स्वस्थ हाँसो र मुस्कानको महत्त्व

डा. प्रकाश बुढाथोकी

असार २९, २०७५  

मुस्कुराउने काम उमेर बढ्दै जाँदा कम हुँदै जान्छ । त्यसमा पनि ओठ खोली हाँस्ने मानिस सायदै होलान् किनभने जति पढ्यो, पैसा कमायो, ठूलो भयो त्यति गम्भीर अनुहार बनाउनुपर्छ भन्ने हाम्रो सामाजिक मान्यता छ । व्यस्त जीवनशैलीबीच हाँस्ने फुर्सद हुँदैन भने पैसा कमाएपछि हाँस्ने प्रक्रिया कम हुँदै जान्छ । दिल खोलेर हाँस्ने, मरीमरी हाँस्ने, पेट मिचीमिची हाँस्ने, मूर्छा पर्ने गरी हाँस्ने वा आँसु आउने गरी हाँस्ने मानिस फेला पार्न पनि कठिन हुन्छ ।

 विश्वमा ७० प्रतिशत मानिसको अनुहार गम्भीर हुन्छ । मानिस हाँस्दा हा–हा, हु–हु, मुसुक्क आदि फरक किसिमले हाँस्छन् । हाँसो मात्र फरक होइन, उद्देश्य पनि फरक–फरक हुन्छ । खुसी हुँदा, अनौठो कुरा देख्दा, मन परेको वस्तु पाउँदा, मानिस देख्दा पनि हाँसिन्छ । कतिपय मानिस अरूलाई अप्ठेरो पर्दा पनि हाँस्छन् । प्रसिद्ध दार्शनिक ओशो भन्छन्, ‘हाँसो भन्दा ठूलो आनन्द अरू केही छैन ।’ चिकित्सा विज्ञानमा गरिएको अनुसन्धानले पनि हाँसोले विभिन्न रोगमा औषधिका रूपमा काम गरेको पाइन्छ । हँसिलो मानिसलाई गम्भीर रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

 चिकित्सकको मुस्कानले बिरामीको आधा पीडा घट्छ भने शिक्षकको मुस्कानले विद्यार्थीको बुझाइ दोब्बर भएर जान्छ । आमाबाबुको मुस्कानले केटाकेटीमा प्रेमको भाव र सहजताको विकास हुन्छ भने हाकिमको मुस्कानले कर्मचारीको कार्यशक्ति एवं मनोबल वृद्धि हुन्छ । प्रेमी–प्रेमिकाको मुस्कानले अर्काको गल्ती, कमजोरी, इच्छा तथा जिद्दीलाई घोलिदिन्छ, पगालिदिन्छ र अगाध प्रेममा परिणत गरिदिन्छ । मुस्कान प्रेमको मुटु, जीवनको प्राण, स्वास्थ्यको बाटो तथा सुखको ढोका हो जसले नोक्सान होइन फाइदै फाइदा दिन्छ ।

 मुस्कान र हाँसो सर्वमान्य भाषा हुन् जुन सबै भाषीले, सबै उमेरका मानिसले तथा केही जनावरले समेत बुझ्न सक्छन् । मानसिक तनाव, रिस, घमण्ड, भोक तथा चिन्ता कम गर्न एवं नकार्न प्रयोग गरिने अचुक औजार मुस्कान वा हाँसो सामाजिक जीवन तथा स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । मुस्कुराउँदा अनुहारका १३ वटा मांसपेशी प्रयोग हुन्छन् भने अनुहार अँध्यारो पारी झोक्रिँदा ६४ वटा मांसपेशी सक्रिय हुन्छन् हाँस्दा भन्दा रिसाउँदा वा चिन्तित हुँदा बढी जोड पर्छ जसले गर्दा धेरै मांसपेशी प्रयोग हुन्छन् धेरै ऊर्जा खर्च हुन्छ र नकारात्मक प्रभावले अरू धेरै हानी पुग्छ तर त्यही मुस्कानले सफलता दिन्छ, साथी दिन्छ, सुख दिन्छ, अनि मुस्कानले मुस्कान नैदिने भएकाले मुस्कान दानलाई उच्चतम दान पनि भनिन्छ ।

मुस्कानमा कुनै खर्च हुँदैन, यद्यपि मुस्कानबाट धेरै कुरा प्राप्त हुन्छ । मुस्कान पाउने व्यक्ति मालामाल हुन्छ भने दिने पनि दरिद्र हुँदैन । धनी होस् वा गरिब जोसुकै मुस्कानको धनी बन्न सक्छन् । मुस्कान जति बाँड्न सकिन्छ त्यति नै बढ्छ । मुस्कान मित्रताको हस्ताक्षर पनि हो । मुस्कानलाई खरिद गर्न वा चोर्न सकिँदैन, माग्न वा उधारो दिन–लिन सकिँदैन तर यसको ठूलो महत्व छ । कुनै पनि कुरा बुझाउन वा सिकाउन प्रोत्साहन वा उत्साह दिन वा जगाउन मुस्कान प्रेरणादायी हुन्छ, यसको प्रभाव दण्डभन्दा धेरै गुणा बढी हुन्छ तर गलत समय र परिस्थितिमा मुस्कुराउनु घातक सिद्ध हुने कुरा भने बिर्सनु हुँदैन ।

