Teej banner

नजन्मिएकी वीराङ्गना

डा. टीकाराम पोखरेल

श्रावण २८, २०७५  

 

ऊ जन्मी । ओहो ! जन्मदै कस्तो सलक्क परेकी । ऊ जन्मिँदा खुसीको सीमा रहेन । घरमा खुसीयाली, आफन्तमा खुसीयाली, इष्टमित्र, छरछिमेक सबैमा खुसीयाली । साथीभाइको बधाईको ओइरो । उसकी आमा पनि कति दङ्ग छे आज । मातृत्वको आनन्द उसको अनुहारमा प्रस्टै झल्किरहेको छ ।

प्रकृतिको नियम हो, मान्छे जन्मिएपछि सुख–दु:ख जसरी पनि हुर्कन्छ, बढ्छ तर उसले दु:खमा हुर्कनु परेन, गुडियाजस्ती बनेर सबैको हातहातमै हुर्की । परिवारका सबै सदस्यकी आँखाकी नानीजस्ती प्यारी बनी ।

तीन वर्षकी भएपछि उसलाई विद्यालयमा भर्ना गरियो । विद्यालयमा ऊ नर्सरीदेखि नै अब्बल ठहरिई । चाहे पढाइमा होस् वा अतिरिक्त क्रियाकलाप सबैमा ऊ प्रथमका प्रथम हुन थाली ।

परीक्षाका अधिकांश विषयमा उसले पूर्णाङ्क ल्याएकी हुन्थी ।

त्यसै त घरमा सबैकी प्यारी, त्यसमाथि पढाइमा अब्बल ठहरिएपछि त के चाहियो ? ऊ परिवारकी केन्द्रबिन्दु बनी ।

उमेर बढ्दै र कक्षा चढ्दै जाँदा उसले प्राप्त गरेका प्रमाणपत्र र मेडलहरूले कोठा भरिन थाल्यो । खेलकुदमा होस् वा वक्तृत्वकला, हाजिरी जवाफ होस् वा चित्रकला सबैमा उसको उमेर समूहमा ऊ नै प्रथम हुन्थी ।

उसले कक्षा टप मात्र गरिन, विद्यालय टप गरी । विद्यालय मात्र होइन कलेज टप गरी र अन्तिममा उसले युनिभर्सिटी नै टप गरी ।

कलेज जीवनमा प्रवेश गरेपछि ऊ राजनीतिमा चासो राख्न थाली । कलेजमा स्ववियुको चुनावमा उसले सभापतिमा सजिलै विजयको झण्डा फहराई ।

ऊ भाषण कलामा निपुण थिई । उसको भाषण सुन्न युवायुवतीहरू घन्टौं कुरेर बस्थे । शिष्ट र शालीन भाषण गर्थी ऊ । उसको भाषणमा उग्रता थिएन तर उसको शिष्ट र शालीन भाषण एकदम दमदार हुन्थ्यो । उसले भाषण गर्दा तालीको गडगडाहटले वातावरण नै उल्लासमय बन्थ्यो ।

उसको भाषणमा देशको चिन्ता हुन्थ्यो । भाषणमा पटक–पटक ऊ भूपि शेरचनको हामी कविताको उद्धरण दिँदै हामीले परतन्त्रबाट मुक्त हुनुपर्ने धारणा व्यक्त गर्थी । गोपालप्रसाद रिमालका कविताहरूले दिने राष्ट्रभक्तिको सन्देशको खुलेर प्रसंशा गर्थी । धरणीधर कोइराला, सिद्धिचरण श्रेष्ठका क्रान्तिकारी कविता र कालीप्रसाद रिजाल, माधव घिमिरेका राष्ट्रिय गीतहरू उसलाई कण्ठै थियो । ऊ राष्ट्रियताको सवालमा कोही–कसैसँग पनि कहिल्यै ‘कम्प्रमाइज्ड’ गर्नुहुँदैन भन्ने धारणा राख्थी ।

विद्यार्थी जीवनमा नै उसले निकट भविष्यको राजनीतिको नेतृत्व लिने लक्षण देखाइसकेकी थिई ।

