अझै रोइरहेकी छिन् गौरा

डा. अरुणा उप्रेती

श्रावण २२, २०७५

तिमारू काठमाडौंबाट आन्या ? के–के कुरा अन्र्या ?

छाउपडीको विषयमा कुरा अन्र्या त तिमीहरू गैजाऊ ? तमलाई के चासो हाम्रा क्वारी कता रहन्छन् छुई हुँदा । हाम्रा आँखा निका छैनन् । हाम्लाई धम्कीको रोग छ ? यस्ता बात क्यै नअन्र्या, केवल छाउपडी छाउपडी भन्न्या’ एक जना ७० वर्षका बूढा बा मसँग निकै रिसाए, उनी र उनका बुहारीहरूसँग छाउपडीका बारेमा कुरा गर्न खोज्दा ।

उनको घर नजिकै एउटा सानो छाउ घर रहेछ । ‘म ५ फिटको सानो मान्छेको पनि झन्डै काँधसम्म मात्र आउने त्यो छाउघरमा महिलाहरू अझै ५–७ दिनसम्म बस्छन् ।’ मैले मनमनै सोचेकी थिएँ–‘महिनावारी हुँदा घरभित्र बस्न पाउनुपर्छ भनेर छाउपडी प्रथाविरुद्ध हामीले कति वडा र गाउँमा कार्यक्रम पनि चलायौं । केही ठाउँ र वडाहरू त छाउपडी गोठबाट मुक्त पनि भैसकेका छन् भनिन्छ तर त्यो त कागजमा मात्र हो, व्यवहार यस्तै छ’ महिला विकास कार्यक्रममा कार्यरत पूर्णले उदासीपूर्वक भनिन् ।

लेइटीको त्यो छाउको तस्बिर हेर्दा तपाईंहरूलाई लाग्छ होला कसरी महिलाहरू बस्ने होला त्यहाँ ? तर त्यही त विडम्बना छ जुन कुरा तपार्इं–हामी सोच्न पनि सक्दैनौं त्यो कुरा पश्चिमका कतिपय गाउँका महिलाहरूले अझै भोग्नुपरिरहेको छ । २०६३ सालमै कुप्रथा भनिएको यो चलन अझै जहीँको तहीँ छ । म छाउगोठको त्यो सानो ढोकाबाट भित्र छिर्न खोजें तर ढोका धेरै सानो भएकाले छिर्न सकिन र बाहिरैबाट फोटो खिचाएँ । हेर्दा पुतलीको घरजस्तै ‘सुन्दर’ लाग्ने छाउगोठमा धेरै महिला अझै पनि प्रत्येक महिनाका केही दिन गुजार्न बाध्य छन् । महिलाले प्राकृतिक शारीरिक प्रक्रियाको ‘अपराधको’ दण्ड भोग्नुपर्छ । छाउगोठमा त्यहीँ एउटा ढोका हुन्छ, त्यसका खापा हुँदैनन्, ‘त्यसैले जाडोमा सिरेटो चल्दा रातभरि आगो बालेर बस्नुपर्छ र महिलाहरू धूवाँमा निस्सासिन्छन् ।’ कतिपय महिला मरेको कुरा पनि पढ्नुभएको होला–मनसरा देवीले भनेकी थिइन् ।

‘पहिले छाउगोठ घरबाट धेरै टाढा हुन्थ्यो, अहिले त प्रगति भएको छ, छाउगोठ कमसेकम घर नजिकै ल्याएका छन्’ केही वृद्धले भने । मुटु नै अमिलो भयो, टाढाको त्यो गोठ घर नजिक ल्याएर राख्दा ‘प्रगति’ मान्ने यो यो चलनलाई सुदूरपश्चिमकी गौरादेवीले कसरी सहेकी होलिन् ? तर गौरालाई एकातिर अति आदर गरेर पूजा गरेर, गौरा पर्वका बेलामा विडौरा (क्वाटी) भिजाएर खाने र रमाइलो गर्ने बेलामा कसैले महिनाको ५ दिन यो सानो पुतलीको घरभैंm लाग्ने छाउगोठमा बस्ने गौरालाई कसैले सम्झन्छ होला र ? ‘यस्ता ठाउँमा बस्दा सर्पले टोकेर तड्पीतड्पी मृत्युको मुखमा पर्ने कतिपय गौराको दु:खलाई किन सुदूरपश्चिमको सुन्दर संस्कृतिले कम गर्न नसकेको ?’

