नगरपिताको प्रेमकहानी

जनक नेपाल

श्रावण ३१, २०७५

 

भारतीय राज्य मध्यप्रदेशमा पर्ने ग्वालियरकी महारानी विजयाराजे सिन्धियाकी नातिनी प्रतिमालाई भगाएर नेपालगन्ज भित्र्याएको मेयर धवलशमशेर राणालाई हिजोअस्तिजस्तै लाग्छ । कति वर्ष भयो, उनलाई झट्ट भन्न गार्‍है पर्‍यो ।

नजिकै रहेकी प्रतिमासँग सोधिहाले–‘साँच्चै, कति वर्ष भयो ?’

उनले मुस्कुराउँदै भनिन्–‘३८ वर्ष ।’

धवलशमशेर भर्खर १९ वर्षका थिए, प्रतिमा १८ वर्षकी । उनीहरू एउटै सहर र कलेजमा पनि थिएनन् । धवल दार्जीलिङमा पढ्थे । प्रतिमा कलकत्तामा । एउटा पारिवारिक जमघटमा नजिकिएका उनीहरू अन्तत: घर–परिवारलाई थाहै नदिई ‘भागी विवाह’ गर्ने निर्णयमा पुगे ।

प्रतिमाकी आमा पद्मावतीराजे ग्वालियरकी महारानी विजयाराजे सिन्धिया तथा महाराज जीवाजीरावका पाँच सन्तानमध्ये जेठी छोरी हुन् । उनको विवाह त्रिपुरा महाराज किरिटदेव बर्मनसँग भएको थियो । सन् १९६४ मा पद्मावतीको निधनपछि किरिटदेवले देवशमशेरकी पनातिनी विभुकुमारीसँग विवाह गरे । उनी नाताले धवलशमशेरकी दिदी पर्थिन् । त्यही सम्बन्धले धवल र प्रतिमाको पहिलो भेट ०३६ सालमा लखनउको एउटा पारिवारिक जमघटमा भएको थियो । पहिलो भेटमै उनीहरूले एक–अर्कालाई मन पराए ।

‘लभ एकै नजरमा हुन्छ भन्छन् नि । हो रै’ छ,’ ५७ वर्षीय राणा आफ्नो प्रेम अनुभव सुनाउँछन्–‘पहिलो भेटमै हामीले एक–अर्कालाई मन पराएका थियौं ।’ केही दिनको लखनउ बसाइमै ठेगाना आदान–प्रदान भयो । त्यो अहिलेजस्तो फोन, मोबाइल र इमेल–इन्टरनेटको जमाना थिएन । सन्देश आदान–प्रदानको एउटै माध्यम चिठीपत्र थियो । धवल दार्जीलिङ फर्किए, प्रतिमा कलकत्ता अनि सुरु भयो प्रेमपत्र ।

चिठीपत्रले मात्र भएन । एक–अर्कालाई भेट्न कलकत्ता र दार्जीलिङको यात्रा बाक्लियो । धेरैजसो धवल नै प्रतिमालाई भेट्न कलकत्ता पुग्थे । कहिलेकाहीँ प्रतिमा दार्जीलिङ पुग्थिन् । उनीहरूको माया एक वर्षमै यति झाङ्गियो कि छुट्टाछुट्टै बस्नै नसक्ने भए । ‘कति दार्जीलिङ–कलकत्ता गरिरहने भनेर विवाह गर्ने निधो गर्‍यौं,’ प्रतिमाले भनिन् ।

माइतीलाई थाहै नदिई उनी धवलको जीवनसाथी बनेर नेपाल आइन् । त्यतिबेला नेपालगन्जको रूप अर्कै थियो । त्रिभुवनचोक र सदरलाइनबाहेक कतै बजार देखिँदैनथ्यो । तैपनि कलकत्ताको रमझम र नेपालगन्जको सुनसानबीच आफूले कुनै तुलना नगरेको प्रतिमा बताउँछिन् । राणा भन्छिन्–‘मैले अरू केही देखिनँ । कतै–कुनै कमी महसुस गरिन । सबै प्रेममय लागे, किनभने मसँग धवल थिए ।’