समयक्रममा उसमा थप परिपक्वता आयो । युनिभर्सिटीको अध्ययन सक्नासाथ उसलाई परिवारका सदस्यहरूले सरकारी जागिरमा प्रवेश गर्ने सल्लाह दिए तर उसले वर्तमान अवस्थामा यो देशमा जागिरदार होइन देशलाई सही मार्गमा हिँडाउने राजनीतिक नेतृत्व चाहिएको छ भन्दै पूर्णकालीन राजनीतिमा प्रवेश गर्ने आफ्नो निर्णय सुनाई ।

ऊ राजनीतिमा पूर्णकालीन भएपछि देशको अवस्थाप्रति थप गम्भीर हुन थाली । देशको समस्या के हो र त्यसको समाधान कसरी गर्ने ? एक–एक केलाउन थाली । देशलाई समृद्धिको शिखरमा पुर्‍याउन उसका योजनाहरू सार्वजनिक हुन थाले ।

उसको दूरदर्शिता देखेर ठूलो जमात उसको प्रशंसक भैसकेको थियो । उमेरमा समकक्षी मात्र होइन, उसको उमेरभन्दा धेरै पाका उमेरकाहरू पनि उसको ‘भिजन, मिसन र गोल’ बाट प्रभावित भएर उसको पछि लाग्न थालिसकेका थिए ।

राजनीतिमा उचाइ बढ्दै जाँदा एकातिर उसका प्रशंसकहरू बढ्दै थिए भने जो देशको वर्तमान भद्रगोल राजनीतिमा धमिलो पानीमा माछा मार्दै थिए तिनीहरू आफू अब राजनीतिबाट विस्थापित हुनुपर्ने डरले चिन्तित थिए अनि यदाकदा उसका बारेमा भ्रम सिर्जना गर्ने प्रयास गर्थे । यस्ता भ्रम ऊ शालीनतापूर्वक चिर्थी र त्यो फिँजाइएको भ्रम मात्र प्रपोगन्डा हो भन्ने कुरा साबित गरिदिन्थी ।

सयमक्रममा उसले पार्टीको नेतृत्व प्राप्त गरी । देशमा चुनाव भयो । जनताको मतबाट उसले अभूतपूर्व विजय प्राप्त गरी । ऊ देशको प्रधानमन्त्री भई । देशको पहिलो महिला प्रधानमन्त्रीमा इतिहासमा नाम लेखाई ।

ऊ प्रधानमन्त्री हुँदा देश समस्यै–समस्यामा थियो । चुनौतीका चाङमाथि ऊ प्रधानमन्त्री बनेकी थिई ।

भाषणमा देश बनाउन जति सजिलो हुन्छ यथार्थमा त्यति सजिलो थिएन तर ऊसँग योजनाबद्ध विकासको रणनीति थियो । देशको प्रधानमन्त्री हुनुअघि उसले आवेगमा नभई सुझबुझपूर्ण तरिकाले बोलेको हुँदा आफूले बोलेको कुरा पूरा गर्न उसलाई कुनै कठिनाइ भएन । ऊ देश बनाउने आफ्ना योजना कार्यान्वयनमा एकपछि अर्को गर्दै सफल हुँदै गई ।

ऊ देशलाई समृद्धिको पथमा अघि बढाउने थप सम्भावनाहरूको खोजी गर्न थाली । ठूल्ठूला विकासका योजना बनाउन थाली । पूर्वाधारहरू तयार हुन थाले । विकास निर्माण हुन थाले । उदार आर्थिक नीति तथा शान्ति सुरक्षाको मजबुत स्थितिले गर्दा उद्योगधन्दाहरू एकपछि अर्को खुल्न थाले । देशभित्रै रोजगारीका अवसरहरू सिर्जना भए । कला, साहित्य, संस्कृति, अर्थ, उद्योग, व्यापार हरेक क्षेत्रमा सुधार आयो ।