किन महिनावारी जुन नयाँ जीवनको एउटा प्रमुख कारक हो, त्यो नै सुदूरपश्चिमका महिलाका लागि अभिशाप बनेको छ ? किन गौराले रोएर, डराएर, जनावरहरूसँग लडेर, कीराहरूको टोकाइ सहेर, रातको अँध्यारोमा मनभित्र डर, आँखामा आँसु र रोटीसँग नुन चोप्दै निदाउनुपरेको होला ? गौराको दु:ख निर्मूल गर्न किन शिवजीले कुनै उपाय नगरेका होलान् यस्तै पीडायुक्त कुरा सोच्दै अछामका विनायक, जनाली मण्डली, कालिकास्थान, चण्डिका पुगेकी थिएँ म । केही महिनाअघि छाउपडीमा महिला मर्दा राज्यका प्रमुखले सी.डी.ओ.लाई फोन गरेर सोधेका थिए । यद्यपि छाउपडी बस्ने काम रोकिएन ।

मंगलसेन, बयलपाटा, साँफेबगर आदि घुम्दा भने केही सुखद् दृश्य देखियो । त्यहाँका कतिपय महिलाले छाउप्रथाको विरोधमा नजानिँदो तरिकाले क्रान्ति नै गरेका रहेछन् । उनीहरू आफूले पाएको दु:ख आफ्ना छोरी र बुहारीले नपाऊन् भनेर विस्तारै छाउगोठको अन्त्य गरेर घरभित्रै तर छुट्टै कोठामा राख्न थालेका थिए । केही ठाउँमा त भत्काइएका छाउगोठ पनि देखिए र ती परिवर्तन भएका थिए । ‘यहाँ हामीले एउटा छाउगोठ देखाउन भनेर नै राखेका छौं । कति मान्छे आउँछन्, फोटा खिचेर लान्छन् ।’ काली कुँवरले भनिन् । चण्डिका नामको–एउटा वार्ड, (७० घर जति भएको) त छाउगोठ मुक्त भैसकेको रहेछ । यद्यपि ऊ त्यो दलित बस्तीका महिलाहरू भने अझै पनि छाउगोठमा बस्छन्–काली कुँवरले भनेकी थिइन् । उनले दलित बस्तीमा छाउप्रथा अन्त्य गर्ने कामका लागि त उत्तम सासूको पुरस्कार नै पाएकी थिइन् ।

अलिअलि लाज मान्दै, अलिअलि गर्व गर्दै कालीले अछामेली भाषामा हामीलाई भनिन्–‘पहिले त हामीलाई छाउगोठमा महिनावारी भएका महिलाहरू घरभित्र बस्न आए भने देवता रिसाउँछन्, घरमा बाघ लाग्छ, मानिसहरू बिरामी हुन्छन् भन्थे । म पनि पहिले छाउगोठमै बस्थें । बुहारीहरू पनि त्यहीँ बस्थे तर महिला विकासका नानीहरू आएर हामीलाई महिनावारीका विषयमा बताएपछि पो थाहा भयो यसरी महिनावारी भएका बेलामा सफा ठाउँमा, सुरक्षित बस्नुपर्ने रहेछ । अनि मैले आफ्नी बुहारीलाई घरभित्र ल्याएँ । पहिले–पहिले त गाउँका मान्छेले बेस्सरी कुरा काटे ।