दिल खोलेर हाँस्न पाइयो भने शरीर हलुका भएजस्तो अनुभव हुन्छ र मानिस तनावबाट मुक्त हुन्छ । हाँसो पनि मानिसको आरोग्य र उपचारको एउटा विधि भएको कुरालाई विचार गरेर पूर्वीय दर्शनमा आधारित योगाभ्यासमा यसलाई पनि एउटा महत्वपूर्ण योग विधिका रूपमा परापूर्वकालदेखि नै स्वीकार गरिँदै आएको छ । हाँसो स्वास्थ्यका लागि महत्वपूर्ण भएको कुरा पूर्वीय दर्शनमा स्वीकार गरिएको भए पनि यस विषयमा वैज्ञानिक खोज हुन भने बाँकी नै छ ।

अहिले विभिन्न मुलुकमा भएका खोजले हाँस्नु स्वास्थ्यका लागि निकै लाभदायक भएको र हाँसोबाट पनि कतिपय रोग निको पार्न सकिने तथ्य पत्ता लागेका छन् । हाँसो कम लागतमा धेरै रोग निको पार्ने औषधि बनेको छ । एक मिनेटको हाँसोले ४५ मिनेट आराम गरे बराबर ऊर्जा प्राप्त हुन्छ । अमेरिकास्थित स्ट्यान्फोर्ड युनिभर्सिटीको एक खोजअनुसार २० सेकेन्डको उन्मुक्त हाँसो बराबर ३ मिनेट पौडी खेले बराबरको शारीरिक व्यायाम हुन्छ । हाँस्दा शरीर र मस्तिष्क दुवैको व्यायाम हुन्छ ।

 दिउँसो हाँसियो भने राति मीठो निद्रा लाग्छ । शरीरमा इम्युनोग्लोविन वृद्धि हुन्छ । विषाणु तथा कीटाणुहरूसँग लड्न सक्ने क्षमताको विकास हुन्छ र संक्रमण हुन सक्दैन । हाँसोले अनुहारलाई चम्किलो बनाउँछ । आफूलाई मात्र नभई अरूलाई समेत सकारात्मक ऊर्जा मिल्छ । हाँसोपछि शरीरमा सकारात्मक परिवर्तन आउँछ, अक्सिजन बढ्छ, संकुचन घटाउँछ । हाँसोले आन्तरिक शक्ति बलियो बनाउँछ, रोगसँग लड्ने शक्ति एवं रोगसँग लड्ने कोषहरूको वृद्धि गर्छ, तनाव दिने हार्माेन स्वत: कम हुन्छन् र खानामा रुचि जाग्छ ।

 

जसरी सितार/गितारको तार एउटा औंलाले मात्र चलाउँदा वरपरको वातावरण झंक्रित हुन्छ त्यसैगरी जोडले हा...हा..हा.. गरेर हाँस्दा टाउकोदेखि पैतालासम्मका अङ्ग र कोषिका फुर्तिला हुन्छन् । हाँस्दा छाला, मांसपेशी, नसा, रक्तनली आदिमा प्रशस्त रक्तसञ्चार हुन्छ । अक्सिजन पूर्ति हुनुका साथै शरीरमा फुर्ती बढ्छ ।

अनुहार चम्किलो हुन्छ । मानसिक तनावमा कमी, कोलेस्ट्रोलमा सन्तुलन ल्याई ह्दयाघातको प्रतिशतमा समेत कमी आउँछ । हाँसो एन्जाइटी न्युरोसिस, साइकोसिस, सुस्तमनस्थिति, डिप्रेसन, मधुमेह, उच्च रक्तचापबाट पीडितहरूका लागि पनि उपयोगी हुन्छ । जोडले हाँस्दा शरीरमा इन्डोर्फिनको मात्रा वृद्धि भै सन्धि रोग, बाथ रोग, स्पोन्डोलाइसिस तथा हाड जोर्नीको पीडामा कमी आउँछ । श्वासप्रश्वास गतिशील भै फोक्सो, घाँटीको मांसपेशीमा समेत रक्तसञ्चार बढी भै अनुहार रातो र चम्किलो हुन्छ । यसमा शारीरिक व्यायाम जत्तिकै लाभ हुन्छ ।

सामान्य पीडामा मुस्कुराए पीडा आफै कम हुने तथ्य करिब ४ वर्षसम्म ६ हजार ६ सय मानिसमा बेलायतमा गरिएको अध्ययनले देखाएको छ । खुसी नहँुदा पीडाको अनुभूति बढी हुने र औषधिकै आवश्यकता पर्ने उक्त खोजको निष्कर्ष छ । त्यस्तै अस्पतालमा आउनेहरूका कुराकानीमा पनि धेरै खुसी रहने मानिसलाई कम र कम खुसी रहने मानिसलाई बढी मात्रामा औषधि दिनुपरेको तथ्य छ । दिल खोलेर हाँस्दा रक्तप्रवाह बढ्छ । हाँसो केहीमा आधुनिक उपचारभन्दा बढी प्रभावकारी भएको पनि पत्ता लागेको छ ।