उसले देशको शासनको बागडोर सम्हालेको केही वर्षमै देशले मुहार फेर्न थाल्यो । सहरका साँघुरा सडक फराकिला हुन थाले । बाग्मतीको फोहोर सफा हुन थाल्यो । काठमाडौंको धूलो इतिहास भयो । तुवाँलो हटेर आकाश नीलो देखिन थाल्यो । गाउँगाउँमा सडक पुग्यो । सहरमा विद्युतीय रेल गुड्न थाले । खानीहरूबाट तेल निस्कन थाल्यो । विदेशमा गएका युवाहरू देशमै रोजगारीको सम्भावना देखेपछि स्वदेश फर्कन थाले ।

एकपछि अर्को गर्दै उसका प्रशंसक बढ्न थाले । उसको तुलना इन्दिरा गान्धी, मार्गरेट थ्याचर, एञ्जिला मार्केलसँग हुन थाल्यो । इतिहासकारहरूले उसमा आफ्नै इतिहासकी वीराङ्गना राजमाता राजेन्द्रलक्ष्मीको प्रतिरूप देख्न थाले ।

+++

राजधानीको मध्यभागमा सरकारी लगानीमा विश्वकै नमूना अस्पताल बन्यो । अस्पतालको शुभारम्भ समारोहमा उसलाई प्रमुख अतिथिका रूपमा निम्त्याइयो ।

आफ्नो संक्षिप्त मन्तव्यमा उसले भनी– ‘....केही वर्षअघिसम्म विश्वका असफल राष्ट्रहरूको सूचीमा पो पर्ने हो कि भन्ने अवस्थाबाट आज हाम्रो देश विश्वका विकसित मुुलुकसँग प्रतिस्पर्धामा उत्रन सक्ने भएको छ । हिजो दाता देशको क्रीडास्थलका रूपमा रहेको हाम्रो देश हामीलाई अरुको अनुदान नचाहिने भएपछि हाम्रो देशबाट विस्थापित भएका छन् । अब हामी विश्वसामु हात थाप्ने होइन, बरु काँधमा काँध मिलाएर विश्व राजनीतिमा चासो राख्ने स्थानमा पुगेका छौं । प्रतिव्यक्ति आय १० हजार अमेरिकी डलर पुगिसकेको छ । आप्रवासन खोज्दै बिदेसिने हाम्रा नेपाली दाजुभाइ आफ्नै देश फर्किएका मात्र होइन, कतिपय विदेशीहरू हाम्रो देशमा आप्रवासन खोज्दै आइरहेका छन् । आज हामी जुन ठाउँमा छौं त्यो तपाईंहरूको मेहनतको परिणाम हो । गर्नुपर्ने काम अझै पनि बाँकी छन्, जे बाँकी छन् ती सम्पन्न हुन नसक्नु नेतृत्वको नाताले मेरा कमजोरी हुन् । ती बाँकी कामलाई पनि म छिटो पूरा गर्ने प्रयास गर्नेछु ।’

उसले भनी–‘आज यो समारोहबीच जुन अस्पतालको उद्घाटन हुँदैछ, मलाई यस अर्थमा गर्व छ कि यो विश्वका केही औंलामा गन्न सकिने अत्याधुनिक अस्पतालमा पर्छ । यो हाम्रो राष्ट्रिय गौरव हो । यो अस्पताल बनाउनमा जनताले पुर्‍याएको सहयोगप्रति यस अर्थमा हार्दिक धन्यवाद दिन चाहन्छु कि यो हाम्रै देशका जनताले तिरेको करबाट बनेको अस्पताल हो । हामी यो अस्पतालमा विश्वका अत्यन्त विकसित मुलुकमा मात्र प्राप्त हुने अत्याधुनिक सेवा दिन सक्छौं तर अत्याधुनिकताका नाममा मानव सभ्यतामै कलंक लाग्ने प्रकृतिका काम हामी गर्ने छैनौं । आज विश्व सभ्यता र प्रविधिको प्रयोगको नाममा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने जस्तो अमानवीय कार्यतर्फ उद्यत छ । तर लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने अमानवीय, दानवीय, अनुदारीय र आधुनिकताको नाममा जङ्गली कामलाई हाम्रो देशले गैरकानुनी घोषणा गरेको छ । आज उद्घाटित यो अस्पतालमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने काम हुनेछैन । एउटा मानवले अर्को मानवलाई मार्ने, त्यो पनि स्त्रीलिङ्ग देखेपछि एभोर्सन गर्ने काम हामी कहिल्यै गर्ने छैनौं । हामी आफू मात्र नगर्ने होइन, विश्वलाई नै यस्तो घृणित र अमानवीय कार्य नगर्न सल्लाह दिन्छौं । हरेक व्यक्तिको जन्मन पाउने अधिकारको सम्मान गर्न हामी सम्पूर्ण विश्वलाई आह्वान गर्दछौं ।’