अल्लारे उमेरमा घरजम गर्न आएकी प्रतिमाले यहाँ कुनै समस्या भोग्नु परेन । माइती रिसाए पनि घरवाला खुसी थिए । त्यसैले उनले राम्रै पारिवारिक वातावरण पाइन् । ठूलो परिवार थियो । पारिवारिक भेटघाट र पिकनिक भैरहन्थे । उनीहरू बेलाबेला सिकार खेल्न जान्थे । ‘घरमा मैले छोरीकै स्थान पाएँ’ प्रतिमा भन्छिन्–‘कहिल्यै बुहारी भएको महसुस गर्नुपरेन ।’

इन्टरमिडियट अध्ययनरत प्रतिमालाई ससुरा कैलाशशमशेरले कलेज भर्ना भएर पढ्न भने, तर उनलाई नेपाली लेख्न–पढ्न पटक्कै आउँदैनथ्यो । नेपालगन्जमा अंग्रेजी माध्यमका कुनै विद्यालय थिएनन् । त्यसैले उनले सीमावर्ती भारतको नानपाराबाट प्राइभेट परीक्षा दिइन् ।

विवाह गरेपछि केही न केही रोजगारी त गर्नुपर्‍यो । के गर्ने ? उनीहरूले गाउँमा कृषि फर्म खोले । त्यहाँ प्रशस्तै तरकारी उत्पादन हुन्थ्यो । दिनहुँ एक लडिया तरकारी नेपालगन्ज बेच्न पठाइन्थ्यो । तीन महिनामा तरकारीबाट कमाएको पैसाले सुनौलो रंगको ‘सेकेन्ड ह्यान्ड’ राजदूत मोटरसाइकल किनेको दिन सम्भँmदा उनी अहिले पनि रोमाञ्चित हुन्छिन् ।

दुई भारतीय राजघरानाकी नातिनी प्रतिमा त्यसरी भागेको माइतीलाई पटक्कै मन परेको थिएन । सबैभन्दा धेरै कान्छी आमा विभुकुमारी रिसाएकी थिइन् । टाढाकै भए पनि नातेदारमा त्यसरी विवाह गरेकोमा उनलाई चित्त बुझेको थिएन । त्यसमाथि उनीहरूले कम उमेरमै विवाह गरेका थिए तर जति रिसाए पनि पाँच वर्षपछि भने माइतीको मन पग्लियो । धवल–प्रतिमा त्रिपुरा खान्दानमा भित्र्याइए ।

पढाइ सकेर मन्सुरीबाट फर्कंदा धवलले अमेरिका जाने मनस्थिति बनाएका थिए, तर उनको मन एकाएक फेरियो । अमेरिका गएर दु:ख गर्नुभन्दा स्वदेशमै केही गर्ने इच्छा जागेको उनी बताउँछन् । अमेरिकाको सपना त्यागेर उनीहरूले ०४३ सालमा नेपालगन्जमा मोर्डन पब्लिक स्कुल खोले । दुवैले झन्डै १६ वर्ष त्यहाँ पढाए । ०४६ सालमा होटल वाटिका खोले । त्यसबाट पनि धवललाई सन्तुष्टि मिलेन । उनी ०४८ सालमा राजनीतितर्फ मोडिए । सुरुमा राप्रपामा लागे । राप्रपासम्बद्ध युवक संगठनको जिल्ला सचिवबाट राजनीति थालेका राणा अहिले केन्द्रीय महामन्त्री छन्, तर यसबीच उनले धेरै उतारचढाव पार गरेका छन् ।

फुर्सदका बेला ट्याक्टरले आफैं खेत जोत्न जान्छन्, तर उनले कृषिलाई भने पेसा बनाउन सकेनन् ।

उनका बुवा कैलाशशमशेर अमेरिकामा पढेर फर्किएका नेपालकै पहिलो कृषि इन्जिनियर मानिन्छन् । उनी आफ्ना दुई छोरा सुमेरशमशेर र धवलशमशेर पनि कृषिमै सक्रिय देख्न चाहन्थे । सुमेरले बुवाको बाटो पछ्याए । धवलले पनि कृषि मन पराए, तर लामो हिँडेनन् बरु उनले आफ्ना जिजुबुवा देवशमशेरको राजनीतिको बाटो समाए । देवशमशेर विकासप्रेमी राणा प्रधानमन्त्री मानिन्थे । ०५४ सालमा मेयर जितेपछि धवलशमशेरले पनि विकासप्रेमी मेयरकै परिचय बनाए । उनको त्यही विकासे छविकै कारण ०७० को स्थानीय चुनावमा फेरि सहजै मेयर भए ।

