परसेन्टेज कि प्रतिभा ?

कविता शर्मा

श्रावण २३, २०७५

हामी आमाबुवा जब आफ्नो सन्तान पेटभित्र चलमलाउँछ जीवनको छुट्टै खुसीको अनुभूति गरिरहेका हुन्छौं अनि सन्तानका लागि अनेकौं सपना सजाउन थाल्छौं । मेरो नानीलाई यो समाजको सबैभन्दा राम्रो स्कुलमा पढाउँछु र भविष्यमा डाक्टर वा इञ्जिनियर बनाउँछु यस्तै ...यस्तै.... ।

शिशुलाई दुई वर्ष पुग्नासाथ मन्टेश्वरीमा भर्ना गर्छौं । सुरुका दिनबाटै नानीलाई स्कुल पठाउँदा नानी राम्रो पढ्नु, फस्ट हुनु, सबैलाई जित्नुपर्छ भन्दै कलिलो दिमागमा जित्ने मानसिकता भरेर पठाउँछौं र नानीहरू सिक्ने मानसिकताभन्दा जित्ने मानसिकता एवं पुस्तकको गरुङ्गो भारी बोकेर विद्यालय पुग्छन् । उनीहरू हरेक दिन आफ्ना साथीहरूसँग प्रतिस्पर्धामा हुन्छन् । सिक्ने होइन जित्ने मानसिकताले... । जितेका नानी त खुसी होलान् तर जसले जित्न सक्दैनन् उनीहरू निराश हुन्छन् । त्यसैले हामी अभिभावकले सानैदेखि प्रतिस्पर्धा गराएर जित्नैपर्छ भन्ने मानसिकताले होइन, हरेक दिन एउटा कुरा मात्र सिके पुग्छ । स्कुलको पहिलो दिनदेखि नै जितेर आऊ होइन सिकेर आऊ भनेर पठाउन सक्यौं भने नानीहरूले सिक्ने पनि छन् र उनीहरू निराश पनि हुने छैनन् ।

आजको समाजका हामी आमाबुवा रोजगारीदेखि सामाजिक सेवासम्म कतै न कतै आबद्ध भएकाले व्यस्त हुन्छौं । दुई–अढाई वर्षमै बच्चालाई मन्टेश्वरी भर्ना गर्ने बाध्यता पनि छ । बिहान नौ बजे गएका नानी बेलुका तीन–चार बजे घर फर्कदा कतिपय अत्यन्तै रमाएका हुन्छन् भने कतिपय रमाउन सकिरहेका हुँदैनन् । भित्रभित्रै पीडा खपिरहेका पनि हुन सक्छन् । बाहिरबाट हेर्दा स्कुल राम्रो, शिक्षकहरू राम्रा–असल तर भित्र कक्षा कोठामा साथीहरूको छुस्क्याइबाट मानसिक यातना पाइरहेका पनि हुनसक्छन् । तसर्थ आफ्ना छोराछोरी स्कुलमा कति रमाएका छन् अभिभावकहरूले विशेष ख्याल गर्नुपर्छ ।

बिहानदेखिको रुटिन हेर्ने हो भने बिहान पाँच बजे आँखा मिच्दै उठेदेखि बेलुका नौ बजेसम्म गरुङ्गो पुस्तकको भारीसँग दिन बिताउनुपर्ने बाध्यता आजका नानीहरूमा छ । हामी अभिभावकहरूले नानीहरूको बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्मको रुटिनमा पढ्ने, खाने, खेल्ने, टिभी हेर्नेसम्मको समय व्यवस्थापन गरिदियौं भने त्यो कलिलो मस्तिष्कले किताबी टर्चर खप्नुपर्दैन । उनीहरू खेल्दै, टिभी हेर्दै, रमाउँदै पढेका कुरा सजिलै बुझ्न सक्छन् । यद्यपि बिहान उठेदेखि ट्युसन, स्कुल, फेरि ट्युसन उनीहरूको दिमागमा बोझ बनिरहेको हुन्छ ।

 वर्षभरि बिहानदेखि बेलुकासम्म चटपटाउन नसकिने पुस्तकको भारी बोकेर स्कुल हिँडेका नानीहरूको रिजल्ट चाहिँ हामी अभिभावकहरूलाई नब्बे प्रतिशतभन्दा माथि नै चाहिन्छ । मेरो नानी स्कुलमा फस्ट नै भैदियोस् भन्ने हामी चाहन्छौं । सबै विद्यार्थीलाई एउटा कक्षाकोठामा शिक्षकले एउटै विषय त्यही वर्षभरिमा पढाएका हुन्छन् । तीमध्ये फस्ट, सेकेन्ड र थर्ड तीन जना मात्र हुन्छन् बाँकी कोही पास त कोही फेल । आखिर शिक्षकले फस्ट, सेकेन्ड र थर्डलाई छुट्टै क्लास लिएका पक्कै हुँदैनन् । विद्यार्थीको क्षमताअनुसार उनीहरूले लिन सक्ने लिएका हुन्छन् ।

यता हामी अभिभावकहरू सेकेन्ड र थर्ड भएका आफ्ना नानीहरूलाई फस्ट भएकोलाई देखाउँदै तिमीले उसलाई जित्नुपर्छ भन्छौं । पास मात्र भएका नानीलाई पास गर्‍यौ अझ राम्रो गर्दै जाऊ भन्नुको सट्टा ए पास मात्र ? तल्लो घरको तिम्रो साथी फस्ट हुँदा तिमी कसरी पास मात्र, छिमेकीको उदाहरण दिएर आफ्ना नानीहरूलाई निराश बनाइरहेका हुन्छौं अझ फेल भएका नानीहरूलाई त गाली नै गरिरहेका हुन्छौं । यस्ता कुराले नानीहरूलाई मैले परिश्रम गरे अझ राम्रो गर्न सक्छु भन्ने मानसिकता घटेर मैले केही गर्न नसक्ने रहेछु भन्ने पर्छ र ऊ अझ निराश हुन्छ अनि उसको सिकाइमा अवरोध आउँछ ।

यदि हाम्रा नानीहरूले पढाइको क्षेत्रमा साठी प्रतिशत ल्याउँछन् तर स्टेजमा गएर माइक्रोफोन समातेर मीठो गीत गाउन सक्छन् भने उनीहरूले संगीतमै बाँकी अंक ल्याएको मान्नुपर्छ । अनि खेलको मैदानमा प्रदर्शन गर्न सक्छन् भने खेलको क्षेत्रमा बाँकी अंक ल्याएको मान्नुपर्छ । स्टेजमा राम्रो कविता लेखेर भन्न सक्छन् भने साहित्यको क्षेत्रमा बाँकी अंक ल्याएको मान्नुपर्छ । स्टेजमा राम्रो नृत्य गर्न सक्छन् भने नृत्यमा बाँकी अंक ल्याएको मान्नुपर्ने हुन्छ । हाम्रा नानीहरू कुनै न कुनै क्षमता बोकेर आएका हुन्छन् । हामी अभिभावकले उनीहरूको क्षमता चिन्न सक्यौं र उनीहरूको क्षमताअनुसार हौसला र तालिम गराउन सक्यौं भने साँच्चै शिशु पेटभित्र हुँदै हामीले देखेका सपना अवश्य पूरा हुनेछन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्