लिड्स विश्वविद्यालयका खोजकर्ताहरूले ६ महिनासम्म निको नभएको खुट्टाको घाउ वा अल्सर भएका ३ सय ३७ रोगीमा लगातार ५ वर्ष गरेको अध्ययनमा खित्का छाडेर वा खुलेर हाँस्दा सम्पूर्ण शरीरमा रगत पुगी घाउ चाँडै निको भएको पाइएको थियो जब अल्ट्रासाउन्ड उपचारले अलिकति मात्र सहयोग गरेको थियो ।

 अमेरिकाको बाल्टिमोरस्थित मेरिल्यान्ड विश्वविद्यालयले १ सय ५० मुटु रोगी तथा १ सय ५० स्वस्थ मुटु भएका मानिसहरूमा गरेको खोजमा कम हाँस्ने, हास्यव्यंग्य कार्यक्रम कम हेर्ने र हेरे पनि कम हाँस्ने, छिटो रिसाउनेमा मुटु रोग पाइएको थियो ।

अमेरिकामा क्यान्सरका बिरामीमा हाँसो औषधिका रूपमा प्रयोग भैरहेको छ । स्वस्थ शिशु हाँस्छ, हाँस्ने शिशु स्वस्थ हुन्छ, छिटो बढ्छ उसलाई सानातिनो रोग लाग्दैन र लागे पनि छिट्टै निको हुन्छ । हाँसो साइड इफेक्टरहित उपचार पद्धति पनि हो । अनुसन्धानमा एउटा मधुमेहीलाई पट्यार लाग्दो भाषण सुनाउँदा र प्रख्यात हास्यकलाकारको प्रदर्शन देखाएर रगतमा चिनीको मात्रा नाप्दा हास्य कार्यक्रमपछिको परीक्षणमा धेरै कम चिनीको मात्रा पाइएको थियो । जापानमा वृद्धहरूमा देखा पर्ने रोगहरूको उपचार तथा रोग लाग्नबाट जोगाउन हाँसो उपचार पद्धति निकै उपयोगी साबित भएको छ । हाँस्नु पनि एउटा योग हो । योगाभ्यास वा आनन्द दिने खालका अभ्यासबाट दमका रोगीलाई धेरै फाइदा पुगेको पाइन्छ । योगाभ्यासले मस्तिष्कलाई पूर्ण वा अत्यन्त तिखो किसिमले जागरुक बनाउँछ ।

हाँसोले तनाव एवं रक्तचाप घटाउनुका साथै सकारात्मक सोच, आत्मरक्षा एवं मस्तिष्कको कार्यशक्तिमा सुधार ल्याउँछ । हाँसोले इम्युनिटी बढाउँछ, ह्दयको सुरक्षा गर्छ अनि मुटुमा सुप्रभाव पारी आराम तथा शान्ती महसुस गराउँदै व्यक्तिगत एवं सामाजिक सम्बन्धमा सकारात्मक प्रभाव पार्छ । त्यसैले हाँसोबाट जीवनभर सफलता, खुसी एवं फाइदा प्राप्त गर्न सकिन्छ ।

हाँसो र मुस्कान उस्तै–उस्तै लागे पनि मुस्कान शुद्ध आनन्ददायी, स्वार्थरहित हुन्छ भने हाँसो मानिसको प्रवृत्तिअनुसार धेरै थरीका हुन्छन् । मुस्कान आफूलाई झल्काउने, उज्यालो बनाउने, आफूप्रति अरूलाई प्रलोभन, आकर्षण दिने अर्थात् लोभ्याउने प्रक्रियाको सञ्चार गर्ने वा सूचना दिने परिसूचक पनि हो । मुस्कान परिस्थिति, विज्ञान, उमेर एवं समयअनुसार फरक–फरक हुन्छ ।

सबैभन्दा मीठो र आकर्षित मुस्कान भनेको एक बैसालुले अर्को बैसालुलाई छान्दा दिइने मुस्कान हो भनिन्छ । साहित्यले मुस्कानलाई ‘ओछ्यान नलगाएको सुहाग’ का रूपमा पनि तुलना गरेको पाइन्छ । लेखकलाई सिर्जनाको स्रोत पनि मानिन्छ । मनोविज्ञानअनुसार वास्तविक हाँसो आन्तरिक अनुभूति हो र त्यो सुखमा मात्र आउँछ । वास्तविक हाँसोले आफूलाई मात्र होइन अरूलाई पनि आनन्द प्रदान गर्छ । भनिन्छ–‘शोकलाई मुस्कानले मिच्छ अनि मुस्कानले नै रिसलाई जित्छ ।’

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्