धवलशमशेरलाई बिहानदेखि बेलुकासम्मै भ्याइ–नभ्याइ हुन्छ । बिहानै ‘ब्रेकफास्ट’ गरेर निस्किएका राणा साँझ कतिबेला फर्कने कुनै टुंगो हुँदैन । यद्यपि अब यसमा प्रतिमाले गुनासो गर्न छाडिसकेकी छिन् । ‘धन्न ‘ब्रेकफास्ट’ सम्म सँगै खान भ्याउनुहुन्छ,’ प्रतिमा भन्छिन्–‘नेतासँग गुनासो गरेर के फाइदा ? बानी परिसक्यो ।’ उनीहरूकी एक्ली छोरी शिवांगिनी काठमाडांैमा बस्छिन् । दिनभर घरमै कुरेर बस्नुभन्दा उनी आधा समय छोरीसित बस्ने गरेकी छिन् । नेपालगन्ज आएका बेला पनि भेट्न मुस्किल भएपछि कहिलेकाहीँ उप–महानगरपालिका कार्यालयमै पुग्ने प्रतिमा बताउँछिन् ।

प्रतिमाको माइतीतर्फ आमा पद्मावती र सानीआमा उषाराजेबाहेक सबैजसो राजनीतिमा सक्रिय भए । उषाराजे राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाकी श्रीमती हुन् । हजुरआमा राजमाता विजयाराजे भारतीय जनता पार्टीकी प्रभावशाली नेतृ मानिन्थिन् । उनी पटक–पटक लोकसभा सदस्य भइन् । मामा माधवराव सिन्धिया २००१ सेप्टेम्बर ३० मा हवाई दुर्घटनामा निधन हुनुअघिसम्म विधानसभा लोकसभा सदस्य थिए । उनी केन्द्र सरकारमा मन्त्री पनि भए । उनका छोरा ज्योतिरादित्यसमेत लोकसभा सदस्य भए ।

एउटी सानीआमा वसुन्धराराजे राजस्थानकी मुख्यमन्त्री छिन् भने अर्की यशोधराराजे मध्यप्रदेश सरकारमा मन्त्री छिन् । यस्तोमा प्रतिमालाई राजनीति गर्ने कुनै मोह नहोला ? उनी भन्छिन्–‘एउटै घरबाट कतिजनाले राजनीति गर्ने ? मलाई त धवलराजाको राजनीति देखेरै पुगेको छ ।’

धवललाई पनि आफ्नो व्यस्तता अलि बढी नै भएको महसुस हुन थालेको छ । तैपनि समय व्यवस्थापन गर्न सकिरहेका छैनन् । उनको अघिल्तिर एकातर्फ घरपरिवार र व्यवसाय छ, अर्कातर्फ नगर विकासको अभिभारा । अहिले उनी आफूलाई लोकप्रिय मतले चुनाव जिताउने मतदातालाई पछुतो नहुनेगरी दोस्रो विकल्पमा व्यस्त छन् । नेपालगन्जमा धवलले पार्टीको संगठन र विचारले भन्दा पनि ०५४ सालको मेयरका रूपमा गरेको कामका बलमा चुनाव जितेको मानिन्छ ।

राप्रपाले नगरका तीन वडामा मुस्किलले जित्दा उनी भने फराकिलो मतान्तरले विजयी भएका थिए । विकासको आकांक्षा राखेर मतदाताले आफूलाई रोजेकाले त्यो विश्वासलाई त्यसै खेर जान नदिने उनको संकल्प छ । ‘राजनीतिमा जनताको भरोसा टुट्न दिनु हुँदैन । त्यसैले म दिनरात खटिरहेको छु,’ स्थानीय शासनका विद्यावारिधि धवल भन्छन्–‘पुरानो सहर नेपालगन्जले पाँच वर्षमा काँचुली फेर्नेछ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्