परर्रर्रर्रर ....... ताली बज्छ । मैले पनि ताली बजाएँ ।

जीवनमा म आज सबैभन्दा खुसी थिएँ । किनभने यो भाषण गर्ने ऊ अर्थात् आजकी प्रमुख अतिथि, यो देशकी प्रधानमन्त्री मेरी छोरी थिई ।

+++

तालीको गडगडाहटले म झल्याँस्स हुन्छु । ब्युँझदा आफूलाई अस्पतालको बिरामी कुरुवा रुममा पाउँछु ।

‘पर्ख । नो एभोर्सन । नो एभोर्सन । नो एभोर्सन ।’ म जुरुक्क उठेर बिरामी वार्डतर्फ दौडन्छु ।

हतार–हतार बिरामी वार्डमा पुगेर बेडमा सुतिरहेकी श्रीमतीको हात समात्छु ।

‘सविता π नो एभोर्सन । अब हामी एभोर्सन गर्दैनौं । हामी हाम्री छोरीलाई जन्म दिन्छौं’–म भन्छु । ‘होइन तपाईं बहुलाउनु त भएन ? के नो एभोर्सन, नो एभोर्सन भन्दै कराको ?’ सविता सकिनसकी भन्छे ।

‘म बहुलाएको छैन सविता, मेरो आँखा खुल्यो । अब हामी छोरीलाई जन्म दिन्छौं । एभोर्सन गर्ने जस्तो अमानवीय र जङ्गली काम हामी गर्दैनौं । तिमी उठ । यो अस्पतालमा नबसौं हामी । अहिले नै हामी यहाँबाट हिँडिहालौं ।’ म हतार–हतार भन्छु ।

‘तर हिजो अल्ट्रासाउन्ड गर्दा मेरो पेटमा छोरी छ भन्ने थाहा पाएपछि तपाईंले ‘छोरा भए जन्माउन हुन्थ्यो, छोरी रै’ छ नजन्माउने, एभोर्सन गर्ने’ भनेर हिजै एभोर्सन गरेको होइन ? एभोर्सन गर्दा अत्यधिक रक्तस्राव भएर पो म यहाँ अस्पतालमा भर्ना भएर बसेकी छु । नत्र म यतिबेला घर पुगिसकेकी हुन्थें–सविता भन्छे ।

म अस्पतालमै दोस्रो पटक पुन: झल्याँस्स हुन्छु । ‘ओ नो π हो त । हामीले त हिजै एभोर्सन गराइसक्यौं ।’ म छाँगाबाट खसेझैं हुन्छु ।

मलाई आत्मग्लानि हुन्छ । होनाहार छोरीलाई जानीजानी मारेकोमा म आफूलाई हत्यारा मान्छु । पश्चातापले सताउँछ । म आफ्नो मूर्खता सम्झेर अस्पतालको भित्तामा आफ्नै टाउको ठोक्न थाल्छु ।

नर्सहरूले यो के गर्नुभएको भन्दै मलाई बिरामी कुरुवा रुमतर्फ लान्छन् ।

म बिरामी कुरुवा रुममा छु । देशले नजन्मदै फेरि एउटी वीराङ्गना गुमाउनुपरेकोमा म दु:खी छु ।

मेरो मानसपटलमा एउटा तस्बिर आउँछ–‘अशिक्षा, अन्धविश्वास, अविकास, गरिबीबाट देशलाई मुक्ति दिनसक्ने एक वीराङ्गनाले फेरि पनि नजन्मिदै मर्नुपरेकोमा देशले आँसु झारिरहेको छ ।’

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्