जापानमा थिएँ, छोरी नेपालमा । सँगै भएर उनलाई हौसला, ढाडस अनि शिक्षा दिन र त्यो समयलाई रमाइलो बनाइदिन पाइन मैले । जीवनमा सार्‍है दु:ख लागेको दिन थियो त्यो दिन तर स्काइप र भाइबरमार्फत हामीबीच संवाद हुन्थ्यो । हामी दुवै खुब रोएका थियौं । छोरीले पहिलो पटक असहज महसुस गरेको, चिन्ता गरेको क्षण, आमा सँगै भएको भए धेरै ढाडस हुन्थ्यो भनेर महसुस गरेको समय र मैले पनि म सँगै भएको भए यसलाई सहज प्रक्रिया हो भनेर परामर्श दिन्थें, उत्प्रेरणा जगाउँथें प्रत्यक्ष रूपमा भनेको क्षण । यतिबेला छोरीलाई मेरो साथ चाहिन्थ्यो भन्ने कुराले दु:ख लाग्यो मलाई ।

यद्यपि बाबा र दादा कुरा बुझ्ने र सहयोगी भएकाले १–२ दिनपछि छोरीले पनि यसलाई सहज रूपमा लिइन् । हामीले छोरीलाई कतै लगेर लुकाएनौं बरु उनको आफ्नै कोठामा सधैझैं आराम गर्ने, सरसफाइमा ध्यान दिने, ल्यापटप, आइप्याडबाट त्यसका बारेमा जानकारी लिने र रमाइला कुराहरू हेर्ने तथा सिक्ने कुरा सिकायौं । ४–५ दिन विद्यालय नगई आराम गर्न लगायौं । उनलाई मनपर्ने तथा उनको मनोभावना बुझेर काम गर्‍यौं । उनीसँग धेरैभन्दा धेरै समय रमाइला कुरा गरेर बितायौं ताकि यी दिनहरू बितेको पत्तो नहोस् । खाना बनाउने र अरू काम उनले गरिनन्, आराम गरिन् तर अरु छुवाछूतमा हामीले रोक लगाएनौं र त्यसका बारेमा बताएनौं पनि । त्यसै पनि उनी ५ वर्ष जापानको स्कुलमा पढेकी हुनाले धेरै व्यावहारिक ज्ञान पाइसकेकी थिइन् । उनलाई सजिलो र बुझ्ने वातावरण थियो घरमा । अर्को महत्वपूर्ण कुरा हाम्री छोरी महिनावारी हुनु भनेको अब उनी सृष्टिका लागि योग्य ठहरिइन् भनेर हामीलाई त यसले उत्सवमय बनायो । सबैले महिलाको यो शुभ घटनालाई पाप र छोइछिटोका रूपमा नहेरी महिनावारी र यसको विज्ञान अनि मनोविज्ञानलाई नयाँ आयाममा हेर्नु जरुरी छ अर्थात् महिलाको महिनावारीलाई उत्सवका रूपमा लिनुपर्छ ।

मनोविज्ञान बुझ्ने शिक्षाको कमी

महिनावारी भएका महिलाले माझेका भाँडा सुनपानी छर्केर चोखो बनाउने प्रयास गरिन्छ हाम्रो समाजमा तर छपक्क सुन लगाएर बसेका महिनावारी भएका महिला अशुद्ध कसरी भए ? सन्तान दिइन् बुहारीले भनेर मक्ख पर्ने सासू–ससुरा छोरा जन्माउने बुहारीप्रति अझ खुसी हुन्छन् भने महिनावारीलाई छोइछिटोका रूपमा लिइन्छ । महिनावारी नभई कसरी सन्तान जन्माउन सक्छन् महिलाले ? यस्तो छ चेतनाको स्तर हामीकहाँ अझै पनि । शिक्षा र चेतनाको विकास हुँदै गएको भए पनि महिनावारीलगायतका अन्य संस्कार एवं परम्परामा अझै अन्धविश्वास तथा गलत मान्यताहरू विद्यमान छन् । तिनमा अपेक्षाकृत परिवर्तन आउन सकेको छैन ।

