सेरामिक्स कलामा आकर्षण

सिर्जना दुवाल श्रेष्ठ

श्रावण ४, २०७५

नेपाली कलामा पनि अनेकन विधा विकसित हुँदैछन् । त्यसमध्ये नयाँ प्रयोगका रूपमा सेरामिक्स कलालाई पनि लिन सकिन्छ । सेरामिक्स एसियाली संस्कृतिमा धेरै पहिले नै विकसित भएको कला हो । यद्यपि नेपालमा यो कलाको अहिलेसम्म कुनै एकेडेमिक पठन–पाठन भने प्रारम्भ भैसकेको छैन भने कलाकार कलाप्रेमी श्रेष्ठले आफ्नै घरमा सेरामिक्स कलाको प्रशिक्षण प्रदान गर्दै आएका छन् । यो कलाका लागि काम गर्दा माटोको काममा एकाधिकार कायम गर्दै आएकाहरूले आफ्नो काम अरूले खोस्न लागे भन्ने आरोप पनि नलगाएका होइनन् तर कलाप्रेमी भन्छन्–माटाका भाँडा बनाउने कला र यो कलामा धेरै नै फरक छ । नेपाली कला क्षेत्रका लागि सेरामिक्स आर्ट एउटा रिभोलुसन नै भएको उनको दाबी छ ।

कलाकार सुशीला सिंह, साम्बिका वासुकला, रिस्ता खत्री तथा मीना कायस्थ सेरामिक्स आर्ट गरिरहेका कलाकार हुन् । मीना, साम्बिका र सुशीला सिंह मूर्तिकला तथा पेन्टिङका सर्जकहरू हुन् । मीना कायस्थ मूर्तिकला तथा जंक स्कपचरमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी कलाकार हुन् । उनी विदेशमा समेत आफ्नो प्रदर्शनी लिएर गैरहने नेपाली कलाकारमध्ये एक हुन् । तैपनि उनी सेरामिक्सप्रति आकर्षित छिन् । पेन्टिङमा स्नातकोत्तर गरेकी सुशीला सिंहले कलाकार कलाप्रेमीले बनाएका भाँडाकुँडाको कलाबाट मोहित भएरै आफ्नो बाटो मोडेकी हुन् । हुन त उनलाई सानैदेखि भाँडाकुँडा सारै मन पर्थे । सुशीला भान्साका भाँडाहरू कसरी बन्छन् भनेर हेरिरहन्थिन् । त्यही कारण पनि पहिचान बनाइरहेको पेन्टिङभन्दा फरक धारको कलामा आकर्षित भएर लागेकी हुन् ।

 यो कला महँगो, धेरै ठाउँ चाहिने र राम्रो बन्दाबन्दै पछि फुट्न अनि बिग्रन सक्ने भएकाले अरू कलाभन्दा अलि गार्‍हो भएको सुशीलाको अनुभव छ । सेरामिक्स आर्ट गर्न थ्रिडी अर्थात् डेन्जर, डर्टी, डिफिकल्टलाई सामना गर्छु भन्ने सोच भएकाहरूले मात्र यो कलामा निरन्तरता दिन सक्ने कलाकार कलाप्रेमी बताउँछन् । एक त ठाउँ धेरै चाहिने, माटो अनि केमिकलसँग खेल्नुपर्ने, ह्विल घुमाउनेदेखि पोल्ने, पेन्टिङ गर्ने सबै काम एउटै कलाकारले गर्नुपर्ने भएकाले मेहनत पनि अरूको तुलनामा बढी चाहिन्छ । यद्यपि दुई सन्तानकी आमा सुशीला सेरामिक्समै केही गर्ने सोचमा छिन् । कला क्षेत्रकै भएकाले आफूले नयाँ काम भए पनि बेस मात्र फेरेको सुशीला बताउँछिन् ।

रिस्ताले १० कक्षा पढ्दादेखि नै सेरामिक्स आर्ट सिक्न थालेकी हुन् । कलाप्रेमीको घर नजिककी रिस्तालाई सानैदेखि फायरिङ गरेको स्टाइल, भाँडा पोल्दाको गन्ध आदि निकै मन पथ्र्यो । त्यसैले उनी त्यहाँ सेरामिक्स आर्ट सिक्न पुगिन् । त्यहाँ सिक्न आउनेहरूमध्ये उमेरले सबैभन्दा सानी भए पनि सेरामिक्स आर्टकी पाकी महिला कलाकार भने उनै हुन् । रिस्ता ह्विल चलाउनेदेखि फायरिङमा समेत पोख्त छिन्् । भविष्यमा सेरामिक्स आर्टमै नयाँ–नयाँ प्रयोग गरिरहने उनको सोच छ ।

काष्ठ कलाको कोर्स गर्न हिँडेकी साम्बिकाले वासुकला तालिमपछि मूर्तिकलाका लागि ललितकला क्याम्पस ज्वाइन गरिन् । मूर्तिमा उनी कन्टेम्परीमा केन्द्रित छिन् ।

सेरामिक्समा पहिलेदेखि नै काम गरिरहेकी साम्बिका कलाप्रेमीको वर्कसपपछि यसैलाई निरन्तरता दिन लागिपरेकी छिन् । मूर्ति बेस भएकाले उनलाई देवताको अर्डर पनि धेरै नै आइरहेको हुन्छ । उनको फोकस कमर्सियल, क्राफ्ट तर आर्ट पिसमा छ । मूर्तिको पृष्ठभूमि भएकाले सेरामिक्स आर्टतिरै लाग्ने उनको सोच छ । उनले सेरामिक्समा पनि ब्ल्याक वेयरलाई छानेकी छिन् । ब्रिक्स फायरिङपछि भुस, काठको धूलोमा पोल्ने, त्यो भाँडा कालो निस्कन्छ । हाम्रो इतिहासमै ब्ल्याक वेयर, तेराकोसा मात्र हो । त्यही भएर यसैमा आफ्नो भविष्य बनाउने कलाकार साम्बिकाको सोच छ ।

ब्ल्याक वेयरलाई नेवारीमा हाकु थल : भनिन्थ्यो । त्यो पुरानो इतिहासलाई साम्बिकाले स्कपचरमा कन्भर्ट गरेर पुरानै टेक्निकमा आर्ट पिस तयार गर्ने सपना सजाएकी छिन् । उनी आफ्नो सेरामिक्स आर्टलाई ब्ल्याक वेयर टेक्निक भन्छिन् । ब्ल्याक वेयरको इतिहास लोप हुँदै गएको र यो शरीरका लागि निकै हाइजनिक भएकाले फरक शैलीमा काम गरौं भनेर उनी यसमा लागेकी हुन् ।

सेरामिक्स आर्टका लागि

१.        माटो परीक्षण

२.        माटो प्रिपेसन

३.        बनाउने तरिका

४.        माटो सुकाउने

५.        माटो पोल्ने

६.        पेन्टिङ

७.        डेकोरेसन

८.        ग्लेज राखेर पोल्ने

टिप्स : सेरामिक्सको काम गर्दा कलर, केमिकल मिलाउने, पिस्ने अनि मिक्स गर्ने काम गर्नुपर्छ । यदि कलर वा केमिकलको मात्रा तल–माथि भए चाहिने कलर आउँदैन ।  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्