मलाई पनि अलिअलि डर नलागेको त होइन, कतै देउता रिसाउँछन् कि भनेर, तर न देउता रिसाएर केही खराब गरे, न घरका मान्छे बिरामी भए । त्यसपछि मैले अरूलाई पनि छाउगोठमा बुहारीहरूलाई नराख भन्न थालें । त्यसैले मलाई महिला विकास कार्यालयबाट पुरस्कार पनि दिइयो । रुपन्देही, सर्लाही पनि घुमेर आएँ । ‘कालीदेवीले यसो भन्दा उनकी १७ वर्षीया नातिनी बजैकै आडमा बसेकी थिइन् । बज्यैको काँधमा टाउको राखेर बसेकी ती किशोरी प्रतीक थिइन् नयाँ सुदूरपश्चिमकी । गाउँका दलित बस्तीका महिला छाउगोठमै जान्छन् र अझ कतिपय दलित गाउँका महिलाहरू त गुफामै बस्न्छन्–महिला विकास कार्यालयकी कर्मचारीले सुनाइन् ।

‘डोटीका गाउँगाउँमा यो प्रथा अझै कायमै छ जसलाई हटाउन निकै गार्‍हो छ ।’ अछामकी महिला विकास कार्यालयकी पूर्णेश्वरीले भनिन्–‘मेरो घर डोटी हो, मेरो मन निकै पोल्छ, त्यहाँका महिलाहरूको यस्तो अवस्था देख्दा । अछाममा त हामीले आवाज उठाएर त्यसलाई बन्द गर्‍यौं । धामी तथा पुजारीहरूले पनि कुरा बुझेर छाउगोठमा महिलाहरूलाई राख्नुपर्दैन भनेका छन् ।’

नभन्दै जनानी मण्डलीमा एकजना लोकतान्त्रिक धामी भेटिए, जसले आफू धामी भएर पनि आफ्ना घरका महिलाहरूलाई घरभित्र राख्न थाले । उनले राखेपछि त गाउँका अन्य मानिसहरूलाई पनि प्रेरणा मिल्यो र केही वडा एउटा पनि छाउगोठ नभएका नमुना वडा बन्दैछन्’ एक महिलाले भनिन् ।

छाउपडी प्रथाविरुद्धको यो आन्दोलनमा त्यहाँका सञ्चारकर्मीको भूमिका निकै ठूलो रहेछ । रामारोशन रेडियोले छाउपडी प्रथाविरुद्ध चलाएको छलफल, डेउडाद्वारा महिलाहरूको व्यथाको गीत बजाउँदा, मानिसहरूमा ठूलो प्रभाव परेको देखियो । ‘अहिले गाउँमा हामीलाई मान गर्छन् । कार्यक्रम सुरु हुँदा पिटुलाझैं गरेर आउँथे । कतिपयले हामीलाई गाउँमा आएको देख्नासाथ मुख बिगारेर ‘ऊ छौपडी आए । छौपडी आए । हा–हा’ भनेर जिस्काउँथे । अहिले त बुझिसकेका मानिसहरूले मात्र होइन अरूले पनि जिस्काउँदैनन् अर्की महिला कर्मचारीले भनिन्–सानै रूपमा भए पनि यो कुप्रथाविरुद्ध आवाज त उठेछ ।

महिला विकास कार्यालयका साथै त्यहाँ रहेका केही सामाजिक संस्था तथा अन्य व्यक्ति एवं सञ्चार अनि सडकको विकाससँगै आएको परिवर्तन हो सायद छाउपडीविरुद्धको यो कदम । लइटीजस्तै कतिपय गाउँपालिकाका दलित बस्तीहरूमा छाउगोठ र महिलाहरूको विवशता देख्दा मनमा आइरह्यो–गौरा सुदूरपश्चिममा मुस्काउन थालेकी छिन् तर सुदूरपश्चिमका केही भागमा त गौरा अझ उदास भएर रोइरहेकी छिन् । सुदूरपश्चिममा उनको आँखाका आँसु पुछ्ने हातहरू होलान् नि ।

सबैभन्दा दु:खलाग्दो कुरा कुनै पनि राजनीतिक दल यो विषयमा झट्ट बोलिहाल्न डराउनु पनि हो । महिला अधिकार तथा स्वास्थ्यका बारेमा ठूलो स्वरले आवाज उठाउने दलका सदस्यहरूसमेत छाउपडीमा रोइरहेका गौरालाई हेर्दा रहेनछन् । नहेरेपछि, देखिँदैन अनि समस्या पनि छैन जस्तो लागेर हो कि ?

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्