महिनावारी उमेरअनुसार महिलामा हुने एउटा प्राकृतिक प्रक्रिया हो । यस्तो समयमा परिवारका सदस्यलगायत विद्यालयका शिक्षक–शिक्षिका तथा वरपरका सबैले कुरा बुझेर सहयोग गर्नुपर्छ । यस्तो बेलामा मन एकाग्र नहुने, चिन्ता एवं डर लाग्ने अनि पेट दुख्नेजस्ता शारीरिक असहजता उत्पन्न हुनसक्छन् । त्यसैले किशोरी वा महिला जोसुकैलाई भए पनि उनीहरूको मनोभावना बुझेर व्यवहार गर्नु जरुरी हुन्छ । विद्यालयमा किशोरीहरूले कक्षामा शिक्षकले पढाइरहँदा पनि बाथरुम जाऊँ भनेर सोध्दा अहिले होइन कक्षा सकिएपछि भनेर जवाफ पाउँछन् । त्यतिबेला धेरै किशोरीले आफ्नो महिनावारी भएको बताउन सक्दैनन् तर उनीहरूलाई छिट्टै बाथरुम जानुपर्ने बाध्यता हुन्छ । कहिलेकाहीँ धेरै पेट दुखेर बीचमै कक्षा छोडेर हिँड्नुपर्ने हुनसक्छ । किशोरीहरू आफैले यो कुरा बताउँदैनन् तर शिक्षक तथा अभिभावकले यसलाई बुझ्नुपर्छ । उनीहरूलाई खुलेर महिनावारी भएको जानकारी दिने तथा आफ्नो समस्या व्यक्त गर्न सक्ने बनाउनुपर्छ ।

महिनावारी प्राकृतिक प्रक्रिया हो

महिनावारी शारीरिक रूपमा परिपक्व भएपछि महिलामा देखापर्ने एउटा प्राकृतिक प्रक्रिया हो भन्ने कुरा घरपरिवार तथा समाजले पनि बुझिदिनुपर्छ । वैज्ञानिक हिसाबले हेर्दा यो समयमा सरसफाइ र आराममा ध्यान दिनुपर्ने हुँदा मन्दिर नजाने, भान्सामा नजाने आदि संस्कार बसेको हुनसक्छ तर मन्दिर गए पाप लाग्छ । खाना पकाएर ख्वाए पाप लाग्छ भन्नेजस्ता कुरा भ्रम र सत्यता नभएका तर्क हुन् । महिनावारी त विनाहिंसा बग्ने रगत हो जो शरीरले स्वयं उत्पादन गर्छ । पशुपन्छीको बलि दिनेहरूले महिलाको महिनावारी पाप नभएर यो महिला सृष्टिका लागि योग्य भएको संकेत हो भन्ने कुरा बुझ्नुपर्छ ।

महिलाहरूमा सामान्यतया एक महिनाको अन्तरमा महिनावारी हुन्छ । कहिले २८ दिनमै हुन्छ त कहिले २–४ दिन यताउता र कहिले १–२ महिना ढिलो पनि हुनसक्छ । किशोरावस्थामा नियमित महिनावारी हुन्छ भन्ने छैन । औसतमा २८ दिनमा मासिक धर्म दोहोरिन्छ । त्यसै पनि महिनावारी भएका बेला केही गर्न मन नलाग्ने, एकोहोरा हुने, मनमा डर, चिन्ता, असहजता महसुस भै निराशासमेत उत्पन्न हुन्छ भने कतिपय अवस्थामा हीनताबोधसमेत हुन्छ । त्यसैले यस्तो अवस्थामा अभिभावकले आफ्ना छोरीहरूप्रति विशेष ध्यान पुर्‍याउनुपर्छ । यो समयमा पर्याप्त सरसफाइ, उपयुक्त व्यायाम तथा सन्तुलित भोजन आवश्यक हुन्छ ।

यौन तथा प्रजनन् स्वास्थ्य

विद्यालय तथा कलेजका पाठ्यक्रममा यौन एवं प्रजनन् स्वास्थ्यसम्बन्धी विषय पनि समेटिनुपर्छ, ताकि किशोरीहरूले खुलेर यस विषयमा जानकारी लिन सकून्, भन्न सकून् र अरूलाई समेत सिकाउन सकून् । महिनावारी तथा प्रजनन् स्वास्थ्यसम्बन्धी पुस्तकहरू पढ्न दिनुपर्छ छोरीहरूलाई । जति जानकारी भयो त्यति नराम्रा घटनाबाट जोगिन सकिन्छ र नकारात्मक कुरा बाहिर आउन पाउँदैनन् । सृष्टिको सुरुवात, जीवनमा अत्यावश्यक तथा प्राकृतिक प्रक्रियालाई अतिरञ्जना र परम्परागत तरिकाले व्याख्या गरिनुभन्दा सही र उपयोगी ज्ञानमा जोड दिनुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाले यस विषयमा विभिन्न पुस्तक प्रकाशित गरेको पाइन्छ तर तिनका पाठक कमै भएको महसुस हुन्छ । जनचेतनाका लागि तिनलाई सर्वत्र पुर्‍याउनु अत्यन्त जरुरी छ ।

                                           email:pranamu4@gmail.com

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्